मान्छेको संगतभन्दा जनावरको संगत पो बेस हो क्यारे ! घरिघरि यो निष्कर्षमा पुग्न खोज्छ मन । दूषित चित्तका मानिसको हुलमा घेरिएर बाँच्नुपर्दा वाक्कदिक्क भएर मनले यो निष्कर्ष निकालेको पनि हुनसक्छ । जनावरकै संगत बेस बुझेर हो कि उहिल्यै उहिल्यै ऋषिमुनिहरू बस्ती छोडेर वन पस्थे । मान्छेदेखि दूर रही जानवरी सत्संगमा रमाउथे । घरले दिने सुखभन्दा बोटबिरुवाको छाहारीले दिने आनन्दमा परम अनुभूति गर्थे ।

मलाई पनि विक्षिप्त चित्तदशामा मानिसदेखि दिक्क लागेर आउछ बेलाबेलामा । म घर नभएको मौका पारी मेरो सानो ओता लाग्ने याक्सो भत्काउन आएछन् दूषित मनका मान्छेहरू । विहानदेखि बेलुकासम्म म आफ्नै कर्मयोगमा लीन छु । न त चियापशलमा पसेर पोचा गफ सुन्ने फुर्सद छ मलाई, न त आकाशपत्तातका पाङ्दुरे कुरा गर्न अवकाश छ मलाई । सार्थक कामको सिन्कोधरी नउठाउने तर फुटानीका द्रोणाचल पर्वतै उठाएको डिङ हाक्ने कथित ठूलाठालुलाई विहान बेलुका नमस्कार टक्य्राउन पनि समय छैन मलाई । उनीहरुको जीहजुरी गरी साखुल्ले बन्नपनि सकिनँ म । अकर्मण्य समय टोल्ने कामचोर मूर्दारहरुदेखि त म सयहात टाढा नै छु । यिनीहरुको भीडमा नपसेपछि एकलकाँटे भँइदो रहेछ । एक्ले बुलाहा जस्तो जीवनको बाटोमा हिँड्नुपर्दो रहेछ ।

मेरो जीवनयात्राको आफ्नै मार्गचित्र छ । कसैको मार्गचित्र अनुशरण नगरी आफ्नो बाटो आफैँ खन्दै, आफ्ना खुट्किला आफैँ कप्तै जीवनको यो मोडसम्म आइपुगेँ । दुषित चित्तवृत्तिका मनुवाको छलछाम, तिग्डम, जालझेलबाट बाह्र हात टाढै रहेँ । यसो गर्दा आफ्नै सुरमा हिँड्ने एकसुरे मान्छे भएछु म । मेरो सुर देखेर असुरहरुको आत्मामा औडाहको आगो दन्केछ क्यारे । अनि मेरो याक्सो उडाउने हिसावले घरि न घरि जमघट चलाउँदा रहेछन् । मेरो सामुमा मौन बेखर मान्छे; म घरबाट निस्केपछि वैरी बनेर उर्लिंदो रहेछ ।

ईर्ष्याको कालो लेदोले लबालब भरिएको हृदयमा मलाई डस्ने जहरकुण्ड बोकेर त्यस्ता मान्छे भौतारिरहेको देख्छु । तर सामुन्नेमा मलाई फुंकार गर्ने आँट छैन । हजार द्वैषका सुइराले मलाई घोच्न तयारी हालतमा रहेपनि मलाई एकसुइरो हान्न सकेका छैनन् । बरु ती सुइराले आफैँलाई घोचेर आफ्नो आत्मा छिया छिया बनाइरहेछन् । छिर्के छलफलमा सामेल हुन मन लाग्दैन मलाई छलफलमा छलहरुको फल निस्किने गर्छ । छिर्के वृत्तिका मानिस छिर्के तिग्ड म बुन्न, कसैलाई न कसैलाई छिर्के हानी लडाउन उद्यत छन् । यस्ता मनुवाको बुद्धिबाट घरि न घरि पीडित छु म ।

मनुजबाबु मिश्रको चित्रमा देख्छु, तस्वीरमा मान्छे छ, तर त्यहाँ गोरुका जस्ता हान्ने सिङ छन् । कुकुरको जस्तो टोक्ने थुतुनो छ । बिरालाका जस्ता आँखा छन् । सर्पको जस्तो फणा उठाइरहेको छ । एउटै मान्छेभित्र स्याल, हुँडार, बाघ, ब्वाँसो, चितुवा, सर्प, सबै सबै प्रवृत्तिलाई उनले सन्निहित गरेका छन् । चित्रले लाक्षाणिक भाषामा मनुवाभित्रको आसुरी प्रवृत्ति, चित्तदश्य र भावभङ्गिमालाई खुलस्त देखाएका छन् । यस्ता नरपशुबाट बँच्न उनी वर्षौदेखि गुफाभित्र लुकेर कलासाधना गरिरहेको खबर पढ्छु । सायद उनीपनि यस्ता मान्छेहरुको संगतबाट टाढा टाढा हुन खोजेका होलान् । मान्छेरुपको मान्छेदेखि वाक्क दिक्क भएर छलिन खोजेका होलान् ।

जनावरहरुमा एक किसिमको भोलाभालापन र सादगीपन छ । एक प्रकृतिवत सरलता छ । एक निर्मल निर्दोषपना छ । एक मैना पाल्ने महिलाको दिनचर्या हेर्छु; छोरो असाध्यै बदमास छ । छोरोसित छुट्टिएको वर्षौं भयो; आजभोलि त्यो मैना उनको छोरी जस्ती भएको छ । ऊसँग बोल्छिन् । बात मार्छिन् । मन भुलाउँछिन् । अर्को एकजना मानिसका दुई भाइ छोरा एउटा बलत्कार काण्डमा जेलमा छ, अर्को लागू औषधको दुव्र्यसनी बनेर सुधार केन्द्मा उपचाररत छ । धनमिानी लाहुरे बूढोले खाइलाग्दा कुकुर पालेको छ, बिराला पालेको छ । यो पनि मन भुलाउने बाटो होला ।

मन भुलाउने तरिका त हुँदै हो, यसभन्दा बढी दुर्जन दृष्ट छोराछोरीभन्दा कुकुर, बिराला, सुगा, मैना, रुपी, खरायो, बोकापाठा कुखुरा नजिकका इष्ट बन्दा रहेछन् । तिनको अबोध आत्माले दुखेको मनलाई मलमपट्टी कस्तो रहेछ । यस घडी मलाई पनि लाग्छ, अर्काको घर भत्काउन खन्ती उद्याउने छिमेकीभन्दा एक गाँस भातको आसमा बेलुका बेलुका मेरो खुट्टामा लुट्पुटिन आउने भतुवा कुकुर नजिकका साथी हुन् ।

वि.पि.को कर्णेलको घोडा कथामा कर्णेल्नीलाई बूढो कर्णेलभन्दा घोडा किन प्रिय भयो ? बाङ्देलको लंगडाको साथी उपन्यासमा लंगडाले किन मान्छेलाईभन्दा बढी कुकुरलाई माया गर्यो ? त्यसका अर्थहरू अलि अलि बु्झ्न थालेको छु । त्यसै देवकोटाले प्रभुजी भेडो बनाऊ भनी पुकारा गरेका होइन रहेछन् । जनावरहरुमा छलछामका छुरी हान्ने, छक्कापंजाका कटारी धस्ने बुद्धिको अभाव देखेर जानवरी प्रेमको साहित्य रचिएको होला ।

एन्टोन चेखबको एक मार्मिक कथा छ । जहाँ एक सइसले अफ्ना अकल्पनीय दुःख मान्छेलाई नसुनाएर घोडालाई सुनाउँदै हिँड्छ । उसको दुःखले घोडा रुन्छ, मान्छे रुँदैन । यस्तो कुरा विश्ववाङ्मयमा पनि भेटिएको छ । मान्छे कुटिल छ । जनावर कुटिल छैन । मान्छे छलकारी छ । जनावर छलकारी छैन । जनावरका सिङले ऊ नाराज बन्दा सिधा सिधी अगाडिबाट हान्छ तर कुटिल चित्तको मान्छे अगाडि सामुन्नेमा ठिक पार्छ, चेपारो घस्छ; तर कण्डापछाडिबाट कोखै ताकेर छुरी धस्छ ।

मान्छेले जुन हदसम्म चुत्थो व्यवहार देखाउन सक्छ; जनावरले आफ्नो सहज वृत्तिलाई नाघेर कहिल्यैपनि चुत्थोपन देखाउँदैन । आफ्नो निसर्ग स्वभावलाई भुलेर अर्काको स्वभावमा अतिक्रमण गर्दैन । यो भोलाभाला पन; निर्दोषपनले आकर्षित गरेर होला; चुत्था मान्छेको संगतभन्दा जानवरी संगत बेस देख्न थालेको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *