Skip to content

तीन नम्बरको नामकरणमा बहस र निष्कर्ष

20200122_NandaLalAcharya-Nibandha


सातमध्ये गण्डकी, कर्णाली र सुदूर पश्चिम गरेर तीन प्रदेशको नाम र स्थायी राजधानी तोकियो । अधिकांश प्रदेशको नाम र स्थायी राजधानी तोक्ने काममा माथापच्ची भइरहेको छ । यस परिप्रेक्ष्यमा माथिको शीर्षकले राजनीति गन्थन मन्थनलाई सङ्केत गर्छ । यद्यपि यहाँ राजनीतिको गोरु बेचेको साइनो पनि छैन ।

भनिन्छ, नामले पनि उसको परिचय दिन्छ । म पनि नाममै परिचय भए बेस होस् भन्ठान्छु । ‘लक्ष्मीप्रसाद’ आफैँमा ‘द्रव्यप्रसाद’ भनेर बुझिन्छ । यद्यपि हाम्रा महाकवि ‘दरिद्रप्रसाद’ कहलिएर बाँचे र साहित्य बजारमा त्यत्रो नाम भए पनि अँझै ‘निर्धनबहादुर’का रूपमा चिनिँदै आएका छन् ।

बजारमा त नानाथरीका हल्ला विद्यमान हुन्छन् । केही सत्य होलान् तर अधिकांश असत्य सावित हुन्छन् । मेरो अध्ययन, विश्लेषण र निष्कर्षमा साहित्य बजारमा त्यस्तै एउटा झुटो तथ्य सार्वजनिक छ । सत्य के हो भने हाम्रा महाकवि निर्धन हैनन्, थिएनन् । उनी त धनवान थिए, ज्ञानवान थिए, संसारलाई जुरुक्क उचाल्न सक्ने सामर्थ्यवान थिए ।

उनका बारेमा बजारले जे भने पनि उनी ‘लक्ष्मीप्रसाद’ नै थिए । एउटाको प्रसाद भएपछि ‘सरस्वतीप्रसाद’ हुनु ठुलो कुरा हैन । पढेका, जानेका, संसारलाई नजिकैबाट अनुभूत गरेका, जीवनको रहस्य पर्गेलेका मान्छेलाई ‘दरिद्रपति’ उपमा दिनु आफ्नै बौद्धिक दरिद्रपन देखाउनु हो । जसले यत्ति भन्ने ज्ञान, क्षमता र सहास दियो, जसको कर्मले अँध्यारो रात चिरेर मनोसूर्योदय गरायो, उसैलाई ‘निर्धन नायक’ भनी हिँड्नु किमार्थ उचित छैन । तसर्थ भरसक कसैको वा केहीको नामकरण गर्दा नाममै उसको पहिचान झल्कनुपर्छ भन्ने कुरामा सहमत हुन करै लाग्छ ।

जतिबेला म ‘एक’ नम्बरमा थिएँ । त्यसको सेरोफेरामा साहित्यको कखरा सिक्तै थिएँ । राजविराजको साहित्य संसारमा ‘गरिमा’ पत्रिका र सम्पादक गोपाल पराजुलीको चर्चा खुबै हुन्थ्यो । त्यसबेला साझा प्रकाशन, राजविराजका प्रबन्धक विनोदबन्धु न्यौपाने थिए । हरेक महिना ‘गरिमा’ त्यहाँ आउँथ्यो । ढिलै गरेर भए पनि प्रज्ञाको ‘कविता’ र ‘समकालीन साहित्य’ पनि राजविराज भित्र्न्थ्यो । म तिनको नियमित पाठक थिएँ ।

न्यौपानेकै उत्प्रेरणाले पाठकबाट एक खुट्किलो उक्लने हिम्मत गर्न थालेँ । विशेषतः ‘गरिमा’मा कविता र पाठक प्रतिक्रिया लेख्न थालेँ । महिनैपिच्छे पाठक प्रतिक्रिया छापिन्थ्यो तर कविता कहिल्यै छापिएन । अरू विधाका रचना पनि पठाएँ । ती समेत उदाएनन् । आफ्नो नामको पाठक प्रतिक्रिया हेरेरै चित्त बुझाउँथेँ । भित्रभित्रै मख्ख पनि पर्थेँ ।

एक पटक ललितपुरमै पराजुलीलाई भेट्ने अवसर पाएँ । मैले आफ्नो परिचय दिए पछि उनले प्रशन्नता जाहेर गरे । मलाई त्यस प्रशन्नतामा कृतिमता लुकेको अनुभूत भयो । आफूले सोध्न र जान्न चाहेको कुरो नभनी नछाड्ने निश्चय गरेर नै उनकासामु उभिएको थिएँ । मन खोल्न ठूलै हिम्मत जुटाउनु पर्यो ।

‘मेरो पाठकीय सोच मात्र आयो । तीन/चार वर्षमा करिब तीन/चार सय नै कविता पठाएँ होला । ‘गरिमा’ पत्रिकामा एउटा पनि आएन । मेरो लेखकीय कमजोरी जान्ने मन छ ।’ मैले मनको कसरमसर सामुन्नेमै बगाइदिएँ ।

मझैँ ख्याउटे मुहार भएका उनको मुहारमा विषादका रेखाहरू दगुरे । हिउँदको समय थियो । घाम झुल्कन मानेका थिएनन् । मेरो मन काप्न थाल्यो । दाह्रा किटेर शरीरलाई कम्पन हुन भने दिइनँ । ठुलाबडाको अन्तस्करण चिमोट्ने कमजोरी गरिएछ भन्ने लाग्यो ।

‘आचार्यजी, तपैँको युग आउँछ, कलम पक्रन नछाड्नू । साहित्यमा मोफसलको बलियो स्थान छ । ‘गरिमा’मा सुहाउने कविताका लागि तपैँको कलम अँझै खारिनुपर्छ । सुन्दर अक्षर हुनुपर्छ, निरन्तरता रहनुपर्छ । त्यो समय एक दिन अवश्य आउँछ । सङ्घर्ष गर्दै जानू, गन्तव्य टाढा छैन ।’ मन्द मुस्कानका साथ उनले भनेका थिए ।
एकाएक मेरो शंका गायव भयो । केहीबेर ‘वनको बाघले खाओस्, नखाओस्, मनको बाघले खानु’ भने जस्तो भयो भनेर वाल्ल परिरहेँ । पछि धीरकुमार श्रेष्ठको उत्प्रेरणाले नाटक/एकाङ्कीमा ध्यान खिचियो । पराजुली सत्ता समाप्त भएपछि ‘दाइजो’ शीर्षकको लामै एकाङ्की ‘गरिमा’मा आयो । त्यसले अघोरै खुशी दिलायो । राजविराज शाखा प्रबन्धक मनोज माझीको पहलमा राजविराजबाटै एकाङ्कीको पारिश्रमिक पनि पाएँ ।

देशविदेशका शाखाहरू मार्फत् बिक्री गरिन्छ भनेर २०६७ सालमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाट्य कृति २०० थान साझाको ललितपुर कार्यालयमै बुझाएको अहिलेसम्म कुनै खोजखबर आएको छैन, गरेको पनि हैन । अहिले २०७६ सालमा आएर प्रकाशित ‘गरुराहा’ उपन्यास कृति राजधानीमा कतै बुझाएकै छैन । पुस्तकालयतिर बुझाउने चाहनाले मूर्तरूप पाउन साइत जुरेकै हैन ।

त्यही लेखन र प्रकाशन मोहमा फँसेको बखत ‘एक’ नम्बर सन्तानको नाम ‘गरिमा’ जुराएँ । अहिले नामझैँ उनी साहित्य अध्ययनमा खुबै रुचि राख्छिन् । उनका एकाध रचना समेत प्रकाशन भएका छन् । कतिपय कविता मुखाग्र पनि सुनाउँछिन् ।

‘दुई’ नम्बरको पालामा म लेखनमा निकै अघि सरेको थिएँ । त्यसबेला मोरङ बेलबारीका केशु विरहीले गजल विधा बारे बहस चलाउँथे । रामविक्रम थापा, भोजराज रेग्मी ‘मुखाले’, इन्द्रकुमार श्रेष्ठ, टङ्क आले मगर, अरबिन्द यादवहरू खुब गजल लेख्थे । काठमाडौँबाट पोष्टराज चापागाइँ नवनिर्मित छन्दमा गजल लेख्थे । उनले फेसबुकमै गजल र छन्द कविता सिकाइ पाठशाला खोलेका थिए । गोर्खे साइँलो, लक्ष्मी भट्टहरूले बहरमा लेखेका गजलका किताबहरू पठाइदिएका थिए । डा. देवी नेपालको सक्रियतामा देशभरि नै गजल र छन्द प्रशिक्षणको घुम्ती कार्यक्रम नै सञ्चालन भएको थियो । फेसबुकका भित्ताहरू गजलले भरिएका हुन्थे ।

यिनकै प्रभावले तिनताका म पनि गजल कोर्ने काम गर्थेँ । एक खाले प्रभावले ‘एक’ नम्बरको नाम मैले जुराएँ । ‘दुई’ नम्बरको नाम भने जुराउने अधिकार अर्धाङ्गिनी लक्ष्मीलाई दिने मन बनाएर म चुप थिएँ । उनी पनि के नाम राख्ने, नराख्ने भनेर विलखबन्दमा थिइन क्यारे । एकपटक मैले जेठी छोरी गरिमाको चञ्चलपन नियाल्दै लेखेको बालगजल गाएको सुनिछन् । उनी पनि हर्दम गाउन थालिन्–

छुनुमुनु गर्दै टुकुटुकु आऊ नानी
बुबुमाम खाइवरी फेरि जाऊ नानी ।

मिलिजुली खेल्ने गर साथीभाइसँग
उनीहरूसँगै मिली गीत गाऊ नानी ।

लेखपढ शुरु हुन्छ तिम्रै उमेरदेखि
विद्या लिन सधैँभरि स्कुल धाऊ नानी ।

ठुलालाई मान देऊ सानालाई माया
राम्रो पढिलेखी इनाम पाऊ नानी ।

सबको आश तिमीमा नै रहेको हुँदा
चन्द्रसूर्य बनेर रोशनी छाऊ नानी ।

यसै सिलसिलामा उनले भनिन्, ‘प्रेमरोगले सतायो भने मान्छे गजलकार बन्छ रे । अब बुढेसकालमा दुई छोरीका पिताले पनि गजलकार हुने मन गर्नुभयो । हजुरको प्रेम त यतै उतै छ । वियोग हुने अवस्था नै छैन । तैपनि गजल लेख्न थाल्नुभएछ । अब कान्छीको नाम पनि ‘गजल’ नै राख्नु पर्ला ।’

यसरी ‘एक’ र ‘दुई’ नम्बरको नाम जुराइयो । यत्तिखेर परिस्थितिले ‘तीन’ नम्बरको नाम जुराउने अवसर जुर्यो । यस सिलसिलामा लामै मनोगन्थन गरियो । विभिन्न नाम आए । कसैले ‘कडारो’ भनेर जिस्काए । पर्खालको भित्ती देख्ने वित्तिक्कै मन खुशी बनाएको देखेर ‘भित्ती’ नामले समेत जिस्क्याए । चकचकमा नम्बर वानमा आएको देखेर झर्कन्दै ‘धन्दुकारी’ नामले समेत पुकारे । नामै राख्न खोज्दाखोज्दै मावलकी हजुरआमाले ‘पियुष’ नाम जुराउनुभयो । यसलाई बोलाउने नाम राख्दा ठिक होला भन्ने ठहर गरियो ।

गरिमा, गजल नाम आएपछि तेस्रोको स्थायी नाम ‘ग’बाट नै आउनुपर्छ भन्ने लाग्यो । त्यसैले वृहत् शब्दकोश पल्टाएर ‘ग’बाट आउने सुहाउँदिला नामहरूको सूचि बनाएँ । तीनको अर्थसहित समेटेको एउटा लामो पत्र तयार गरेँ । पत्र नातेदार, अग्रज–अनुज शुभेच्छु एवं इष्टमित्रलाई सम्बोधित थियो ।

‘गहन, गवाक्ष, गर्हण, गर्व, गर्ग, गन्तव्य, गणित, गतार्थ, गरज’ नाममध्ये आफूलाई मन परेको नाम कारण सहित उल्लेख प्रस्ताव गरेको थिएँ । मान्यवर अग्रज, समकालीन र अनुज तीनै तहबाट ‘गहन’, ‘गन्तव्य’, ‘गरज’ र ‘गणित’ नाम स्वीकार भएको अभिमत प्राप्त भएको थियो ।

२०७६ साल पुस ११ गते फेसबुक म्यासेञ्जर मार्फत प्रेषित पत्रमा पुस १२ र १३ भित्रमा जवाफ माग गरिएको थियो । विकास श्रेष्ठ, अभित कुमार चौधरी, प्रकाशचन्द्र यादव, रञ्जु रिजाल, लक्ष्मीकान्त चौधरी, कृष्ण तिमल्सिना, दीपक ढकाल, भोजराज रेग्मी ‘मुखाले’, मनोहर पोखरेलहरूबाट ‘गहन’, ‘गन्तव्य’, ‘गरज’ र ‘गणित’ नाम छनौट गरिएको जानकारी आयो ।

त्यसमध्ये सगरमाथा साहित्य परिषद्का अध्यक्ष समेत रहेका समकालीन मित्र मनोहर पोखरेलले ‘गणित’ नाम रोज्दै कारण लेखेको पत्र समेत पढ्ने अवसर प्राप्त भयो । पत्रका कुरा मलाई खास लाग्यो । गुगलमा ‘गणित आचार्य’ भनी सर्च गरेँ । यो नाम कतै फेला पारिनँ । पोखरेलजीले लामो पत्रका साथ पर्याप्त आधारहरू दिनुभएको उक्त नाम नै तेस्रो नम्बरको नाम हुनुपर्छ भनी यकिन गरेँ ।

पोखरेलजीको पत्रमा भनिएको थियो– ‘उल्लेखित नामबाट छान्नुपर्दा मलाई ‘गणित’ नाम मनपर्छ । यो नयाँ पनि छ । गणितले एकै पटकमा धेरै समस्या हल गर्दछ । गणित सङ्ख्या, संरचना, परिवर्तन आदिको वैज्ञानिक अध्ययन हो । कतिपय कुरा गणितविना पनि बुझिएला तर जटिलत म समस्या गणितको सहयोगले मात्रै हल गर्न सकिन्छ । कहिलेकाहीँ गणितले यथार्थ जगत्मा अहिलेसम्म भेउ नपाइएको अवधारणा र नियमहरूका बारेमा अध्ययन गर्दछ । यस्ता अध्ययनका नतिजाहरू यथार्थ जगत्लाई राम्रोसँग बुझ्नका लागि उपयोगी हुन्छ । गणितले दैनिक कार्य सम्पादन गर्न सहयोग गर्छ । गणित साँच्चै विश्वव्यापी भाषाझैँ लाग्छ । सबैले गणितको प्रयोग कुनै न कुनै रूपमा गर्छन् । ब्रह्माण्डको रहस्य बुझ्न होस् कि व्यवहारिक ज्ञान लिन होस् गणित नभई हुन्न । विज्ञान, उद्योग, व्यापार र दैनिक जीवन गणितबिना असम्भव छ । यसले कठिन समस्या सरल तवरले समाधान गरिदिन्छ । यसको ज्ञानले मात्र सफलता हात लाग्छ । धेरै जनाको प्रश्न र चाहना एकै पटक सम्बोधन गरी समाधान गर्ने हुनाले मलाई ‘गणित’ नाम मनपर्छ ।’

नन्दलाल आचार्य

1 thought on “तीन नम्बरको नामकरणमा बहस र निष्कर्ष”

  1. सुन्दर छ । धेरै शुभकामना गणित
    सुन्दर छ । धेरै शुभकामना गणित भाइलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *