न्यून आर्थिक अवस्था भएका सुदूरवासीहरूको गन्तव्य अहिले पनि फेरिएको छैन । घरखेत धितो राखेर विदेश जान नसक्नेहरू अझै रोजगारीको गन्तव्य भारतकै विभिन्न सहरलाई बनाउने गर्छन् । सुदूरपश्चिमका दुर्गम बस्तीबासीको आधा उमेर त तिनै सहरहरूमा बित्ने गथ्र्यो, अझै बित्छ र खै ? कहिलेसम्म बित्ने हो ? पत्तो छैन ।
तीमध्ये धेरै थोरै मानिस मात्र मुग्लानबाट फर्किएर मुलुकमा सम्झनलायक काम गर्न सफल हुन्छन् । नेपाली गजल आकाशका ‘नक्षत्र’ ललिजन रावल यस्तै पारिवारिक पृष्ठभूमिले सिर्जिएका स्रष्टा हुन् ।
रावलको बाल्यकाल भारतको मुम्बैमा बितेको थियो । टुकुटुक हिँड्ने भएदेखि उनी तीन दिन पैदल र चार दिन रेल यात्रा गरेर मुम्बै पुगेका थिए । पिताजीको रोजगारी उतै भएकाले उनी मुम्बैको ग्लोबमिल प्यासेज मेनुसिपल हाइस्कुलमा चार कक्षामा भर्ना भएका थिए ।
चार दिदीबहिनी र दुई भाइमध्ये माहिलो सन्तानका रूपमा वि.सं. २०२१ साल पुस २८ गते अछामको कालिका गाविस २ सङ्गालीमा जन्मिए पनि उनले गाउँमा अक्षराम्भ मात्रै गर्न पाए । ‘बुबा मुम्बैमा जागिर गर्नुहुन्थ्यो । उतै पढाइ राम्रो हुन्छ भनेर लग्नुभयो,’ गजल स्रष्टा रावलले भने, ‘मेरो किशोर अवस्था त्यतै बित्यो ।’ आठ कक्षामा पढ्दा पढ्दै विद्यालयमा हडताल भएपछि उनी आफ्नै मुलुक फर्किए, त्यो पनि राजधानी । काकापट्टकिा दाइ कृष्ण रावलसँग २०३४ मा राजधानी छिरेका गजलकार रावलको नौ कक्षादेखिको पढाइ र जिम्मेवारी काकाबाटका दाइ दानबहादुर रावलले व्यहोर्नु भएछ ।
विजय मेमोरियलबाट प्रवेशिका गर्नु भएका रावलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक सक्नुभयो । यद्यपि रावलको गजल बी.ए. नेपाली दोस्रो वर्षको कोर्समा पढाइ हुन्छ । ‘यो बन्छु भनेर’ साहित्यमा नलागेको बताउने गजलकार रावल भन्नुहुन्छ, ‘समयक्रमले बनाएको कुरा हो । मैले कहिल्यै देशको सेवा गर्छु भनेर काम गरेको होइन र कसैले पनि गर्दैन । यदि कसैले त्यसो भन्छ भने त्यो ढोङ्ग मात्रै हो ।’
स्रष्टा रावलको अध्ययनका क्रममा सधँै एउटा गजबको अवस्था भने आइरहृयो । बम्बैमा चार कक्षामा भर्ना हुँदा उनलाई हिन्दी आउँदैन थियो । काठमाडौँ आएर नौ कक्षामा भर्ना हुँदा नेपाली जान्दैनन् थिए ! त्यसो भएर पनि उनले भाषामा धेरै चाँडो ‘पकड’ जमाउन सके भन्ने उदाहरण २०३७ सालमा कविता छापिएपछि महसुस गर्न पाए । उनको पहिलो ‘सङ्घर्ष’ कविता ‘मातृभूमि’ साप्ताहिकमा प्रकाशित भएको थियो । त्यो कविताको प्रकाशनसँगै स्रष्टा रावलको जीवनमा ऊर्जा र सङ्घर्ष दुवै थपियो । अनि त के उनी पत्रिकाको अफिसअफिस धाउन थाले । ‘मेरो क्यारियर निर्माणमा कसैले हात तानिदिएन । म आफ्नै सङ्घर्षले सिर्जिएको मान्छे हुँ’ उनले भने, ‘आफ्नै प्रयासले २०३९ सालदेखि त सबै पत्रिकाहरूमा मेरा रचना छापिने गर्थे । कविता, गजल लेखनमै रमाएका रावलको २०३८ मा ‘सम्झनाले सताएको एक रात’ कथा गोरखापत्रमा छापिएपछि कथा लेखनमा समेत उनी हाम फाले तर जुन उचाइ गजलले दियो त्यो उचाइ कथाले नदिने अन्तरआवाज बुझेर होला रावलले त्यसपछि कथा लेख्न छाडेर गजलमै एकत्रित हुन थाले र पहिलो गजल सङ्ग्रह ‘केही गजलहरू’ पाठकसामु पस्किए । जुन सङ्ग्रहमा यथार्थवादी, माक्सवादी सोच, पञ्चायत विरोधी स्वरहरू समेटिएका थिए । सङ्ग्रह विचारप्रधान थियो । अनि त के ०४८ मा ‘बिरानो ठाउँमा’ प्रकाशित भयो तर गजलकार रावललाई चिनाउने र आम पाठकमाझ परिचित गराउने गजल भने ः
नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र केके थियो कुन्नि, बाहिर मेरै नाम थियो ।।
नै हो । जुन गजलपछि गएर पाठ्यक्रममा समावेश भयो । त्यही गजलका पङ्क्ति आज ‘ट्रक साहित्यका’ रूपमा समेत चल्तीमा देख्न सकिन्छ । प्रकाशनको क्रम त्यसपछि कहिल्यै रोकिएन । गजलकार रावलले भने, ‘०४० देखि ४८ सम्मका कविताहरूलाई समेटेर ‘मरुभूमिमाथि’ सङ्ग्रह प्रकाशित गरेँ ।’
अब भने लेखनको यात्रा सम्पादनमा समेत उक्लिसकेको थियो । उदय निरौलासँग मिलेर रावलले ‘अनुराग’ साहित्यिक पत्रिका प्रकाशन गरेँ । उनले नेपाली गजलका विषयमा लिएर एउटा समकालीन गजलका विषयमा कृति लेखे । उनले ‘सिरानीमा आँसु’ गजल-कविता सङ्ग्रह ०५९ बजारमा ल्याए । गजलमा लेखन र प्रकाशनमा नयाँनयाँ आयाम थप्ने क्रममा गजलकार रावलले ०६४ मा गजल वाचनको सीडी स्रोतासामु ल्याए । उनकै सम्पादनमा दुई सय जना गजलकारलाई समेटेर ‘प्रतिनिधि नेपाली गजलहरू’ २०६५ बजारमा आयो । ०६७ मा ‘टहटह जुन’ बाल गजल सङ्ग्रहको स्वाद बाल पाठकले पनि पाए ।
गजलको सिर्जना गर्नु र पस्कनु मात्रै स्रष्टा रावलको ध्येय रहेन । सँगसँगै त्यसमा उनले आफ्नै मौलिकताको वकालत गर्दै लगे । उनले जहिले पनि गजलमा गेयत्मकता हुनुपर्ने मान्यतालाई बलियो बनाउँदै रचना गरे । उनले गजलमा लयको सचेतता हुनुपर्ने दर्शनलाई बलियो बनाए । उनी आफ्ना रचना मार्फत् गजलमा यति, गति, लय, गेडाको सचेतना दिन खोज्ने गजलकारका रूपमा स्थापित बने । रावलले ०४२ पछिका गजलमा सौन्दर्य, गाम्भीर्य, लालीत्य, हार्दिक र कोमललाई प्रस्तुत गरिरहे । रावल गजल लेखनमा एउटा मान्यता राख्छन्, ‘जतिसुकै कठोर र क्रान्तिपूर्ण विचार पनि हार्दिकतापूर्वक प्रस्तुत गरिनुपर्छ ।’
गजलकार रावलको दृष्टिमा नेपाली गजल लेखनमा दुईवटा अतिवाद छन्, एउटा शृङ्गारको नाममा नग्नता र अर्को क्रान्तिको नाममा नारा । उनी यसबाट बचेर बीचको बाटो अगाडि बढ्नसक्नु सफल गजलकारको विशेषता ठान्छन् । कल्पनाशिलता बिना कविता, गजलको सिर्जना नहुने कुरा स्वीकार्दै स्रष्टा रावल ‘कल्पनालोकको उडान भरेर वास्तविक धरातल बिर्सिएको रचनाले समाजमा कुनै सौन्दर्य दिन नसक्ने मान्यता राख्छन् ।
रहरै रहरले लेखनमा पसेका गजलकार रावललाई अभिप्रेरणा दिने कोही नभए पनि उनी कताकता सानैमा पढेको रविन्द्रनाथ ठाकुरको ‘काबुलिवाला’ कथा र ‘जोश न ठन्डा होने पाए कदम लेकर चल, मन्जिल तेरे पग चुमेगी आज नही तो कल । हिन्दी कविताबाट अभिप्रेरित भएको स्वीकार्छन् ।
जीवनको जोहो गर्न शिक्षकदेखि क्यासिनो नेपालमा समेत जागिर गरेका स्रष्टा रावल कहिल्यै हतास भएनन् । जब उनी आफ्ना रचनाका एकदुई लाइन कुनै मनबाटै सुनाउँछ उनलाई आफ्नो जीवनको लगानी सार्थक भएको अनुभूति गर्छन् । ‘एउटा सर्जकलाई उसको सिर्जनाको प्रशंसा भन्दा ठूलो अरू के हुन सक्छ ?’ रावल सन्तुष्टि व्यक्त गर्छन् । अहिले रेडियो नेपालमा कार्यरत गजलकार रावललाई लोकतन्त्रको स्थापनापछि राज्यले सम्मान दिएको छ । उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य बनाएको छ । त्यसो त ०५२ को पहिलो राष्ट्रिय प्रतिभा पुरस्कारबाट उनलाई सरकारले सम्मान गरेको थियो । त्यसअघि लोकेन्द्र साहित्य पुरस्कार पाइसकेका प्राज्ञ रावल मेचीदेखि महाकालीका विभिन्न साहित्यिक र गैह्र साहित्यिक संस्थाबाट दर्जनाँै पटक सम्मानित र अभिनन्दित भैसकेका छन् ।
स्रष्टालाई नाप्ने यन्त्र सम्मान, पुरस्कार र पद नभएको मान्यता राख्ने रावल धेरै सम्मानित व्यक्तित्व यस क्षेत्रमा लागिरहेको बताउँछन् । जीवनको कर्मलाई समयले पहिचान गर्ने दर्शन बोकेका रावलसँग जीवनप्रति कुनै गुनासो छैन । उनी ‘केही अर्थमा सन्तुस्ट हुन सक्नुपर्ने’ सुझाव दिन्छन् । अहिले गजलको यात्राभन्दा बढी अनुवाद साहित्यमा लागेका स्रष्टा रावलले हालसम्म रसियन उपन्यासकार निकोलाई चेर्निसेम्स्कीको उपन्यास ‘के गर्ने ?’, म्याक्सिम गोर्कीका उत्कृष्ट कथाहरू, लेवनानी चिन्तक/कथाकार खलिल जिब्रानलगायत झण्डै एक दर्जन कृतिको अनुवाद गरिसकेका छन् । क्रियाशिलतामा रमाउने स्रष्टा रावल यथार्थपरक कल्पनामा गरिएको सिर्जना नै दिगो र स्वीकार्य हुनेमा विश्वास राख्छन् ।
प्रस्तुति : शिवराज योगी
मधुपर्क २०६८ चैत्र
