वन-उपवन फुल्दै, रङ्ग छर्ने वहार ।
पवन मन-मझेरी, दङ्ग छन् गीत हार ।।
मधुकर-तर मारी, पुष्प-माधुर्य चुस्छन् ।
भ्रमर-सरसजाई, वाटिकाभित्र घुस्छन् ।।१।।
विमल-जल रमाइ, बग्दछिन् सौम्य-गङ्गा ।
चिरबिर-कलकण्ठी, तानले हुन्छु चङ्गा ।।
नव-अभिनव आमा, पोतियो धर्तीमाथि ।
सुमधुर मुरलीमा, गीत छन् भाँति-भाँति ।।२।।
अमरपुर सरी नै, चम्कियो दिव्य हार ।
कति दिन अब लुक्छ्यौ, लौन घुम्टो उघार ।
मन-उपवन फक्री, रौसियो प्रेमहार ।
सबतिर रङ्ग छर्दै, फेरि आयो वहार ।
युवामञ्च २०६८ बैशाख
