Skip to content


हामीले हिमाल उठायौं एसियाको माझ्मा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझ्मा

राष्ट्रकवि माधव घिमिरे (१५ भदौ २०१०)

हामीले हिमाल त उठायौं एसियाको माझ्मा, तर हिमालकै माझ्मा पर्ने धौलागिरि पर्वतलाई भने उचाल्न सकेका छैनौं। कञ्चनजङ्घा र सगरमाथा (एभरेष्ट) को उचाइ यकिन हुनुभन्दा पहिले विश्वको सर्वाेच्च शिखर धौलागिरि (८१६७ मिटर) थियो। अहिले उचाइको वर्गीकरणमा धौलागिरि सातौं नम्बरमा पर्दछ। तर, हिमाललाई उचाइले मात्र नाप्न हुँदैन। हिमालको मूल्याङ्कन बहुआयामिक पक्षमा हुनुपर्छ। पर्वतारोहणका मौजुदा चुनौती, भूस्वरुपको धरातलीय विशेषता, भौगोलिक एवं भौगर्भिक महत्व, जैविक विविधताका विशेषतालगायत सांस्कृतिक मौलिकताका दृष्टिले पनि केलायौं भने धौलागिरि हिमाललाई उचाल्न पुगेको छैन भन्ने निर्क्योलमा हामी पुग्दछौं।

पर्वतारोहण चुनौती
दोहोर्‍याई-तेहर्‍याई बीसौं पटक सगरमाथा चढ्न तयार हुनेहाम्रा विश्व प्रख्यात पर्वतारोहीहरू अरू पर्वत किन चढ्दैनन्? चुनौतीको सामना गर्नु नै पर्वतारोहण हो भने पर्वतारोहणको चुनौती धौलागिरिमा अझ् कडा छ भन्ने यसको इतिहासले बताउँछ। आजसम्म धौलागिरि चढ्न गएका पर्वतारोहीमध्ये लगभग ४० प्रतिशतले आफ्नो ज्यान गुमाउनु परेको छ।
सन् १९५० मा मोरिस हर्जाेगको धौलागिरि चढ्ने प्रयास असफल भएपछि उनी अन्नपूर्णतिर लागेका थिए। त्यसको १० वर्षपछि सन् १९६० मा आएर मात्र स्वीस तथा अष्ट्रियन टिमका कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले धौलागिरिको सफल आरोहण गरे। त्यसपछि २००९ सम्मको ४९ वर्षको इतिहासमा ४१३ जना आरोही मात्र धौलागिरिको शिखरमा पुग्न सफल भएका छन्। उता सगरमाथामा भने यही वर्षको वसन्त ऋतुमा ३४७ व्यक्तिले शिखर चढेका छन्।

सगरमाथामाथि मानव पाइला र प्रदूषणको बोझ् कम गर्न पनि पर्वतारोहणको जोश र जाँगरलाई अरू हिमशिखरतिर आकर्षित गर्नु युक्तिसङ्गत हुन्छ। त्यसका लागि धौलागिरि एक महत्वपूर्ण र चुनौतीपूर्ण गन्तव्य हो भन्ने कुरा स्थापना गर्न सक्नु परेको छ। तदनुरुप पूर्वाधारहरूको व्यवस्थातिर पनि समयमा नै सोच्नु जरुरी छ। चुनौतीको पर्वत धौलागिरि हो भन्ने तथ्यलाई पर्वतारोहणको दुनियाँमा प्रचारको टड्कारो खाँचो छ।

अनुपम अवस्थिति
वनस्पति र जडीबुटी अन्वेषणको सन्दर्भमा सन् १९६६ को मे र जुलाईमा धौलागिरिलाई फनक्क घुमेर एकफेरो मार्ने मौका मिलेको थियो। त्यसबेला पोखराबाट ढोरपाटनहुँदै जाङ्ला भञ्ज्याङ (४४२० मि) तरेर डोल्पाको दुनै (१६७६ मि) र त्यसपछि फोकसुम्दो ताल, शे-गोम्पा, तरापगाउँ, छार्काभोटहुँदै साङ्दा भञ्ज्याङ (५४८७ मि) पार गरेर कागवेनीहुँदै पोखरा फर्केका थियौं। त्यो भ्रमणबाट धौलागिरिको महत्वबारे जान्ने मौका मिल्यो, विशेष गरेर वनस्पति र जैविक विविधताको फाँटमा।

धौलागिरिलाई नेपालकै भूमिबाट परिक्रमा गर्न सकिन्छ, तिब्बत टेक्नुपर्दैन। हिमालयको भूपरिधि पश्चिममा सिन्धुनदीको घाँटीदेखि पूर्वमा ब्रह्मपुत्रको घाँटीसम्म फैलिएको छ, जसको लम्बाई अन्दाजी २५०० किमि हुन्छ। पूर्वी हिमालतिर घनघोर वर्षा हुन्छ। झ्ण्डै काठमाडौंकै उचाइमा अवस्थित चेरापुँजी (१३२६ मि) मा प्रत्येक मनसुनमा काठमाडौंमा भन्दा सात र पोखरामा भन्दा झ्ण्डै तीन गुणा बढ्ता औसत ११,६१५ मिलिमिटर पानी पर्छ। पश्चिम हिमाली भागमा भने यस्तो मनसुन वर्षा हुँदैन। त्यहाँ हिउँदे झ्री हुन्छर, त्यो पनि हिमपातको रूपमा। पूर्वी क्षेत्रका हिमाल शृङ्खलाहरू दक्षिणतिर झ्ुक्दै भूमध्यरेखाको नजिक पर्दछन् भने पश्चिमी हिमाल निकै टाढा उत्तरतिर पर्दछन्। उदाहरणस्वरुप सगरमाथाको अक्षांश लगभग २८ डिग्रीको हाराहारीमा पर्छ भने नङ्गापर्वत ३५ डिग्री हाराहारीमा पर्दछ। त्यस कारण पूर्वी हिमाल र पश्चिम हिमालको वातावरण र जैविक विविधतामा धेरै भिन्नता देखिन्छ।

जैविक विविधताको सङ्गम
पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतिर फैलिने क्रममा ती भिन्नता र विविधताहरूको भेटघाट नेपालको धौलागिरि र कालीगण्डकीमा हुन्छ। कालीगण्डकी पूर्वका हिमाललाई पूर्वी हिमाल र पश्चिमकालाई पश्चिम हिमाल भन्ने चलन छ। धौलागिरि हिमशिखर ८३ डिग्री पूर्वी देशान्तरमा पर्दछ। यही रेखाको सहायताले वनस्पतिविद्हरू पूर्वीय र पश्चिमी वानस्पतिक प्रान्त छुट्याउँछन्। धौलागिरिले उत्तरतिरको डोल्पा, मुस्ताङ मरुभूमि क्षेत्र र दक्षिणकाखको अतिवृष्टि हुने म्याग्दी-पर्वत र कास्की क्षेत्रलाई पनि जोड्दछ। यस अर्थमा धौलागिरि र यसको फेदमा बग्ने कालीगण्डकी क्षेत्रले जैविक विविधता र वातावरणका लागि एक चौराहको काम गरेको छ। भन्नुको अर्थ यस क्षेत्रले एसियाको पूर्व-पश्चिम तथा उत्तर-दक्षिणको केन्द्रस्थलको काम गर्दछ।

पूर्वी हिमालको विशेषतालाई झ्ल्काउने गुराँस, चाँप, काउलो, अर्खाउलो, कटुस, चिलाउने आदि चौडा पात भएका वृक्ष र तिनका वनहरू गण्डक क्षेत्रसम्म विस्तार हुन्छन्, कर्णालीतिर फैलिन सक्दैनन्। वस्तुतः धौलागिरिभन्दा पश्चिमतिर तिनको विस्तार छैन। यस्तै गरेर पश्चिम हिमालका वन र वनस्पतिहरू विशेष गरेर देवदार, लेकपाङ्ग्रो, साइप्रस धूपी, गोब्रे सल्ला (पिन्ड्रो), झ्ुलेसल्ला, वन दारिम, जैतुन तथा चन्द्रा (पियोनिया) आदि वनस्पति धौलागिरि क्षेत्रमा मौजुद छन्। चराचुरुङ्गी र अरू जीव प्राणीका लागि पनि धौलागिरि-अन्नपूर्ण र कालीगण्डकी यस्तै सङ्गम क्षेत्रको रूपमा प्रस्ट देखा पर्छन्। पूर्वी हिमालका चिलिमेचरा, खोङमा हिमकुखुरा धौलागिरिसम्म मात्र देख्न पाइन्छ। पश्चिम लागेपछि यिनीहरू देखिँदैनन्। त्यस्तै च्याखुरा, चिरफेजेन्ट र कोकलास (कोकक्रास फेजेन्ट) पश्चिममा प्रचुर छन्, तर कालीपूर्व प्रायः भेटिँदैनन्।

गर्भको दर्पण
धौलागिरि, अन्नपूर्ण र कालीगण्डकीका अरू थुप्रै विशेष मौलिकताहरू पनि छन्। डोल्पाबाट कालीगण्डकी र्झ्ने साङदा भञ्ज्याङ (५४८७ मि) काटेर तल हेर्दा कहालिलाग्दो २००० मिटरको रालो देखेपछि साँच्चै नै विश्वको सबभन्दा गहिरो उपत्यका पुगेको अनुभव हुन्छ। हुन पनि एकातिर धौलागिरि र अर्काेतिर अन्नपूर्ण दुवै हिमाल ८००० मि भन्दा अग्ला छन् र बीचमा कालीगण्डकी लगभग ३००० मिटरको उचाइमा बग्दछ। यस हिसाबले ५००० मि. गहिरो उपत्यकाको चौडाइ भने ३५ किमि मात्र फराकिलो भएकोले यहाँ विश्वकै अद्भुत भूस्वरुप देखापर्दछ।

अचम्मलाग्दो कुरा के छ भने कालीगण्डकीमा पाइने शालिग्रामका ढुङ्गाहरूमा समुद्रको पीँधमा थेग्रेका शङ्ख कीराका सग्लो अवशेषहरू सुरक्षित छन्। समुद्रको पीँध कसरी सगरसम्म आइपुग्यो भन्ने विधिको विधान वा विज्ञानको खोज आफैँमा रोमाञ्चक पनि छ। वैज्ञानिकहरू यी शालिग्रामलाई २० करोड वर्ष पुराना हुन् भन्ने ठोकुवा गर्छन्। हिमालय पर्वतको उत्पत्ति र यसको निर्माण क्रमबारे भौगर्भिक प्रमाणहरू र तिनका दर्पणहरू कालीगण्डकी उपत्यकामा सजिलै देख्न सकिन्छ। पर्वतको निर्माण र उत्पत्तिबारे यो उपत्यका एक अनुपम प्रयोगशाला हो, पाठशाला हो।

प्रान्तीय नेपालमा धौलागिरि
धौलागिरि पर्वतको नाम बोकेर धौलागिरि अञ्चल बनेको छ जसमा मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत चार जिल्ला पर्दछन्। धौलागिरि अञ्चलमा गण्डकी र लुम्बिनी अञ्चल थपेर पश्चिमाञ्चल विकास क्षेत्र बनेको छ। यस विकास क्षेत्रभित्र तराई र मधेश, पहाड र हिमाल अनि भोट प्रदेश समावेश छन्। गणतान्त्रिक नेपालको राज्य पुनःसंरचनाको परिप्रेक्ष्यमा भौगोलिक एवं प्राकृतिक विविधताभित्र ढुङ्गाको भर माटोलाई र माटोको भर ढुङ्गालाई भन्ने आपसी सम्बन्धनलाई अझ् दरिलो बनाउनु समयको माग पनि हो।

धौलागिरिले तमुवान र मगरात लाई जोड्छ कि छुट्याउँछ? यो गम्भीर प्रश्न हो। समायोजनको बिन्दुलाई विभाजनको केन्द्र बनायौं भने त्यसबाट सकारात्मक परिणामको आशा गर्न सकिन्न। धौलागिरिलाई उचाल्न हत्केला चाहिएला, मुड्की होइन। धौलागिरि, अन्नपूर्ण र कालीगण्डकीले सिर्जेको पश्चिमाञ्चल विकास क्षेत्रको स्वरुपले प्रदान गरेको परिपूरक स्वभावलाई विभाजनले होइन समायोजनले दरिलो बनाउन सक्नु परेको छ। नयाँ नेपाल त्यही हो जहाँ तराई र मधेशले पहाडलाई उचाल्छ र पहाडले हिमाललाई। नयाँ नेपाल त्यही हो जहाँ भोटले हिमालको, हिमालले पहाडको र पहाडले मधेश र तराईको कमि-कमजोरी हटाउँछ। धौलागिरि उचाल्न तराई, मधेश, पहाड, हिमाल र भोटका हत्केलाहरू परिचालन हुनुपर्छ।

हिलाम खबरपत्रिका २६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *