Skip to content


म के लेखुँ? र म के नलेखुबाट लामो समय गुज्रिरहे। लेख्नु र नलेख्नुको अन्तर र प्रभाव केलाउदा केलाउदै दिन गए। स्वान्त सुखायको लागि केही लेख्ने कि भन्ने त पहिलेदेखिनै लागेको थियो तर के लेख्ने? भन्ने चाहिँ धेरै भएको छैन।

भित्र आगो छ त्यही लेख्ने कि? तर कसरी त्यो त अनुभव मात्र गर्न सकिन्छ। पर्दाले छेकेर भित्री कुरा देखिदैन र बाहिर आउन सकिरहेको छैन। कहिलेकाहीं त यस्तो लाग्छ जीवनै लेखिदिऊँ तर कसरी जब कि म बबुरो न परे जीवन नबुझेको मान्छे।

लेख्न नदिने तत्व र लेख्न लगाउने तत्वको बीचको द्वन्द्वलाई नै लेखीदिउ वा सके जति पर्दाभित्रका र बाहिरका कुरा लेखिदिउ भन्ने निष्कर्षमा पुगे तर लेख्ने कसरी? अमर न्यौपानेले भनेको जस्तै मसँग लेखाइको गन्तव्य नै छैन हारुकी मुराकामी जस्तो लेख्दै जादा गन्तव्य स्पष्ट हुने लक्षण पनि छैन। त्यस्तै पाउलो कोएलोले भनेझै लेखाइको लक्षण पनि देखिदैन न त ब्रह्माण्डकै मद्द्त छ। हुन त अरु जस्तै लेख्नलाई र अरुको निर्देशन अनुशार पनि हुने होइन त्यस्को लागि त उनीहरुको जस्तै अध्यन अनुभव कल्पनाअनुभूति अनुसन्धान आवश्यक हुन्छ त्यो लेवल मसँग छैन छ त केवल स्व कल्पना र सामन्य अनुभवहरु। जे लेख्दै छु आवरणले दिदैन र आवरण बन्छ।

आवरणमा म राम्रो छु यसको वास्तविकता राम्रो नराम्रो दुवै हुन सक्छ र नहुन पनि। आवरणमा म नराम्रो छु यसको वास्तविकता ऎजन हुन सक्छ। हुन त राम्रो र नराम्रो नै नभएपछि यसको पनि के कुरा। हुनता म आवरण र औपचारिकता पट्ट्कै मन नपराउने मान्छे हो तर वास्तविक जीवन मन पराउनु र नपाराउनेभन्दा बेग्लै छ। मसँग आवरण नभएको भने सत्य होइन। फेरि औपचारिकता यहाको ज्यूदो मूल्यांकन हो।

देवकोटाको कोट र चियाको सम्बन्ध, नेपालका प्रसासनको निर्णयहरु,कतिपय सरकारी निकायहरुका नियमहरू र त्यसको प्रतिफलको अवस्था सबै सम्झनु फगत ती आवरण हुन। म अहिले आफै भेष्ट र हाप पाइन्ट लगाएर बजार यात्रामा छु। बजार निस्केको बेलामा मेरै अंगहरुले मलाई राम्रो लुगा लगाएर हिंड्नु अँझै अर्धाङिनीले त झन यो खोल्नु र अर्को लगाउनु हाम्रो इज्जतको कुरा छभन्दा म झस्के। मौनतामा जवाफ दिए के भित्री आवरण मेरो राम्रो छ र बाहिरी आवरण सफा राख्नु?

तर म हिडे हिम्मत लिएर। हिडदै गर्दा मेरो भित्री आवरणलाई बाहिरी आवरणले ढाक छोप गरेका दृष्टान्तहरू सम्झदै छु। म नढाटी भन्छु आफ्नै कायरता सग म आजित छु। बेला बेला छ्क्क पर्छु। जब म मुल बजार पुग्न लागे तब सिनेमामा घुमेका रील झै मेरा अंग आधा अंग,आफन्त र स्व्यमको आवरणको धारणा बलियो हुँदै आयो। साथीभाइ र समाजले के भन्छ भन्ने भयो। परिणाममा मैले गोडा अगाडि बढाउन सकिन। मेरा गोडा लुला भए। म आफू रहेनछु भन्ने लाग्यो। म त प्रोडक्ट हो। नियत्ऋत छु। सबैभन्दा बडि आफ्नै आवरण र सन्सयबाट। म आफैसँग हारेर फर्किएको छु। स्वय मसँग स्वयंको हार। तर यो पहिलो चाहिँ होइन।

आवरण लुगाको मात्र होइन,ज्ञानको,स्वाङ्को हाउभाउको, बोलीको, मनको,सयौ कुराको हुन्छ जसले मलाई हैरान पारेको छ र असलीरुपलाई ढाकेको छ।

मलाई म हुन नदिने मेरो आवरणलाई हिम्मतसाथ नच्यातेसम्म खै कसरी म आफूलाई पहिचान गर्न सकुला र? खोल ओडेर म कसरी बाचु? आफूले आफैलाई ढाटेर म कति पानीमाथिको ओभानो भइरहु। जतिबेला कान र आँखा बन्द गर्छु आनन्दित हुन्छु। एकान्त त अँझ बढी प्रिय हुन्छ

। सम्बन्धबाट अलि टाढा जादा आवरण कम भए झै लाग्छ तर सम्बन्धबाट निर्मित यो संसारमा अलगिएर रहन कसरी सकिन्छ? फेरि पर्दा भित्रको जीवन के जीवन? यो त ऎना जस्तै भएको ठिक। के सबैसँग पर्दा हुन्छ? कि भाषिक र शाब्दिक स्तरमा मात्र च्यात्छ्न पर्दाहरु? व्यवहारिक जीवनमा कसरी च्यात्ने? कतै जोगी र महत्माहरुले पारीवारिक जीवन यसैले गर्दा छोडेका हुन?

यसरी नै कलेवरमै मात्र बाँच्ने भए यो काया नै काफी हुन्छ मस्तिष्क र आत्मा हुनुको के औचित्य रह्यो र? पलाएनै हुनुपर्ने हो भने यो सुन्दर संसारको प्रयोगको के अर्थ रहला र? कि छोडेर सारा, ओडेर खोल आनन्दको स्वाङ गर्यौ त?

हो कारणहरू यीनै हुन आफू हुन नसक्नुका। कतै पारस्परिक निषेधक त होइनन।

म परीवर्तन हुन खोजिरहेको छु आवरण घटाएर वा हटाएर। तर उनीहरू थप आबरण लगाएर परीवर्तन खोजिरहेछ्न। कति सजिलो छ उनीहरुलाई तर कति गाह्रो छ मलाई। किनकि म भित्रै ठूलो समस्या छ। हो,त्यसैले म फर्के। हारे। मानिसहरुले कत्रा कत्रा काम गर्छ्न तर म भने आफैसङ हार्छु पटक पटक। कति कुरा नजानेका नि जानेको झै गर्नुपर्छ मलाई यहाँ। स्वयं र परिस्थिति दुवै जबर्जस्त गर्छ्न मलाइ। अभिनय कति धेरै गर्नु? मलाई यहा सेतोलाई कालो र कालोलाई सेतो भन्नुपर्छ।

यस्तै हो भने खोल नै नहटाइ म चिहानसम्म पुग्न के बेर? अक्सर मानिसहरूको के हुन्छ? मैले अरुको कसरी बुझ्ने जबकि आफ्नो बुझिरहेको छैन। कतै यो जीवन भुलभुलैया त होइन? बुझिनसक्नु को रहस्यको पोको त होइन?

यस्तो लाग्छ- तोडेर सारा भित्री बाहिरी आवरणहरू मात्र गुदी हौ र पहिचान गरेर आफैले आफैलाई उडान भरौ जसरी देवकोटा देवकोटा बने त्यसरी नै। विशुद्ध बिऊ बन्यौ। या शान्त समुद्र। या स्वतन्त्र चरा।

अहमको कलेवर तोडेर बुद्ध बन्ने विचार आउनु एउटा कुरा भयो तर बुद्ध बन्नु अर्को कुरा। विचारवादी बढी र प्रगोगवादी कम हुनु भनेकै आबरण हुनु रहेछ। त्यही भएर नै होला साहेद मलाई आवरण तोडेर आफू हुने महात्मा गान्धी बि पी कोइराला नेल्सन मन्डेला अब्राहम लिङ्कन खप्तड बाबा ज्यादै मन पर्छ। आफू हुन र आफ्नै स्वतन्त्रतामा हिंड्न् मन पर्छ। मतलब मनमगन मनपर्छ। बिना आवरण भित्र बाहिर एउटै हुन मन पर्छ। जो जो यस्तो छ्न ती मन पर्छ्न। तर कति छ्न म भन्न सक्दिन त्यो उनीहरुलाई नै थाहा छ।

आवरण नहुनु भनेकै स्पष्ट हुने सोच्ने बोल्ने र गर्ने एउटै हुनु हो र आत्माको आवाजलाई पच्छ्याउनु हो। तर स्पष्ट छ अस्पष्ठका साथ बढिरहेछ मेरो एक मुठी प्राण। खै आफूसँग आवरण भएरै हो कि के हो जताततै आवरण नै आवरण देख्छु। बिना आवरण कोही छैन भने म चाहिँ कसरी निस्पेक्ष हुन सक्छु? के मानिस आवरण बिहीन हुन सक्छ? कि त्यसो हुन वर्तमानमा असम्भव छ? यी र यस्तै प्रश्नका साथ म घर आइपुग्छु। भारी दिमाग र बेचैनी लिएर। आवरण नै आवरणहरू भित्रको शून्यता लिएर।

आवरण तोडने अँझै झिनो आशा मरेको छैन। यसलाई विश्वास र हिम्मतमा बदल्नु छ। र प्रयोग पक्ष बलियो बनाउनु छ। यस्ले मलाई धेरै पीडा दिएको छ त्यसैले मलाई बलियो बनाउदैछ। वास्तवैमा आवरण तोडनका लागि आवरणको अवस्थिति आवश्यक छ र त्यो तोडेर एकदिन गुदि भएर बाँच्नुछ।

प्रकाश पाण्डे
सुनपकुवामा बि
उर्लाबारी 02

Leave a Reply

Your email address will not be published. Required fields are marked *