जब मेघ घेरिएको आकाश देख्छु, मेरो हृदय गद्गद् भरिएर आँउछ । आकाशमा जसै उसले गर्छ गड्याङगुडुङको नाद, मभित्रपनि एउटा तिलस्मी नादको अभिर्भाव हुन्छ । मेघाच्छादित आकाशको अध्याँरो मलाई औधी प्यारो लाग्छ । मेघको गर्जन मन नपराउनेहरू पनि देखेको छु, कालोमैलो वादलको निन्दा बाँच्नेहरू पनि सुनेको छु । तर यी सबैको वीचमा घेरिएर पनि म उनीहरूको प्रतिकित्तामा उभिएर मेघमागल सुनाइरहेको छु, बादलवन्दना गाइरहेको छु । मेरो आकाश मेघले घेरिएपछि धर्तीमा म जीवनका अंकुरणहरू देख्न थाल्छु । तप्त घामले डढेको उत्तप्त धरणीमा हरियाली जीवनको अरुणिमा खुल्न थाल्छ । आँत सुकेर मुख आँ गरिरहेका फूल मञ्जरीमा रङको नयाँ चहक खुल्न थाल्छ । हावाका सूक्ष्म लहरहरूमा सुगन्धको नयाँ महक लहराउन थाल्छ । उजाड पाखाहरूमा चिउलाका नवीन प्रस्फूटनहरू गतिमान हुँदै जाँदा एउटा हेरिरहूँ जस्तो, लोभलाग्दो क्षितिज टाँगिन थाल्छ ।
मेघको बोलमा अबोल आनन्द छ । यसले त सधैँ मलाई जीवनको सरगम सुनाउँछ । मेघ बर्सेर पाउलो फेरेका पालुवालाई म किनकिन मेघ मञ्जरी भन्न रुचाउँछु । मञ्जरीहरूको जीवन मेघमा आवेष्टित रहेको सत्यलाई कति अहोभावका साथ हेरिरहेछु । जब पानीका वुँदहरूमा बर्सिछ मेघ, अनि यहाँ जीवनदायी शितलताको रसधारमा पौडिन्छन् स्यावर र जङ्गमका अनगिन्ति रचनाहरू ।