कतै पढेको छु, या सुनेको छु; चिलले सारै अग्लो ठाउँमा गुँड लगाउँछ अरे । अग्लो ठाउँमा गुँड लगाउनुको अभिप्राय एक त शत्रुबाट बँच्नको रचिएको तरकीब होला । अर्को, आफ्ना बच्चाहरुलाई सानैदेखि उडानमा निष्णात बनाउन र बच्चामै जोखिम सिकाउनको लागि उच्च ठाउँमा गुँड लाउँदो हो । जब ओथाराबाट चिलका बच्चा निस्किन्छन्, बच्चाका प्वाँख नउम्रिन्जेल त बच्चालाई आहारा जुटाउने काम माउले नै गर्छ । नानीहरुका पखेटा उम्रेपछि भने चीलले आफ्नै गुँड भत्काउन सुरु गर्छ । माउले गुँड भत्काइदिएन भने बच्चा कहिल्यै उड्दैनन् अरे । गुँडमा एउटा सिन्को बाँकी रहुन्जेलसम्म पनि बच्चाहरू त्यहीँ लिपिक्क टाँसिरहने भएकोले एउटा सिन्कोधरि बाँकी नराखी भत्काइदिन्छ र बच्चालाई आखिरी सिन्कोसितै जोडले धक्का दिएर भीरतिर खसाली दिन्छ । गुँड बच्चाको उडानको लागि बाधा बन्दोरहेछ । बाधा तोडेपछिमात्र बच्चा उडानमा पारंगत बन्नेरहेछन् । गुँडको सुविधा बच्चालाई उपलब्ध गराइदिई राख्ता बच्चा निकम्मा पंगु बन्दारहेछन् । उसले आफैँ उड्नुपर्छ, आफ्नो शेष जीवनको यात्रा आफ्नै पङ्ख फैल्याएर गर्नुपर्छ भन्नेकुरा भुल्दोरहेछ । त्यसैले त माउले अनिवार्यरुपले गुँड भत्काएर निर्मम धक्का दिएर तलतिर खसाली दिँदो रहेछ । देख्नको लागि माउको यो व्यवहार निर्दयी लाग्न सक्छ, तर बच्चालाई माया गर्ने सर्वोत्कृष्ट विधि हो यो । उसले बच्चालाई लोलोपोतो देखाएर गुँड नभत्काउने हो भने त्यसलाई धक्का दिएर तलतिर नझार्ने हो भने बच्चाले चुनौती सिक्तो रहनेछ । जोखिमसित जुधेर जीवन बाँच्ने कला आर्जन नगर्दोरहेछ ।

गुँडको सुविधा एकहदसम्म आवश्यक छ, चिलका बच्चालाई पनि मान्छेका बच्चालाई पनि । तर त्यो सुविधा प्वाँख नपलाउन्जेलसम्मको लागि मात्र ठिक छ । शून्य आकाशमा उडान भर्ने मजवुत पङ्ख तयार भैसकेपछि पनि आरामदायी र विलासी गुँडमा टाउको ओताउन दिइराख्यो भने उसले कहिल्यै पनि आफ्ना पखेटा चाल्न सिक्तैन । आफ्नो आहाराको लागि आफ्नै पङ्खप्रतापमा निर्भर हुन जान्दैन । शत्रुको निशानाबाट बच्न, छेलिन, तर्किन, प्रतिरोध गर्न, प्रत्याक्रमण गर्न जान्दैन । चीलको दृष्टान्तबाट शिक्षा लिएर मान्छेले पनि माउले तय गरिदिएका अनावश्यक सुविधाका सिन्काहरू झिकिदिने हो कि ? गुँडका जुन जुन व्यवस्थाले उसलाई दिनदिनै अपाहिज बनाउँदै लगेको छ, त्यो व्यवस्थारुपी गुँड भत्काइदिने हो कि ? यसो गर्दा मान्छेका बच्चापनि सानैमा उड्न सिक्थेहोला । आफ्ना पखेटा आफैँ चाल्नुपर्छ भनी जान्दथे होला । देखिरहेको छु कतिपय छोराहरुको प्रगतिमा बाबु बाधा बनिरहेछन् । नानीहरुलाई एउटा सीमादेखि चुनौतीदिनुपर्नेमा सुविधाका खातहरू जुटाएर उनका हातहरू पंगु बनाइरहेछन् ।

जिराफले पनि बच्चोलाई जन्मिने वित्तिकै लात्तीका लात्ती कुट्तो रहेछ । बच्चाको प्रतिरोधात्मक शक्ति मजबुत गर्न यस तरिका अपनाउँदोरहेछ । देखेको छु, अर्नाको नवजात पाडो केहीक्षणमा नै माउसँगसँगै बेतोड दगुर्न थाल्छ । अर्नाले आफ्नो शिशुलाई चाटेर राखिराख्तैन । आफू अगाडि लागेर दौडिन्छ, बच्चासँगसँगै दौडिन बाध्य हुनैपर्छ । प्रकृतिमा नै यसरी माउले बच्चाहरुलाई शैशवस्थादेखि चुनौती सिकाउँछ, जोखिम सिकाउँछ, खतराबाट जुझ्न र बँच्न सिकाउँछ, आफ्नै खुट्टामा उभिएर बाँच्ने स्वावलम्वनको पाठ सिकाउँछ । हामी मान्छे भने यस मामिलामा कमजोर बन्दै गएकाछौँ ।

यस सन्दर्भमा मलाई झेन फकिर नान इनको कथा मनपर्छ । एकदिन नान इन गुरुको आश्रममा गएका थिए । राति धेरै अँध्यारो भयो । फर्किने बेलामा गुरुले दियो जलाइदिए । भर्याङबाट ओरालेर बाटो लाग्नेबेलामा उनै गुरुले त्यो दियो झ्याप्पै निभाइदिए । गुरुको चाला देखेर नान इन छक्क परे । उनले सोचे, बूढाले यो के गरेका होलान् ?, आफैँले दियो सल्काइदिए, फेरि बाटो लाग्ने बेलामा आफैँले निभाइ दिए ? नान इनले आफूलाई रोक्न सकेनन्, सोधीहाले –“दियो निभाइदिनु भयो । बाटो सारै अप्ठ्यारो छ । यो अन्धकार रात्रिमा मेरा हातखुट्टा भाँच्चिने भए गुरु ।”

गुरु भन्छन् –“हातखुट्टा भाँचिएर केही हुँदैन । आत्मा मजबुत हुन्छ । चेतना मजबुत हुन्छ । अर्काले सिर्जना गरेको उज्यालोमा यात्रा गर्दा हातपाउ त ठिक रहलान् । तर आत्मा भने ज्यादै फितलो बन्छ । ………..”

गुरुका यी वचन प्रतीकमा बोलिएका थिए । संकेतमा अर्थहरू निस्केका थिए । नान इनले कुरा बुझी हाले । गुरुबाट अर्को उज्यालोको आशा नराखी आफ्नै दियो जलाएर अन्धकार बाटो काट्ने धुनमा लागे ।

वास्तवमा अर्काको दियोको सहारामा जिउनेको जीवन किरा माकुराको जस्तो हुन्छ । यात्रामा न लड्छ पड्छ । न गिर्छ, न भट्किन्छ । जीवन सिकाइविहीन अँध्यारोमा गुम्सिन्छ । लड्नु, धुलो चाट्नु उठेर धुलो टक्टक्याँउदै फेरि यात्रामा सामेल हुनुमा एक अनमोल सिकाइ आर्जन भैराखेको हुन्छ । अनुभव र ज्ञानका नयाँ नयाँ तहहरू थपिंदैजान्छन् आत्माभित्र । संकल्प र संघर्षको ज्योतिले आफूलाई अँझ चहकिलो अँझ चहकिलो पार्दै लान्छ ।

घरपछाडि धानको व्याड छ, पानी पर्यो भने यही साउनमा रोप्न राखिएको व्याड हो । साउन अन्तिम हुँदा पनि पानी पर्न सकेको छैन । हिजोसम्म निख्खर हरियो ब्याड पँहेलो पँहेलो बन्न थालेको छ । कल्पना गर्छु, यो धानको बिउ उखलेर अन्त नसारी ब्याडमै हुर्काइयो भने पसाउँछ पसाउँदैन होला ? पक्कै पसाउँदैन पसाइ हाल्यो भनेपनि मुस्किलले काम नलाग्ने गरी एकादुई बोट पसाउला । त्यसले दिनुपर्ने फल दिनै सक्तैन ।

विउको जरालाई एकचोटि धर्तीको सम्पर्कबाट छुटाउनैपर्ने रहेछ । नरोपेको विउ नफल्ने कारण ऊ आफ्नो बलमा गाँजिन पाउँदैन । फराकिलो भूमिमा फुक्न फैलिन पाउँदैन । धर्तीबाट सुरुका जरा अनिवार्य रुपमा चुँडाउनैपर्ने रहेछ । जरा चुँडाएपछि फेरि नयाँ हिलोमा, नयाँ माटोमा त्यसलाई रोपिदिएपछि त्यसले गाँज हाल्न सुरु गर्दोरहेछ । केही मानाको विउबाट मुरीका मुरी फसल उब्जिंदो रहेछ ।

ब्याडरुपी पुरानो घरबाट विउका जराहरू चुडाइदिएपछि त्यस विउमा सृजनका, अंकुरणका, उत्पादनका असंख्य असंख्य संभावनाहरू विकसित हुँदा रहेछन् । एक निश्चित समयपछि, एक निश्चित उमेर र तह नाघेपछि घररुपी ब्याडमा गाडीएका नानीका जराहरू चुँडाइ पो दिनुपर्छ कि ? ब्याडबाट ती बेर्नाहरुलाई मलिलो हिलेमाटोमा सारी पो दिनुपर्छ कि ? रोपी पो दिनुपर्छ कि ? अनि मात्र नानीहरुको भविष्यले गाँज हाल्न सक्ला ? घरकै ब्याडमा हुर्काइराखियो भने मेरो घरपछाडि पहेलिँदै गएको विउजस्तो बन्न के बेर ?

मलाई बच्चाहरुको भारीमा ढुंगो हालिदिएको घटना राम्रो लाग्छ । दाउराको भारी बोकेर मार्सेको उकालो चढिरहेका केटाकेटीहरू सुरुमा ठूलठूलै भारी रोजेर बोक्छन् । जतिजति उकालो चढ्दै गयो, आफूले रोजीखुशीले बोकेका भारी गह्रौं झन गह्रौं बन्न थाल्छन् । आमाहरुसित केटाकेटीहरू भारी गह्रौं भएको गुनासो गर्छन् । सिपालु आमाहरू केही दाउरा निकालिदिन्छु, भारी हलुका पारिदिन्छु भनेर उनीहरुको आँखा छलेर एकएकथान ढुंगा हालिदिन्छन् । बच्चाहरू केही हलुंगो भएको भ्रममा एक बिसौना माथिसम्म हिँड्छन् फेरि भारी गह्रौं भएको शिकायत गर्छन् । त्यसपछि आमाहरुले फेरि केही दाउरा निकाली दिन्छु भनेर अघि रोखेको ढुंगो फ्याँकिदिन्छन् । बच्चाहरुलाई अब चाहिँ साँच्चै भारी हलुंगो भएको आभास हुन्छ । उनीहरू त्यसपछि सजिलै घर आइपुग्छन् । बच्चाहरुलाई संघर्ष सिकाउने तरिका थियो यो आमाहरुको । बच्चाहरुलाई चुनौतीमाथि चुनौती थपेर पाको बनाउने सूत्र थियो यो ।

चुनौती र संघर्षबीच हुर्किएको बच्चाको मेधा, गुणवत्ता, ओज र आकाँक्षा सँच्चै लोभ लाग्दो हुन्छ । उनीहरुको साहस र शक्तिमा अर्कै निखारता भेटिन्छ । उसले आफैँलाई निचोरेर आफ्नो प्रतिभाको दियो सल्काएको हुन्छ । यसको लागि आ–आफ्नो सन्दर्भ र आवश्यकता अनुसार गुँडका सिन्काहरू थुतेर बच्चालाई हावामा पो खसाली दिने कि ? व्याडको सम्पर्कमा रमाएका जराहरू पो चुँडाइदिने कि ? भर्याङ ओरालेर बाटो लागेपछिदियो पो फुकिदिने कि ? तपाईंको जो विचार ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *