Skip to content

मैथिलीमा रुने स्रष्टा धीरेन्द्र प्रेमर्षि

  • by


मिथिलाञ्चल कला–संस्कृति, रहनसहन, पर्व मेलामा धनी छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन् । मधेशका रत्नपुत्रपुत्रीहरूले नेपालको मान र सान उच्च बनाएको जिउँदो इतिहास हाम्रा सामु छँदैछ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव हुन् या उपराष्ट्रपति परमानन्द झा हुन् वा अन्तर्राष्ट्रिय खेलकुद (क्रिकेट) का खेलाडी महबुब आलम नै किन नहुन् सबैले नेपालीहरूको शिर उच्च पार्न आफ्नो ठाउँबाट यथेष्ठ योगदान पुर्याउँदै आएका छन् । जनयुद्धको रणमैदानबाट जन्मेका कवि राजेश विद्रही हुन् या शहादत प्राप्त रामवृक्ष यादव, शाकेतचन्द्र मिश्र, दिलिप चौधरी सबैले गर्विलो इतिहास बनाइदिएका छन् । त्यस्तै साहित्य, सङ्गीत, सञ्चार, अभिनय, उद्घोषणजस्ता विविध फाँटमा एकनासे योगदान पुर्याएर मिथिलाञ्चलको छाती ढक्क फुलाइदिने र नेपालीहरूको शिर उच्च तुल्याइदिने एक बहुमुखी प्रतिभा धनी व्यक्तित्व हुन्– धीरेन्द्र प्रेमर्षि । मैथिली र नेपाली दुबै भाषामा उत्तिकै दक्षता भएका प्रेमर्षिले बालबालिकाहरूका लागि कक्षा १ देखि कक्षा १० सम्मको मैथिली भाषाको पाठ्यपुस्तक लेखन एवं सम्पादन गरेका छन् भने प्रौढ साहित्यमा ‘कोन सुर सजाबी ?’ र ‘मैथिली कविता सङ्ग्रह’ जस्ता मैथिली भाषामा कृतिहरू प्रकाशित गरिसकेका छन् । नेपाली भाषामा लेखिएको प्रेमर्षिको ‘समयलाई सलाम’ शीर्षकको गजल सङ्ग्रह मेरो हातमा परेको छ । यस सानो लेखमा उनै बहुचर्चित र लोकप्रिय सर्जक प्रेमर्षिको गजल सङग्रह ‘समयलाई सलाम’ भित्रका आवाजरूलाई बुलन्द पार्ने प्रयास गरिएको छ ।

‘समयलाई सलाम’ भित्र समेटिएका ६६ वटा मर्मस्पर्शीमध्ये गजलको प्रारम्भमै क्रान्तिकारी आवाज धन्काइएको छ ।

भोक लाग्दा सबैले नै खाना पाउनुपर्छ,
अनि मात्र सुशासनको गाना गाउनुपर्छ ।।१।।

बसिखाने र गरिखाने बीचको वर्गीय द्वन्द्वको स्पष्ट झलक उनका गजलले दिन्छन् । वास्तवमा सुशासनको रट लगाउनु अघि सबैले खाना खान पाउँदा, त्यही खानाको जोह गर्न काम गर्न पाउँदा नै समाजले अग्रगति लिन सक्छ । वेरोजगारहरूको काल पर्खने स्थान मात्र मुलुकलाई पार्ने हो भने त्यो समयलाई कुल्चेर हिँडेको ठहरिन्छ । त्यसै गरी राष्ट्रिय एकता नै आजको आवश्यकता भएको महसुस गर्दै गजलकार प्रमर्षि सबै नेपालीहरू मिली होस्टेमा हैंसे थप्नुपर्ने आवश्यकता देख्दछन् ।

काँधमाथि देश उठाई सगरमाथा चढ्नलाई,
होस्टेमाथि हैंसे गर्दै सबले पाइला चाल्नुपर्यो ।।२।।

राम्रो र हाम्रो नयाँ नेपाल निर्माणका निम्ति गजलकारले विभेद रहित समाजिक संरचनाको परिकल्पना गरेका छन् । जातिय, क्षेत्रीय, लैङ्गीक समस्याहरू समाधान नै वर्तमानको एक आवाज हो । सोही आवाजलाई सार्वजनिक गर्न गजलकार भन्दछन्–

काँधमा बोक्या सगरमाथा धेरै नै गहु्रङ्गो भयो,
भत्काएर यसलाई अब चौतर्फी सम्याऊँ साथी ।।३।।

युद्ध विभीषिकाको सम्झना गर्ने काम समेत गजलमा भएको छ । शान्तिलाई बचाएर राख्ने काम सबैको हो । शान्ति कलिलो र कफलो हुन्छ । त्यसलाई हुर्काउनु, बचाउनु गाह्रो हुन्छ तर नाश गर्न वा भङ्ग गर्न सजिलो हुन्छ । हो, त्यही शान्तिको घाँटी निमोठ्ने काम प्रशासनीक संयन्त्रद्वारा नै भएको र नेपाली जनताले कहर काटेर जिउनु परेको दुरदशालाई मार्मिकतरवले प्रस्तुत गर्ने काम गजलमा भएको छ ।

उड्दाउड्दै परेवा त्यो आकाशमै ढलेको छ,
चारो छर्ने हातबाटै गाली हजुर चलेको छ ।।४।।

शान्तिसँग द्यौती पनि कहाँ गई गुहार्ने हो,
परेवाको खोपभित्रै बाज पनि अँटेपछि ।।५।।

हरेक कार्य सफलतापूर्वक सम्पन्न गर्न चुक्नुहुन्छ, राम्रो काम गर्नलाई कुनै साइत जुराउनु पर्दैन । शान्ति विनाशकहरू स्वाभिमानी शिर गिराउन खोज्छन्, त्यस वेला सचेत भएर आफ्नो स्वअस्तित्वलाई बचाउनुपर्छ–

अब चाहिँ नसुतून् है उज्यालाका यी प्रहरी,
झनै गाढा रात आउला फेरि पनि चुकेपछि ।।६।।

लोकप्रिय लयात्मक विद्या गजल भावयुक्त शब्दहरूको चिटिक्क परेको फूलबारी हो । जहाँ काफिया–रदिरूपि सुन्दर थुँगाहरू विनारोकटोक आनन्दसाथ फक्रन्छन् । जसले दिने सुवास र रोमाञ्चकताको हिसावकिताव गरेर साध्य हुँदैन । लयात्मकता, सरलता, मिसराहरू बीचको उपयुक्त समायोजन, काफिया र रदिफ बीचको सान्दर्भिक तालमेल, गजलद्वारा प्रकट भावको गहिराइ जस्ता आधारभूत पक्षहरू आन्तरिक संरचनाभित्र पर्नुपर्छ र गजलको वाह्यसंरचना भित्र भने काफिया, रदिफ, मतला, मकता, तखल्लुस, मिसरा, मिसरा–ए–उला, मिसरा–ए–सानी, सेर र बहर जस्ता आधारभूत तत्वहरू पर्दछन् । यी गजलका आन्तरिक र वाह्य दुवै संरचनाका सबै खाले गुणहरू गजलकार धीरेन्द्र प्रेमर्षिमा पाइँदैनन् । सबै खाले गुण विद्यमान नभए पनि गजल नहुने चाहिँ होइन । विशेष गरेर गजलमा सरलता, लयात्मकता, मिसराहरू बीचको सम्बन्ध, काफिया र रदिफको तालमेलजस्ता पक्षहरू सशक्त रूपले आउनुपर्छ । यी सम्पूर्ण गुणहरू ‘समयलाई सलाम’ भित्र पाउन सकिन्छ ।

आमाको (मैथिलीको) काखमा बसेर गरेका अनुभूति र चिन्तनलाई सानिमा (नेपाली) को काखमा बिसाएको छु भनेर नेपाली भाषामा गजल सङ्ग्रह ‘समयलाई सलाम’ नेपाली साहित्य भण्डारमा समर्पण गर्ने गजलकार प्रेमर्षिले मैथिली संस्कृतिका आवाजहरूलाई भने धेरै ठाउँमा समेटेका छैनन् । एस.सी. सुमनद्वारा मिथिला चित्रकलामा आधारित सुन्दर चित्रले सङ्ग्रहको आवरण रंगाइदिएका भने छन् जुन बडो मनमोहक प्रतित हुन्छ । पहाडिया अहंकारवादले मधेसलगायत अन्य क्षेत्रका निम्छरावर्गलाई सताएको र अहिले लोलोपोतो गर्दै राष्ट्रिय अभियानमा सरिक हुन आह्वान गरेको सन्दर्भलाई टपक्क टिपेर गजलकारले अहंकारको मुखैमा झापड हान्न भने बिर्सेका छैनन् ।

तिम्रो मनको खोपीमा नि मेरो गुच्छा पिल्नुपर्छ,
अनि पो त भन्न पाइयो साथी–साथी मिल्नुपर्छ ।

डाँडाभरि लालीगुँरास फक्रिएर मात्र हुन्न,
मैदानको पर्तीमाझ चम्पा पनि खिल्नुपर्छ ।।१३।।

“गणतन्त्र नेपाल” बनेपनि राजनैतिक फोहोरी खेल दोहरिएकोमा गजलकार रुष्ट छन् । जनतालाई तड्पाउने हक नेतानेतृलाई नभएको भन्ने आवाज निकाल्न समेत उनी पछि परेका छैनन् ।

हिजो जस्तो फेरि जालझेल चल्न थाल्यो,
खुट्टा तान्ने पुरानै त्यो खेल चल्न थाल्यो ।

अचम्मको यात्रा रै’छ संविधान–सभा,
इन्जिनको पत्तो छैन, रेल चल्न थाल्यो ।।२५।।

‘म मैथिलीमा रुन्छु र नेपालीमा आँसु पुस्छु, म मैथिलीमा सोच्छु र नेपालीमा बोल्छु’ भनेर मैथिली र नेपाली भाषालाई भाषिक अभिव्यक्तिको उत्तिक्कै सशक्त माध्यम ठान्ने र प्रेम वर्साउने गजलकार प्रेमर्षि ‘प्रेम’ का ‘ऋषि’ बन्न सकेका छैनन्– ‘समयलाई सलाम’ गजल सङ्ग्रहमा । एकाध ठाउँमा भने शिष्ट श्रृङ्गारिक रसयुक्त अभिव्यक्तिलाई स्थान दिन भने चुकेका छैनन् ।

खोल्सा–खोल्सी खहरेको मात्र कुरा छैन यहाँ,
तिम्रा लागि असारको कोसी पनि तारिदिउँला ।

अजम्बरी नाता हो यो तिम्रो माया भनी,
दुनियाँले नबुझेमा अन्तै डेरा सारिदिउँला ।।४२।।

अब भने सङ्गीत, साहित्य र सञ्चारका त्रिवेणी जाँगरिला व्यक्तित्व गजलकार धीरेन्द्र प्रेमर्षिको ‘समयलाई सलाम’ भित्रबाट उनका गजलकारीताका प्रवृत्तिहरूलाई पर्गेल्ने जमर्को गरिएको छ । गजलकार प्रेमर्षि आफ्ना गजलमार्फत–

१. क्रान्तिकारी आवाजलाई घनीभूत पार्छन् । २. राष्ट्रिय एकताको शंखघोष गर्छन् । ३. नयाँ नेपाल निर्माणको तीव्र चाह समेट्छन् । ४. युद्ध विभीषिकाको मार्मिक ढङ्गले चित्रण गर्छन् । ५. समाजका वेमेल प्रवृतिप्रति कठोर व्यङ्ग्य प्रहार गर्दै स्वतन्त्रता र स्वाधीनताको पक्षमा मत सार्वजनिक गर्छन् । ६. अन्धविश्वासी, रुढिवादी एवं जढसूत्रवादीहरूको झाँको झार्छन् । ७. गजलमा शब्दको थुप्रो हैन अर्थ वा भाव हुनुपर्ने विचार प्रकट गर्छन् । ८. आठदेखि उन्नाइस अक्षरमा आधारित गजल राखेर आक्षरिक लयमा गजललाई बाँध्ने प्रयत्न गर्छन् । ९. प्रचलित बिम्ब एवं प्रतीकहरूको सशक्त प्रयोग गर्दै रूपक एवं उपमा अलङ्कारले युक्त पार्छन् । १०. शिष्ट श्रृङ्गारिक रसयुक्त गजल लेख्न माहिर देखिन्छन् । ११. गजलमार्फत प्रतिपक्षमा रहेर सत्ताधारीलाई खबरदारी गर्छन् । यी माथि वर्णित कार्यव्यापार सम्पन्न गर्ने प्रेमर्षिका गजलयीय प्रवृत्तिलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

क. आमूल परिवर्तनको पक्षमा चेतनाको अभिव्यक्ति, ख. परिवर्तनकामीहरूको योगदानको सम्मान, ग. यथास्थितिवादी र पश्चगमनवादीहरूको क्रियाकलापको विरोध, घ. उत्पीडित वर्गप्रति सहानुभूति र उत्पीडनकारी वर्गप्रति भत्र्सना, ङ. सामन्तवाद–साम्राज्यवाद–पूँजीवादको विपक्षमा खडा, च. राज्य आतङ्कप्रति कठोर शब्दवाण प्रहार, छ. राष्ट्रप्रेमी स्वर गुञ्जायमान, ज. समाज रूपान्तरणको अभिलाषी, झ. पुरुषतन्त्रको कडा विरोध, ञ. क्रान्तिको फल ‘शान्ति’को स्वाद चाख्ने चाहना, ट. श्रमजीवि वर्गको विजय हुने आशावादी दृष्टिकोण, ठ. आपसी भाइचाराको सम्बन्धलाई सुदृढिकरण गरी राष्ट्रोत्थानमा सरिक हुन आह्वान ।

यिनै प्रवृत्तिहरू स्रष्टा प्रेमर्षिका गजलभित्र ठम्याउँदै यी शब्दहरूबाट विदा भएँ ।

धन्यवाद ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *