नाम मे क्या लिखा है ? एकथरीले भन्छन् –यो कुरा । तर नाममै छ सबैथोक । नामका लागि मानिसले के गर्दैन ? कर्म, कुकर्म, सुकर्म सबैथोक गर्छ । फरक छ –नामको मेसो र मेहेरो । सुनाम या कुनाम ।
अहर्निष तर्तरी पसिना चुहाएर बाटो खन्नेको नाम सुनाम । अचाडु तर्कको भीरैभीरबाट ओर्लेर बाटो भत्काउनेको नाम कुनाम । बाटो हिँड्नेको नाम संसारमा कसैले अहिलेसम्म लिएको था’ छैन । लिने छैनन् । भनिन्छ, जो बीचमा छ उही मारमा पर्छ ।
‘लिकै लिक हिँड्छ कायर,
लिक छाड्दैन कपुत ।
लिक छाडी हिँड्छन् तीन
सायर, सिँह र सपुत ।’
आजभन्दा करिब ३५ वर्ष पहिले लोकसेवा दिन जाँदा धनकुटाको कुनै होटलमा लेखिएका कवितांशहरू हुन् –उपर्युक्त पङ्क्तीहरू । आफूले न लोकसेवा पास गरियो न यी हरफका वास्तविक कविको नाम कोटेसन गर्न जानियो । शिक्षक बनियो –शिक्षक सेवा आयोग दिएर । त्यो परीक्षा आफ्नै कर्मक्षेत्रका भएकाले यस्ता कोटेसनहरू पुनरावृत्त भएनन् । परीक्षामा । फेरिफेरि ।
—
जीवन जान्नुमाभन्दा नजान्नुमा धेरै मजा छ । औत्सुक्यता नै चिन्ताको गृह हो । जहाँ प्रश्न हुँदैनन् त्यहाँ उच्चासनमा बसेर उत्तरले आफ्नो औकात प्रदर्शन गर्ने मौका पाउँदैनन् । प्रश्नलाई घरको मुल ढोकाको गजबार पनि मान्न सकिन्छ ।
अन्जान जीवन बहुल पर्वतराजका चेपबाट आवाजविहीन बहेकी पयश्विनी हुन् । निर्निमेष, स्फूर्त र चालमय वेगकी पर्याय कुरोको चुरो अहिले नाम हो । नाम असल कि काम असल ? यो अविवादित विषयातिरेक रहेन, अब । कोही नामका लागि लगौँटी खुस्किउन्जेल लाग्छन् भने कोही कामकै पछि हात धोएर लागेका छन् । तिनलाई न नामको टन्टा छ, विज्ञापित हुने कर्कष रहर । कसैलाई केको धन्दा कसैलाई केको धन्दा घरज्वाइँलाई खानको धन्दा भनेझैँ मानिसमा वैपरित्य सोचले कार्य गर्छ ।
भारतवर्षमा एकजना नबोल्ने महर्षि थिए । नाम थियो –रमण । शारीरिक रूपमा नभएर व्यवहारमा आवाजविहीन तर संसारमा उनको नामको महक चहकिएको थियो । आफ्ना चेलाचपेटालाई उनीहरूले सोधेको प्रश्नको जवाफ उनीहरूकै मुखारविन्दमा एकटक लगाएर हेरेर दिन्थे । फरक के थियो भने पृथक् जिज्ञासामा पृथक् चेलालाई दिइएको जवाफमा रमणद्वारा हेरिने मुहारको कान्ति पृथकाभिमुख औ प्राञ्जल्य हुन्थ्यो ।
महर्षि रमण र असल औ कुलीन भार्याको प्रचेष्टा कहिलेकाहीँ समानार्थी लाग्छन् –मलाई । बोल्नु पर्दैन, सबै बुझिन्छन् –सूत्रादिसूत्रहरू । घोकेर परीक्षा लेख्न बसेका बेला खरररर परीक्षार्थीलाई उत्तर आएझैँ निर्झरावृत्तिबाट ।
कर्मचारी दोपायाको महिना मरेपछि हातमा तलब आउँछ । घरको संविधान स्वीकारेर पत्नीलाई बुझायो फरक खालको हल्का हाँसोमिश्रित भावले सुस्वागत् मिल्ने । कहिलेकाहीँ पिएर घर गयो दीर्घ स्वभावको रिसाश्रित भाव पढ्नै पर्ने । अन्तर्य र बाह्य फरक देखिने हो भने कस्तो हुँदो हो –भार्याको अन्तर्दिल ? खोजेको हूँ, तीन दसक बितिसक्दा तीन शब्दको उत्तर मिलेन, अहँ !
पतिपत्नीहरू छोराछोरी अघि पनि दुईजना मात्र अनि सन्तान हुर्केर चराका बचेरा अभिनयमा कुरूपजस्ता गुँड छाडेर गएपछि पनि दुईजनै मात्र । हो, चराका नियति बोकेर बाँच्दा रहेछन् हरेक दम्पत्तिहरू । चाहेर होस् या नचाहेर होस् मानिस अघिको मिठो र पछिको तीतो झन्झटमा अनजानमै फँस्दो रहेछ । गोरखधन्दाको प्राथमिक व्याकरण बल्ल बुझिँदैछ ।
—
लाम लागेर आउँछन् –आवश्यकता र सन्तानहरू । ती र तीहरू आफ्नै खोजी हुन् तर कतिले दु:खको पोखरीमा पौरी खेल्न लगाउँछन् । कतिले सुखको सुनामीमा बाँच्न विवश गराउँछन् । नियति आफ्नो हातको चेक होइन जसलाई बजारमा भएका निजी बैँकहरूमा गएर सजिलै साट्न सकियोस् । त्यो त त्यस्तो जब्बर ‘थोक बोझ’ हो उसलाई सिसिफस यत्नझैँ सहनुमै भला छ ।
आफूलाई मात्र होइन घरलाई ‘व्ययभार’ हुने भएकैले अपभ्रंश भएर व्यवहार भनिएको त होइन ? होला । पुर्खाले शब्दको फत्तुर प्रयोग गर्थे ? फारो गरेर बनाएका उखानलाई हेर्दा सोका गूढार्थ असली रूपले प्रकटिन्छन् ।
आँसुको सरहदलाई प्रश्न मान्ने कि उत्तर ? म यतिका वर्षदेखि अलमल अलमलमा छु । मानिसले खोजे होलान् । नियाले होलान् । पर्गेले होलान् तर आफू रनभुल्ल परेको पर्यैछु । मानवको आदिम आँसु हाँसोमा झर्यो कि दु:खमा ? के हो अश्रुको आदिरूप अभियन्ता ? जीवनारम्भमा मानिस आफूमात्र रोयो कि अरूलाई समेत साक्षी राखेर रोयो ? यी र यस्ता प्रश्नहरूका गुत्थी जीवनजस्तै महाजब्बर छन् । यिनको न आदि सम्भव छ न अन्त्य पर्गेल्न नै ।
जीवनको व्ययभार खेप्ने पति हुन् या पत्नी ? कतै सुनेको हूँ –संसार जित्ने मानिस घरमा हार्छ । के हो यो वाक्यांशको दिगन्त रहस्य ? घर भनेको परिवारसहित गृहाचार हो । परिवारजनित सदाचार र व्यवहार पनि हो । घर जहाँ एउटी हंशमुख स्त्री होस् । शान्ति र सद्भाव खिल्ने दुई मुटुहरू हुन् । बराबरी हिस्सामा बोनस दिने र लिने सेएर होल्डरझैँ सन्तानहरू हुन् र पो मन्दिर हुन्छ –घर ।
घर भनेको म पत्नीलाई मान्छु । थर भनेको पति हो । लोग्ने मानिसलाई आफू पूर्ण हुन जीवनसाथी याने भार्या नै चाहिन्छ । वामाङ्गी शक्ति । नारी अपरा हुन् भने नर परा । लोग्ने दाँयाशक्ति औ स्वास्नी बाँयाशक्ति । भाले कर्कष नाद् हो भने पोथी कोमलकान्त अवनी । धरा र व्योम या नदी र किनार यी सबै व्ययभारका शीर्षकातिरेकहरू हुन् जहाँबाट अनुभूति अनुच्छेदका अध्यायहरू क्रमश: आरम्भ हुन्छन् । सुभेच्छाले कामना प्रकट गर्दै आदिबाट अन्त्यसम्मको पृथकाभिमुख समानान्तर रेखाहरू जीवनसाथीका रूपमा पल्लवित र पुष्पित हुँदै इच्छाका लहरामा लहरिएर अग्रगामी छलाङ्साथ आलम्बन गतिमा सएर गर्दै यात्रामा सहभागी हुन पुग्छन् । विषयमा निमग्न भएर चारूमा लीन हुने शावकझैँ अभिनयका साथ लाग्छन् पौरत्स्य पतिपत्नीहरू । वरपीपल भाँतीमा उभिएका छन् शताब्दीयौंसम्म स्वपरिचयमा औ सान, मान र उच्चासनमा ।
—
पूर्ण हुनका लागि जोड चाहिन्छ । धनात्मक कोणले पूर्णताको पूर्णाहूति गराउँछ । एकएक गरेर अनेक हुन्छन् –चराचर जगत्का समूल जीवात्माहरू । संघर्षणमा दुई पक्ष अपेक्षित छ । आलोडित छ । चाहे त्यो युद्धमा होस् या बुद्धत्वमा । खोजीको यायावरीय शैलीमा मनका फाटकहरू नखोली गुदी व्यहोरिन्नन् । रहरका च्यादर नओढ्ने मानिस समाजमा भेटिन्नन् । भलै उसलाई स्वार्थी, परार्थी र परमार्थी भनेर कित्ताकाट गरिएको छ, तर्कशास्त्रका पहेलीहरूमा ।
उसो त भार्या स्वार्थी हुनै सक्दिनन् –यदि तिनी अब्बल संस्कारकिरहिछिन् भने । त्यसरी नै पत्नी परार्थी हुनै सक्दिनन् यदि तिनमा कमसल संस्कार मिश्रित युरिया छरिएको छ भने । बाँकी परमार्थी तत्वादि अहिलेका ‘एलियन’ वस्तीमा हुने गुञ्जायस नै भएनन् । पेपर मनीले मानिसको मस्तिष्क ‘वास आउट’ जो गरेको छ । हामी नेपाली छातीमा राष्ट्रियता समाहित गर्दै गोजीमा भिजा लगाएको पासपोर्ट राखेर बोर्डिङ् पास लिन आतुरिएका छौ –कुनै बहुराष्ट्रिय कम्पनीको जागिरलाई नमन गर्न ।
चराले आफ्ना बचेरालाई पखेँटा लागिसकेपछि गुँडबाट उड्न सिकाउँछ तर धकेलेर हुत्याउँदैन । मानुष मनमा त्यो लोभको लिसोले हर्हराएको आँत शान्त पार्न कि त ठालु देशको ‘ग्रिन कार्ड’ नै सन्तानले लिएको हेर्न चाहन्छ कि त अकूत धनराशि कुम्ल्याउने जागिर गरेको हेर्ने दिलाशा । रिसलाई मोडी मिसिलमा पट्याएर राख्ने मनको अदालतले अवसर नपाउन्जेल मात्रै मुद्दा मुल्तबी राख्न खोज्छ तर जब अवसरका अबिरहरू शीरमा लाग्छन् अनि मानिस घाँस लागेको बाख्राको पठेक्रोजस्तै बन्सो घाँसपछि बुरुक्कबुरुक्क उफ्रिन बाध्य हुन्छ । नेट (माकुरी जालो)ले मायावी संसारको भच्र्युअल फाटक खोलेपछि मानिसहरू रहरका ग्रहादिमा उफ्रिपाफ्री गर्न लागेका हुन् ।
निर्बन्धताले आनन्द समर्पण गर्छ गर्दैन त्यो अहिलेसम्म खोज गर्न नसकिएको संकथन हो ।
प्रेसरले गालेका हामीलाई पार्टी फुट्दाभन्दा करेलाको भाउ अक्कासिँदा चित्त कटक्क दुख्छ । किन होला ? ‘जहाँ आफ्नो त्यहाँ आगो ताप्नु’ भुइँ मानिसहरू राजनीतिबाट बेखबर रहन्छन् । जस्तो देखिन्छ त्यस्तो हुँदैन, जस्तो हुन्छ त्यस्तो देखिँदैन । बोक्रा मिठो या गुदी अँझै यसमा प्रतिवाद छ । दृष्टि पर्गेल्न जति सोचिएको हुन्छ त्योभन्दा बहुल क्लिष्ट जँच्दो छ ।
कुनैका बोक्रा मिष्ठ लाग्ने । कुनैका गुदी गूढ ।
पहिले बुझ्न कठिन, बुझ्यो अँझ कठिन झन्झन् बुझ्यो झन् कठिन । जीवनका नौरङ्गी सूत्रधारहरू यस्तै हुन् । आफूलाई सरल हुँदा अरूलाई जटिल हुने परायाले मानिआएका जटिल आफूलाई सरल हुने । सरस र सरलको पनि सापेक्ष परिभाषा हुँदो गरिँदा रहेछन् –समाजमा ।
—
मन हो नजिक हुने । मनै हो टाढा हुने । शरीर नजिक भएपनि मन टाढा भयो भने पतिपत्नी एउटै शिरान लगाएर सुते पनि कोसौं दूर लाग्छन् । टाढा हुँदा त माया अँझ गाढा हुने हो यदि मन मिलेको छ भने । नत्र पतिले पत्नीहत्या र पत्नीले पतिका शिरोच्छेदन गरेका समाचार अखबारमा कति आउँछन् कति ? जेठानकी बहिनी हुन् या सालाकी दिदी । सबैभन्दा पहिला त मन एकीकरण हुनु पर्यो । धनोबल, मनोबल र तनोबलको तागत देखाएर आआफ्नो पामर प्रदर्शन गर्नु भएन । मिल्नुभन्दा जाती यो संसारमा अरू कुनै ओखती छैन ।
खोसिएको खुसी टाल्ने अचुक ‘सुपर ग्लु’ भनेकै सान्त्वना हो । दर्दमा लगाउने मल्हम भनेकै भरोसा हो । परिवारका भत्केका मनहरूमा लिउन लाउन सान्त्वना र भरोसाको जोगार गर्नेले पराया सहर या दूर देशमा गएर मागहरू बेसाउनै पर्दैन । जमानाले पति पत्नीलाई एउटै बैँक खाताको संयुक्त दस्तखतका हिस्सेदार बनाएको छ । अहिले पहिलेजस्तो छैन –बच्चा जन्मेपछि मात्र पतिको अनुहार हेरेर आसाको अनुदान माग्नु पर्ने बिब्ल्याँटो संस्कार झुरिएर चिथ्राचिथ्रा भैसके । काँधमा काँध जुधाएर काम गर्दा पनि मनभरि र पेटभरि हाँस्न नपाइने, बाँच्न नपाइने उपभोक्तावादी समयले जीवनसाथीलाई एउटै जूवामा नारेको छ साँदनका जूवामा नारिएका वृषभाकृतिमा ।
भलिभाँती मोक्षका पहाडाहरू घोकिसकेपछि पनि मानिस त्यति नै अज्ञानी बन्दो रहेछ जति उसलाई साउँ अक्षर सिकाउँदा भ्याकुम माइन्डमा सुनामीको कहर उठ्ने गर्दछ । महँगीका खेचरहरू अभिनयका आसमा उडेका छन् । टिप्न र सँगाल्न नसकेर जीवनका दैलाहरू अँझै उघ्रिन सकेका छैनन् । साहचर्य र सहभोगलाई जतनसाथ राख्नु पर्ने अनि उधारोमा मृत्युको तारेख पर्चा पट्याएर भोग्दै र भाग्दै कष्टसाथ जोगार गरेको जीवनमा मुच्का लाग्दा पन्यालो बनेको रहरमा कहर थपिँदा छन्, बढ्दा छन् ।
भनौं जति पयश्विनी छन् यी धरामा बहेका त्यति नै मानिसका रहर पनि बहेका हूँदा हून् । पहाडी टाकुरामा मुस्कुराएका वनफूललाई कसले पो वर्णन गर्छ र ? चाहे तिनीहरूमा अजम्मरी सौन्दर्य र अचुक रौनकता नै किन नहून् । भान्तेहरू भन्छन् –फूलहरू नै सुभाशीष पाएर अर्को जन्ममा नारी भएर आएका हुन् । पर्गेल्नै गाह्रो । विदित या अविदित के हुन् ? सास्ती र सामञ्जस्यले थेग्नै सकेनन् –यहाँ । जतिजति जियो उतिउति जटिल हुँदो रहेछ जोवन पनि । साथ हुनु भनेकै सँगसँगै साँघु तर्नुजस्तै पो रहेछ ।
भारीले लचक्क भएका भरिया होइनन् भार्याहरू । व्ययभार पनि होइन व्यवहारहरू । पतित पनि होइनन् पतिहरू । सोच र खोजसाथ रमाउनकै लागि उपसंहारका डिकोमा रहेका लिड वाक्यजस्तै हुन् –जीवनसाथी । जसले आफू नामेट भएर पनि अर्को पक्षका भलाइ खातिर इतिहास रच्ने धृष्टता कायम गरोस् । त्यसैले भनिन्छ जन्मौं जन्मको नाता हो –पतिपत्नी ।
शान्त तलाउमा डुङ्गा सएर वृत्तिमा जलविहार हो –गृहस्थी जीवन । जहाँ दुई तत्वले बनेका दुई हस्थीको गठजोड हुनु नितान्त आवश्यक छ । अनि मात्र बग्छ –सललललअ नौका प्रेमको । स्वार्थका स्वाङ्मा पिँङ खेल्नुको कुनै तुक छैन । तनलाईभन्दा मनलाई सफा राखे बेस् । उक्ति र सूक्तिका पाउको सप्रसँग व्याख्या गर्न जति जटिल हुन्छ त्योभन्दा कम्ता हुँदैन दाम्पत्यको कोहराम अर्थ्याउन । सम्बन्ध विच्छेदका मुद्दा वकालत गर्ने मानव मुटु भएको कुनै कानून व्यवसायी छ भने उसले लिएका फिसले उसैलाई जीवनभरि चहर्याइरहन्छन् क्षणपलमा । घरलाई जोड्दा घर बन्छ । घरलाई टुक्रयाउँदा स्मसान घाट । जो कुनै पनि नारी आफ्नो घरलाई स्मसान बनाउन चाहदिनन् ।
कविहरूले पत्नीका बारे अनेकानेक तीर्यक कविताहरू रचेका छन् । सन्दर्भ र कोष्ठमा राखेका छन् –भार्या पूराणहरूलाई । सुकरात हुन् या शम्भुप्रसाद । जोन कीट्स हुन या कालिदास, देवकोटा हुन् चाहे दाँते पत्नी महाकाव्य हुन् कवि स्वरूपमा उभिएका पतिहरूका लागि । अनन्त कहर काटेर निर्बन्धताको उडानमा ती जो महान् भार्याले सम्मिलन गरेर पतिलाई लेखनका गुत्थी र आखेटोपहारका कोसेली दिन्छन् ।
सन्तान र पाहुना आउँछन् अनि जान्छन् । आउनुभन्दा अघि पनि पतिपत्नी एक्लै । गएपछि पनि जीवनसाथी एक्लैदुक्लै । नियतिका चस्माले हेर्दो रहेछ –जिन्दगीका फलकहरूलाई । चुपचाप र मौन सवालमा रमाउँदा रहेछन् –लोग्नेस्वास्नीहरू । ती जो आफूमा असमेल क्रीडाकेलीमा कल्पन्छन् । गुँडलाई नै धरोहर मानेर जिउँछन् –जन्म जन्मान्तरसम्म । आस्था र सम्मानका भकारीहरू चुलीचुलीसम्म भरेर ।
कसैले भनेको थियो । त्यतिबेला ख्याल भएन । अहिले गीता ज्ञान भएको छ । जहान, जागिर र जमिन यी तीनमा जन्मौंजन्मको आधारशीला तय भएको हुन्छ अनि हुन्छ मानिसको जीवनारम्भ । सूत्रधार विना यो रहस्यको पर्दाफास यतिखेर भएको छ । नाटकघर नभइकनै म नाटक हेरिरहेको छु । कसैले माने या नमाने पनि म पतिपत्नीको सार्थक मिलनरूपि दर्शनको आज्ञाकारी हितचिन्तक भएको छु । अनि भएको छु, पथावलम्बी यायावर पथिक त्यो चिन्तनको ‘जहाँ पतिपत्नी मिल्नुभन्दा ठूलो जित र जीवन रसका विजयको समूूल हित संसारको कुनै कुनामा हुँदैन ।’ तब किन बनावटी फिरादमय एकल गायनका उच्चाटलाग्दा सङ्गित र अविश्वासनीय मुद्दाका ढोँगी मिसिलहरू हाम्रो समाजमा छ्याप्छ्याप्तिरहे भएका छन् ?
प्रश्नहरूका पहाड मुन्तिर अर्को प्रश्न गर्न मन लागेको छ ।
पेशल आचार्य
हाल : सहायक प्राचार्य
मन्थली माध्यमिक विद्यालय, मन्थली न.पा. –१, रामेछाप ।
लेखक परिचय
नाम : पेशल आचार्य
जन्म/स्थान : २०२३ साउन १५, विराटनगर –४, बरगाछी
शिक्षा : एम्ए, बिएड्
सेवा : शिक्षण
सम्प्रति : सहायक प्राचार्य, मन्थली मावि
: उपप्राध्यापक, मन्थली स.स्मृ.ब.क्याम्पस
अनुभव : शिक्षण २६ र प्राध्यापन १७ वर्ष
संस्थागत संलग्नता : अध्यक्ष, नेपाली भाषा शिक्षक समाज, रामेछाप
: अध्यक्ष, अनौपचारिक साहित्यिक मञ्च
लेखन : साहित्यलेखन २०३६ देखि निरन्तर/अखबारीलेखन २०४२ साल निरन्तर
मोबाइल/इमेल : ९८४४०४४०८३ /भकउभकजबद्दिण्द्दघ२नmबष्।िअयm
पुरस्कार/सम्मान : परिवेश पुरस्कार २०५१
: सम्मानपत्र, जिल्ला शिक्षा समिति, रामेछाप २०५४
: उत्कृष्ठ कवि, बीबीसी, लण्डन २०५४
: प्रथम, कविता महोत्सव, धरान २०५५
: शिक्षा पदक, २०६८
प्रकाशित कृतिहरू : १) कमिलाको ताँती (बालकवितासङ्ग्रह ) २०६०
२) विद्यालय स्तरीय निबन्धहरू (बाल निबन्धसङ्ग्रह )२०६५
३) किस्ताको कम्प्युटर (बाल कथासङ्ग्रह) २०६६
४) मनको दैलो खोल (बाल कवितासङ्ग्रह) २०७२
५) जून आमा जून (बाल कवितासङ्ग्रह) २०७२
६) साहित्यकार पवन चामलिङसँग एक सय एक प्रश्न : (महेश प्रसाईंसित) – स्रष्टा संवार्ता – २०६९
७) साहित्यकार अशोक सुवेदी र आमा प्रसँग (समालोचना) –२०७२

धन्यवाद पेसल सर । बडाे गम्भीर
धन्यवाद पेसल सर । बडाे गम्भीर चिन्तन पढ्न पाएँ । धेरै कुराहरु हामी अघि भएर पनि हामी अनभिज्ञ नै रहन्छौं याे कुरा पनि मलाइ यहाँकाे विचार पढेर बाेध भाे । खुसी लाग्याे । फेरि पनि धन्यवाद ।