तीन चार गोली निलेका निडर छातीको पालो आयो अब
महिला, दलित, गरिब र जनजातिको पालो आयो अब
कति हेर्ने बूढाहरूका दाह्री, जुँगा फुलेका ती अनुहार,
बाजेहरू, बाटो लागे हुन्छ छोरा नातीको पालो आयो अब
म सँग प्रेम गरेर तिमीले त नोट पाइनौ होला
घृणा गर्छु भन्नलाई देखाउने खोट पाइनौ होला
आखिरमा छोड्न समेत तयार भयौ तिमी मलाई
फूलको बास्ना थाहा पायौ काँडको चोट पाइनौ होला
कस्तो सपना गरीब दु:खी ठुला-ठाला सबै रोएको देखेँ
उजाड वन पाखा अनि खोला नाला सबै रोएको देखेँ
ऐठन लाग्यो धेरै पटक गए राति सपनीमा
धान मकै फापर अनि कोदोको बाला सबै रोएको देखेँ ।
(१)
तिमीलाई माया गर्ने मान्छे एक दिन पराई हुनेछ ।
हेरी बस्छु बाटो तिम्रै घरमा रुवाई हुनेछ ।
मैले ला’को प्रीत सम्झी मर्ने बेला आऊ है तिमी,
जिन्दगीको अन्तिम क्षण नि तिम्रै कुराई हुनेछ ।
नशालु तिम्रो नयनले केही भन्न खोज्दै छ
सुम्सुमाउदै हातले धड्कन गन्न खोज्दै छ
कामेका ती अधरले कस्तो रसपान गरायौ
भिजेर सारा सरीर भित्रभित्रै बल्न खोज्दै छ
तेत्तीस कोटी देवताको बास छ मभित्र
देवताभन्दा धेरै ज्यूँदा लाश छ मभित्र
हिमाल बेच्यौ, नदी बेच्यौ, मेरो अस्मिता आँशु बेच्यौ
बेच्न बाँकी घिटीघिटी सास छ मभित्र ।
लेख्छौ भने भोकानाङ्गा गल्लीहरूको कथा लेख।
गल्लीभित्रका रुवाई र बिचल्लीहरूको कथा लेख।
ए कविज्यू, भोक, रोग, शोकका लागि यौवन बेच्ने
सुकुम्वासी टोलका ती डल्लीहरूको कथा लेख।
आफन्त र पराइ, उस्तै लाग्न थाले अचेल
आफ्नै ठानेका पनि, देखेर भाग्न थाले अचेल
खै कस्को बिश्वास गर्ने यहाँ, सबै उस्तै भएपछि
दुख पर्दा खेरी यहाँ, शत्रु पनि जाग्न थाले अचेल