Skip to content


स्कूले जीवनमा दैवज्ञराज न्यौपाने रचित छन्द र कविताहरू नपढ्ने नेपाली कमै होलान्। भोजपुर गोगनेमा जन्मिएका न्यौपानेले कविता र बालसाहित्यमा जीवनपर्यन्त छन्द खेलाए। उनको पहिलो कविता सरस्वती स्तुति हो, तर २०२० मा रानीपोखरी संस्कृत छात्रावासमा बस्दा दोस्रो कविता उनीमा निम्ति अरुणोदय मा छापियो। न्यौपानेका सिर्जनाको लहर-२०३५, जोर मुरली-२०४६, सम्झ्नाको धरातलबाट-२०६३ गरी तीन वटा कविता सङ्ग्रह प्रकाशित छन्, जुन अत्यधिक पढिएका कृतिमा पर्छन्। २५ वटा वर्णमात्रिक छन्द र २० वटा गीति कविता सङ्ग्रहित जोर मुरली लाई उनको लेखनको उत्कर्ष मानिन्छ।

मानिसमा सत्चरित्र र सकारात्मक सोच भर्न बालसाहित्यलाई माध्यम बनाउनुपर्छ भन्ने मान्यता राख्ने न्यौपानेको बालसाहित्यिक कृतिमा तोतेबोली-२०३८, गाउँखाने कविता-२०४३, हुने बिरुवाको चिल्लोपात-२०४५, बालसंसार-२०५३, सबै हाम्रा साथी-२०५६, घामले ढोका खोल्यो २०६५ र पोल्टाका गीतहरू २०६५ प्रकाशित छन्। देशभक्ति, प्रकृति प्रेम, प्रणय प्रसङ्ग, शान्तिको कामना र सामाजिक-सांस्कृतिक सन्दर्भहरू उनका कविताका विषय हुन्। छन्द कवितामा प्रसिद्धि कमाएका न्यौपानेले रुचाएको अर्को विधा समालोचना हो। साहित्यकार विप्लव ढकाल न्यौपानेलाई काव्य र शिल्प दुवैमा परम्परागत धारको मूर्धन्य साहित्यकारको रूपमा सम्झ्नुपर्ने बताउँछन्।

विभिन्न तहका पाठ्यपुस्तकको सम्पादन समेत गरेका स्वर्गीय न्यौपाने युवा वर्ष मोति पुरस्कार पाउने पहिलो साधक हुन्। उनले बालहितकारी पुरस्कार, बालसाहित्य पुरस्कार, छिन्नलता सम्मान, प्रतिभा पुरस्कार, राष्ट्रपतिबाट नागरिक सम्मान लगायत थुप्रै पुरस्कार/सम्मान पाए। पण्डित परिवारमा जन्मेर नेपाली र संस्कृतमा स्नातकोत्तर गरेका न्यौपानेले २७ वर्ष प्राध्यापन गरे। भद्र विद्वान्को छवि बनाएका न्यौपानेका श्रीमती, तीन छोरा र एक छोरी छन्।

सन्त गाहा मगर

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १७
पूर्णाङ्क ३०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *