काठमाडौँको पुरानो चाबहिल चोकमा उहाँको हजुरबुबाको ठूलो वैद्य पसल थियो । पुरानो चाबहिल अर्थात् गणेशस्थानको तेर्सो । राजवैद्य कुल भएकाले मानमनितो नै बेग्लै थियो । हजुरबुबा कविराज शेरबहादुरको ठाँटबाँट नदेखे पनि बुबा वैद्यराज प्रेमबहादुर जोशीलाई लिन दरबारबाट हात्तीघोडा लिएर आएको सम्झना उहाँमा बाँकी छ । वैद्य पनि चानचुने कहाँ हो र हजुरबुबासँग सुन बनाउने विद्या र उपकरणहरू थिए रे वैद्यराजले छुनासाथै बिरामीको आधा बिमार त त्यसै निको हुने । नब्बे सालको महाभूकम्पमा श्री ३ भीमशमशेरको दरबारमा बैठकघर नै भत्किएर अन्य धेरैसँगै वैद्यराजको पनि निधन भएथ्यो । बुबाको सम्झना पनि धमिलो मात्र छ । बुबाको निधन हुँदा उहाँको उमेर आठ वर्षको मात्रै थियो । आयुर्वेदका निदान र निघण्टको धेरथोर ज्ञान त उहाँमा पनि नभएको होइन । आयुर्वेद र आधुनिक चिकित्सासम्बन्धी अध्ययन गर्न कोलोम्बो प्लानअन्तर्गत दिल्लीको केरोलवाग कलेजमा पढ्न प्रथम भएर छानिए पनि आमाले -‘तँ त पढ्न जाने भइस् तर तेरा भाइहरू चाहिँ अब माग्ने-गोठाला हुने भए’ भनेपछि आमाका वचनले गर्दा त्यति राम्रो अवसरलाई छोडिदिनुभयो । उहाँ भन्नुहुन्छ- यहीँ बसेर पढेकाले औषधिको डाक्टर हुन नपाए पनि साहित्यमा चाहिँ डाक्टर भएर चित्त बुझाएँ ।

राजवैद्य कुलको भए पनि आफू, ‘वैद्यराज’ कहलिन नपाएकोमा डा. कुमारबहादुर जोशीलाई यतिबेला कुनै पछुतो छैन । गुरुकुलीय शिक्षामा विद्वान् गुरु कविराज उमानाथ आचार्य (राजनीतिज्ञ एवं लेखक नरहरि आचार्यका पिता) ले जग बसाइदिएकाले लघुकौमुदी, अमरकोश, रघुवंश, मेघदूतजस्ता संस्कृत व्याकरण र काव्यग्रन्थहरू उहाँलाई कण्ठस्थ नै थिए । संस्कृत महाविद्यालयमा भर्ना भएर पढ्न थालेपछि यही जगका कारण सधैँ प्रथमका प्रथम हुनुहुन्थ्यो । त्यतिबेलाको पढाइ सम्झिँदै उहाँ भन्नुहुन्छ-मेरा पिताजीका गुरु त झन् विद्वतशिरोमणि कुलचन्द्र गौतम हुनुहुन्थ्यो । उहाँसँगै वनारस बसेर शिक्षा आर्जन गरी फर्किनुभएको हो बुबा । गौतम गुरु तपस्वी-ऋषिजस्तो हुनुहुन्थ्यो । एक पटक आमाले गुरुको दर्शन गराउन मलाई लानुभएथ्यो । हाम्रो परिवारलाई उहाँको आशीर्वाद थियो । मलाई मेहनत गरेर पढ्न आशीर्वाद दिनुभएथ्यो । उहाँका आशीष लागेकै भन्छु- नेवारको छोरोले संस्कृतमा दर्शन विषय लिएर प्रथम श्रेणीमा प्रथम भई वि.सं. २०१५ मा पूर्वमध्यमा गरेथेँ । यता अङ्ग्रेजीतर्फको पनि वि.सं. २०१७ मा एस.एल.सी. गरेँ र जागिर खान थालेँ । गुरु उमानाथ आचार्यले दिनुभएको मन्त्रदान- ‘शिर निहुरिने काम कहिल्यै नगर्नु, शिर उँचो राख्ने काम गर्नु’ नै मेरो आदर्श हो ।

वि.सं. १९९८ मङ्सिर २३ मा पिता प्रेमबहादुर जोशी र माता जुलुममाया जोशीबाट जन्मिनुभएका कुमारबहादुर बुबा छउञ्जेल त राजकुमारजस्तै थिए नि भन्नुहुन्छ । दरबारबाट बुबालाई लिन आउने हात्तीघोडामा चढ्ने, चाबहिलभरिमै साइकल चढ्ने एक मात्र व्यक्ति राजवैद्यको छोरो भएर पनि ती सुखका दिन धेरै भोग्न पाउनुभएन तर पनि ठूलोबुबा र आमाले उत्तिसारो दुःख नै भोग्नुपरेको जस्तो अनुभव चाहिँ गराउनु भएन ।

कुमारबहादुर जोशी वि.सं. २०१५ सालमै कविता प्रतियोगितामा भाग लिएर प्रथम हुनुभएथ्यो । प्रकाशनका हिसाबले चाहिँ वि.सं. २०१७ मा गोरखापत्रमा कविता प्रकाशित भएपछि चिनिन थाल्नुभयो । सङ्गृहीत कृतिका रूपमा पहिले ‘सञ्चयन’ निबन्धसङ्ग्रह (वि.सं. २०२५) प्रकाशित भएपछि उहाँको कवि व्यक्तित्व ओझेलमा परेको भए पनि काव्यसमेत प्रकाशित गरिसक्नुभएको छ । अध्ययनक्रममा उहाँ समालोचक अझ बढी महाकवि देवकोटा विज्ञका रूपमा परिचित हुनुहुन्छ । त्यसो त उहाँ आफूलाई कवि व्यक्तित्वबाट अलग राख्न पनि चाहनुहुन्न र कविता लेखिरहनुभएकै छ । उहाँले वि.सं. २०६३ मा दुई कविता लेख्नुभयो-इच्छा र कर्कलाको पानी शीर्षकमा । उहाँका यी कविता गुरुमन्त्रअनुसारकै जीवन हेर्ने दृष्टिकोणसँग सम्बन्धित छन् ।

देखूँ सुन्दर आँखाले
सुनूँ सद्वाक्य कानले
भलो चिताउँ सबको
नगम्कूँ अभिमानले ।

मान्छेको जीवन कर्कलाको पानीजस्तै छ । यसको कुनै भरोसा छैन । भोगाउने नियतिले हो । सुखैसुख भोग्नेहरू त कति पो होलान् र । आफूले जसरी भोग्न पाएको छ, त्यसैमा सन्तुष्ट हुनसक्नु नै ठूलो कुरा मान्नुहुने जोशीको जीवनप्रतिको दृष्टिकोणको कर्कलाको पानी यस्तो छ-

हावै चल्दा पनि, झरिनै पो हाल्ने
घामै लाग्दा पनि त्यसै सुकिजाने
कर्कलाको पानी, हाम्रो जिन्दगानी
राम्रो भए दृष्टि, राम्रो सारा सृष्टि
यस्तै हुन्छ राम्रो, स्वच्छ छवि हाम्रो ।

हो त, उहाँको कर्कलाको पानीमा पनि दुईचोटि हावा लागेर झण्डैझण्डै पोखिएको । विपत्तिमाथि विपत्ति । वि.सं. २०५० मा धर्मपत्नी लक्ष्मीदेवीको निधन, मिर्गौला रोगबाट ग्रसित भई वि.सं. २०५३ मा प्रत्यारोपण, प्रत्यारोपित मिर्गौलाले पाँच वर्षभन्दा बढी काम गर्न नसकेपछि पुनः प्रत्यारोपण, महँगो औषधिसेवन । जोशीको जीवनले धेरै काष्टिकाटेको छ । लक्ष्मीको साथ टुटेपछि उहाँले पुनः सरस्वतीको साथ पाउनुभएको छ । आफू जिइरहनुमा पत्नी सरस्वतीकै हात रहेको स्वीकार्नुहुन्छ उहाँ । लेखनकर्म निरन्तर चलिरहेकै छ । पछिल्लो कृतिका रूपमा वि.सं. २०६६ मा ‘महाकवि देवकोटा ः अनेकका आँखामा’ प्रकाशित छ । यो कृतिले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सिर्जनाबाट मात्रै नभई आनीबानीबाट पनि चिनाउने काम गरेको छ । त्यसो त कुमारबहादुर जोशी महाकविका सिर्जनामाथि विद्यावारिधि गर्ने प्रथम व्यक्तित्व नै हुनुहुन्छ । आफ्नो विद्यावारिधिका सम्बन्धमा उहाँ भन्नुहुन्छ-वनारसबाट संस्कृतशास्त्री, आचार्यको एक खण्ड बाँकी हुँदै छोडेर वि.सं. २०२४ मा नेपालीमा स्नातकोत्तर गरेँ । त्यसपछि दाङमा पढाउन गएँ । मेरै सहपाठी मित्र वासुदेव त्रिपाठीले नेपाली साहित्यका ‘तीन तारा’ मध्ये कविशिरोमणि लेखनाथ पौड्यालमाथि विद्यावारिधि गरेर नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम व्यक्तित्व हुनुभयो । नाट्यसम्राट बालकृष्ण सममाथि केशवप्रसाद उपाध्यायले गर्दैहुनुहुन्थ्यो । त्यसैले त्रिपाठीले अब तपाईंले महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि गर्नुस् भन्नुभयो । यो ज्यादै चुनौतिपूर्ण कार्य थियो । सामग्री जम्मा पार्न पनि निक्कै कठीन भयो । देवकोटा महासागर नै हो । मेरो शोध निर्देशक पनि त्रिपाठीजी नै हो । वास्तवमा उहाँकै प्रेरणाले मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका समग्र काव्य-कवितामाथि विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन पाएकोमा गौरव अनुभूति हुन्छ । म सानैदेखि महाकविको भक्त भएकाले पनि यो मेरो हक नै थियो ।

महाकवि देवकोटामाथि गहन अध्ययन-अनुसन्धान गरेर एक दर्जनको हाराहारीमा त अनुसन्धानात्मक कृतिहरू नै प्रकाशित गरिसक्नुभएको छ जोशीले । महाकवि देवकोटा र उनका महाकाव्य (२०३१), एक व्यक्तित्व, अनेक दृष्टि (२०४१), देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन (२०४७), देवकोटाका कविताकृतिको कालक्रमिक विवेचना (२०४८), देवकोटाका कविताकृतिमा प्रकृति (२०५३), लक्ष्मी निबन्धसङ्ग्रहका निबन्धहरूमा देवकोटाका काव्यमान्यता (२०६१), महाकवि देवकोटा ः अनेकका आँखामा लगायतका कृतिमार्फतलदेवकोटाका अनेक पाटोलाई जोशीले पर्गेल्नुभएको छ । देवकोटाका अनन्यभक्त भएर पनि उहाँले देवकोटासँग दोहोरो संवाद गर्न पाउनु भएनछ । भन्नुहुन्छ- उहाँलाई मैले देखेँ तर त्यो उहाँको अन्तिम अवस्था थियो । त्यसपछि उहाँ बौरिनुभएन । सशरीर संवाद नभए पनि उहाँसँग सपनामा कैयौँपटक संवाद गरेको छु । सपनाका कुराकानीको पुस्तक नै प्रकाशित छ- कुराकानी (मृतात्मासितको र अरूसितको पनि, २०४१) ।

कुराकानीको सन्दर्भ उठेपछि उहाँ रोकिनुभयो । रोकिनुको कारण थियो यससँग जोडिएको र बाहिर पनि आइसकेको एउटा सुखदुःखको संयोग । मिर्गौला प्रत्यारोपणक्रममा खर्चको अभाव हुँदा कुनै एक सज्जनले प्रा.डा. जोशीसँग यो कृतिको प्रतिलिपि अधिकार ५० हजार रूपियाँमा किनेछन् । त्यो बेच्नुपर्दाको प्रसङ्गमा उहाँ भक्कानिनुहुन्छ र गला अबरूद्धकै अवस्थामा बोल्नुहुन्छ-मलाई कुराकानीको प्रतिलिपि अधिकार बेच्दा आफ्नै सन्तान बिक्री गरेको दुःखद अनुभव भयो । उपचारमा सघाउ पुग्ने भएकोले मुटुमा घाउ बनाएर पनि सहेँ । त्यसमा महाकविको मृतात्मासँग प्लान्चेट विधिबाट बोलाएर कुराकानी गरिएको छ । प्रतिलिपि अधिकार किन्नेका तर्फबाट तेस्रो संस्करण आइसकेको छ । हाम्रो सहमतिअनुसार त्यो किन्नेको नाम पुस्तकको संस्करण आएपछि मात्रै सार्वजनिक होस् भन्ने थियो । पढ्नेले उहाँलाई चिन्छन् ।

उहाँका पुर्खा राजवैद्य खलक । अहिलेका चल्तीका डाक्टरले कमाएजस्तै उतिबेलाका वैद्यको पक्कै पनि कमाई थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेदेखि (२०१७) नै जागिरमा लाग्नुभएको र ३७ वर्षसम्म त विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको व्यक्तित्वलाई आर्थिक अभाव झेल्नुपर्ने अवस्था आउनुको कारणमा धेरै कुरा जोडिएका हुनसक्छन् । फेरि उहाँको हजुरबुबासँग जोडिएको सुन बनाउने प्रसङ्ग पनि सुनिएको हो । अर्थात् सुन बनाउनेको नाति होइन र तपाईं ?

हो त, मेरो हजुरबुबासँग सुन बनाउने विद्या र उपकरण थियो अरे । उहाँले सुन बनाएर साधुसन्तहरूलाई बाँड्ने, भोजन-कपडा किनिदिने गर्नुहुन्थ्यो अरे । कविराज शेरबहादुर भनेपछि सबैको हाईहाई ! तर धार्मिक मान्यताअनुसार त्यसरी सुन बनाउँदा आफू र आफ्ना सन्तानले प्रयोग गर्न नहुने नियमलाई मान्नैपर्ने । सिक्कम-दार्जिलिङतिर जाँदा उताकाले मलाई सोधेथे- हजुरबुबा-बुबाले जानेको सुन बनाउने विद्या तपाईंलाई पनि आउला भनेर । खै बुबालाई पनि ज्ञान थियो भन्नेसम्म सुनेको हुँ तर बनाएको थाहा छैन । सुनका चार महत्त्वपूर्ण गुण हुन्छन्- पहेँलोपन, लचकता, खिया नलाग्ने र आफ्नै प्रकारको तौल । धातुलाई त्यो गुणमा लैजान पारोलाई विभिन्न जडीबुटीहरूको पुट दिएर महिनौसम्म राखेपछि ‘बद्ध’ बन्ने रहेछ । बद्ध पारोलाई तामा पगालेर बनाएको झोलमा मात्रा मिलाएर हालेपछि सुन बन्ने रहेछ । हजुरबुबाले गर्ने यस्तो गोप्य कामको पोल वसन्तशमशेरले श्री ३ लाई लगाइदिएपछि दुईदुई चोटि हाम्रो सुकुलैसमेत सर्वस्वहरण भएको रहेछ । त्यसपछि सुन बनाउने हिम्मत कसरी आउँथ्यो । सम्पत्ति सबै हरण हुनु, बुबाको निधन छिट्टै हुनु, आमा र हामी चार सन्तान पालिनुपर्ने अवस्थाले घर धान्न नै धौ धौ थियो । धन्न बुबाका हितैषी वालचन्द्र शर्माले प्रवेशिका परीक्षा उत्तीर्ण गर्नासाथै आफू उपकुलपति भएकोले रोयल नेपाल एकेडेमीमा सय रूपियाँको जागिर लगाइदिनुभयो । त्यहाँ मैले बज्रानन्द बज्राचार्य र हरिशचन्द्र न्यौपानेहरूसँगै शब्दकोशको काम गरेँ ६ महिनाजति । त्यतिबेला प्राज्ञको तलव ६ सय थियो । पढाइमा असजिलो भएकाले यता छोडेर लक्ष्मीनाथ गौतम, कुलचन्द्र गौतमका छोरा राष्ट्र बैङ्कका गभर्नर भएकाले राष्ट्र बैङ्कमा सहायकको जागिर खाएँ केही महिना । त्यो बेला राष्ट्र बैङ्क जुद्ध बारूणयन्त्रसँगै थियो । विदेशी विनिमय विभागमा हुञ्जेल सजिलो थियो । गभर्नरले बोलाएर पढाइ नछोड्नु नि भन्नुभएथ्यो । नेसनल कलेजमा आईएमा भर्ना भएथेँ तर संस्कृत पढ्न चाहिँ समय थिएन । उहाँले नै सटही काउन्टरमा सरूवा गरिदिएर दुई बजेसम्मको जागिर मिलाइदिनुभयो । मैले कमर्स नपढेकोमा चित्त नबुझेर चिफ एकाउन्टेन्ट धिरविक्रम शाहले पेल्न थाले र चेक पोस्टिङमा सारिदिए । यो काम गाह्रो थियो र एकपटक काम बिगि्रएर हिसाब नमिल्दा लौ त भनेर जागिरै छोडिदिएँ । अनि परोपकार हाइस्कुलमा पढाउँन थाले । यो पढाउने काम निरन्तर आठ वर्ष स्कुल र वि.सं. २०२४ मा स्नातकोत्तर गरेपछि ३७ वर्ष क्याम्पसमा चल्यो । जागिर थालेपछि कमाई जोगाएर थपथाप पारी वि.सं. २०१८ सालमा विशालनगर चन्डोलमा १८ सयमा तीन रोपनी जग्गा किनेथेँ । भाइहरूलाई अंश मिलाउँदा आफैँ ठगिएँ । श्रीमतीको क्यान्सर रोगका कारण असामयिक निधन, दोस्रो विवाह गरेको छोराहरूले मन नपराउनु र सहयोग नगर्नु, दुःखका दिनहरू प्रशस्तै भोगिएका छन् । मेरो जीवनमा सरस्वतीको प्रवेश नभएको भए त दुईदुईचोटि मिर्गौला फेरेर बाँच्न सम्भव नै थिएन । उनैले बचाएकी छिन् ।

मिर्गौला रोगको उपचारका क्रममा सरकार, सङ्घसंस्था र व्यक्तिगतरूपमा पनि धेरैले सहयोग गरेकाले आफू बाँचेको गुन तिर्न पनि साहित्यमा अझै धेरै गर्नुछ भन्नुहुन्छ उहाँ । खर्चको त हिसाबै छैन, महँगो औषधि सेवन बाँचुञ्जेल गर्नुपर्छ । शुभचिन्तकहरूको सहयोगले नै बाँचिरहेको उहाँको ठहर छ । मृत्युशय्याबाट बिउँझेर (२०५४) र दोस्रो नवजीवन (२०५९) त पुस्तक नै प्रकाशित गर्नुभयो । मिर्गौला रोग र यसको उपचार (२०५५), कवि कोइराला र उनको ‘गङ्गाप्रवास (२०५५), लक्ष्मी निबन्धसङ्ग्रहका निबन्धहरूमा देवकोटाको काव्यमान्यता (२०६१), महाकवि देवकोटा ः अनेकका आँखामा (२०६६), साहित्यिक कृतिहरूको समीक्षा (२०६७) लगायतका कृतिहरू निरन्तर प्रकाशित भइरहेका छन् । उहाँका ज्यादाजसो त समालोचनात्मक कृतिहरू नै छन् । मौलिक सिर्जना र समलोचनामा के कस्तो अन्तर छ त ?

लेखनकर्म गाह्रो त आफैँमा हुँदै हो । यसमा पनि मौलिक सिर्जना जीवन र जगत्सँग सम्बन्धित छ र समालोचना चाहिँ त्यस्ता सिर्जनामाथि पनि केलाउने हुँदा गाह्रो काम हो । समालोचना पनि हुन त रचना नै हो । रचनात्मक रचना नभई त्यो उम्दा हुँदैन । सिर्जनामा भएका कमीकमजोरीहरू पनि केलाएर उम्दा बनाउनुपर्छ समालोचनाले । सिर्जनामा पनि समालोचना त हुन्छ अर्थात् जगत्-जीवनको समीक्षा सिर्जना हो । त्यो सिर्जनालाई अझ माझ्ने हो समालोचना ।’

उहाँले शिक्षा मन्त्रालयबाट काजमा खटाइएर पाँच वर्षसम्म वनारस हिन्दू विश्वविद्यालयमा रहेर प्राध्यापन पनि गर्नुभयो । दार्जिलिङ, खर्साङ, गान्तोकलगायतका कार्यक्रमहरूमा संभाषणहरू पनि दिनुभयो । पछिल्लो समयमा आएर लेखिएका आफ्ना कवितामा जीवनलाई हेर्ने दृष्टिकोण प्रस्तुत भएको स्वीकार्नुहुन्छ । आफैँले आफैँलाई नियाल्दा-अहिलेसम्मको यात्रा स्वच्छ छवि कायम राख्नेतिरकै यात्रा हो । त्यो निरन्तर कायम राख्ने प्रयत्नमा छु । मैले केही गरेको रहेँछु र नै राज्यले, साथीभाइहरूले हेरेका छन् । बिरामी पर्दा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेलदेखि सबै ठूला नेताहरू आउनुभयो हेर्न । अहिले पनि शुभचिन्तकहरू आइरहनुभएकै छ । यसैमा सन्तुष्ट छु म भन्नुहुन्छ जोशी ।

आफ्ना दुई दर्जनभन्दा बढी कृतिहरूमा देवकोटाकेन्द्री समालोचनाग्रन्थहरू- देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन, देवकोटाका कविताका कृतिको कालक्रमिक विवेचना, महाकवि देवकोटा र उनका महाकाव्य, लक्ष्मी निबन्धसङ्ग्रहका निबन्धहरूमा देवकोटाका काव्यमान्यता र शतवाषिर्कीका अवसरमा प्रकाशित महाकवि देवकोटा ः अनेकका आँखामा, कृतिहरूलाई ज्यादै महत्त्वका मान्नुहुन्छ । देवकोटाको मूल लेखनी भन्नु नै काव्य र निबन्ध हो । त्यसैभएर यो दुवै पाटोलाई केलाएको उहाँको मान्यता छ । उहाँले अर्को एउटा अनौँठो कृति पनि प्रकाशित गर्नुभएको छ-जापानको सबभन्दा लामो दिन (२०४४) । त्यो के हो नि ? ‘ए, त्यो जापानमा सन् १९४५ मा एटम बम खसालिएको दिनको २४ घण्टाको समयको विश्लेषण हो । जापानका मुख्यमुख्य व्यक्तिहरूका विचारहरू सम्मिलित छन् त्यसमा । रिसर्च सोसाइटीले तयार पारेको र टोयटा कम्पनीले अनुवाद गराएको हो । नेपालीमा वाशु शशीले अनुवाद गरेका र मैले सम्पादन गरेको हुँ । सम्पादक-अनुवादक दुवैले रूँदै काम गरेका थियौँ । त्यो पढ्दा जो कोहीको मुटु चिरिन्छ ।

प्रा.डा.कुमारबहादुर जोशीले नेपाली साहित्यमा पुर्‍याउनुभएको योगदान अतुलनीय नै छ र महाकवि देवकोटाका सम्बन्धमा त उहाँलाई गुरु नथापी प्रवेश गर्नसक्ने कसैको हिम्मत नै छैन भन्दा पनि फरक पर्दैन । उहाँले योगदानअनुरूपको प्रशस्तै पुरस्कार-सम्मान प्राप्त गर्नुभएको छ । भन्नुहुन्छ- ‘मेरो पुनर्जीवन नै सबैभन्दा ठूलो पुरस्कार हो तर कतिपय अवस्थामा राजनीतिकरूपमा हेरिने, साटासाट गरिने, आफ्नो-हाम्रो छुट्याइनेजस्ता काम भएकाले व्यापारजस्तो पनि भएको छ । यसले गर्दा पुरस्कार र सम्मानको गरिमा घटेको पनि छ । प्रतिष्ठित भनिएका पुरस्कारहरूको पनि पात्र चयनमा सावधानी नअपनाइँदा मर्यादा घटेको छ । यहाँ पुरस्कार-सम्मानका लागि पात्र, अपात्र र कुपात्र छन् । पात्रले पाउँदा ठीक हुन्छ, अपात्र र कुपात्रले पाउनु ठीक होइन ।’

पछिल्लो समयमा श्रीमती सरस्वती जोशीले उहाँका सिर्जनाहरूको जतनजगेर्ना, अन्तर्वार्ताहरूको सङ्कलन/सम्पादन, भूमिकाहरूको सङ्कलन गरेर कृतिहरू नै प्रकाशित गरिदिनुभएको छ । श्रीमती जोशीलाई एउटै मात्र चिन्ता हो डा. जोशीको निरन्तरको बोलाइको धपेडी । एक त अन्तर्वार्ता लिनेहरू, भूमिका लेखाउनेहरू, शुभेच्छा प्रकट गर्नेहरूको कमी हुँदैन । त्यसमाथि उहाँ छोटकरीमा कुरा टुङ्ग्याउन नै जान्नुहुन्न । वास्तवमा हो पनि, महाशिवरात्रिको अघिल्लो दिन श्रीमती जोशीले सबै काम सकेर पशुपतिनाथको दर्शन गरी घर-फर्किंदा पनि हाम्रो कुराकानी चलिरहेकै थियो । यता नरहरि आचार्य र शारदा शर्माको भेट्न आउने समय भइसकेको थियो । डा. जोशी भन्दै हुनुहुन्थ्यो- हुन्द्यौ केही हुँदैन बोलेर ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *