Skip to content

नबुझिएका कुराहरू


नेपाली विश्व साइकलयात्री पुष्कर शाहले विश्व घुमेपछिको एउटा अन्तर्वार्तामा गौरवपूर्ण रोवसाथ भने –‘यो संसार यति विशाल र ज्ञानैज्ञानले भरिएको छ कि यसको अध्ययन गर्न एउटा जीवन त के सैँयौं मानव जीवन पाउँदा सक्षम सक्षम छैन ।’ उनको भनाइ वास्तवमा साँचो हो किनकि उनले आफ्नो ऊर्जाशील एघार वर्ष उमेर संसार घुम्न जो लगाए । घुम्नु सम्पत्ति हो । उनले संसार अवलोकनबाट प्राप्त ज्ञानलाई पुस्तकमा समेत रूपान्तरण गरे –‘संसारलाई साढे पाँच फन्को’ । उनैको किताबमार्फत् मैले विश्व सएर गरेँ । दुईतीनपटक पढिसक्दा अँझै धित मरेको छैन । लामो बिदामा म पुष्करको किताब सुम्सुम्याउन थालिहाल्छु । घुम्न नसक्नेका लागि अहिलेको जमानामा पुस्तक र डिजिटल मिडिया विश्व शयरका मित्रवत् सँगी बन्न सक्छन् । यो मेरो निजी विचार हो ।

घर बसीबसी म विश्व चाहार्दै छु । सोही मेसोमा असीम आनन्दको बोध यतिखेर छ ।

पुस्तक निसृतः ज्ञानभन्दा प्रकृति निसृतः ज्ञान कारगर हुन्छ औ सत्यांशले भरिएको हुन्छ । त्यसमा मिथ्यांशको गुन्जायस हुँदैन । त्यसैले होला उनको भनाइलाई आधार मान्दा उपरोक्त अनुभव ठिकै जँच्छ ।

व्यासले कैँयौँ हिँउद् र वर्षा धुल्याएर, निधार खुम्च्याएर बलपूर्वक अठार पूराणहरू लेखे । उनीभन्दा पछाडिका कुनै मीमांशाकारले दुई लाइन टिप्पणी सटिकसँग लेखिदिए –

‘अष्टादश पूराणेसु, व्यासस्य वचना द्वय म ।
परोपकाराय पुण्याय पापाय पर पीडन म ।।’

हो, जीवन बिताउँदा पनि जानेर नसकिने पूराणका सार दुई वचनमै सकिदिने ती अज्ञेय समालोचकको कुरा सक्कलबमोजिम नक्कल मान्दा हामी के बुझ्छौं भने ‘परोपकारले पुण्य हुन्छ । पर पीडाले पाप ।’ सजिलो कुरा हो –यो । सबैले बुझ्ने । सधैंले बुझ्ने ।

संसारमा ज्ञान, भक्ति र विवेक यी तीन तत्व गम्भीर छन् । मैले बुझेका कुरा पनि यत्ति हुन् । यी त्रिभूजीय ज्ञानगंगाका गुत्थीलाई हेर्दा जीवन बुझ्न संसारमा भौंतारिनु पर्छ जस्तो लाग्दैन । यी सबैलाई प्रतिशतका हिसाबले तेत्तीस प्रतिसत दिने नै हो भने पनि उनान्सय प्रतिशत जीवन बुझ्न सकिने हुन्छ । बाँकी एक प्रतिशतमा आफू अनुकूल जे मिलाए हुन्छ –सुविधाअनुसार ।

गुरुले विश्वविद्यालयको अन्तिमअन्तिम कक्षामा सम्झाउनु हुँदा आफूलाई चाहिने ज्ञानका त्रिमूर्ति यिनै हुन जस्तो लाग्थ्यो । रहँदाबस्दा कुनै एक दसैँमा टीका थाप्न भनी जाँदा एकजना बौद्धिक मामा ससुराले ‘दया’ र ‘करुणा’ दुई तत्वको प्रसँग थपेर जीवनलाई पाँच कोणबाट व्याख्या गर्नुभयो । घर पुगेर गमेर हेर्दा हुन् जस्ता लागे ।

हो पनि, संसारमा यी पाँच थोक भएपछि अरू के चाहियो ? यसरी ज्ञान, भक्ति, विवेक, दया र करुणा लिएरै म जीवनका धेरै जोडी वर्षहरू सतत्: आदर्शवान् भएर हिँडिरहेँ ।

जीवन बगिरह्यो । म हिँडिरहेँ । परिवर्तन परिवर्तित भइरह्यो । नेपाल नामको मेरो देशले धेरै प्रकारका राजनीतिक मेखालाका खोलहरू फेर्यो । शैक्षिक र प्राज्ञिक उन्नतिमा रम्न देशबाहिर धेरै मेधावी शिक्षार्थीहरू बाहिरिए । बहुशः ‘लिडर’ नामका धेरै बहुरूपि ‘डिलर’हरू देशभित्र फेरिए । यसबीच देशमा ‘लिडरसिप’ को स्खलनपछि ‘डिलरसिप’ को अभ्युदय भएको ठानियो । आदर्शवान् नेताहरू तिनीहरूकै पार्टीबाट कित्ताकाट हुँदै सफाया भए । पुराना मान्यतामा धमिरा लागे । नयाँ मान्यता सर्वस्वीकृत हुने गरी कसैले बनाएनन् । अन्ततः स्वतन्त्रता ‘भाङ्ग्राको टोपीलाई गुएँलाको फूल’ बनाइयो ।

ऊर्जाशील युवाहरू मध्ये जेठको वर्खापछि जमिनबाट निस्केका छिचिमिरा झैँ बतासिँदै जेट चढेर हुरूरू विदेश पलायन हुन बाध्य भए । अचेल गाउँमा बूढाबूढी मात्र छन् कि केटाकेटी । पढेको युवा देशमा काम नपाएर आत्तिँदै र बतासिँदै विदेश गयो । नपढेको चाहिँ देशमा अडिन नसकेर । अहिले देशमा पार्टीका थोरबहुत आन्दोलन र झन्डा बोक्ने हनुमान वृत्तिका युवाहरूबाहेक सबै विदेश गैसकेको स्थिति विद्यमान् छ ।

जीवन बतासजस्तै सिर्सिर बहँदै गयो । नदीझैँ नागबेली बग्दै गयो । घाम र जूनसरि उदाउँदै÷अस्ताउँदै रह्यो । संसारमा यस बीचमा धेरै परिवर्तनहरू भए । ती सबै चर्मकै आँखैले देखिए । भोगिए । बेसिक माइन्ड, मिडिल माइन्ड र नियोकर्टिक्स माइन्ड यसैबीच बौद्धिकहरूका मुखारविन्दबाट भनिए । सुनिए । गमिए । पढिए ।

औपचारिक शिक्षा पढेर जीवनमा गदाहा पच्चीसी बिताइयो । लखरलखर । कहिले स्कुल र क्याम्पसका कक्षाहरूमा । टुकुटुकु हिँड्न सक्ने भएपछि झुम्राका पुतली खेलेर जीवनका खोल्सी बगाउँदा केही बुझेजस्तो लाग्यो । कलेज पढी सिध्याएर आएपछि सुरूसुरूका दिन जीवनमा बुझ्न केही बाँकी छैनजस्तो लाग्थ्यो । कति समय त हान्ने गोरुझैँ फूँफूँ गरेरै जीवन धकेलियो । नढाँटीभन्दा यद्यपि त्यतिबेला केही पनि बुझिएको रहेनछ । कठै ! कस्तो बुझाइ ? नबुझ्नु पनि सानोतिनो बुझ्नु नै रहेछ । यतिखेर केही बुझिसकेपछि समेत केही नबुझेको भान भैरहेछ ।

बालवयमा नौरङ्गी पुतलीका पछि दुगुर्दा लाग्थ्यो जीवन कत्ति रमाइलै रमाइलो औ विचित्रले भरिएको चित्रमय छ । आमाले कर गरेर ख्वाइदिएका बासी भात र जाउलाका गाँसहरू र बाले सुरक्षासाथ सित्तैमा दिएका बासहरू नबुझेरै बितेजस्तो लाग्थ्यो । त्यसैबेला त हो खूब ठाँटिइयो । संसारै ढाँटियो । पैले आफूलाई अनि बाआमालाई । क्रमैसँग समाजलाई र अन्तमा देशलाई ।

अँझै ढाँटिँदैछ । दिन काटिँदैछ । आफ्नै उमेर अविश्वासमा साटिँदैछ ।

बुझेर या नबुझेर । जानेर या नजानेर । मानेर या नमानेर । ठानेर या नठानेर ।

हो, किशोरावस्था र युवावस्था बितेकै घडी । त्यसबेला हो कपालको कटाइ र लुगाको फेसनमा हुरुक्कै भएर लागियो । जुत्ताको पालिस र अत्तरको खालिसमा रमाउनु रमाइयो । खाइयो । गाइयो । नाचियो । हाँसियो । हँसाइयो । गर्ने गरिएन । नगर्ने गरियो । जीवनको सुई घुमाउँदै घुमियो । नजानेर धेरैपटक । जानेर थोरैपटक ।

पछि अलिअलि पढाइ र व्यवहार बोझले तर्तर्ती पसिना चुहाइदिन थाल्दा भने बाफ रे बाफ ! जीवन त कस्तो ढिट र जब्बर हुँदो रहेछ भन्ने भान परेको छ । नचिरिने दाउराको चाम्रो र दाम्रो अखटो ठुटोजस्तो । कोदालोले निकाल्न नसकेको रूखको बुटोजस्तो । माटामै चिपिक्कै टाँसिएको कस्तो कस्तो ?

अनि त्यसपछि आए अनेक चित्रभित्र र विचित्रहरू । विचित्रभित्र अनेकानेक चित्रहरू । अनेकानेक अनुभूतिहरू । सहानुभूतिहरू । स्वीकारानुभूतिहरू । गैरानुभूतिहरू !

जागिर, अनुशासनरूपि स्वबोझ र खुद्रामसिना पारिवारिक व्यवहारहरू क्याराभान बनेर अघिपछि आएपछि कति गुत्थीहरू बुझेरै बुझ्नै नसकिरहेको स्थिति ज्ञात छ । अज्ञात छ । भनौं ज्ञाताज्ञात छ । जुलुस बनेका आफ्ना र सन्तानका सपनाहरूलाई पैसारूपि ‘वर्गर पेन्टस्’ले रङ्गाउने चाहनामा करिब पचास उमेरको डोरीको पोया बाट्ने जो भइयो । तर जीवनरूपि ज्ञान कुवामा चुरोको नौनी अँझै बुझिएको छैन, सायद् बाँचुन्जेल बुझिँदैन । अँध्यारामा हिँडेजस्तो या अन्धा (दृश्यविहीन)ले हात्ती छामेजस्तो ।

मैले नबुझेका कुराहरू अहिलेसम्म कम्तीमा नेपालका कुनै पनि विश्वविद्यालय स्तरको पाठ्यक्रमले बुझाउन सकेजस्ता लागेनन् । मैले विगत्मा पढेका विविध विषयका ज्ञानका अध्यायहरूले कम्तीमा त्यो हामीलाई बुझाएनन् । नपढेका र नबुझेका कुराहरू त हाम्रालागि विराना र वैरी भैदिए । ती त कम्ती छैनन् । रास रासहरू छन् ।

महाशय, तपाईंहरूलाई कस्तो लाग्छ ?

मानिसहरू गफ र कुराकानी सन्दर्भमा कहिलेकाहीँ ‘तपाईंलाई यो कुरा थाहा छैन ? यत्ति कुरो बुझ्नु भएन ? भन्छन् ।’ आफूचाहिँ संसार खाई आकास गङ्गामा आची गरेर आएजस्तो आफूमात्रै शंकराचार्य भएको डिङ् हाँक्छन् । आफू एक र बाँकी सबै मानिसलाई मिलाएर आधा हुने दर्शन ‘डेढ अक्कल’ को भाका फलाक्छन् ।

फुल्छन् कोही नजानेर । कोही जानेरै सानो हुन चाहन्छन् । मैले समाजमा संसारका निकै गुह्य ज्ञान पाएकै मानिसहरू पनि केही नबुझेजस्तो गर्या देखेको छु । ठानेको छु । कोही त जान्नुसुन्नु मरू तर आफ्नो स्वपूराणमा अलमस्त लागेको पाएको छु । बकबक गरेरै बताएको । या फ्रिक्वेन्सी बिग्रँदा रेडियोमा आवाज नबुझिएजस्ता । तर कुरा ती होइन रहेछन् । जबजब पढाउन थालियो अनि आफूले बुझ्न थुप्रै बाँकीजस्ता लाग्न थाले ।

पहिले ‘बुझ्न कठिन, बुझ्यो अँझ कठिन, झन्झन् बुझ्यो झन् कठिन ।’ कुनै अज्ञात ज्ञानीले यो लोकोक्ति उद्भव गरे । क्याबात ! त्यसका निम्ति ती ज्ञानीलाई साधुवाद् नदिई धरै छैन ।

ज्ञान अदृश्य छ । अपरिमेय छ । असीमित छ । अज्ञेय छ । यी सबै गूढ ज्ञानका चिनारी हुन् ।

कसैले सूचनालाई ज्ञान भनेको पाएको छु । खै ! योचाहिँ के हो ? बुझ्न सकिरहेको छैन । सूचना र ज्ञानमा अन्तर छ कि छैन ? त्यसैमा अल्मलिएको छु । म बबुरो यत्रो ठुलो संसारमा कत्ति कुरामा अल्मलिएको छु । रनभुल्लमा छु । एकजना विद्यार्थीले कक्षामा मलाई भनेथे –गुरु जीवनमा पढेर, बाटो हिँडेर र रूख चढेर कहिल्यै सकिँदैन ।

‘मानिस पढेरभन्दा परेर जान्दछ’ यो सोरैआना सत्य हो । पढाएरै गोरु (गदाहा पच्चीसीदेखि पढाउन थालेँथे अब आफैँ गोरु पचास उमेरमा जो लागेँ) पच्चीसीको जीवन घर्किन लाग्यो ।

जीवनमा धेरैले धेरै कुराहरू नबुझेका हुन्छन् । कोही नबुझेका कुरा समाजलाई स्पष्ट भन्छन् । कोही चाहिँ नबुझेका कुरा पनि बुझेको अभिनय गर्दै समाजलाई ढाँट्ने गर्छन् । यो आआफ्नो शैली हो । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि । बूढापाकाले त्यसै कहाँ भनेका रहेछन् !

मैले जीवनमा नबुझेका कुरा छन् । यहाँ केही नबुझेका सन्दर्भ र चित्रहरू राख्न चाहन्छु ।

१. दर्शकको मानसिकता र बजार रूचि नहेरी सिनेमा बनाएर ‘नेपाली सिनेमालाई माया गरौं’ भन्ने रट । नेपाली सिनेमा हेरेको चालिसौं वर्ष भैसक्यो । बुझ्न नसकेको कुरा ।
२. प्रत्येक पाँच वर्षमा परिमार्जन र दस वर्षमा बदल्नु पर्ने पाठ्यक्रमलाई नेपालका सरकारी र निजी विश्वविद्यालय तथा नेपाल सरकारले नबद्लेको बुझ्न नसकेको दोस्रो कुरा ।
३. भविष्यमा कोही उद्भट् व्यक्ति जन्मन र प्रतिभाशाली हुन सक्दैन भनेरै भविष्यगत् सम्भावनालाई समेत रोकेर÷नकारेर छन्दवादी तथा प्रकृतिवादी कवि माधवप्रसाद घिमिरेलाई ‘राष्ट्रकवि’ को सम्मान दिइएको कुरा । तेस्रो बझ्न नसकेको गुत्थी । के तिनीभन्दा अतीव प्रतिभाशाली कवि नेपाली धर्तीमा भविष्यमा जन्मन सक्दैनन् ?
४. अमेरिकी सिनेमा उद्योगलाई हलिउड, भारतीय सिनेमा उद्योगलाई बलिउड र नेपाली सिने उद्योगलाई कलिउड भनिएकोमा मेरो आपत्ती होइन । त्यसैगरी नाइजेरियाको सिनेमा उद्योगलाई नलिउड भनिन्छ । यो राम्रो कुरा तर नेपाली सिने उद्योगका नायक राजेश हमाललाई ‘नेपाली सिनेमाका महानायक’ भन्या सन्दर्भ मैले बुझ्न चाहेर पनि नबुझेको कुरा । नायकभन्दा नै सम्मान हुँदैनथ्यो ?
५. आफू विदेशमा छोराछोरी पढाउने अनि जनताका छोराछोरीलाई पढाउने सरकारी विद्यालय र विश्वविद्यालयमा चाहिँ ‘युग सुहाउँदो आधुनिक शिक्षा’ भन्दै स्वनामधन्य प्राडाहरूले आफूलाई ‘शिक्षाविद्’ भनेको मैले बुझ्न नसकेको पाँचो कुरा । शिक्षाविद्ले त नयाँ र नूतन कुरा देशलाई अनवरत दिन सक्नुपर्छ । यथास्थितिको प्रवक्ता भएर सत्ताको पक्षपोषण गर्ने आफू भने सन्ततिका लागि विदेश ताक्ने । निमुखा जनताका छोराछोरीलाई बिगार्ने अधिकार ती प्राडालाई कसले दियो ? ती प्राडा होइनन् ‘कथित दूधे पाडा’ हुन् ? सरकारको कर तर मार्ने !
६. प्रत्येक सेवा र पेसामा रिटायर्ड हुने पद्दति हुने तर राजनीतिमा चाहिँ नहुने कुरा सत्तरी वर्षको नेता पनि सत्तामा जान खोज्ने । समयानुकूल विकास र चेतनाको कुरा गर्न नखोज्ने । अनि ‘राजनीति जोगी हुन गरेको होइन’ भन्ने भनाइ बुझ्न नसकेको अर्को कुरा ।
७. हरेक क्षेत्रका ठालूले कानूनलाई देखादेखी बलात्कार गरेको तर निम्छरा र निमुखाले अक्षरशः पालना गर्नु परेको यो कानून भन्ने कुरा सक्नेको लगौंटी हो ?

नायक नायिकाले निर्देशकलाई नमानेको, विद्यार्थीले शिक्षकलाई नटेरेको, नेताले जनतालाई फिस्स नगनेको, सन्तानले बाउआमालाई ओल्चेको, पण्डितलाई जजमानले टेर पुच्छर नलाएको, प्राश्निकलाई उत्तरदाताले फूति हाँकेको, ट्राफिकलाई चालकले नमानेको, बेपारीले ग्राहकलाई नमानेको, धर्म गुरुले धर्मलाई उखूम बेपारको विषय बनाएको, राजनीतिलाई नेताले सत्ताको भरेङ बनाएका जस्ता प्रसङ्गहरू देख्दा जीवनमा थुप्रै कुराहरू बुझ्नै बाँकिरहेका रहेछन् जस्तो लाग्न लागिरहेछ ।

यी र यस्ता कुराहरू कसले बुझाइदिने ? को छन् यस्ता कुराका गुरुहरू ? कहाँ जाने ? कोसँग सिक्ने ? कति समय लगाएर सिक्ने ? कोही मनुवा निस्किएर मलाई मेरा घटमा भएको अज्ञान पगाल्नेगरी बुझाइदिएमा आजैदेखि म पुनः ज्ञानामृतका लागि नयाँ विद्यार्थी भई सिक्न जाने थिएँ । सोही विद्वान् पछिपछि । हुनुहुन्छ कोही भने कृपया मेरो तलको मेलमा मेल गर्नुहोस् ।

पेशल आचार्य
espeshal2023@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *