चीर नूतनताको चाह


अन्तरभित्र बल्किने
चीर नूतनताको एक उद्गार ।
नितनूतनतामै बाँचू बचाऔँ भन्ने
हृदयभरिको पुकार ।

आज म नूतनताको गीत गाउन चाहन्छु । नूतनतासितै मित लगाउन चाहन्छु । आफ्ना पदमा नूतनताको नूपुर जडी छमछमी नाँच्न चाहन्छु । नूतनताको नूर फिजाँरी भित्रीबाहिरी तमघटा नास्न चाहन्छु ।

नूतनता जीवनको लाली हो । नूतनता समयको छाली हो । यही लालीमा रङ्गिन चाहन्छु म । यही लालीमा सबैलाई लाल बनाउन चाहन्छु म । यही छालीको आस्वादनमा आकण्ठ डुब्न चाहन्छु म ।

जीवन नवनव उन्मृषमा पल्लवित भैरहेको छ, फुलिरहेको छ । फक्रिरहेको छ । यसलाई आत्माको गहन तलबाट बोध गर्ने संवेदना छ भने पुरानो चिज केही छैन यहाँ । हरेक चिज, वस्तु, समय नूतन पथबाट हामीसामु आइरहेको छ ।

नूतनता याने कि नवीनता । नवीनता याने कि नयाँपन । नौलोपन । तरोताजा आलोपन । म त्यही आलो समयसित साक्षात्कार गरी जिउन चाहन्छु । बासी समयका अखेटामा मन अड्याएर अशान्त बन्नचाहन्न । समयको तरोताजा पलसित मितेरी गाँसी जीवन भोग्न चाहन्छु ।

पुरानो मनको स्वभाव छ –बासी समयतिर फर्किने । पुरानो मनको स्वभाव छ –अनागत पलको सपना बुन्ने । यी दुवै विन्दुबाट मनलाई झिकेर वर्तमानको नूतन क्षणसित नाता गाँसिदिनुको मज्जै अर्को ।

युगयुग धुलो, धुँवा, र ध्वाँसो लागेको पुरातन मन, नूतन भएपछि जीवनको गुणवक्ता नै अर्को हुँदो रहेछ । जीवनको चहकता र मोहकता नै अर्कै अर्कै बन्दोरहेछ । यसले प्रतिपल नूतनभावमा बाँच्ने कला थप्दोरहेछ ।

हृदयमा पुरातनप्रति विरक्ति छ । पुरातनभावमा जडता छ, रूढी छ, रूक्षता छ र रूग्णता छ । त्यो जडताबाट मुक्त हुनचाहन्छु । चाहन्छु गतिशील हुन । प्रवाहमा । त्वरित उचाइमा उडान भर्न । त्यो रूढिबाट मुक्तहुन चाहन्छु र चाहन्छु नवीन बन्न । त्यो रूक्षताबाट माथि हुन चाहन्छु र चाहन्छु सरल सुस्वादु बन्न । त्यो रूग्णताबाट माथि उठ्न चाहन्छु र चाहन्छु पूर्ण बन्न । यसै कारणले चीर नूतनताप्रति मोह बढेको छ ।

हृदयमा नवीन भावका नवीन जोरमुरलीहरू बजिरहेछन् । भित्रभित्रै मनलाई आल्हादित तुल्याइरहेको छ । नूतनताको रागले आफैँभित्र एक अनुरागको तह थपिरहेको छ । प्रतिपल समय नूतनरूपमा मेरोसामु आइरहेछ । अनि म पुरानो विन्दुमा उभिएर वर्तमानको यात्रा कसरी अगाडि बढाउन सक्छु र ? नूतन बन्नु मेरो आवश्यकता हो । समयको आवश्यकता हो । जीवनको आवश्यकता हो । समाजको आवश्यकता हो । पल अगाडिका सारा विचार, भाव, अनुभूति, संवेग मृत छन् । मृत बनिसकेका छन् । नवीन पलको लागि नूतनभावको सृष्टि गर्नु मेरो बाध्यता हो । नूतन विचारको परिपथमा यात्रा गर्नु मेरो आवश्यकता हो । नूतन अनुभूतिमा रम्नु मेरो नियति हो । नूतनभावले प्रतिपल समयको आगत रेखामा यात्रा गर्छ, यो काहीँ रोकिँदैन, थमिँदैन, र यात्रालाई कुनै चौतारीमा बिसाउँदैन ।

हो मानिसलाई आज चौतर्फी रूपमा नवीन चिजको खाँचो छ । जाहीँताहीँ नयाँपन चाहिएको छ । नयाँ घर, नयाँ लुगा, नयाँ खाना, नयाँ रोजगारी, नयाँ शिक्षा, नयाँ सरकार, नयाँ राज्यव्यवस्था, नयाँ विधिविधान, नयाँ सरकार, नयाँ संविधान, नयाँ पद्धति, नयाँ विकास, नयाँ प्रविधि आदिको दरकार छ । सबैको माग नयाँ होस्, नौलो होस्, हिजो जस्तो नहोस्, हिजोको जस्तो नदोहोरीयोस् । हिजोबाट मुक्त हुन चाहन्छन् मानिस । हुनपनि हो हिजोका कुराले मान्छेलाई दिक्क बनाएको छ । जे चिजमा पनि नयाँपनको अर्थात् नूतनाको याचना गरेका छन् ।

एकातिर हामी नूतनताको चाह गरिरहँदा अर्कोतिर आफैँ पुरातन विचारको शिकार त भैरहेका छैनौँ । पहिलो कुरा आममानिसहरूपनि नूतन विचारबाट सुसज्जित हुनैपर्छ । नूतनभावले आलेकित बन्नैपर्छ । नयाँविचार र नयाँ सपना नबोकी समाजलाई नयाँपनमा ढाल्न सकिन्न । भित्री हृदयमा र मस्तिष्कमा पुराना सडेगलेका विचार र सपना भरेर नूतनाको चाह गरियो भने हाम्रो चाह कामयावी बन्न सक्तैन । हामीलाई यतिखेर नवीन भाव चाहिएको छ । नवीन सपनाहरू चाहिएको छ । नवीन कल्पनाहरू चाहिएको छ । नवनव उन्मेषमा उडान भर्न नवीन पंख चाहिएको छ ।

अरूलाई कस्तो चाह हुन्छ, थाहा छैन । तर मलाई हर्दम नवीन ठाउँका नवनव दृश्य आँखाभरि पिउने चाह हुन्छ । व्यञ्जनका नवीन स्वाद जीव्रोमा सँगाल्ने चाह हुन्छ । यसरी नै नवीन सुगन्ध, नवीन स्पर्श, नवीन ध्वनिश्रवणको चाह अन्तरभित्र टनाटन खाँदिएर रहेको पाउँछु । तर परिस्थिति पुरानै छ, परिवेश पुरानै छ, आफ्नो धरातललाई अनेकौँ सीमाहरूले बाँधेका छन् । त्यसैले सबै नवीनताका चाहहरू यथार्थमा पूरा हुन सकेका छैनन् ।

नयाँ युग, नयाँ जीवन र नयाँ समय भोग्न चाहनेहरूले आफ्नो ठाउँबाट केही न केही नयाँचिज दिनसक्नुपर्छ । आफूले पनि नवीनताको लागि केही इँटा ढुङ्गा थप्न सक्नुपर्छ । अनि मात्रै हामी नयाँयुगका सारथी बन्न सक्छौँ । नयाँ जीवनका हकदार बन्न सक्छौँ । नयाँयुगको चाहले मात्र हाम्रोसामु त्यो युग आउँदैन । त्यसको लागि आ–आफ्नो ठाउँबाट नवीन प्रयास, नवीन प्रयत्न जारी राख्नुपर्छ ।

नूतनताप्रति आकर्षण ममा अकारण भइरहेको छैन । आफ्नै आवहवा र परिवेशलाई गौर गरेर हेर्छु –नाकका प्वालहरूमा हरपल नयाँ प्राणवायु आइरहेछ गैरहेछ । आफ्नै औँलाका टुप्पामा हेर्छु –हिजो काटेका नङका ठुटामा नयाँनङको तह उम्रिरहेछ । केस र दारी छाम्छु –तीनै दिनमा नयाँ टुसा पलाइरहेछन् । अगाडिको आँपले नयाँ मुजुरा चढाएको छ । आकाशमा पलपल नवीन कलेवरका बादल आकृति कोरिँदा छन्, भत्किँदाछन् । यिनै नवीनताका अगणित तरेलीहरूले मभित्र चीर नूतनताको विज छरिरहेछन् । यिनै चिजले मलाई चीरनूतनताप्रति उद्वैलित गराइरहेका छन् । प्रकृतिले नै मलाई नवीनताप्रतिको मोह थपिरहेको छ ।

नवीनताको भाव हृदयमा उन्नसक्ता सधैँ खाइआएको त्यही आलुमा पनि अर्कै अर्कै स्वाद भेट्छु । सधैँ हिँड्ने त्यही बाटोमा यात्राको अर्कै मधुरिमा पाउँछु । दिनदिनै झुल्ँिकदै आएको अरवौँ वर्ष पुरानो त्यही घाममा आनन्दको अर्कै अरूणिमा पाउँछु । आफ्ना तिनै नानीका बोलीहरूमा मृदुलताको अर्कै छनक पाउँछु । चञ्चलताको अर्कै रौनक पाउँछु । हेर्ने आँखामा नूतनताको लाली चढाउन सक्ता जगत्का दृश्यहरू फेरिने रहेछन् । महाज्ञानीहरूले भनेको कुरा –जस्तो दृष्टि त्यस्तै सृष्टि सत्य लाग्नथालेको छ ।

दुःख र अफसोचको कुरा नवीनताप्रति हामी जति उत्सुक बन्नुपर्ने हो, बन्न सकिराखेका छैनौँ । गतिशीलताका उपासक बन्नुपर्नेमा दिनदिनै गतिहीन बनिरहेका छौँ । कर्मठताका अनुयायी बन्नुपर्नेमा अकर्मठताको भासमा दिनदिनै डुब्दै गएका छौँ । हामीले नूतनतालाई प्रेम गर्न सकेनौँ । यसको दिव्यआलोकलाई भित्रैबाट महसुस गर्न सकेनौँ । हामी गतिमान सरिताबन्न सकेनौँ । प्राञ्जल प्रवाह बन्नसकेनौँ, बन्यौँ हामी पोखरीमा जमेको पानी । त्यसैले हामी कुहिरहेका छौँ । प्रदूषित बनिरहेका छौँ । हाम्रो चेतना नै दूषित भएपछि नूतनताको स्वस्थ चेत कहिले विजारोपण होला ।

आँगनमा हेर्छु –जन्मिएर केही महिना गुजारेको बाख्राको पाठाले घाँसको नयाँमुजुरा खोजिरहेको छ । घाँसको पुरानो पात सुँघ्छ अनि छाडिदिन्छ । नयाँ डुकु मुनालाई कर्यामकर्याम चपाउँछ । पल्लोघरकी सानी नातिनी नयाँ गुडिया माग गरेर रडाको मच्चाइरहेकी छ । अपितु ऊसितथुप्रै खेलौनाहरू छन् । बच्चालाई नयाँ नै चिज चाहिएको छ । घुम्टो ओडाएर बाटामा नयाँ बेहुली ल्याइरहेकाछन् । घरघरका महिलाहरू जन्ति रोकेर घुम्टो खोली नयाँ बेहुलीको अनुहार हेर्दैछन् । नयाँ बेहुलीको अनुहार हेर्न कति ठूलो घुइँचो लागेको छ । आफ्नो टोलमा भित्रिएकी नयाँदुलही हेर्ने प्यास सबैको मनमा स्पष्ट देख्न सकिन्छ । नयाँप्रतिको चासो र उत्साहले यसो गराएको हुनुपर्छ ।

यहीबाखाको पाठो, सानी नातिनी र टोलका आमादिदीबाट पनि म नूतनताप्रति अन्तप्रेरणा लिइरहेको छु । सोचमा नवीनता, खोजमा नवीनता, प्राणमा नवीनता, तरानमा नवीनता, बोलमा नवीनता, सोलमा नवीनता प्रतिस्थापन गर्न तपाईंसित उद्घोष गरिरहेछु । किनभने हृदयमा बल्किरहेछ चीर नूतनताको एक उद्गार ! त्यसकै नाद र नूरले दिइरहेछ भित्रभित्रै एक झङ्कार !!

२०६९ फागुन ४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *