Skip to content

सात मुक्तकहरू

  • by


१,
कस्तो सपना गरीब दु:खी ठुला-ठाला सबै रोएको देखेँ
उजाड वन पाखा अनि खोला नाला सबै रोएको देखेँ
ऐठन लाग्यो धेरै पटक गए राति सपनीमा
धान मकै फापर अनि कोदोको बाला सबै रोएको देखेँ ।
२,
आजभोलि यो शहरमा म निक्कै सस्तो हुँदैछु
आफ्नै भनाउदाहरू सामु खै कस्तो कस्तो हुँदैछु
खोज्ने गर्थ्यो कुनै बेला गल्ली गल्ली मलाई
शायद ममा शुन्य देख्यो साँच्चै बेकामे जस्तो हुँदैछु
३,
सानो तिनो निहुँ पारेर भयो नभाग
टुक्रिएको मुटु कुल्ची माफी नमाग
तिम्रो मनै छैन भने मेरो सामु पर्न
ठिक छ मेरो संगतमा अब नलाग ।
४,
कसरी जान्नु र खै, तिमीले बेहाल पार्छ्यौ भन्ने
पगालेर हिमाल यो, तिमीले ताल पार्छ्यौ भन्ने
भन्न त भन्थ्यौ नि खुब, तिमी हिमाल म हुँ किरण
भुलिरहेँ तिम्रो बातमा, के थाहा काल पार्छ्यौ भन्ने ।
५,
पछ्यौरी र गल्बन्दी, साटा-साटको याद आयो रे
एक अर्काको गालामा, चाटा-चाटको याद आयो रे
माया भन्ने चिजै त्यस्तो, सध्यलाई नै पागल पार्ने
आर्काकोलाई आफ्नो मान्दा, काटा-काटको याद आयो रे
६,
वाध्यता हो टाढिनु यो, तर्की गयो नठान्नु है
दु:ख सुख पोख्न खोज्दा, झर्की गयो नठान्नु है
कुनै बेला बनिदिम्ला, तिम्रै निम्ति चौतारी म
हुन खोज्दा वर पिपल झैँ, चर्किगयो नठान्नु है ।
७,
सपनीमै किन नहोस, देख्न पाइयोस मेरो देश
हर्षको त्यो मोती झारी, टेक्न पाइयोस मेरो देश
पच्शिम किल्ला कांगडा पूर्बिमा टिस्टा खिचेर
गीत गजल बनाएर, लेख्न पाइयोस मेरो देश ।

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *