जाग्रत आँखाहरू


शाश्वत उज्यालोको खोजमा छन् मेरा जाग्रत आँखाहरू । शाश्वत सत्यको प्यासमा तड्पिएको छ मेरो मानस जगत् । आँखा छन् र म उज्यालोको प्यासी बनिरहेको छु । आँखा छन् र म अँध्यारो अवलोकन गरिरहेछु । आँखा र उज्यालो बीचको सम्बन्धलाई पानी तिर्खाबीचको सम्बन्धको बीचमा, भोजन र भोकको सम्बन्धको रूपमा गाँसेर हेर्न सक्दछु । प्रकृतिमा पानी छ र तिर्खा छ, भोजन छ र भोक छ । त्यस्तै मेरा जाग्रतआँखा छन् र उज्यालो दुनियाँप्रति प्यास छ ।

जाग्रत आँखाहरू चेतनाको उज्यालोले आलोकित छन् । नजागेका आँखाहरूमा चेतनाको ज्योति लेश बराबर पाउन सकिन्न । आँखा जाग्रत नहुनुको करिब करिब अर्थ अन्धो हुनुसित गाँसिएको छ । निभेका आँखा र बलेका आँखाले समाजको चैतनिक गुणवत्तालाई पोखिदिन्छन् । मेरा पितापुर्खाका निभेका आँखाहरूले नजाने कति अँध्यारोका घनघटालाई पिइदिए, पचाइदिए, त्यसै अँध्यारोलाई आफ्नो नैसर्गिक बपौती ठाने । त्यही नियतिमा उनीहरू रमिदिए, सन्तान दरसन्तानलाई रमाउन भने । तर युग पूर्वजका निर्देशबाट एक कदम अघि बढ्यो र आफ्ना आँखामा चेतनाको बीज रोप्यो । त्यो बीज ज्योत्सना बनेर अँध्यारोको संसारमा उज्यालो पोख्न थाल्यो र सनातन अँध्यारोमा रमेका आँखाहरूलाई चेतनाको रमरम रोशनी मन परेन । अँध्यारोबाट अचानक उज्यालोका छिर्का देखापर्दा उनीहरूका आँखा अनौठोसित तिर्मिराए । उनीहरू भ्रममा परे, विभ्रममा चक्कराए । उनीहरूले त्योबेला उज्यालोको विरूद्धमा गालीबौछार गरे । यसो हुनु कुनै अनौठो कुरो थिएन । अँध्यारोमा अभ्यस्त मन, उज्यालो दुनियाँको बैरी हुन्छ । उसले बलेका जलेका एकादुई दियाहरूपनि निभाइदिन सक्छ । बलेका कति आँखालाई झीर तताएर रोपे । आँखामा उज्यालो रोप्नु खतराको कार्यको लाम सूचीकरण गरे ।

आँखामा जाग्रीति नआएको घडी कति अँध्यारो दलदलमा भासिएको थियो मानवजीवन । कति अँध्यारो दुर्गन्धमा गनाइरहेको थियो मानिस । पींडा र रोदनका अनन्त नादले आपूरित थियो ऊ । तर एउटा बलेको दियोले अरू निभेका सयकडौँ दियाहरूलाई सल्काए झैँ एउटा बलेका आँखाले अरू निभेका आँखाहरूलाई जलाउँदै गए । जसबाट समाजमा जाग्रत आँखाको बढोत्तरी भयो, तिनले उज्यालोलाई नयाँ–नयाँ आयामबाट नापजाँच गर्न थाले ।

जाग्रत आँखा कसैको सेप र सर्दीमा हुर्किन, बाँच्न इन्कार गर्छ । आफू आफैँ स्वाधीन भएको घोषणा गर्दछ । जाग्रत आँखालाई थाहा छ । वटवृक्षको नजिक उम्रेको वनस्पतिको हालत । सर्दी पैतलाबाट पसेर मस्तिष्कलाई आघात गर्छ र हरप्रकारका सेप र सर्दीको विरूद्धमा गीत गाउँछन् जाग्रत आँखा । दमन र दलनको विरूद्ध टिलटिल बलेका हुन्छन् जाग्रतआँखा । जाग्रत आँखाहरूलाई थाहा छ, ढुङ्गामुनि थिचिएको दुवोको गति, जाँतोमा हालेर पिसिएको मासको गति । मानिसलाई अँध्यारोमै राखिराख्ने रूढि र रीतिलाई रत्तिभर मन पराउँदैनन् जाग्रतआँखाहरू । रूढि र रीतिका नरघाती नरद्वेषी बारबन्देज भत्काएर मानवलाई समतलपथमा यात्रा गराउन चाहन्छ्न जाग्रत आँखाहरू ।

अँध्यारो समयको गर्भबाट प्रज्वलित भएर उठ्छन् जाग्रत आँखाहरू । जाग्रत आँखामा अँध्यारोप्रतिको बिरोधभाव हुन्छ । रङ्ग र रोशनीप्रति हुन्छ गहन आदरभाव । जागरणमा नआएका आँखाहरूले एउटै कालो रङ्ग सिवाय अरू रङ्ग पिउन मन पराउँदैनन् । तर जाग्रत आँखाहरू सूर्यका सातै रङ्गका प्यासी हुन्छन् । प्रत्येक रङ्गका रोशनीबाट पोषण प्राप्त गरेर रङ्गीन दुनियाँको रचना गर्न सहायक बन्छन् । फेरि जाग्रत आँखाहरू भित्रबाट बल्छन् । भित्रबाटै पलक खोलेका हुन्छन् । चर्मचक्षु नभएका होमर हुन् या मिल्टन, अस्त्रोभस्की हुन् या सूरदास; उनीहरू जाग्रत आँखाका सक्कली हकदार ठान्छु म ।

जाग्रत आँखाले कित्ता नछुट्याई अँध्यारोलाई अँध्यारो भन्छ । उज्यालोलाई उज्यालो भन्छ । सुन्दरलाई सुन्दर भन्छ । कुरूपलाई करूप भन्छ । जाग्रत आँखामा असीम खालको अभय चेतना हुन्छ । त्यसैले त आफ्ना आँखाहरूमा तातो झीर उनीँदापनि एकरत्ति टसमस नभै सत्य ओकलिरहन्छ । सुकरातका जाग्रत आँखा हेमलकको कचौरा पियाउँदापनि रत्तिभर विचलित भएनन् । ब्रुनोका जाग्रत आँखालाई आगोमा जिउँदै डढाउँदा पनि सत्यलाई प्रेम गरिरहे । जिससका जाग्रत आँखा क्रुसमा टाङ्दापनि मूर्खहरूलाई माफीको कामना गरिदिन्छन् । जाग्रत आँखाहरूलाई न त मृत्युले गलाउन सक्छ, न त मृत्यु पींडाले सताउनै सक्छ, न त मृत्यु चिन्ताले स्पर्श नै गर्न सक्छ । मृत्युभन्दा माथि उठेका हुन्छन् जाग्रत आँखाहरू ।

जाग्रत आँखाहरू अरूको लै लै र है हैमा कुद्दैनन् । विवेक बलिदानका शिखर आरोहण गर्दै जीवनको उत्कृष्ट पथमा यात्रा गर्छन् । जाग्रत आँखाले चेतनाको शिखर छोएको हुन्छ । अँध्यारो सास्तीराजको कुनै लोभले छक्याउन सक्तैन ती आँखाहरूलाई । लोभका प्रवञ्चनालाई ठाडै लल्कार्नु यी आँखाको स्वभाव हो । जाग्रत आँखामा अनन्त उज्यालोको दुनियाँ रचना गर्ने शक्ति टनाटन खाँदिएको हुन्छ । यसले कुवाको भ्यागुते जीवनलाई अस्वीकार गर्छ । यसले जीवनको साँगुरो गोरेटोलाई अस्वीकार गर्छ । उत्कर्षका एकपछि अरू क्षितिज नाघ्दै जानु यसको धर्म हो । हर प्रकारका रूक्षतालाई, हरप्रकारका रूग्णतालाई भत्काउँदै, हिर्काउदै, चोट मार्दै ऊध्र्वगामी पथमा यात्रा गर्नु यसको गति हो । जाग्रत आँखाहरू जमिनका साँगुरा धर्से बाटोबाट यात्रा गर्दैनन्; यी त आकाशको फराकिलो हवाई पथको वायविक उडानबाट आफ्नो गन्तव्य ताक्छन् ।

जब मान्छे सदियौँको कालो दूषित नीदलाई परित्याग गरी पर म उज्यालोको चाहमा औतालिन्छ तब उसका आँखामा जाग्रत आँखाको राशनी पोतीन थाल्दछ । जाग्रत आँखाले रचना गरेको आनन्द, जाग्रत आँखाले रचना गरेको स्वतन्त्रता, जाग्रत आँखाले रचना गरेको सभ्यता कति मनमोहक, कति सुन्दर, कति आल्हादकारी हुन्छ । त्यो ती आँखाको रङ्ग नपसेका आँखामा अनुभूति हुनसक्तैन ।

अँध्यारोको बिरूद्धमा हर्दम बुल्नु, गतिहीनताको विरूद्धमा हर्दम चल्नु जाग्रत आँखाको काम हो । पलकहरूमा पहरेदारका संगीन खडा गरेर जाग्रत आँखा हर्दम बेहोसीको विरूद्धमा, अचेतना र सुषुप्तिको विरूद्धमा जागिरहन्छन् । युगयुगदेखि गहन मूच्र्छामा रहेका आँखालाई अमूच्र्छाका आँखा मन पर्दैनन् । तर मूच्र्छाको संसारबाट मनुष्यलाई माथि उठाउन जाग्रत आँखाले खेपेको यातना र अपमान कति तितो छ, मूच्र्छामा रमेका लोचनहरूले बुझ्न सक्तैनन् । जाग्रत आँखाहरू बुझून् नबुझून्को सरोकार नराखी हर्दम अँध्यारोको विरूद्धमा टिल्ल बलिरहेका हुन्छन् । आफ्नो अनन्त ऊर्जामा युग उचाल्न जलिरहेका हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *