साठी वर्षअघि वीरगञ्ज यति ठूलो थिएन। ५५ देखि ४५ वर्ष अघिसम्म पनि सानै थियो, तर रमाइलो थियो। २००७ सालमा क्रान्तिको थालनी वीरगञ्जबाटै भएको थियो भन्ने तथ्य कतिलाई सम्झ्ना नहोला। काठमाडौंमा बस्ने पर्सावासीहरूको संस्था पर्सा मिलन केन्द्रले प्रत्येक वर्ष २६ कात्तिकमा त्यस दिनको सम्झ्ना गर्ने गरेको छ।
वीरगञ्ज विभिन्न चाडका लागि पनि प्रसिद्ध छ। छठ, दीपावली, दशैं आदि वीरगञ्जको सांस्कृतिक/धार्मिक सद्भाव र जीवन्तताका चाड हुन्। ईद, बकरीद, ताजिया पनि वीरगञ्जमा राम्ररी मनाइन्छन्। चाडहरूको लामै सूची छ। यहाँ तीमध्ये दशंैको सम्झ्ना गर्न चाहन्छु। उही ६० वर्षअघिको वीरगञ्ज जाऊँ।
वीरगञ्जमा दुई मन्दिर प्रसिद्ध छन्― गहवा माइ र विर्ता माइ। वीरगञ्जको दशंै सामाजिक रूपमा यिनै दुई माइलाई केन्द्र बनाएर मनाइन्छ। विर्ता माइ अपेक्षाकृत पुरानो मानिन्छिन्। गहवा माइको महत्व अत्यन्त ठूलो छ। विर्ता माइ नजाने पनि हुनसक्छन्, तर गहवा माइको दर्शन नगर्ने कोही हुँदैनन्। नवरात्रिभरि पूजा गर्नेहरूको भीड हुन्छ।
अष्टमीका दिन गहवा माइ अर्थात् माइस्थानको वरपर मेला लाग्छ। अचेल माइस्थान बजारको स्वरुप फेरिएको छ। मेला पनि फरक भएको होला। म आफ्नै बाल्यकाल र किशोरावस्थाको दशैं र मेलाको क्षणलाई सम्झ्ँदैछु। सुदूरको सम्झ्ना कहिलेकाहीँ सुखद् हुन्छ। त्यसबेला मेलामा वीरगञ्ज र वरपरका मानिस त आउँथे नै, भारतबाट पनि मेला भर्नेको जमात सानो हुँदैनथ्यो।
अचेल त धेरै भव्य मेला लाग्दछन्। हामीलाई त्यही मेला ठूलो लाग्दथ्यो। त्यसकारण हामी अष्टमी अर्थात् मेला लाग्ने दिनको व्यग्रताले प्रतीक्षा गर्दथ्यौं। घरबाट एकजोर नयाँ कमिज-पाइजामा पाइन्थ्यो। पाइजामा लत्रेर भुइँ छोला, शीतले भिज्ला र माटो लाग्ला भनेर सिहारेर हिँडेको पनि मलाई सम्झ्ना छ। तिनताक गर्मी कम भइसकेको हुन्थ्यो। दूबोमा शीत परेको राम्ररी देख्न सकिन्थ्यो। त्यतिञ्जेलसम्म गाउँबाट ल्याएर एउटा खसी घरमा बाँधिसकिएको हुन्थ्यो। त्यो अष्टमीका दिन काटिन्थ्यो। चढाउनेहरूले बोका, हाँस, कुखुरा आदिको इन्तेजाम पनि गरिसकेका हुन्थे।
नौरथाको पहिलो ब्रह्ममुहूर्तदेखि नै गहवा माइ मन्दिरकै छेउमा रहेको एउटा हल जस्तो तमा बज्ने पशुपति उस्तादको हारमोनियम, तबला वादकको तबला र शास्त्रीय भजनका साथ उठ्ने बानी परेको हुन्थ्यो, नगरवासीहरूलाई। त्यसमा अन्य कलाकारहरूको कला पनि सामेल हुन्थ्यो। एकदम हृदय गद्गद् तुल्याउने वातावरणमा हुने त्यो सङ्गीत-सम्मेलन बिहानैसम्म चल्दथ्यो। मेरो मन पनि गाइरहेको हुन्थ्यो। हारमोनियम बजाउन र गाउन बेजोड मानिने पशुपति उस्तादको हारमोनियमको एक खास आवाज अझ्ै कानमा गुञ्जिरहेजस्तो लाग्दछ। फिल्ममा भन्न सक्दिनँ, नत्र त्यस्तो हारमोनियम फेरि सुन्न पाइनँ।
मेलामा हामीभन्दा ठूला उमेरका केटा फेसन गरेर लहरै उभिएका हुन्थे। तिनको प्रायः काम हुन्थ्यो, पूजा गर्न आउने युवतीहरूको अङ्ग-वर्णन अथवा अश्लील टिप्पणी। कहिलेकाहीँ मौका हेरेर, केटीले सुुुन्ने गरी कुनै टिप्पणी मिल्काइहाल्थे पनि। यी सारा कामुकताबाट अनभिज्ञ अथवा केही सुने पनि नसुनेजस्तो गरी हिँड्नुपर्ने बाध्यता भएका केटीहरूको मलाई माया लाग्दथ्यो। कुनै टिप्पणी सुनेकी केटीको जवाफमा केही नबोले पनि मुख रातो हुन्थ्यो। त्यसले आनन्द पनि आउँथ्यो। त्यहाँ देवीलाई चढाउन पानफूल बेच्नेहरूको लामो पङ्क्ति हुन्थ्यो। ती मेला हेर्न र दुईचार पैसा कमाउन त्यसरी बसेका हुन्थे। तिनमा कहिलेकाहीं सुदूर पूर्वको आफ्नै गाउँका मान्छे पनि भेटिन्थे। ती मलाई सित्तैँमा चढाउन पानफूल दिन्थे। गाउँका मानिस त्यहाँ भेट्दा रमाइलो पनि लाग्थ्यो।
लाउडस्पिकरमा लगातार बालक हराएको र फेला परेको सूचना प्रसारित भइरहन्थ्यो। केही भावुकता आउँथ्यो। बच्चा पाइयो कि पाइएन होला?
क्रमशः तन्नेरी हुँदै गएँ। म पनि त्यस लाममा उभिन मन पराउन थालें, जहाँ केटीहरूमाथि टिप्पणी हुन्थ्यो।
एउटी केटी थिई, ठिकैकी। म जहिले जाँदा पनि एउटा खास समयमा पूजाको थाली लिएर आफ्नो ढोकाबाट निस्किरहेकी देखिन्थी। चिनेको छैन,कहिल्यै बोलेको छैन। तैपनि एउटा आकर्षणले तानेको थियो। उसलाई पनि त्यस्तै हुँदो होला। नत्र सधंै एउटा खास समयमा नै त्यो किन निस्किन्थी?
हुँदाहुँदा त कस्तो भयो भने, म अलिक चाँडो पुगेँ भने समय बिताउनलाई फेरि फर्केर जान्थें। अनि ऊ आउने समय भएपछि सरासर हिँडेर आउँथें, जस्तो म पनि भर्खरै आएको हँु। अनि त्यो अघिअघि म पछिपछि। त्यसपछि ऊ मन्दिर भित्र म मन्दिर बाहिर। केटी थालनीमा एकपटक हेर्दथिई त्यत्ति हो।
एउटा १९-२० वर्षको केटो त्यसैमा निहाल हुन्थ्यो। उसको दिन सप्रेजस्तो लाग्दथ्यो। कहिलेकाहीं भेट नहुँदा खिन्नता भइरहन्थ्यो। त्यो केटी पनि सम्भवतः घडी हेरेरै बस्दी हो। नत्र कसरी भेटिन्थी।
यस्तो दुई के तीनै वर्ष चल्यो। चौथो वर्ष त्यो केटी ठ्याम्मै भेटिइन, देखा पनि परिन। चिन्ता जस्तो लाग्यो। डेरामा बस्थी र डेरा सरी कि? अथवा बिरामी परी कि? कसैसित सोध्ने पनि कुनै तुक थिएन। चिन्ता र सहानुभूतिको भाव थियो। चिन्ता अब भेट नहुने हो कि भन्ने, सहानुभूति बिरामी परीकी भन्ने।
नवरात्रि समाप्त भयो र पशुपति उस्तादको हारमोनियम मौन भयो। नवमीका दिन नगवा भन्ने नजिकैको ठाउँमा एउटा सानो मेला लाग्दथ्यो। त्यहाँ त्यही एकदिन कुनै स्त्रीलाई देवी चढ्दथिन्। त्यसबाट निको हुने आशामाटाढा-टाढाबाट रोगीहरू आफैं वा आफन्तहरू लिएर आउने हुन्थे। म त्यहाँ पनि गएँ। त्यहाँ त्यो केटी सधैँ नभए पनि कहिलेकाहीं देखिन्थी। हुने केही होइन एक दृष्टि र निहन्त हुनु। तर त्यहाँ पनि देखिइन।
दशैं आदि बितेपछि मैले घुमाएर र आफ्नो भावना लुकाएर भए पनि एउटा साथीसित जान्न खोजेँ। वीरगञ्ज सानै नगर थियो। बोल्नु नबोल्नु बेग्लै, तर नचिन्ने हुँदैनथ्यो।
साथीले भन्यो, “साला छुपे रुस्तम तँ। त्यसको मङ्सिरमा बिहे हुँदैछ। त्यसकारण घरबाट त्यो निस्किन्न अब।” त्यो २०२०-२१ सालको कुरो थियो। त्यसपछि त्यो केटीसित आजसम्म पनि भेट भएको छैन। त्यसपछि म नियमित रूपमा नौरथामा माइस्थान घुमेको पनि छैन।
हिमाल खबरपत्रिका
१६-३१ भदौ २०६६
पूर्णांक २४९
