नौनी झिक्ने भ्यागुतो


दाइ ! कोही नौनी झिक्तैनन् अर्थात् कोही दही मथ्न तयार छैनन् । केवल अर्काले पारिदिएको मोही मिएर मुख बिगार्नेहरू छन् । अनि कत्ति अमिलो मोही भनेर मोहीको विषयमा नाटिकुटी गर्नेहरू छन् । आफू भैँसी नपाल्ने, आफू भैँसीलाई घाँस काट्न अल्छी गर्ने, दुध दुहुने, दही जमाउने र मही पार्ने काममा अल्छी गर्ने अनि अरुले पारेको मोही माग्न लुसुक्क ढुङ्ग्रो बोकेर अरुको ढोका चियाउने, मोही पाएपछि मोहीको विषयमा नकारात्मक टीकाटिप्पणी गर्ने, यसै प्रकृयाबाट गुज्रिएका छौँ हामी । हाम्रो मनोविज्ञानको रचना यसै किसिमले भएको छ ।

राम्रो कुरा गर्न आउँदैन, नराम्रो नराम्रो कुरा गर्न मात्र आउँछ । राम्रो कुरा सुन्दा भत्भत मुटु पोल्छ । अर्काको नराम्रो कुरा सुन्दा सञ्च हुन्छ हामीलाई । आफू चाहिँ काम नगर्ने, अरुले गरेको काममा खोट देखाउन सिपालु हामी । असल, मिहनेती र पौरखी मानिसले त मोही पार्ने आँट गर्छ, नौनी झिक्ने र नौनी खाने चाह राख्छ, र त्यही बाटोमा आफूलाई अग्रसर गराउँछ । न त उसलाई अरुले पारेको मोही माग्नुको दरकार छ, न त मोही पिएर त्यही मोहीको विषयमा टीकाटिप्पणी गर्ने फुर्सद छ । उसलाई त आफ्नो भैँसी घस्याउँनुमा भैँसीका फाँचो पगार्नुमा, दुध तताउनुमा, दही मथ्नुमा, नौनी झिक्नुमा, त्यसलाई खार्नुमा नै उसलार्इृ फुर्सद छैन ।

अर्काले बनाइदिएको बाटोमा यात्रा गर्नु जस्तो सजिलो कुरा केही छैन । गाह्रो त नयाँ बाटो बनाउँदै हिँड्नुमा छ । अर्काले खनेको बाटोको बारेमा अनेकन टीकाटिप्पणी गर्न सकिन्छ । खोटहरू खुट्याउन सकिन्छ । तर आफ्नोलागि आफैँले हातमा कोदाली बोकेर गोरेटो कोर्नु कति चुनौतीपूर्ण काम छ, कत्ति जोखिमपूर्ण काम छ ? अर्काले फाँडिदिएको बाटोमा कुनै समस्या हुँदैनन् । कुनै चुनौती र अबरोधहरू हुँदैनन् । त्यहाँ हिड्नु यसर्थ सजिलो छ, हामीले सिर्फ गोडा चालिदिए पुग्छ । अन्य श्रम र कसरतको दरकार पर्दैन । तरबाटै नभएको ठाउँमा नयाँ नयाँ बाटो निकालेर यात्रीहरुको यात्रालाई सुगम पारिदिनु कत्ति सकसपूर्ण काम छ ? काँढैकाँढ।ले ढाकिएको झोरजंगलमा, भिरपहरा र चट्टानले ढाकिएको ठाउँमा गोरेटो कप्नुमा कत्ति कष्ट छ । जीवन जोखिममा राखेर गैँची चलाउनुपर्छ । अनेकन अबरोधले श्रमलाई विश्राम गर्न खोज्छन् । तर म त्यो जोखिममा आनन्दका रेखाहरू भेट्छु । संघर्षबाट, साधनाबाट प्राप्त हुने सुखमा जीवनको उत्कृष्ट आनन्द लुकेको हुन्छ । त्यसैले चुनौतीसित खेल्नुमा एक मजा छ ।

जीवन चुनौतीरहित भयो भने त्यो जीवन बिकम्मा बन्छ । जीवनका सारा अवयवहरू सुस्त र पङ्गु बन्छन् । मलाई त चुनौतीका नयाँ नयाँ बादल मडारिएको आकाश मन पर्छ । किनकि चुनौतीका बादलमै आनन्दको वर्षात् छ । त्यो वर्षामा रुझ्न भिज्न मन पराउँछु । त्यो वर्षात्लाई पिउन र चाख्न हर्दम लालायित बन्छु ।

समाजको फलकमा दुईखाले मान्छे हुन्छन् । पहिलो खालका मानिस दही मथ्ने र नौनी झिक्ने खालका हुन्छन् । दोस्रो खालका मानिस आफू केही नगर्ने अरुले पारिदिएको मही पिएर महीको विषयमा नाटीकुटी गर्ने । मही पार्नेलाई त अरुको नाटीकुटी गरिरहन फुर्सतै हुन्न नि । जो अर्काले सिर्जना गरिदिएको बस्तुको सुताहा उपभोक्ता बन्छ, ऊ आलोचनामा माहिर हुन्छ । गुणदोष छुट्याउने पण्डित बन्छ ।

कतै पढेको थिएँ, एकचोटि फ्रान्समा एउटा चित्रकारले साह्रै राम्रो चित्र बनायो । आफूलाई राम्रो लागेपनि चित्रमा के कस्ता कमीकमजोरीहरू रहे, उसलाई थाहा पाउन मन लाग्य।े । उसले त्यो चित्र एउटा चौबाटोमा लगेर टाँसिदियो । त्यसको छेउमै कलम र कागज पनि छोडिदियो । उसले चित्र मुनि लेखेको थियो –“कृपया ! यो चित्र हेरेर, यस चित्रमा के के कमी कमजोरिरहेका छन् ? औल्याइदिनु होला ।” उसले कापी कागज त्यसकै लागि छोडिदिएको थियो । त्यो चित्र हेर्ने मानिसले हजारौँ गल्ती कमी कमजोरी देखाएर टिप्पणीहरू लेखिदिए । हप्तादिनपछि उसको चित्रमा हजारौँ खोट देखाउने मानिसको लर्को लाग्यो । अर्को हप्ता त्यो चित्रकारले पुनः त्यस चित्रमुनि यस्तो कुरा लेख्यो –“कृपया ! यो चित्र सुन्दर नबन्नुमा केले बाधा पुर्याएको छ, अनि चित्रमा के अधुरो छ जसले चित्रलाई उत्कृष्ट बन्न बाधा हालेको छ ? त्यसलाई सच्याइदिनु होला । रङ, ब्रस र कृचीको व्यवस्था गरेको छु ।” उसले त्यही रङ, ब्रस र कुची छोडिदियो । हप्तादिन त के महिना दिनसम्म प्रतिक्षा गर्दा पनि त्यो चित्र सच्याउन कोही आएनन् । सूचना पढ्थे, रङ, ब्रस र कुची नछोई त्यहाँबाट हिँड्थे । चित्रकारलाई ताज्जुब लाग्यो । यस कुराबाट उसले मानव मनोविज्ञानभित्रको विचित्र कुरा थाहा पायो । कुनै चिजको दोष र त्रुटि देखाउन, केलाउन मानिस सक्षम हुन्छ तर दोष त्रुटि सच्याउन चाहिँ सक्तैन । अर्काको खोट खुट्याउन मान्छे जति माहिर छ, अर्काको दुर्वलता देखाउन मान्छे जति माहिर छ । ती दुर्बलता र कमजोरीहरू हटाउन चाहिँ काएर छ । अर्काले सिर्जना गरेको चिजमा नाटीकुटी देखाउन जति सजिलो छ, आफैँले नाटीकुटी गरेको चिज सुधार्न पनि त्यत्तिकै गाह्रो छ ।

ठेकोभित्र दही मथेर नौनी झिक्नेहरुलाई, र झोर जंगल अनि आटव्य चट्टानले घेरिएको ठाउँमा आफू हिँड्ने बाटो आफैँ तयार गर्ने पथिकहरुलाई न त अरुको निन्दा गर्न समय हुन्छ, न त अरुको खिसी टिउरी र नाटीकुटीमा लाग्ने फुर्सतै हुन्छ । यस्ता मानिसलाई न त अरुले पारिदिएको मही पिएर ‘अमिलो र’छ ।’ भनी मुख नमीठो पारी प्रतिक्रिया पोख्नमा समय हुन्छ । न त अरुले खनिदिएको बाटोमा सएर गर्ने शौख र रुचि हुन्छ । उनीहरुलाई त पहरा कप्नमा अकथनीय आनन्दको आभास हुन्छ । आफैंले नौनी मथ्नुमा, घिउ खानुमा सर्वोच्च सुखसौन्दर्य छल्किएको हुन्छ ।

आफैंभित्रको रङ निचोरेर, आफ्नै औंलाका टुप्पाहरुले चित्रकारिताको अनुपम सौन्दर्य रचना गर्नेहरुलाई अर्काको चित्रको खोट देखाउन, खिसीटिउरीको भाषा बोल्न आउँदैन । निन्दा बोल्न त तिनलाई मात्र आउँछ जसले सृजनाका सर्गहरू रच्न सक्तैन । पौरखका अखेटाहरू कप्न सक्तैन । आफ्ना रङ, ब्रस र कुचीहरू मुसाको आहारा बनाएर अरुको चित्रमा अनन्त निन्दा बोल्ने उपर दयाको भाव उठ्छ । सृजनको साधनापथमा पसिना पोख्ने मनुवा जीवनका हर चुनौतीहरुसित सिंगौरी खेल्ने आँट गर्छ । समस्याहरुमा समाधानका सूत्रहरू पहिल्याउँछ । समस्याका अप्ठ्यारा चट्टान ढिस्काहरुलाई समाधानका सिँढी कुँदेर ऊध्र्वगामी यात्रालाई सहज तुल्याउँछ । ऊभित्र सपनाका पहाडहरू शृङ्खला बनेर उभिएका हुन्छन् । सृजनको कहिल्यै ननिभ्ने ज्योतिशिखा हुरीहरुलाई झेलेर पनि बलिरहेको हुन्छ ।

हाम्रो सामाजिक सतहमा नौनी मथ्नेहरुको संख्या कम छ, अरुले पारिदिएको मही पिउनेहरुको संख्या बढी छ । आफू हिँड्ने बाटो आफैँ बनाउनेहरुको संख्या कम छ, अरुले बनाएको बाटोमा यात्रा गर्नहरुको संख्या बढी छ । आफूलाई उत्खनन् गरेर आफ्नो निर्माण गर्नेहरुको संख्या कम छ अरुको निर्माणमा रमिता हेर्ने र तिनलाई अर्तीउपदेश गर्नेहरुको संख्या बढी छ । यही अवस्थाले हाम्रो चेतनाको उचाइ देखाउछ, यही कुराले हाम्रो भौतिक तथा चैतनिक समृद्धि निर्धारण गर्दछ ।

यस सन्दर्भमा मलाई दूधको घ्याम्पामा डुब्ने भ्यागुताहरुको कथाको विम्ब सम्झिन मन लाग्छ । कथा संकेतमा बोल्छ, एकचोटि दुइटा भ्यागुता अलग अलग दूूधका घ्याम्पामा खसेछन् । सुगम पथमा हिँडिरहेका भ्यागुताहरू दूधका घ्याम्पामा डुबेपछि बीचल्नीमा पर्छन् । उनीहरू अत्तालिन थाल्छन् । भ्यागुताहरू त्यतिसारो अत्तालिनुको कारण के थियो भने घ्याम्पोमा डुब्ने बित्तिकै दुुईटै घ्याम्पोका बिर्को बन्द भएका थिए । ती भ्यागुताहरू उपायविहीन भएर छट्पटाउन थाले । उनीहरुको बाहिर निस्किने बाटो बन्द भएको थियो ।

पहिलो भ्यागुताले सोच्यो –आखिर मर्ने नै भैयो, मर्नु नै छ भने पनि आखिर केही न केही उपाय गरेर केहीबेर भए पनि किन नबाँच्ने ? यो सोचेर पौडिखेल्न थाल्यो । पौडी खेलेरै बाँच्ने निधो गरेपछि उसलाई त्यसमै मजा आउन थाल्यो । केही घण्टा पछि दूधमा पौडी खेल्दाखेल्दै नौनीको डल्लो तयार हुन्छ । अब ऊ त्यही नौनीको डल्लामाथि बसेर आरामले आफू मुक्त हुने समयको प्रतिक्षा गर्न थाल्छ । नभन्दै एकदिन बिर्को खुल्छ र त्यहाँबाट निस्किन सफल हुन्छ । अर्को घ्याम्पोमा जीवित हुने आशाहरू खरानी बनाउँछ । ऊ मृत्युको अगाडि लम्पसार आत्मसमर्पण गर्छ । आफ्ना हातखुट्टा चलाउनु त के चलमल नगरी दूधको अतल गहिराइृमा डुब्छ केही क्षणमा ऊ मर्छ ।

समस्याको पोखरीमा डुबेर नौनी झिक्ने भ्यागुतो हामी कहिले बन्छौँ होला । अरुले पारिदिएको मोही पिउन छोडेर आफैँ हामी कहिले दही मथ्छौँ होला । अरुले खनीखोस्रिदिएको बाटोलाई इन्कार गरेर आफ्नो यात्राको निम्ति गोरेटो नै सही, त्यो बाटो कहिले कोर्छौं होला । त्यो दिनको बारेमा सोचिरहेछु । त्यस्ता मानिसहरुको बारेमा सम्झिरहेछु ।

२०६९ बैशाख १

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *