कोराको कछाड पुवाको भांग्र, घान्द्रुकको समाचार
कोदोको ढिडो गुन्द्रुकको तिउन, टुसाको अचार
त्यो लाली गुराँस हिमाली बुटी, मग्मगी बासना
स्वदेशी अनि बिदेशी पाहुना, दिन दिनै आसन ।
झल्केको हिमाल पल्केका पाहुना के छोड्थे आउनलाई
घान्द्रुके चलन पिंडी न दलान, स्वागत ती पाहुनालाई
उकालो बाटो लुथ्रुक्क थाकी, के कर थ्यो धाउनलाई ?
प्राकृतिक लालचा मनोरम दृश्य, आनन्द पाउनलाई ।
लाली न पाउडर ती चेली हेर, झल्झल्ती बलेकी
दुक्ख न पीडा डर न त्राश, सरासर चलेकी
झन् टाढा भएँ समुन्द्रपारि, मनले देख्दै छु
कवि न लेखक गाउँले सेवक, यादले लेख्दै छु ।
जन्मेको माटो हिंडेको बाटो, त्यो छोड्न नपरोस
त्यो न्यानो मायाँ पवित्र नाता, त्यो तोड्न नपरोस
म हिड्दै थिएँ याद आयो गाउँको, के लेखें लेखें खै ?
के कस्तो लेखें थाहा छैन मलाई, पढ्नेले भन्नुस है ।
हिमान गाउँले
हाल : बहराईन
