हिमाल खबरपत्रिका
लेखकको मृत्यु
व्यक्तिगत जीवनका दुःख-पीडा र समस्याहरूमा समाजलाई जोडेर वा समाजका अप्ठ्याराहरूलाई व्यक्तिमा जोडेर सिर्जना गरिन्थ्यो, काव्य-कृति। अझ आख्यानको त्यति विकास नभएको काव्ययुगमा सबै कुरा उपदेशात्मक र कारुणिक बनाउन कविहरूले प्रशस्त मेहनत गरेका हुन्थे। पूर्वीय साहित्य काव्यात्मक छ। काव्यकै माध्यमबाट आख्यानको व्यवस्थापन गरिएको हुन्थ्यो। ती काव्यहरू अत्यन्त भावुक र कारुणिक हुन्थे। एउटा पात्रको जीवनमा सिङ्गै समाजलाई प्रतिस्थापित गरिन्थ्यो, त्यस्तै परम्परा बस्यो।
अब उचालौं धौलागिरि
हामीले हिमाल त उठायौं एसियाको माझ्मा, तर हिमालकै माझ्मा पर्ने धौलागिरि पर्वतलाई भने उचाल्न सकेका छैनौं। कञ्चनजङ्घा र सगरमाथा (एभरेष्ट) को उचाइ यकिन हुनुभन्दा पहिले विश्वको सर्वाेच्च शिखर धौलागिरि (८१६७ मिटर) थियो। अहिले उचाइको वर्गीकरणमा धौलागिरि सातौं नम्बरमा पर्दछ। तर, हिमाललाई उचाइले मात्र नाप्न हुँदैन। हिमालको मूल्याङ्कन बहुआयामिक पक्षमा हुनुपर्छ। पर्वतारोहणका मौजुदा चुनौती, भूस्वरुपको धरातलीय विशेषता, भौगोलिक एवं भौगर्भिक महत्व, जैविक विविधताका विशेषतालगायत सांस्कृतिक मौलिकताका दृष्टिले पनि केलायौं भने धौलागिरि हिमाललाई उचाल्न पुगेको छैन भन्ने निर्क्योलमा हामी पुग्दछौं।
नेपालीपनको नयाँ आयाम
धेरै पछाडि फर्कनै पर्दैन, २०६२/६३ को जनआन्दोलनमा होमिँदा पनि नेपालीहरू एक भाषा, एक भेष; एक धर्म, एक संस्कृति लाई नेपालीपन मान्न बाध्य थिए। हिन्दू राजसंस्थालाई समग्र राष्ट्रियताको प्रतीक मान्न लगाइएको थियो। नेपालगञ्जमा बस्ने मुसलमानले काठमाडौंको हिन्दूराज्य लाई आफ्नो पहिचान ठान्नुपर्थ्यो भने धोती-गम्छामा जीवन बिताउने तराईका नेपालीले दौरा-सुरुवाल-टोपीलाई राष्ट्रिय पोशाक मान्नुपर्थ्यो। तिनलाई सबैले मानेका थिए भन्नु एउटा कुरा हो, तर आत्मैदेखि स्वीकार गरेका थिए कि थिएनन् भन्ने बेग्लै पक्ष हो।
मेरो स्वार्थ समृद्ध नेपाल
मलाई कहिलेकाहीँ सोध्छन्, “संसारको जुनसुकै देशको नागरिकता लिएर बस्न सक्ने मान्छे, किन नेपाल जस्तो अप्ठ्यारो अवस्थाको विपन्न मुलुकसँग जोडिएर बसेको? किन नेपालमा काम गरिरहेको?” उनीहरूलाई मेरो सरल उत्तर हुनेगर्छ, “नेपालमा मेरो सबैभन्दा ठूलो स्वार्थ छ।”
भूमण्डलीकरणका प्रभावहरू संसारभर प्रबल छन्। धेरै देशले नागरिकता नीति लचिलो बनाएका छन्। खासगरी धनी, विशेषज्ञ, बुद्धिजीवीहरूलाई नागरिकता दिएर देश विकासमा सामेल गराउने नीति धेरैको छ। तर, मेरो अनुभवमा विश्वका जुनसुकै देशको नागरिकता लिए पनि मेरो स्वभाव, चालचलन, हाउभाउ, रुपरङ, पर्वहरू फेरिँदैनन्। एउटा नेपालीले अमेरिकी नागरिकता लिए पनि संस्कृतिमा ऊ नेपाली नै रहन्छ। तपाईंले कतै “म अमेरिकी नागरिक हुँ” भन्नेवित्तिकै अर्को प्रश्न आइहाल्छ, “खास ‘रिजिन चाहिँ कहाँ हो?”
म नेपाली
नेपाल जातीय-सांस्कृतिक विविधता र बहुलताको मुलुक हो। नेपालको विविधताको यो चित्र आगन्तुक र अल्पसङ्ख्यकहरूबाट तयार भएको छ। विभिन्न ठाउँबाट बसाइँ सर्दै आएका समुदायले यस भू-भागमा आ-आफ्नै किसिमका सभ्यता र संस्कृति हुर्काए; शासन प्रशासनका रूपरेखा कोरे; राज्य बनाए वा अर्काको राज्यमा ठाउँ खोजे, मिसिए र बसे। राज्य भएपछि सेना, सेना भएपछि बल, बल भएपछि युद्ध हुने त्यस समयमा हारजित पनि भए नै। राज्यहरू एकअर्कामा गाभिन्थे। त्यस्तै क्रममा ठूलो र सम्पन्न राज्य बनाउने प्रबल चाहना भएका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारको अभियान थाले। जिते, त्यसैले उनको अभियानले राष्ट्रिय एकीकरणको नाम पायो। उनले नजितेका भए के हुन्थ्यो? यो एकदमै अनुमानगम्य प्रश्न हो― शायद अर्को कसैले नेपाल एकीकरण गर्ने थियो, वा यो भूखण्ड नेपाल का रूपमा जन्मिनुअगावै अर्कै कुनै नाम वा मुलुकको मानचित्रमा समाहित हुनेथियो।
त्यो कालो दिन
१ पुस २०१७ मा राजा महेन्द्रले निर्वाचित संसद्लाई भङ्ग गरी देशको शासनभार आफ्नो हातमा लिए र कालान्तरमा दलविहीन शासनव्यवस्थाको बीजारोपण गरे। यो कदम धेरैका लागि अप्रत्याशित थियो। यसबारे केही सङ्केत पाउनेहरूले पनि संसदीय प्रजातन्त्रको जननी बेलायतकी महारानीको नेपाल भ्रमणपश्चात् मात्र केही हुन्छ भन्ने लख काटेका थिए। तर, मौकामा कदम चाल्न सिपालु राजा महेन्द्रले दलहरूको रक्षात्मक अभियानले गति लिनुअघि नै प्रहार गरिहाले। यस काण्डको पृष्ठभूमिबारे मैले जानेबुझेका कुराहरूको चर्चा गर्दैछु।
