बडो प्रेमका साथ हजुर मनो गन्थन अघि सार्न प्रोत्साहन गर्नुहुन्थ्यो। हामी पछि सरे अघि सर्न बाटो प्रशस्त गर्नुहुन्थ्यो। पुरानो पुस्ताको अनुभव, अनुभूति र अनुमानको असली ज्ञाता भए मात्र नयाँ पुस्ताको विज्ञानले शुद्ध नतिजा दिन सक्छ भन्नुहुन्थ्यो। हजुरबा ! हजुरले एक पटक भन्नुभएको थियो, ‘जुही ! आफ्ना कुरा र परिस्थिति लुकाउनु भनेको आफूले आफैंलाई धोका दिनु हो। मान्यवरलाई सुनाउनु भनेको समस्या समाधानको लागि जिम्मा लगाउनु हो। आशा र भरोसा प्राप्त गर्नु हो।’
म अहिले समस्यामुक्त छु। यद्यपि मेरो सोच र समझ हजुर समक्ष सुनाउँदै छु। नातिनी बाठी भइछ नभन्नुहोला। कति ठिक बोलेँ, कति अनर्गल कुरा गरेँ, निर्णय मलाई सुनाउनुहोला। बाबा पनि हर्दम घरबाहिरै रहनुहुन्छ, चाडबाड वा अन्य कुनै कारणले स्कुल–कलेज बन्द हुँदा मात्र घर आउनुहुन्छ। उहाँसँगभन्दा हजुरसँग भलाकुसारी गर्न पाउँदा मन रमाउँछ। सावाभन्दा व्याज प्यारो हुन्छ भनेझैँ हजुर पनि बाबा–मामूलाईभन्दा हामीमा बढता चासो लिनुहुन्थ्यो।
हजुर बा ! होलीको छुट्टीमा स्कुल बन्द थियो। सडकमा हामी केटाकेटीहरू एकापसमा होली खेल्दै थियौँ। मलाई देखेर बाबा आश्चर्यमा पर्नुभयो। दिनानुदिन म ठूली हुँदै गएकी र पढाइलेखाइमा खर्च बढ्दै गएकोमा चिन्ता गर्नुभयो। माहिला काकाको जस्तो सरकारी जागीर नहुँदा परिवार चलाउन डर मान्नुपरेको व्यथा सुनाउनुभयो। बेलुका खाना खाइवरी म दिदी रश्मिसँग विस्तरामा ढल्किएँ।
सडक पनि जागै थियो। मानिसहरू हिँड्दै थिए। रात पनि सुतेकै थिएन। चराचुरुङ्गी चिर्बिराउँदै थिए। वरपरको वातावरण पनि विश्राममा जाने मनस्थितिमा थियो यद्यपि गइहालेको थिएन। बाबा र मामुको सोचाइमा दिदीसँगै म पनि निदाएँ यद्यपि निदाइहालेकी थिइनँ। उहाँहरू संवादमै व्यस्त हुनुहुन्थ्यो। म कान ठाडा पारेर चुपचाप सुनिरहेकी थिएँ।
बाबाको बोली सुनियो– ‘जानकी ! तिमी मेरो जीवनमा नआउँदा म फगत एक्लो थिएँ। जिम्मेवारीबाट पूरै अलग थिएँ। पैतृक सम्पत्तिका आधारमा जीवन हिँडाइरहेको थिएँ। चिन्तामुक्त मनोदशामा सिर्फ लेखपढमा चित्त लगाउँथेँ।
थरीथरीका शैक्षिक र वैयक्तिक अनुभव भएका शिक्षकहरू थिए। उनीहरूको छत्रछायाँले दिनहुँ मेरो ज्ञानको जग बलियो हुँदै गइरहेको थियो। विज्ञानको विद्यार्थी हुनाले खोजयात्रामा सरिक हुने अवसर समेत मिलिरहन्थ्यो। सोधेरभन्दा खोजेर बुझेको कुरा मस्तिष्कबाट मेटिन्नथ्यो।’
बाबाले यसो भनिरहदा शिक्षकले विद्यार्थीलाई समस्यामुक्त पार्दिन सके मात्र सफल र श्रेष्ठ सिकाइ सम्भव हुन्छ भन्ने स्मरण गरेँ। आखिरमा म पनि त सिकाइ मैदानकै एउटी शिष्या हुँ। उहाँले बोलेको अन्तिम वाक्यले भने जिज्ञासु र लगनशील विद्यार्थीले मात्र प्रगति गर्ने कुरालाई सङ्केत गरिरहेको थियो।
बाबा अगाडि भन्दै जानुभयो, ‘आफूले अनुभूत गरेका समस्याहरूको समाधान प्रायः स्वय म गर्थें। सम्भव नभएका कतिपय कुराहरू शिक्षककहाँ राख्थेँ। त्यहाँ पनि सबै किसिमका प्रश्नले उत्तर भेट्दैनथे। बेलाबेलामा म अनुत्तरित प्रश्नको वरपर घुमिरहन्थेँ। पटकपटकको प्रयत्नले तीमध्ये केहीको समाधान पत्ता लाग्दथ्यो। केही भने अँझै जस्ताको तस्तै रहन्थे। यसो गरिरहँदा मेरो सिकाइ र बुझाइ मजबुत हुँदै जान्थ्यो।’
पुरुषोत्तम सर हाम्रो विज्ञान गुरु हुनुहुन्थ्यो। उहाँ विद्यार्थीले जिज्ञासा उत्पन्न नगरे आफ्नै शिक्षण कलामा कमजोरी भयो भन्ने ठान्नुहु्न्थ्यो। उहाँ समस्या भन्न प्रेरित गर्नुहुन्थ्यो। समाधानको बाटो भने फिटिक्कै देखाउनुहुन्नथ्यो। अर्का थरी विद्यार्थीहरूलाई नै समस्यामुक्त हुने बाटो देखाउन भन्नुहुन्थ्यो। विद्यार्थी स्वयम्ले समस्यामुक्त हुन प्रयत्नशील रहनुपर्ने अवस्था शिक्षकले नै सिर्जना गरिदिँदा दिगो सिकाइ भएको अनुभूत हुन्थ्यो। बाबाको कुरा यहाँ गएर व्यवहारमा लागू भएको महसुस गरिरहेँ।
उहाँ बोल्दै रहनुभयो– शिक्षकले भनेका र किताबी कुरालाई म सूचनाको रूपमा लिने गर्थेँ। तिनमा आफ्नो मत मिसाउँदा कतिपय सैद्धान्तिक पाटाले बेग्लै रूप लिन्थे। सूचनाका अतिरिक्त मौलिक कुरा पनि लेख्ने हुँदा परीक्षामा कम अङ्क ल्याउँथेँ। त्यसले पिताजीको मनमा वितृष्णा जन्मेछ।
आफ्नो लगानीले उचित प्रतिफल प्राप्त गर्न नसकेको भनेर उहाँले कडा रोष व्यक्त गर्नुभयो। म दिनानुदिन विज्ञान जगत्मा सशक्त हुँदै गएको परिप्रेक्ष्यमा पिताजीको असन्तोष मेरा लागि घातक सिद्ध भयो। घोरिँदै र खोज्दै जाँदा परीक्षामा अङ्क ल्याउने एउटै बाटो भेटियो– रटन्ते शिक्षा। फलस्वरूप पिताजीका लागि किताब–गाइड रट्न सुरु गरेँ।
हजुरबुबा ! यहाँ आएर हजुर चुक्नुभयो जस्तो लाग्यो। अभिभावकको महत्त्वाकाङ्क्षा आफ्ना बच्चामा जबरजस्त लाद्दा प्रतिफल सन्तोषप्रद हुन्न। हजुरले कता कता कमजोरी गरेजस्तो लाग्यो। अभिभावक स्वयम्ले आफ्ना नानीबाबुको सिकाइ स्खलित गरेझैं लाग्यो। मान्यवरकासामु यसोभन्दा मलाई नमीठो त्रासले घाँटी समाउन खोज्दै छ। यद्यपि सत्य मार्न र मर्न दिनु जीवनकै भूल हो तसर्थ जो सुकैले कमजोरी गरोस् सत्य अवगत गराउन चुक्नुहुन्न भन्ने हजुरकै शिक्षा–दीक्षाले मलाई सहास थपेको हो।
बुबा अगाडि थप्दै जानुहुन्छ आमा भने अगस्त्यमुनि भइरहनुहुन्छ– रट्दा रट्दै दिन सकिन्थ्यो। रात आधा हुन्थ्यो। हुँदाहुँदै अपेक्षा विपरीतको फल हात लाग्यो– चन्द्रधारी मिथिला विज्ञान महाविद्यालय, दरभङ्गाबाट विज्ञान सङ्कायको सन् १९९५ को स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम उपाधि। त्यो आफ्नो सोचसमझ बाहिरको बोक्नै नसक्ने उपाधि थियो। त्यसै दिनदेखि मेरा दुःखका दिन उदाए। उपाधि रक्षाका लागि आफूमा भएको स्वच्छन्दतालाई भित्रभित्रै दबाएर भद्र व्यक्तिमा रूपान्तरण हुने प्रयासमा लाग्दो भएँ।
उपाधिको महत्त्व जोगाउनु मेरो लागि फलामका च्युरा चपाउनु सरह थियो। आशा र अपेक्षा गरेभन्दा उत्तम दर्जाको फल पाउनु पनि घातक नै हुँदो रहेछ। मेरो चयनको श्वास बन्द भयो। चञ्चलता, जागरुकता र जिज्ञासु मन हराएर गयो। कसो गरेर अरूभन्दा उत्तम भइरहने, के गरेर उपाधिको सम्मान बचाइराख्ने ? मेरो तनमन त्यसैमा केन्द्रित भइरह्यो।
पलपल विरसिला दिनहरू उदाउन थाले। थरिथरीका सपनाहरू जन्मेर अगाडि उभिन्थे। तिनलाई निरीक्षण गर्न मात्र सक्थेँ। सुम्सुम्याएर पहिचान गरी आफूमा समाहित गर्न सक्तिनथेँ। तिनलाई व्यवहारिक तुलोमा तौलन खोज्थेँ। असफल होऊँला कि भन्ने डरले सपनाहरू तुहाउन वाध्य हुन्थेँ।
सामान्य विद्यार्थी छँदा स्वतन्त्र थिएँ। जहाँसुकै विहार गर्दा पनि हुन्थ्यो। जसरी आफ्नो मन बहलिन्छ, त्यसै गर्दा पनि इज्जत अगाडि उभिन आउँदैनथ्यो।। अब त पाइलैपिच्छे उपाधि वाधक भई खडा हुन थाल्थ्यो। यहाँसम्म कि आमाबाबुसँग पनि मन खोल्न बाधा पर्न थाल्यो। र, उपाधिको बोझले गर्दा मनमौजीका दिन अस्ताए।
अब सुखको सूर्य जन्माउने अभिभारा तिम्रै काँधमा छ। किनभने तिम्रा काखमा हाम्रा दुई छोरी छन्। म भने जीविकोपार्जनको आधार जुटाउन तिमीहरूका साथबाट टाढिएको छु। तसर्थ म छोरीहरूको परीधीय मित्र मात्र हुँ। तिमी त केन्द्रीय संगी नै हौ।
हेर, म सानैदेखि देशबाहिरै बढेँ, पढेँ र त्यहीँको कुरा मात्र जानेँ। एउटा उच्च दर्जाको उपाधिसहित पुर्खौली मुलुक फर्किएँ। मैले भोग्नुपरेका भाषिक, सांस्कृतिक, सामाजिक, भौगोलिक, शैक्षिक समस्या र जटिलताहरूको कहिरन उल्लेख गरी साध्य छैन। यसखाले समस्या छोरीहरूको जीवनमा नआओस् भन्नका लागि मभन्दा तिमीले नै असल माली बन्नु जरुरी छ। त्यही चिन्ता र चासोले गर्दा मैले आफ्नो अन्तर्हृदयका आवाज निकालेको हुँ। बुझेर छोरीहरूलाई उचित वातावरण दिने छ्यौ भन्ने ठानेको छु।
हाम्रा छोरीहरूले विद्यालयीय शिक्षा आफ्नै देशमा आर्जन गर्ने छन्। आफ्नो भूगोल जान्ने छन्। मेची–महाकाली, तराई–हिमाल पर्गेल्ने छन्। भाषा–भेष र व्यवहारका धनी हुने छन्। पारिवारिक संस्कृति र चालचलनको फेद–टुप्पो चिन्ने छन्। नेपालीय संस्कृति र सांस्कृतिक पक्षको जानकारी राखी श्रद्धा गर्न सिक्ने छन्।
आफ्नोपनमा गर्वबोध गर्न सके आफन्तबाटै डरपोक बन्नुपदैन। उकाली चढ्न आत्तिनु पर्दैन। ओराली झर्न डराउनु पर्दैन। जुन भूमिले शरीरभरि रगत चढाइदिएको छ, बास र गास दिलाएको छ, त्यसकै समुन्नतिमा आफूले पनि पसिना बगाउनु पर्ने मूलमन्त्र सम्झने छन्। त्यसको निर्माणमा आफ्ना पुर्खाहरूको खुन–पसिना लगानी भएको सम्झने छन्। साँच्चैका नेपाली चेली बनेर नव नेपालका भृकुटी हुने छन्।
यसखाले मेरो सदीक्षा पूरा गर्न होस् दिलाउने छोरीहरूकी चौबिसे घण्टे चौकिंदार तिमी नै हौ। तिमीले पिलाउने दुधमै त्यो रङ मिसाउन जरुरी छ। तिमीले नै अमिल्दो पक्ष मिलाएर पारिवारिक वातावरण अनुकूल बनाउनुपर्छ। एकलकाँटे विचार राखेर घृणाको संस्कार दिलाई निहित स्वार्थको पृष्ठपोषणमा मलजल पुर्याउनु भनेको जडसंस्कार सिकाउनु हो। जडताले कहिल्यै कसैको भलो गरेको छैन।
सर्वप्रथम आफ्नो हृदय सगरमाथाझैँ स्वच्छ र विशाल बनाऊ। अनि, छोरीहरूलाई सोही मार्ग देखाउने र हिँड्न सिकाउने पुरा दायित्व आफ्नै काँधमा आएको सम्झ। त्यसलाई पूरा गराउन वचनबद्ध बन।
हाम्रा छोरीहरूलाई स्वतन्त्र मानसिकतामा स्वतन्त्र व्यवहार प्रदर्शन गर्न दिन तिमी स्वतन्त्र हुनुपर्छ। तिमीले नै घरभित्र र बाहिरका काममा हात हाल्नुपर्छ। के गर्दा र कुन विधि–प्रविधि अपनाउँदा उत्पादनात्मक प्रतिफल प्राप्त हुन्छ, त्यसको हिसावकिताव गरेर अघि बढ्नुपर्छ।
छोरीहरू स–साना कुरामा झगडा गर्लान्, रोलान्, चिच्याउलान्, लड्लान्, पछारिएलान्। जे गर्छन्, केही समय गर्न दिनुपर्छ। बिगार गरे गर्न दिनुपर्छ। मनपर्दी गर्न पाउँदा उनीहरूको मासिकता खुल्छ। खुलेको मानसिकताले चेतनाको ढोका उघार्न मद्दत गर्दछ। मात्र शारीरिक र मानसिकरूपले खतरामुक्त बनाउन तिमीले सचेत नजर लगाउनुपर्छ।
उनीहरूको रुवाइ बन्द गर्नु छ भने ‘नरोऊ नानी’ भनेर चेपारो घस्नुको सट्टा आफैँ रोएको अभिनय गर्नुपर्छ। यसो गरे उनीहरू आफ्नो रुवाइ बन्द गर्न पुग्छन्। र, रुनुको कारण बुझ्न खोज्दै सोध्ने छन्– “मम्मी ! कथिला कानै छी ?”
उत्तर नदिई रोइरहे नरुन आग्रह गर्दै भन्ने छन्– “मम्मी नई कान। हमु नई कानवे। ” त्यस पछि भने अभिनय बन्द गर्नु जरुरी छ। वातावरण शान्त भएपछि ‘तिमीहरू रोएका कारणले दुःख लाग्यो र रोएकी हुँ’ भनेर जवाफ फर्काएमा उनीहरूको कलिलो मानसिकतामा अरूको दुःखमा दुःखी हुने र सुखमा खुशी हुने भावना पैदा हुन्छ।
जानकी ! छोरीहरूलाई खाना खुवाउन मुस्किल पर्छ। त्यस बेला पुरातन मन्त्र अपनाइने गरिएको छ। अर्कालाई देखाउँदै ‘को खाई, को खाई ?’ भन्दै अर्काको लागि लम्काएको हात ‘मेरै नानी खाई’ भनेर खुवाउने चलन छ। यस किसिमको इर्ष्यालु भावना व्यक्त गर्ने क्रियाकलाप अविलम्ब बन्द गर्नुपर्छ।
आफ्नो भाग अरूलाई बाँड्नुहुन्न, सबै आफैँले मात्र पाउनुपर्छ भन्ने जस्ता असामाजिक भावनाले बालमस्तिष्कमा गहिरो छाप पार्न सक्छ। बरू ‘नानीले पनि खाने, दिदी–दाजुले पनि खाने, सबैले सँगसँगै खाने’ भन्दै अरूलाई पनि दिँदै नानीहरूलाई खुवाउन सके, त्यसको सकारात्मक असर पर्दछ। असल गुण विकासमा मद्दत पुग्छ।
प्यारी जानकी ! आफ्ना नानी–बाबुको चौतर्फी विकासमा हामी आमाबाबुले पाइलैपिच्छे अनुसरण गर्नैपर्ने र कार्यान्वयन नगरी नहुने पर्याप्त अनुभूति मनमा गुम्सिकै छन्। आवश्यक परेमा म भन्न अघि सर्ने नै छु। तिमीले पनि सबैकासामु प्रत्येक्ष भन्न नसकेका, नभ्याएका र नमिलेका कुराहरू एकान्तमा मलाई अवगत गराउन सक्छ्यौ।
हजुर बा ! कत्ति मार्मिक कथन अघि सार्नु भो बाबाले। उहाँले मात्र एकोहोरो बोल्नुभयो, मामु सुनी मात्र रहनुभयो। बाबाले बोल्न समय दिँदा पनि बोल्न चाहनुभएन। सायद सिद्धान्तका कुराभन्दा व्यवहारका कुरा भिन्न भएकाले चुपचाप रहनु भएको होला कि मैथिल हिन्दू नारीसुलभ स्वभावले उहाँलाई मन खोल्न वाधा गर्यो, मैले कहिल्यै मामूलाई सोध्ने हिम्मत गरिनँ।
–नन्दलाल आचार्य
श्रीजनता मावि, गोलबजार–४, सिरहा।
१७ साउन, ०७५
