Skip to content

इमिग्रान्टको बस्तीः न्युयोर्कलाई नियाल्दा

  • by


हड्सन नदीको मध्य टापुमा रहेको विशाल ‘स्टाच्यु अफ लिबर्टी’ अर्थात् स्वतन्त्रताकी प्रतिमूर्तिले संसारभरिका इमिग्रान्टलाई बिना भेदभाव अमेरिकामा बस्न सक्ने प्रेरणा दिएको पाइन्छ । मूर्तिमा लेखिएका हरफले मानवीय मूल्यमा चुनौतीको आहृवान गरेको छ । ‘तिम्रो थकान गरिबी तिम्रो चुनौती मलाई दिई यो देशलाई स्वतन्त्रतापूर्वक अबलम्बन गर स्वीकार गर’ यही लेखिएको छ । लिबर्टीको छेउमा ‘एलिस् आइल्यान्ड’ सुरुका इमिग्रान्टका लागि प्रवेशमार्ग नै रहेको थियो । नाविक मार्गबाट प्रवेश गरी त्यहाँ पुगेर स्वास्थ्य परीक्षण गरेपछि मात्र न्युयोर्क सहर छिर्न पाउँथे पहिलेका इमिग्रान्टले ।

रेलमार्गको जाल नै बिछ्याइएको यो सहरमा जहाँ पुग्नु परे पनि रेलको सुविधा उपलब्ध छ । रेलमा विभिन्न देशका इमिग्रान्टहरूको भीड भए पनि शान्तपूर्वक आफ्नै धुनमा यात्रुहरू उभिएका, बसेका हुन्छन्, कसैलाई कसैको मतलब हुन्न । कोही पुस्तक पढ्नमा, कोही अखबार पढ्नमा, कोही कामको थकानले निदाइरहेका हुन्छन् । टे्रन स्टेसनमा गितार, ड्रम बजाएर सङ्गीतको धुन सुनाएर पैसा बटुल्ने पनि देख्न पाइन्छ । रेलकै गतिमा मानिसहरू कुदिरहेका हुन्छन्, हतारिएका हुन्छन् । बडो विचित्रको सहर हो न्युयोर्क सहर ।

धेरै सहर घुमियो तर किन हो किन यो सहर, आफ्नैपनमा अडेको छ । कोलाहल, भिड्मभीडले असनको गल्ली सम्झाउँछ । क्विन्स बस्तीमा पुग्दा असन, महाबौद्धको बजारजस्तो लाग्छ । ज्याक्सन हाइट पुग्दा पानको पसल, समोसा गोलगप्पा खाइरहेको दृश्य देख्न सकिन्छ अनि रक्तकाली तरकारी बजारजस्तै ताजा तरकारी र फलफूलको बजार भेटिन्छ । बङ्गलादेशी, नेपालीहरू, शेर्पाहरू, जताततै पसलमा र बाटोमा भेटिन्छ । गणेश मेला, चारैतिर छरिएका गणेश मन्दिर, दिव्यधाम, अनेकौँ मन्दिरले हिन्दू धर्मावलम्बीहरूलाई प्रसस्त भजन-कीर्तन पूजा-आजा गर्ने अवसर छ । कतै हामी नेपाल वा भारतमा त छैनौँ भन्ने अनुभव हुन्छ । प्रसस्त क्यारेबियन मूलका बासिन्दा आफ्नो ‘क्यारेबियन डे’ मनाउन आफ्नो देशको पहिरनमा सजिएर सडकमा झण्डा बोकी नाच्न थालेको देखिन्छ भने भारतीयहरू आफ्नो स्वतन्त्रता दिवस मनाउन म्यानहाट्न सडक नै खाली गरी झाँकी पोड गर्न थाल्छन् । आफू कुन देशको प्रान्तको कुन जातिको हो यो भाव प्रकट गर्ने मौका नै दिँदैन न्युयोर्कले । यो मेरो देश हो, यहाँका बासिन्दा हामी हौँ भन्ने भाव सबै इमिग्रान्टलाई यो सन्देश न्युयोर्कले दिएको हुन्छ । अझ ‘टाइम स्क्वाएर’ मा साँझपख रिक्साचालकले ‘टुरिस्ट’ घुमाएको दृश्य देख्दा आश्चर्य र उदेक लाग्छ । अनुशासन, शिष्टाचार, स्वतन्त्रताको उपभोग गरी न्युयोर्क सहरमा जो पनि अटाउन सक्ने विशेषता रहेको छ ।

न्युयोर्क सहर सदैव व्यस्त छ । हतार छ सबैलाई । कहिले ननिदाउने सहरको उपमा पाएको न्युयोर्क सहरको ‘टाइम स्क्वाएर’ सदैव बेहुलीझैँ सजिएको रङ्गीन सौन्दर्यको अँगालोमा बसेको उर्वशीझैँ देखिन्छ । धपक्क न्युनसाइनको उज्यालोमा उज्यालिने यो सहरमा जुनसुकै इमिग्रान्ट पनि सजिलै त्यहाँको ‘मेल्टिङ पटमा’ पग्लिन सक्छन् । वासिङ्गटन डीसी, ओहायो, न्युमेक्सिको आदि सहरमा नौलो नेपालीलाई दिन काट्न हम्मे परे पनि न्युयोर्कमा पुगेपछि आफ्नै सहरजस्तो लाग्न थाल्छ । कहिले पुरानो नहुने यो सहर हजारौँपल्ट पुगिसके पनि लिङ्कन टनेल आइपुग्दा न्युयोर्कको उच्च भव्य महल र त्यहाँको सौन्दर्यले जहिले पनि नयाँपन नै लिएको हुन्छ । म्यानहाट्न, ब्रोड-वे, टाइम-स्क्वाएर! कोलम्बस सर्कल, ज्याक्सन हाइट, फ्लसिङ जता गयो इमिग्रान्टको बस्ती छ भने चाइना टाउन, कनाल स्ट्रिट हेर्ने हो भने यो बस्तीमा कोरियन, चाइनिजले अखडा बनाएको देखिन्छ । भनिन्छ कनाल-स्ट्रिट त पूरै चाइनिजको अखाडा नै हो । बेलाबेलामा भइरहने झगडा, गोली हानाहान, अनि नक्कली नेम-ब्रान्डका सामान बेच्नमा माहिर कनाल स्ट्रिटले बदनामी कमाएको छ । नेम ब्रान्डका सामान लुइ भट्रान, बरबेरी, सिनाइल, गुची, क्रिश्चियन, डिओर, प्रादा, कोचजस्ता नामुद कम्पनीका सामानको हुबहु नक्कल गरी विशेषत कनाल स्ट्रिट, ब्रोड-वे को २८ औँ स्ट्रिटमा लुकाइछिपाइ बेचबिखन गरिरहेका हुन्छन् । न्युयोर्क सहर जहाँ फिल्मी स्टारको बस्ती छ, जहाँ एकसाएक धनाढ्य व्यक्तिको राज छ, राजनीतिक व्यक्तिको पहिचान छ, फेसनको संसार नै मानिने विकसित, आकर्षक सहर न्युयोर्कको पर्दा पछाडि दुई नम्बरी धन्दा गर्ने व्यापारी पनि प्रशस्त छन् । विशेषत् इमिग्रान्टहरू नै नक्कली सामान उत्पादन गर्ने, बेच्ने कार्यमा लागेका छन् । सानासाना व्यापारीलाई होलसेल चलाएर बसेका व्यापारीले बिना रसिद सामान भिडाउनमा माहिर न कतै बिलमा छाप, न नाम कर छल्न माहिर यी व्यापारीसँग कुनै बेला झगडा नै गर्नुपर्ने स्थिति आउँछ । लाइसेन्स बिना व्यापार नै गर्न नपाउने भए पनि विशेषतः कोरियन, चाइनिज व्यापारीले इमिग्रान्टलाई हेपेर जित्न खोज्ने देखिन्छ । कानुनको पञ्जा बलियो भएको ठानिने अमेरिकी मुलुकमा कसरी यिनीहरूले ‘इलिगल काम’ गरिरहेका छन् भन्ने उत्सुकता लाग्ने । नक्कली सामानको बिक्री वितरण वासिङ्गटन डीसीको फ्लोरिडा मार्केट पनि प्रख्यात छ भने न्युयोर्क सहरको ब्रोड-वे, विख्यात छ अनि कनाल स्ट्रिट पनि । भारतीयहरूले अत्तर, घडी लुगाफाटाको पसल खोलेका हुन्छन् भने चाइनिज, कोरियनले, टोपी, जाडोको टोपी, कपडा, गर्मीको टोपी, स्कार्फ, सजाइने कुराको व्यापार गरी बसेका हुन्छन् । कनाल स्ट्रिटमा हात्तीको देखाउने दाँत भनेझैँ बाहिरी पसलमा साधारण ब्याग, सुट्केस, घडी, चश्मा राखिएका हुन्छन् भने भित्री अँध्यारो कोठामा नक्कली ब्याग लुकाइलुकाइ बेच्ने गर्छन् । कुनैबेला कम्पनीको गाडी आइपुग्यो भने मोबाइल मार्फत् व्यापारीले सचेत गराउँछन् अनि एकै क्षणमा सटर बन्द गरी आफ्नो सामान लुकाउने घट्ना देख्न पाइन्छ । कतिपय अफगानीहरूले नक्कली सामानको व्यापार गरी आतङ्कवादीलाई पैसा दिएको थाहा पाएपछि न्युयोर्कको कतिपय गल्लीमा छापा मारिएको पनि थियो तर अनियन्त्रित कालो धन्दाले प्रश्रय पाएको थोक बजारको माहौल देख्दा अमेरिका होइन कतै अर्कै सहरमा उभिएको अनुभव हुन जान्छ । चार हजार पर्ने असली लुई-भटानको ब्यागलाई ५० डलरमा बिक्री गरिन्छ ।

उनीहरू लाइसेन्स लिएर बसेका व्यापारी भए पनि सक्दो क्रेडिट-कार्ड नलिई नगदको माल लिन कर गर्छन् । कतिपय ठूला ठूला व्यापारीले भने नियमपूर्वक व्यापार गर्छन् । ब्रोड-वे २८ औँं स्ट्रिटमा रहेका व्यापारीहरू रकमी, कठोर, र अभद्र खालका हुन्छन् । न्युयोर्क सहरको ब्रोड-वे पुग्दा हामी हाटबजार परिक्रमा गरिरहेझैं लाग्छ । महँगो भाडाका कारण एउटै पसलमा घडी, परफ्युम, टिसर्ट, टोपी, ‘मेक-अप’ सामान बेचेका हुन्छन् । न्युयोर्कका व्यापारीहरू प्रायशः रोबटले बनेका मानिसजस्तै हुन्छन् न हाँस्छन्, न राम्ररी बोल्छन् । होटलतिर पनि यन्त्रचालक मानिसजस्ता हुन्छन् । न्युयोर्क सहरको आकर्षण बेग्लै छ तर भित्री भागमा मानिसहरू कसरी अनियन्त्रिक र अनैतिक व्यापार गरी बसेका छन् भन्ने थाहा हुन्छ ।

न्युयोर्कमा बसोबास गरिरहेका नेपालीहरूको जीवनशैली पनि विचित्रको हुन्छ । एउटै कोठा भएको एपार्टमेन्ट छ भने पनि भाडाको महँगाईले गर्दा ८/१० व्यक्तिहरू खाँदिएर बसेका हुन्छन् । पाँच दिन लिभ इन कसैको घरमा काम गरेर शनिबार-आइतबार महिनाको तीन सय डलर दिएर कुनै नेपालीकहाँ ओत लाग्ने पनि छन् । जसरी भए पनि दुःखले कमाएको पैसा बचाउन नेपालीहरू पनि माहिर छन् । थरिथरिको काम पाएर जीविकोपार्जन गर्ने पनि छन् भने कोही चराको बेबी सिटर कोही कुकुरको पेट सिटर बनी पैसा कमाउने पनि छन् । चरा र पाल्तु कुकुर हेरेको एक सय डलर प्रतिदिन दिने चलन छ । विचित्रको सहर छ न्युयोर्क । केही भारतीयहरू दिनभरि चपाटी रोटी, तरकारी बनाएर फुर्सद नपाएकालाई खाना पुर्‍याउने सेवामा व्यस्त हु्न्छन् । हतारिएको जीवन, भागदौड, बेफुर्सदी न्युयोर्क सहरको जीवनलीला अपरम्पार छ । अँध्यारो गल्लीमा बस्नु परे पनि कामको कुनै व्याख्यान नभए पनि न्युयोर्कमा रहेका इमिग्रान्टहरू आफ्नै जीवनशैलीमा रमाएका छन् । बेफुर्सदिलो पद्धति भए पनि टोल-टोलमा आफ्नै समाज, समुदाय बनाई जीवनका अभिन्न प्रक्रियामा आफूलाई ढालेर ‘मेल्टिङ पटमा’ पग्लिएका छन् ।

न्युयोर्क सहर महँगो, साँघुरो अनि अनियन्त्रित मानवको वस्ती हो । नेपालबाट भत्ता खाई न्युयोर्कको यात्रा गर्ने नेपाली नेताहरू आफ्नो दैनिकी भत्ता बचाउन साथीभाइ, आफन्तकहाँ गुँडुल्किन पुग्छन् । त्यहाँ बसेका नेपालीहरू कति दुःख कष्ट गर्छन् त्यो मतलब नराखी घर ज्वाइँ जत्तिकै पाहुना लाग्न पुग्छन् । यूएनको सम्मेलनमा जानेहरू कतिपय लेक्सिकन मार्गमा रहेको करी इन हरि भन्ने बङ्गलादेशीले चलाएको रेस्टुराँमा खान पुग्छन् । व्यस्तताका बाबजुद पनि त्यहाँ पुग्ने अतिथिलाई त्यहाँको इमिग्रान्टले स्वागत गरी रकफेलर सेन्टर, कोलम्बस सर्कल, बाट्री पार्क, जुम्ल्याहा भवनको स्मृति रहेको ठाउँमा घुमाउन लगी दिन्छन् तर विशालकाय भवन अनि एम्पाएर स्टेटको भवन, झिलिमिली बत्तीको सामु देखिएको, टल्किएको बस्ती त्यो इमिग्रान्टको सहर वास्तविक धरातल होइन । त्यहाँ रहेका प्रत्येक इमिग्रान्टका आफ्नै कथा, आफ्नै व्यथा, अनि सङ्घर्षका गाथाहरू छन् । त्यहाँ पुगेका जति पनि इमिग्रान्ट छन् ती सबैले कठोर मिहिनेत, सङ्घर्ष गरिरहेका हुन्छन् । आफूलाई ल्यान्ड अपरच्युनिटीको देशमा आफूलाई बिसाइरहेका हुन्छन् ।

हाल – अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *