सुन्दर नगरी पोखरा


सुन्दरको अर्थ राम्रो, आकर्षक, मनोरम, बेस वा उत्तम हुन्छ । नगरीले सानो सहरलाई सङ्केत गर्छ । सुन्दर, शान्त विशाल नेपालका थुप्रै सुन्दर परिवेशहरू मध्ये पोखरा पनि एक हो । साँच्चैभन्दा सुन्दर प्राकृतिक छटाहरुले सुसज्जित मनोरम स्थल हो पोखरा । कल्पनाको स्वर्गको टुक्रा नै हो पोखराभन्दा अत्युक्ति नहोला । पोखरा उपत्यका मध्ये नेपालमा पर्दछ । सेती उपत्यका समेत भनिने यो देशकै दोस्रो ठुलो नगरका रुपमा रहेको छ । चारवटा गाउँपालिका समेत रहेको पोखरा वर्तमान नेपाल एकीकरण हुनु अगाडि कास्की राज्य अन्तर्गत थियो । क्षेत्रफलका हिसाबले देशकै ठुलो महानगरपालिका पोखरा गण्डकी प्रदेशको राजधानी हो जुन कास्की जिल्लामा पर्दछ ।

कुल ४६४.२४ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको पोखरा प्राकृतिक, धार्मिक, साँस्कृतिक सम्पूर्ण दृष्टिले सुन्दर र महत्त्वपूर्ण सहर हो । चार लाख बढी जनसङ्ख्या रहेको पोखरामा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर नेवार, थकाली लगायतको वसोबास रहेको पाइन्छ । विभिन्न मठ, नन्दिर, गुम्बा चैत्य रहेको पोखरा पवित्र भूमि हो जहाँ हिन्दू, बौद्ध धर्मालम्बीको बाहुल्यता रहेको भएपनि मुस्लिम, इसाई धर्म मान्ने मानिसहरू समेत बसोबास गर्छन् । धार्मिक सहिष्णुता कायम रहेको पोखरा साँच्चै नमुना सहर हो । समुद्र सतहबाट न्यूनतम ८२७ मीटरदेखि अधिकतम १७४० मीटर उचाइमा अवस्थित पोखरा नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलका रुपमा परिचित छ । पोखरा तालहरुको दृष्टिले पनि धनी उपत्यका हो । पोखरालाई फेवा, बेगनास, रुपा जस्ता मोहक ताल तलैया, महेन्द्र, चमेरे, गुप्तेश्वर जस्ता आश्चर्यजनक गुफाहरू सेतीको गहनता, पाताले छाँगोको छङछङाहट जस्ता प्राकृतिक छटाहरुले मात्र होइन विन्ध्यवासिनी मन्दिरको उच्चताले पनि नव बधु झै सिँगारेको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको सुन्दर र व्यवस्थित परिदृश्य शैक्षिक धरोहर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको पुतली सङ्ग्रहालय लगायतले झन् लोभ्याइदिन्छन् पर्यटकहरुलाई । यहाँका छाँगा छहरा, पाखा पखेरा, सुरम्य प्रकृति भद्रकाली या कास्कीकोट परिवेश जहाँको परिदृश्यले कसको मन नरम्ला र ?

शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तीव्र गतिमा भइरहेको पोखरा बाह्य र आन्तरिक दुवै पर्यटकहरुका निम्ति आकर्षणको केन्द्र त हो नै फेवातालमा डुङ्गा सएर गर्दै तालमा माछापुच्छे«को प्रतिविम्ब नियाल्न पाउँदाको आनन्द, रानीवनको शिरमा रहेको विश्व शान्ति स्तुप, सराङकोट या काहुँ धरहराबाट धपक्क सजिएर थपक्क बसेको पोखराले जो कोहीलाई मोहनी लगाउन सक्छ । उपयुक्त हावापानिरहेको पोखरा एक पटक घुन्नै पर्ने ठाउँ हो जसको सुन्दरताको वर्णन गर्दै थुप्रै कवि साहित्यकारहरुले कलम चलाएका छन् । थुप्रै कवि साहित्यकारहरुको जन्म र कर्म भूमि पोखरा साहित्यको उर्वर थलो पनि हो । अन्नपूर्ण पदयात्रा मार्गको प्रस्थान बिन्दु पोखरा उपत्यका पूर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्ये पहाडी क्षेत्र, काठमाडौँ उपत्यका, मध्ये दक्षिणको चितवन उपत्यका तथा पूर्व र पश्चिम नेपालको तराईसँग जोडिएको छ भने सिद्धार्थ राजमार्गले पोखरालाई पश्चिम तराई र केही पहाडी जिल्लासँग तथा भूपी शेरचन राजमार्गले उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन् । आहा ! ताल बाराही मातासँग मनोकाङ्क्षा पूर्ण होस् भन्दै वर माग्दाको समय, हावामा कावा खाँदै प्याराग्लाइडिङ वा अल्ट्रालाइट विमानमा चिल झैँ उडेर वरपरका हरियाली जङ्गल र हिमशृङ्खला अनि मिलेका बस्ती नियाल्दा वर्णन गरिनसक्नुको आनन्द मिल्छ ।

सुन्दर सहर र सुन्दर मनको धनी पोखरा जो कोहीको रोजाइको सहर हो । एकताका हनिमुन मनाउनेहरू माझ प्रख्यात पोखरा अहिले केही फरक र साहसिक खेल रुचाउनेका लागि समेत आकर्षणको केन्द्र बनेको छ । बञ्जी जम्पिङ, बाइक राइडिङ, र्याफटिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, जिप–लाइनिङ जस्ता खेलको मज्जा पोखरामा लिन सकिन्छ । धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खला नजिकै देख्न सकिने पोखराका लागि सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न पाइने सराङकोटले सुनमा सुगन्ध थपेको छ । यस्तो सुन्दर मोहक नगरलाई सबै खालका विकृतिबाट जोगाउन जरुरी छ । पर्यटकीय सहर पोखराको सुन्दरता र स्वच्छता घना बस्ती र प्रकृतिमाथिको अचाक्ली दोहनका कारण नासिन दिनु हुँदैन । सबैले विकासका नाममा विनाश नहोस् भन्नेतर्फ सजग भई भावी पुस्ताका निम्ति समेत पोखरालाई पोखराकै रुपमा जोगाउन आवश्यक छ । सुन्दरतामा कुरुपता आउन नदिनु सचेत र असल नागरिकको धर्म र सत् कर्म पनि हो ।

गोपाल खनाल
दाङसिङ–८ नुवाकोट
हाल पोखरा–११

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *