Skip to content


धेरै पछाडि फर्कनै पर्दैन, २०६२/६३ को जनआन्दोलनमा होमिँदा पनि नेपालीहरू एक भाषा, एक भेष; एक धर्म, एक संस्कृति लाई नेपालीपन मान्न बाध्य थिए। हिन्दू राजसंस्थालाई समग्र राष्ट्रियताको प्रतीक मान्न लगाइएको थियो। नेपालगञ्जमा बस्ने मुसलमानले काठमाडौंको हिन्दूराज्य लाई आफ्नो पहिचान ठान्नुपर्थ्यो भने धोती-गम्छामा जीवन बिताउने तराईका नेपालीले दौरा-सुरुवाल-टोपीलाई राष्ट्रिय पोशाक मान्नुपर्थ्यो। तिनलाई सबैले मानेका थिए भन्नु एउटा कुरा हो, तर आत्मैदेखि स्वीकार गरेका थिए कि थिएनन् भन्ने बेग्लै पक्ष हो।

शासन-सत्तामा हुनेहरूले आफ्नो अनुकूल व्याख्या गर्दै आएको यो मान्यतामा नेपालीहरू अटाउन सकेनन्। जनता स्वयम्ले बृहत् दृष्टिकोणमा आधारित नेपालीपन निर्माण गर्ने आँट गरे, जसमा आफ्नै मौलिकता सर्वोपरि हुनेछ। समाजशास्त्री डा. चैतन्य मिश्र भन्छन्, “हिजो राज्यबाट थोपरिएको नेपालीपन थियो, अब जनताले चाहे जस्तो नेपालीपन निर्माण गर्ने बेला र अवसर आफैंले ल्याएका छन्।”

अबको नेपालीपन
आ-आफ्नो पहिचान भएका हरेक मुलुकका केही न केही मौलिक विशेषता हुन्छन्। देश, काल अनुसारका ती विशिष्टता परिवर्तनशील पनि हुन्छन्। नेपालकै प्राचीन इतिहासपट्टि फर्केर हेर्ने हो भने पनि विभिन्न कालखण्डको भिन्नाभिन्नै नेपालीपन भेटिन्छ। आजको नेपाली समाज यिनै चरण पार गर्दै यहाँसम्म आइपुगेको हो र यसबाट समयको विकासक्रमसँगै हाम्रो पहिचान पनि बदलिँदै आइरहेको छ। ऐतिहासिक दस्तावेज र प्रमाणहरूले खासगरी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि शाहवंशीय (गोर्खाली) राजाहरूद्वारा परिभाषित राजसंस्था, हिन्दू धर्म, नेपाली (खस) समुदाय र पहाडे राष्ट्रवाद लाई नै नेपालीपनका रूपमा कायम गरेका छन्। यसलाई तत्कालीन राजा महेन्द्रले तीसवर्षे पञ्चायती व्यवस्थामार्फत उत्कर्षसम्म पुर्‍याएका थिए। पञ्चायतकालीन मण्डले राष्ट्रवाद को जगमा आधारित मान्यतालाई नै नेपालीपनका रूपमा जनतामा थोपरिएको थियो।

त्यसबेला नेपाली भाषालाई बढावा दिने पुस्तकहरू प्रकाशित गर्ने, नेपाली मुद्रालाई देशव्यापी प्रचलनमा ल्याउने काम पनि भए। त्यसैताका निर्माण गरिएको पूर्व-पश्चिम राजमार्गले मेचीदेखि महाकालीसम्मका नेपालीलाई सहज आवागमनबाट जोड्ने काम गर्‍यो। तर, पञ्चायतले थालनी गरेका यस्ता विकास कार्य नेपालीपनको जगेर्ना र समृद्धिका लागि नभई मूलतः राजसंस्था र पञ्चायती व्यवस्था टिकाउने हतियार मात्रै थिए। त्यसबेलाको राज्यले परिभाषित गरेको नेपालीपन मुख्यतः हिन्दूधर्मले परिभाषित गरेका राजा, श्रीपेच, चाडपर्वका साथै नेपाली भाषा, दौरा-सुरुवाल, टोपीमै केन्द्रित थियो। आम नेपाली समेटिने नेपालीपनप्रति ध्यान दिइएको थिएन। नेपालीपन नेपाली यथार्थतामा आधारित भएको भए तराईवासीको राष्ट्रिय चरा हिमालको डाँफे कसरी हुनसक्थ्यो?

इतिहासमा जित्नेले राज गर्छन् भन्ने मान्यताका आधारमा शासनमा पुग्नेहरूले आफू अनुकूलको नेपालीपन परिभाषित गरे। नेपाल एकीकरणपछि कर्णाली, गण्डकी, मिथिला, कोशी प्रदेशको सभ्यता जानाजान बेवास्तामा परे। शासकहरूले काठमाडौंको शासकीय स्वार्थ अनुकूलको नेपालीपन विकास गरे,जसलाई २०६२/६३ को जनआन्दोलनले तोडिदिएको छ, नयाँ नेपालीपनको आकाङ्क्षासहित। डा. मिश्र यसलाई समाज विकासक्रमसँग जोडेर हेर्नुपर्ने मान्यता राख्छन्। उनी भन्छन्, “नेपालीपन भन्ने कुरा यसै पनि अस्थिर हुन्छ, स्थिर बनाउने प्रयत्न गरिन्छ; तरसमाज विकासका कारण राज्यव्यवस्थासँगै बदलिन्छ पनि।”

स्याङ्जा-तनहुँतिर बोलिने भाषा मात्रै नेपाली हो, डोटी-डडेल्धुरा वा तराई-मधेशतिर बोलिने होइन भन्ने सोच असान्दर्भिक हुनु यसैको परिणाम हो। अब एकल जात, धर्म, सम्प्रदाय, क्षेत्रको सानो वृत्तबाट उठेर बहुलतामा गएको छ नेपाल। परिवर्तनको यो चरणमा धर्मनिरपेक्षता नेपाली विशेषता बन्ने छ। आफैंमा उदार बहुलवादी नेपाली समाजमा हिन्दूराष्ट्र को वकालत पनि चलिरहने छ। समाजशास्त्री डा. मिश्रका भनाइमा, समाज सबैलाई यथोचित स्थान दिँदै सङ्कीर्णताबाट बाहिर निस्कने छ।
भूगोलविद् डा. पीताम्बर शर्माका अनुसार अहिले जस्तो नेपालीपनको अर्थ खोज्ने उपक्रम यसअघि कहिल्यै भएको थिएन। यसलाई उनी सङ्कीर्णताबाट समुन्नत र दरिलो नेपालीपनतिरको सामाजिक रुपान्तरण ठान्छन्। उनी भन्छन्, “दौरासुरुवाल लगाएका मात्र खाँटी नेपालीमा दरिने समय गयो।” भाषाशास्त्री योगेन्द्र यादव नेपाल अब सबै जातीय, भाषिक र सांस्कृतिक समुदायको पहिचान हुने पहिलाको भन्दा दह्रो सङ्घीय नेपालीपनमा जाने बताउँछन्।

आधार पछ्याउँदै अगाडि
नेपालीपनको कुरा गर्दा इतिहासकार दिनेशराज पन्त आफू सानो हुँदा आमालाई हाँसको अण्डाले पार्ने गरेको अप्ठ्यारो सम्झ्न्छन्। त्यो चिज बोकौं भने बाहुनी, नबोकौं भने अजिमाको पूजा गर्न नपाइने। पन्त भन्छन्, “यसैले देखाउँछ, नेपाली समाज कस्तो हो भनेर।” हुन पनि, बुद्ध जन्मिएकै दिन वैशाख पूर्णिमाबाट किराँतीहरूको उभौली पर्व शुरु हुन्छ। हिन्दू राजाहरूको एक शक्तिपीठ मनकामना मन्दिर र पूर्वको बूढा सुब्बा मन्दिरमा पश्चिमका मगर पुजारी छन्। काठमाडौंको कङ्केश्वरी मन्दिरका पुजारी पोडे समुदायका छन् भने सुर्खेतको प्रसिद्ध देउती बज्यै आदिवासी राजीहरूबाट पुजिन्छिन्।
विविधता बोकेको नेपाली समाजमा यस्तो अन्तरसम्बन्धका दृष्टान्त अनगिन्ती छन्। यही एक देश छ जहाँ मुसलमानको पर्वका आयोजक हिन्दू हुन्छन्। नयाँ नेपालीपन यिनै धार्मिक, सांस्कृतिक परम्पराका आधारमा विकसित हुनेछ। जातीय, धार्मिक, भाषिक आदि विविधता संसारका अन्य देशमा पनि छ, तर नेपाल महाजात नै भएको एमाले नेता प्रदीप ज्ञवाली बताउँछन्। माथि नै भनियो, नेपालमा बौद्धमार्गीहरूको चाड आउँदा हिन्दू र किराँतहरू उत्तिकै चटारोमा हुन्छन्। दशैं आउँदा बौद्ध मात्र होइन मुन्धुम मान्ने किराँती र मुसलमानहरू पनि रौनकमा हुन्छन्। एउटै धार्मिक परिसरमा अनेक धर्मावलम्वीले आ-आफ्ना आराध्यहरूको दर्शन पाउँछन्।

सुर्खेतको देउती बज्यै मन्दिरका पुजारी।
इतिहासकार ज्ञानमणि नेपालका भनाइमा, नेपाललाई यही विशेषताले अगाडि लैजाने छ। अहिले आएर धर्मनिरपेक्ष भनिए पनि नेपाली समाज जहिले पनि धार्मिक सद्भावमा रहेको उनले बताए। प्राध्यापक राजेश गौतम र एमाले नेता ज्ञवालीको बुझाइमा पनि नेपालीहरूलाई सह-अस्तित्व, सहिष्णुता र सहकार्यले बचाइरहेको छ। त्यही नै नेपालीपनको बलियो पक्ष हो। कहिल्यै कसैको पराधीन नहुनु नेपाल र नेपालीको अर्को विशेषता हो। छिमेकी भारतले विभाजन र चीनले नरसंहारको पीडा भोग्नुपर्‍यो, तर नेपाली मूल्यमान्यता कहिल्यै खण्डित भएन। विना विभाजन र काटमार आफ्नै बलबुतामा ठूल्ठूला परिवर्तन गरेर देखाए नेपालीले। समृद्धिका लागि आज हामीलाई नेपाली मौलिकता प्रवर्द्धन हुने गरी विश्वव्यापीकरण र खुला समाजको मान्यता स्वीकार्य भएको छ।

तर, आजका दिनमा नेपाली समाजलाई जोडेर राख्ने सामाजिक तन्तुहरूलाई खल्बल्याउने प्रयास पनि हुनथालेको छ। परिवर्तन भनेको इतिहासको क्रमभङ्गतासँगै क्रमिकता पनि हो भन्ने यथार्थ भुल्न थालिएको छ। राजसंस्थाको विरोध गर्ने नाममा हिजोको नेपाल एकीकरणकै विरोध गर्ने, हिन्दूधर्मलाई राज्यले संरक्षण गरेको नाममा यसका धरोहरहरू नै भत्काउन खोज्ने, २०६२-६३ को आन्दोलनका सन्दर्भमा २००७ र २०४६ सालका आन्दोलन केही थिएनन् भन्ने जस्ता काम हुँदैछन्। नयाँ नेपालीपनले यस्ता चुनौतीलाई चिर्नैपर्ने हुन्छ।

अर्को कुरा, सङ्घीय नेपालमा सबै भाषाले समान महत्व पाउनुपर्छ। तर, साझा सम्पर्क भाषाका रूपमा एक हजार वर्ष पुरानो र ७५ प्रतिशत देशवासीले बोल्ने/बुझने नेपालीको महत्वलाई कम आँक्दा नेपालीपनको एउटा मुख्य आधार कमजोर हुनेछ।

छुट्टाछुट्टै जाति र भाषाभाषीका आ-आफ्नै मौलिक भेषभूषा छन् तर, विश्वमा देशको प्रतिनिधित्व गर्ने पहिरन दौरासुरुवाल नै बन्न सक्छ, वा समाजशास्त्री डा. मिश्रले भने झ्ैं अन्तर्राष्ट्रिय रूपमा प्रचलित सुटले पनि त्यो स्थान लिन सक्छ। भाषाविद् यादवको विचारअनुसार यसमा नेपालीपन खुट्याउने छुट्टै सिर्जनात्मक बहस पनि गर्न सकिन्छ। प्राध्यापक गौतम जसरी होस् नेपालीलाई दार्चुलामा बस्नेले झापालाई हेरेर गर्व गर्ने र डोल्पाका बासिन्दाले धनुषाबाट गौरवान्वित हुने सुदृढ नेपालीपन चाहिएको बताउँछन्।

झापाको मालसामान दार्चुला पुग्यो, कर्णालीको उत्पादन धनुषासम्म विस्तार भयो भने त्यस्तो नेपालीपन आफसेआफ कायम हुन्छ। तर, लेखक मोदनाथ प्रश्रितको विचारमा त्यसका लागि नीतिहरूमध्ये मुख्य नीति राजनीति सही ढङ्गले चल्नुपर्छ।

हिमाल खबरपत्रिका २६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *