साहित्य क्षेत्रमा नन्दलाल आचार्यको योगदान
वि.सं. २०३० सालमा उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज (सप्तरी)लाई कर्मक्षेत्र बनाएर जीवनरथ हाँकिरहेका नन्दलाल आचार्य मूलत शिक्षण र लेखन कार्यमा संलग्न साधक हुन् । – उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । नाटक/एकाङ्कीकार नन्दलाल आचार्यका नाट्यगत विशेषताका वारेमा समीक्षक रामविक्रम थापाको कलम बोलेको छ – ‘२०६३ – २०६६ मा सिर्जित र २०६४ – २०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन ।

नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्त्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।
मिथिलाञ्चल कला–संस्कृति, रहनसहन, पर्व मेलामा धनी छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन् । मधेशका रत्नपुत्रपुत्रीहरूले नेपालको मान र सान उच्च बनाएको जिउँदो इतिहास हाम्रा सामु छँदैछ ।