Skip to content


भगवान् विष्णुलाई सोधेँ ईश्वर मेरो जीवनको मूल्य के हो ? कति स्तरसम्ममा म मान्छे बन्छु । उनले हाँसेर उत्तर दिए बाबु तिमी अहिले बच्चै छौ । तिम्रो जीवनको मूल्य तिमीले सोचेभन्दा कैयौँ गुणा धेरै छ । म अलमल्ल परेँ । उनी अन्तर्धान हुन हतारिँदै थिए, मैले पाउ समातेर भनेँ प्रभु म दुनियामा किन नाजायज भइरहन्छु । उनले एक मीठो मुस्कानमा भने बाबु तिमीले ज्ञानको कुरा बुझिसकेका छैनौ । मैले फेरि सोध्न खोज्दै थिएँ उनी त अलप । सारा जिन्दगी अलप । के ईश्वर पनि दोधारे परीक्षामा मलाई उत्तीर्ण भएको हेर्न चाहन्छ । मैले आफ्ना प्रश्नहरू मेरा अघि पाउलिएर लहलह भएका कुटमिराका बुट्यानलाई सोधेँ, छेउका सीमालीलाई सबै मेरो खिल्ली उडाइरहेका थिए । म अलमल्ल पर्दै छेउको धारालाई कलकल पानी कहाँ गयो भन्दै गर्दा ती पनि अलप भए । वरपिपलले आफ्ना कुरूप शरीरमा वासना नभएको गन्थन गर्दै थिए । म मगन्ता माग्ने टोकरीमा सर्वश्व खोज्दै भीडमा बढारिएँ ।

एकाबिहानै कलंकीको एउटा लामो जाममा अल्झिएँ । कलेज जाने ठिटाठिटीको अट्टहास र छाडा जिस्क्याइ । भरियाको भारी र व्यस्त मान्छेको तँछाडमछाड । दगुरादगुर लाग्ने जिन्दगी । म भने जामको तामझाम मात्रै नियालेर लठ्ठ । झ्याल बाहिरका दृश्यमा दुनिया नियाल्दै थिएँ । कतै मेरो प्रश्नको उत्तर दिने कोही होलान् कि ? अकस्मात् उत्तर पाउन लागेको भान भयो तर त्यहाँ जीवनको अर्को परिभाषा– एक जना फलफूल पसलेले एउटा काटुनभरि हिजोका उखुका खोस्टा, भुइँकटहरका बोक्रा अनि साथमा खर्बुजाका बोक्रा फाल्दै गरेको देखेँ । बिहानीकै समय हो । काटुन राखेको देखिन्थ्यो मानौँ सभ्यताको एउटा चिन्ह । उनी नदेखेकोझैँ आफ्नो कर्मतिर बटारिए । त्यत्तिकैमा दुईतीन जना कालो वर्णका देख्दा फोहोरी बच्चाले त्यो काटुनलाई खोतलखातल पार्दै थिए । एउटाले खर्बुजाको चिरोमा अलिकति जुठो छोडेको भाग पाएर खुसीले हतारहतार कोपर्न थाल्यो । अर्को त्यसैमा लुछाचुँडी गर्नै लाग्दा अर्कोचाहिँले काटुनभित्रै एउटा अर्को त्यस्तै खर्बुजाको चिरो भेट्टाएपछि तिनले त्यो काटुनको सबै फोहोरलाई भुइँमा छरपस्ट पारेर खुसी प्रकट गरे । एउटा दृश्य समाप्त भयो जाम खुल्यो । फर्केर गोंगबुसम्म आउँदै थिएँ । गाडीभित्र एउटा बच्चाले खाँदै गरेको महङ्गो चकलेट टेक्ने ठाउँमा खसायो । बच्चाकी आमाले उसलाई नखानका लागि गाली गर्दै अर्को किनिदिने बाचा गरिन् । अलि पर्तिर दुई तीनजना बच्चा ढलभित्र खेल्दै थिए । सायद तिनकै आमाचाहिँ होलिन् एउटा ५–६ महिने बच्चा बोकेर कटौरोमा मागिरहेकी देखिन्थीन् । ती केटाकेटी चाहिँ त्यो ढलको पानी छ्यापाछ्याप गर्दै थिए । सायदै त्यो ढलको पानी तिनको शुद्ध पिउने पानी होला नहोला तर खेल्ने नहर अवश्य थियो । मैले तिनमा रोग, शोक भेटिन मात्र भोक र सोख भेटेँ– आफ्नै स्तरको । म अत्तालिएर भगवान्लाई भन्दै थिएँ– के यो पैसा छाप्ने मेसिन मान्छेलाई नै तिमीले दिनुपर्ने ? तिमीले पैसा छापेर बाँढे नहुने ?

म ईश्वरको खोजीमा अब गिर्जाघर पुगेँ । त्यहाँ भक्तको पहिरन भाषामा गहिरो प्रेम देखेँ । मानवता खोजेँ । म त्यहाँ हाँसको बथानमा बकुल्लो नै बनेँ । खोज्दै दगुर्दै दार्शनिक कहाँ पुगेँ । माक्सवादको बुज्रुकता छाँट्दै हाम्रा संस्कार खराब हुन् भन्दै डुव्रmन्थे– ‘भगवान्, देउता, प्रभु, ईश्वर, कृष्ण, राम यी सब भ्रमका खेती हुन् । सामन्तवादी संस्कारका द्योतक मात्र । माक्स बरु देउतै हुन्, विचारका हिसाबले हामी लेनिनका पछाडि संसार देख्छौँ ।’ मैले यसो भनिन, रामराज्य राम्रो कि साम्यवाद ? कुन सम्भव छ ? अहँ, तिनको बौद्धिकताले अनुहारमा अर्को रूप लिइसकेको थियो । आफूलाई पढालेखा मान्ने तिनका हरेक वचनमा ईश्वरीय आस्थाको विरोध झल्कन्थ्यो । जीवको रहस्यमा हिन्दू दर्शनभित्रकै भौतिकवादी सोच त चार्वाक दर्शनमा पनि छ– मोज गर, मस्ति गर अनि जीवन बाँच । जैन दर्शन या त बौद्धको समकक्षता कोट्याएँ । हो, चार्वाकले भन्छ– मरेपछि केही छैन, सबै खरानी हो । मैले पनि सोचेँ, के पृथ्वी यदि कुनै सफ्टवेएर हो । अफलाइन चल्ने सफ्टवेएर होला । यहाँ अन्न उब्जिन्छ । प्राणीका लागि चाहिने तŒवको व्यवस्थित प्रबन्ध छ । अँझ भनौँ मान्छेको आँखा, नाक, मुख पनि कति वैज्ञानिक संयोजन गरेर राखेको छ । अनि यो पृथ्वीको अपडेट गर्नु पर्दैन ? यो कस्तो सफ्टवेएर होला त ? मात्र दिन्छ, प्राणीका लागि तर अभाव, अन्याय, भोक दिँदैन । सबैलाई पुग्नेभन्दा कैयौँ बढी अन्न उब्जाउँछ । गोदाममा कुहिएका र समुद्रमा फालिएका अन्नसँग पनि ऊ केही बोल्दैन । न त भोकमरीको कृत्रिम सङ्कटमा हरियाली, पानी र हावालाई नाकाबन्दी गराउँछ । यो एउटा एप हो सायद । अफलाइन एप– पृथ्वी । जुनदिन अपडेट गर्नुपर्छ– त्यसदिन यसको नेटवर्क खराब पनि त हुन सक्छ । के मान्छे यो हरियाली प्रकृतिको संरचना अनि मान्छेको जीवनभित्र एकछिन टोलाउला । अहँ, लाग्दैन । दौडधुपको अन्तिम स्वासमा ढोङ र रवाफको पुन्तुरो कस्दै मर्छ । अन्धो मान्छे– अहङ्कारको बलिबेदीमा उही फुस्रा खोक्रा गफमा महान् भन्छ तर मानवता देख्दैन । पाखे र सेठको दर्जा तोल्छ मान्छे देख्दैन । नवयौवना र यौवनको वेश्यावृत्तिमा मान्छे पशुभन्दा कैयौँ गुना नीच लाग्दैन त ? कपडा लाएर अङ्ग छोपिन्छ तर स्वभाव सर्वाङ्गै देखिन्छ ।

पशुपतिसम्म पुगेँ । मरेको मान्छे जलाउन लागिएको रहेछ । सबै रोएका छन्, जो मरेको हो उसलाई केही मतलब छैन । न त यसो एकछिन उठेर धन्यवाद भन्छ, न कुनै प्रतिक्रिया । सबै आस्तिक नास्तिकको मनमा ‘दुई दिनको जिन्दगी के छ र !’ भन्ने समानता भेट्छु । लास जलिनसक्दै फोनको घण्टी बज्छ, प्रायः बुज्रुकहरूले घडीको सुइ हरेर बाटो तताउदा रहेछन् । काम भए पनि सामान्य मान्छे बसिरहँदा रहेछन् । काम नहुने पनि मिटिङ छ, त्यहाँ यस्तो काम छ भन्दै लुसुक्क लुसुक्क भाग्दा रहेछन् । ती पशुपतिनाथ केही एक शब्द बोल्दैनन् । त्यहाँ हजार रुपैयाँ तिर्नेले लाइनमै नबसी दर्शन ठ्याक्क पाउँदा रहेछन् । ती निरीह कङ्गालहङ लाइनमा भोकै नाङ्गो खुट्टा धाइरहेका देख्छु । अहो, भगवान् न्याय खोइ ? अहँ, एक शब्द बोलेनन् । शैव दर्शन पल्टाएँ, पाशुपत दर्शनभरि खोतलेँ ईश्वरको रूपमा मलीनता छ आडम्बर देखिन खै । यो मान्छेको मन्दिर र व्यवस्थामा खै कस्तो समानता ? म घोरिइरहेँ । साँझको आरतीमा भावुक प्रत्येक भक्तमा भगवान् देखे जस्तो लाग्यो । जहाँ भित्र बाहिरको कुरा देखिन । शिव भजनमा मग्न बाँदरको तालमा साधुको हाल देखेँ जो लोभको पगरीमा काममो गेरु बेरेर मदको पहिरनभित्र त्यागको नाटक त गर्दै छैनन् ? अनि ती साधु–सन्त हुन् कि त्यहाँका बाँदरको जमात सन्त हुन् ? कमसेकम तिनले खोजेर, चोरेर त खाने प्रबन्ध गर्छन् । हो, त्यागको हवासमा कामको बासना, क्रोधको कामना, लोभ या षड्शत्रुको पङ्गुपना तिनमा सबैथोक देखेँ तर शक्तिमा कमी भेटिन । तब, शिवजीको मन्दिरको गजुरमा जान पनि गेटका पुलिसले रोकेनछन् क्यार । सोचिरहेँ ।

म अनायास भगवान्लाई प्रश्न सोध्न थालेँ तेरो उद्देश्य मसँग के छ ? छ भने केही त भन् । म प्रश्नका पाना बोकेर हरेक साँझ उसको आरती गर्छु, पुकारा गर्छु । म आफैँ सम्झिन्छु, आफैँ गम्छु । मान्छेले भन्छन्, यो त भक्त हो । मैले लगाएको मेरो निदारको चन्दनलाई हेरेर मान्छेले मलाई भक्त बनाइदिन्छ । पल्लाघरे काइँला बाले आफ्ना नातिसँग भन्नुहुन्छ, हेर् तँ ऊजस्तो बन्नुपर्छ । मास्तिर मास्टर साब कुमारलाई भन्नुहुन्छ– ‘ऊजस्तो बनेर हुन्न बाबु, पढ्नलाई सहरतिर जानुपर्छ । खाली घण्टा बजाएर जिन्दगी गुज्रिँदैन ।’ मैले अर्को दोधार भेटेँ । जिन्दगी आखिर के हो ? जब मैले देखेँ एकजना अति सुन्दरी युवती, कलकलाउँदा गाला, सौन्दर्य पनि भगवान्ले सायद थुप्रै समय लाएर कुँदेको हुँदो हो– खुसी पनि लाग्यो । खै, किन किन आफ्नै हो भन्ने भावसँगै जाग्यो । म त्यसै अर्कै भक्तितिर भुल्न थालेँछु दिवास्वप्नामा सायद । फेरि तिनको पहिरनलाई नियालेँ तिनी त पक्कै भगवान्की प्रेमी हुनुपर्छ । सेतो साडी, सेतै चोलो तर फेरि सोचमा परेँ के जिन्दगी यिनले बुझेकी होलिन् । तिनीसँग बोल्ने आँटसम्म गरिन । खै, उनको मनमा के थियो, म चञ्चल मनको मान्छेले के के सोचेँ के के । त्यो सबै पक्षमा भगवान् खोजेँ तर मैले तिनको छेऊबाट एउटा मैलो, फोहोरी, झुत्रा कपडा लगाएको मानिस यतैतिर आएको देखेँ । उनले त्यो मान्छे समीपमा पर्नासाथ आफ्नो स्वास बन्द गर्न चाहिन् । एउटा दोधारमा म परेँ । अर्को संसार देखेँ । फेरि मैले सोच्नुको तात्पर्य खोज्न थालेँ, के ईश्वर त त्यो आत्मामा पनि समाहित थियो, अनि फोहोरी हुनमा उसको नादानी अवस्था ।

म अवाक भएर एकछिन घोत्लिएँ । अलिपर चर्चसम्म पुगेपछि उनी अर्कै मोडमा मोडिइन् । म आफ्नो गन्तव्यहीन यात्रामा एकछिन् बिसौनी खोजेर रोकिएँ । बेतेलभित्रका आवाजसँग गीतारको झन्का आएको । छेउमा एकछिन् अडिएँ । भित्रबाट एउटा मान्छे दौडिएर आयो । बाइबलको ठेली जबरजस्ती थमायो । नरम भाषामा बोल्यो । कति पनि कर्कस आवाज थिएन । अनि छेउको उसको परिचितले बोलाउन चाहँदा मात्र ऊ आगो भयो । फेरि मतिर मोडियो उही नरमपना । फेरि मलाई अन्य लिफ्लेटको उपहार बोनस भिरायो । मैले जवाफ वा प्रतिक्रियाको आशा गर्नुमा आफैँलाई अनुचित ठानेँ किनकि मेरो पालोसम्ममा घडीको सुइले बाह्र बजाउने सम्भावना, म पनि त बोल्न कहाँ कमको छु र । म अँझै दोधारको सागरमा डुबुल्की मार्दै दगुरेँ । म आफ्नो संसारमा लुकामारी गर्दै बुद्धका अघि उभिएँ । उनी अवाक बोलेनन् न त मलाई उनको ध्यान प्रकृया सिकाउन चाहे । मेरो कपडामा बुद्धत्वको पहिचान जोडिएन सायद । म आफ्नो सामल खानतिर लागेको के थिएँ । माथि एक हुल बाँदर आएर मेरो पेटको अशान्तिलाई भूकम्प चलाई दिन भ्याएछन् । खाजा त एकै पटक माथि रुखमा चढेछ म जमिनको जमिनमै दोधारमा परेँ । म भक्त कि यी बाँदर भक्त ? यी त रातदिन मन्दिर, गुम्बाका सामीप्यमा बस्छन् । प्रसाद बाहेक अरु केही नखाने । घुम्दै चारो खोज्न दगुर्ने स्वयम्भूका पेटीमा हात फैलाएका बिजोग लाग्ने व्यक्तित्वको जीवन हेरेँ । बुद्धलाई भनेँ के तिमी पशुपतिनाथसँग सहकार्य गरेर दुवैतिरका सबै यस्ता आशामुखीको जीवनलाई बुझ्न सक्दैनौ ? ती पेटीका तपश्वीलाई देखेर तिमीले कहिल्यै कृष्णजीसँग सम्झौता गरेनौ ? मैले दोधारमा भगवान्लाई गाली गरेँ । तिमी तिनको अभाव वा बाध्यता वा ढोङी मगन्ता अवस्थाको छानबिन समिति त बनाऊ । यति सोच्दै मात्र के थिएँ, बैशाखीको सहारामा आएको एउटा व्यक्तिले मेरो अघि हात पसार्यो, उसलाई के थाहा म अनाधिकारी मगन्ता हुँ भन्ने कुरा । म सभ्य मगन्ता हुँ । देख्दा इज्जतदार तर न माथि जाने, न तल गिर्ने मझधारमा – म पनि ऊ जस्तै एउटा मगन्ता हुँ । पेट युगमा जेट युगको चर्चामा यन्त्रको तन्त्रले मूल मन्त्र भिरेको गणतन्त्र, लोकतन्त्र, शोकतन्त्र, भोकतन्त्र, गरिबी र मानवतालाई ठोकतन्त्रको नयाँ परिवर्तनमा म मगन्ता बेसहारे मझधारमा । न म बोल्छु, आवाज बुलन्द छन् नैतिक बनधनमा । म सशक्त कार्यकर्ता । पुच्छर, न टाउको न धार – म केवल मझधारको मगन्ता ।

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *