श्रममा खुलेको मृदुल सरगम सुनिरहेछु । कलकल बगिरहेछ जीवन, छलछल चलिरहेछ जीवन । कलकल बगिरहेको जीवन पिइरहेछु । मस्त उमङ्गमा जिइरहेछु । दुःखका विद्रुप छायाँहरुले बिदा लिँदा छन् । जीवन मोहनिन्दार देखिँदो रहेछ । पसिनाले लथपथ छु र पनि सुखी छु । विहानीको पाँच बजेदेखि बेलुकीको आठ बजेसम्म श्रमरत छु, हाडगोडा मिहेनत गरिरहेछु र पनि सन्टुष्ट छु । पाँच बजे घरबाट निस्केको मान्छे आठबजे घर फर्किँदा पसिनाले लथपथ हुन्छु । पसिनाले शरीर भिज्छ, लुगा भिज्छ गर्मीमा प्रत्येक रात नुहाउँछु । एक ताजगीमा विश्राम गर्छु । पुनः सवेरै उठेर कर्मपथमा डट्छु । मेरो शरीरबाट कतिमाना पसिना बग्यो होला ? अनुमान लगाउन सक्तिन । तर पसिनाले एक मस्ति दिइरहेछ । एक खुमारी नसामा हुलेर झुमशराबी बनाइरहेछ । खुशी छु,पर म आनन्दको अनुभूतिमा रङ्गिएको छु । यसैघडी केही मित्रहरू आफ्नो कामप्रति निन्दा बोलिरहेका छन् । श्रमप्रति विरक्तिको भाव पोखिरहेछन् । मानूँ काम विनाको जीवन ज्यूँन पाए उनीहरू स्वर्गको उपल्लो बार्तलीमा चढ्ने थिए । म बुझ्छु उनीहरुको आत्मालाई काम गर्नुको आनन्दको आभाले अलिकति पनि छुनसकेको छैन । नत्र आफ्नो मुखमा माड लगाइदिने कामप्रति यति अनादरको भाषा बोल्नु किन जरुरी थियो । आफ्ना बालबच्चाको आङमा टालो, टाउकामा अक्षर, मुखमा गाँस र दुखाइमा ओखती जुटाइदिने कामप्रति यस्तो शब्द भत्सर्ना गर्नु के आवश्यकता छ र ? याचना गर्छु यो अपमानको भाव ममा नआइदियोस् । कामना गर्छु कृतघ्नताका विचारहरू मनमा पैदा नहुन् ।

आफूले गर्ने कामप्रति समादरको भाव राख्न नसक्नेले आफ्नो जीवनको मृदुल संगीत सुन्न सक्तैन । आफूले गरेको इलम औ पेशाप्रति निष्ठा र आस्थाको भाव जागृत गर्न नसक्नेले आफैँभित्रको आनन्दमुरलीको धुनमा रम्न सक्तैन । के आनन्द भन्ने चिज नोटको विटाबाट मात्र बर्सिन्छ । केही साथीबाट आउने गुनासोमा हर्दम एउटै कुरा हुन्छ, मास्टरी पेशा ठिकै हो तर पैशै हुँदैन । उनीहरुको असन्तुष्टिमा उपाय बताइदिन्छन् राजदेवगुरु, धेरै धनी हुन मन छ भने सीमाना पारी गएर ल्याउनु एउटा थोत्रे बन्दुक या पेस्तोल । डाका मार्न जानू, एकैरातमा दुईपाँच लाख सजिलोसित कमिन्छ । गुरुले चालीस पैँतालीस वर्ष पढाएर एउटा निष्ठावान आदर्श शिक्षकको रुपमा आफ्नो परिचय दिए । द्रव्यलिप्सातर्फ उनको ध्यान कहिल्यै गएन । त्यसैले त अहिलेपनि छाप्रे घरमै गुजारा चलाइरहनु भएको छ ।

उहाँको यो आप्तबचन पैसा कमाउन सकिएन भन्ने शिक्षकप्रति गरिएको कटुकटाक्ष थियो । वूढाका यस्ता कटाक्षहरू मलाई औधि मन पर्छ । उहाँका विचारप्रति म सयमा सय सहमत छु । अहर्निश श्रममा विश्वास गर्ने गुरु एक निष्काम कर्मयोगी हुन् । बयासी तिरासी वर्षको उमेरमा पनि तपस्वी जस्तो कर्मक्षेत्रमा लीन हुनुहुन्छ ।

संसारमा सबभन्दा दुःखी मान्छे कोही हो भने आफ्नो कामप्रति श्रद्धाभक्ति नभएको मान्छे दुःखी हो । वास्तवमा श्रमप्रति समादार र सम्मान नराख्ने मान्छे साँच्चैको दुःखी हुन्छ । पसिनाप्रति प्रेमभाव नहुने मान्छे दुःखी हुन्छ । पसिनामा जसले जीवनका मृदुल सुसेली सुन्नसक्छ त्यो मान्छे भाग्यमानी हो । पसिनामा जसले जीवनको राग अनुराग भेट्तैन, त्यो मान्छे अभागी हो ।
कामबाट निस्केको पसिनामा एक सुगन्ध हुन्छ । सुवास हुन्छ । तर त्यो सुगन्धलाई सुगन्ध ठानेर त्यसको सम्मान नगर्ने मान्छेहरुपनि छन् यहाँ ।

एक सफेदपोश मानिसले मरीमरी हलो जोतेर पसिना पसिना बनी आएको श्रमिकलाई छि: छि: दूरदूर गर्दै बोल्यो – “अलि पर बस् । माने !! तेरो जीउमा पसिना गनायो ।”

मानेलाई जवाफ दिन मन थियो – “मालिक ! तपाईले भुजा ज्यूनार गर्ने मार्सी र मसिनाको भातबाट आउने बासनामा मेरो पसिना गनाउँदैन । मैले रोपेको आलुप्याज, काउली र बोडीबाट आउने वासनामा मेरो पसिना गनाउँदैन………….. । ”

जण्ड स्वभावको मालिकको अगाडि डरले केही बोल्न सकेन । यसरी पसिना युगयुगदेखि पराजीत छ यहाँ । पसिना मालिकको पैतलामुनि दमित छ यहाँ । सनातनकालदेखि पसिना प्रताडित छ यहाँ । अपमान र अनादरको शिकार भएको छ पसिना यहाँ ।

अर्काले काढेको पसिना तनतनी पिउनेहरुले पसिनाको मूल्य बुझ्न सक्तैनन् । पसिनाको सुगन्ध थाहा पाउन्नन् । उनीहरुलाई पसिना दुर्गान्धित चिज लाग्छ । तर आफ्नो गाँसमा त्यही पसिना छ भन्ने कुरा भुल्छन् । आफ्नो आङमा लपेटिएको कपासमा त्यही पसिनाको झर्ना बगेको छ भन्ने कुरा भुल्छन् । आफ्नो थातवास पनि निकै पसिनाको शिल्पीमा उनीएको कुरा विर्सिदिन्छन् ।

संसारको सकल सम्वृद्धि पसिनाको बलमा रचिएको कुरा घाम जत्तिकै टड्कारो छ । संसारका सारा सृजना र विकास पसिनाको गन्धमा उनीएको कुरा कसैलाई बताइरहनुपर्ने कुरा होइन । तर आजको दुनियाँमा पनि श्रमिकमाथि नजरअन्दाज गरिँदैछ । अर्काको पसिना मदिरा सरह पिइदिने तर पसिना उमार्ने स्रष्टालाई छि: छि: दूरदूर गर्ने, उसलाई भोकै तड्पाउने व्यवस्थाले राज गरेको संसारमा पसिना साँच्चै हेपिएको छ, पसिना थिचिएको छ, पसिना मिचिएको छ । कुनैदिन एकमुष्ट पसिनाले आफ्नो मूल्य खोज्यो भने सफेदपोश दुनियाँले त्यसको साउँब्याज भुक्तानी गर्न सक्ला ? शङ्कै छ ।

अहोरात्र पसिना वगाउनेहरू दुःखी हुँदै गएको, एकथोपो पसिना नझार्नेहरू सुखी महासुखी वनेको दृश्यले मानव जाति सभ्यतातिर, समृद्धितिर उकालो लागेको कुरामा शङ्का उठ्छ । त्यसको उल्टो मानवजाति पतन र जङ्गलीराजतिर अग्रसर बनेको बोध उठिरहेछ । जहाँजहाँ जागृति र विवेकको घामले मानव आत्मालाई छुन थाल्छ, त्यहाँत्यहाँ श्रम र श्रमिक पुजिन थालेको छ । त्यहाँत्यहाँ पसिना र पौरखले उचित मूल्य पाएको छ । ती राष्ट्र सभ्य हुन्, जसले श्रमलाई समादरको एकनम्बर कोटिमा राखेका छन् । ती जाति सभ्य हुन् जसले श्रमको पूजा गर्छन्, श्रमको आराधना र अर्चना गाउँछन् । तर मेरो परिवेश त्यस्तो बन्न सकिराखेको छैन । श्रमकै वर्खिलापमा राज्यका नीतिनियम र व्यवस्थाका अंगउपाँगहरू खडा छन् । श्रमकै विरोधमा समाज, संस्कृति र नीति नैतिकताहरू उभिएका छन् । श्रम विरोधी चेतनालाई आगो लगाउन नसकुञ्जेल आफ्नो भाग्य आफैँ अजमाउने दिन कदापि आउँदैन ।

पसिना, आँशु र रगत शरीरबाट तरल पदार्थको रुपमा बाहिर निस्किने द्रव हुन् । धर्ती र मानवजातिको उन्नतिको लागि यी द्रबहरुमा पसिना अति आवश्यक चिज हो । धर्तीले मान्छेबाट पसिनाको आशा राख्तछ । सभ्यताको विकासले मान्छेबाटमा त्यसकै आकाँक्षा राख्दछ न कि आँशु र रगत । तर धर्तीमा त पसिना कम आँशु र रगत बगाउने खेल बढी चलिरहेको छ । जुनदिन आँशु र रगत बगाउने खेल बन्द हुन्छ, र जुनदिन बगाउनुपर्ने चिज पसिना हो, आँशु र रगत होइन भन्ने कुरा मान्छेले बुझ्छ । त्यो दिनबाट सुखको सरगम सुरु हुन्छ । नवचेतनाको नर्तन अविर्भाव हुन्छ । युद्ध र अनीतिको खेल बन्द हुन्छ । अहिंसा र ऐश्वर्यको उदय सुरु हुन्छ ।

पसिना वग्नुले शरीरमा स्वस्थता दिन्छ । समाजलाई समृद्धि दिन्छ । त्यसैले त स्वास्थ्य विज्ञानले पनि ऐलान गरिरहेको छ – “सक्छौ शरीरबाट मानाका माना पसिना बगाऊ । नभएपनि केही मुठी केही थोपा पसिना दिनका दिन झार्ने गर । त्यसैमा तिम्रो निरोगीताको राज छ । त्यसमै तिम्रो आनन्द आरोग्यताको आवाज छ ।”

डाक्टरपनि भन्छ – “काम गरेर पसिना झार्ने ठाउँ छैन भने हिँडेर पसिना बगाऊ । कुदेर पसिना बगाऊ । कसरतबाट पसिना बगाऊ ।” र त आजभोलि विहानै सडकमा स्याँ स्याँ फ्याँ फ्याँ गरी कुद्ने दलभुँडेहरुको जमात देख्छु । त्यहाँ हेर्छू – घाँस काट्ने घाँसे त्यहाँ छैन । गोबर सोहर्ने ग्वाला त्यहाँ छैन, खेत जोत्ने हली त्यहाँ छैन, भारी बोक्ने ज्यामी त्यहाँ छैन । छ त पसिना नबगाई कमाउनेको झुण्ड छ, पसिना नझारी बाँच्नेको झुण्ड छ । यी झुण्डले पसिना बगाई बाँच्नुको राज बुझेदेखि शोषण र अन्यायको भीमकाय भित्तो थोरै भएपनि चर्मराउने थियो होला । अरुको पसिना निचोरी खाने पुख्र्यौली स्वभाव धर्मराउने थियो होला ।

मेरा कानहरू श्रम र पसिनाकै मृदुल सरगम सुन्न लालायित छन् । आँखाहरू पसिना रचित सुन्दर संसार हेर्न लालायित छन् । तपाईपनि पसिनाको रङ्गमा खुलेको सप्तरङ्गी इन्द्रेणी संसार हेर्न समर्थ हुनुहुन्छ ।

समाप्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *