Skip to content

कुमारी धर्तीका सिमान्त चुलीहरू

  • by


बिहान सखारै ब्यूँझेर, हातमुख धोई सोफामा बसेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो, ढक्ढक्…….ढक्ढक्…….। एउटा गोरो अनुहारको फौजी भाइ मेरो सामुन्ने हाजिर भयो -अनुहारमा शुभप्रभाती शैलीको मौन सम्बोधन र हातमा अतिथि सत्कारको तातो चिया बोकेर ।

“तपाईंको घर राँके हो नि, हैन ?” त्यो तन्नेरी भाइले भन्दा म तीन छक्क परेँ । “तर इलामको चमैतातिर शिक्षक काम गर्नुहुन्छ, हैन ?” म झन् अचम्ममा परेँ । त्यो टाढाको फौजी परिवेशमा, अचानक कसैले यसो भन्दा, कि त म बिर्सुवाले परिचयको नवीकरण नगरी नहुने कुनै विस्मृत व्यक्ति हुनुपर्थ्यो, कि त सन्निकट सम्बन्धको सम्भावना गाँसिएको कुनै आत्मीय आफन्त ! तर मेरो अड्कल र अन्दाजको साँगुरो घेराभन्दा बाहिर थियो उसको अपरिचित उपस्थिति । यसरी उसको परिचय नखुट्टदिा मैले पनि प्रतिप्रश्न गर्न बाध्य हुनै पर्‍यो । “होइन, भाइको पनि त्यतै हो कि ?” उमेरले भरखर कोरी वर्ष मात्रै नाँघ्न लागेजस्तो देखिने त्यो अल्लारे भाइ मुस्कुराउँदै बोल्यो “मेरो घर रवि हो नि सर !”

त्यो सुन्दर रविहाटे राईभाइ पहिलो छुट्टी बिताइवरी पल्टन हाजिर हुन आइपुगेको साता दिन मात्रै बित्दैरहेछ । रविबाट इलाम, फिदिम जाँदाआउँदा राँकेतिर देखेको रहेछ उसले मलाई र अरूकै मुखबाट म शिक्षक भएको कुरा पनि थाहा पाएको रहेछ उसले । उसले थपिदिएको तातो चिया पिइसक्नासाथ मभित्र नयाँ स्फूर्ति र जाँगर सञ्चार भयो । त्यसमाथि उसले वान्तवा भाषामै बात सुरू गरेपछि त झन् निकटता र आत्मीयताको अनुभूतिद्वारा अभिभूत हुनगई त्यो चिसो र बिरानो बिहान, मेरो निम्ति न्यानो र प्रफुल्ल प्रभाती प्रहरमा परिवर्तित भएको महसुस गरेँ मैले । उनी, हाम्रो दलका सबै जना ठूलासाना सदस्यहरूलाई चिया बाँड्न व्यस्त भए । यतिकैमा होलिडे होम बाहिर टिँ……टिँ…..टिँ……हर्न बजाएर आफ्नो उपस्थितिको जनाउ दिँदै थियो पासाङ पनि । केहीबेरमै ऊ फूर्तिका साथ कोठाभित्र हाजिर भयो । दज्र्यानी चिहृनसहितको सुवेदारी बर्दीमा ठाँटिसकेका एल.बी. मुस्कुराउँदै बोले-

“हैन हजुर, राति कता हराइयो सुटुक्क, कतै बन्दोबस्त थियो होला पक्कै ?”

“कस्तो बन्दोबस्त ? ”

“त्यही नि हाबीजाबीको । ”

“आ ऽऽ ब्रो पनि डल्लै सस्पेन्स गरेको ? म म्यारिड मान्छेलाई केको बन्दोबस्त ? ”

“मध्यरातमा हराउँदा नगर्नु त ”

“यहीँ तल दिदीको घर छ, हिजो भाञ्जीले फोन गरेको बिर्सनु भयो ?”

“मान्छेलाई यसरी अभर पार्न पाइन्छ त ? ”

“अभर त तपाईंको थ्री एक्सले पो पार्‍यो त”

हाँसोको फोहरा उठ्यो । त्यो होलिडे होममा एकाबिहानै ! नभन्दै पासाङ अभर नै परेको थियो बेलुका । ऊ यहीँ बसेको भए, सुवेदारमेजर र हवल्दारसापहरूले कोचेरै छाड्ने थिए होलान् । नेपालीहरूको एउटा साझा प्रवृत्ति छ-‘सत्कारको नाममा कर गरीगरी खुवाउने, पियाउने । यस्तो बेला ‘खान्न’ या ‘खानुहुन्न’ भन्नेहरूको सानो सङ्ख्यालाई ‘खाँदा केही बिग्रन्न’ भन्नेहरूको हूलले उक्साउँछ र ‘खानैपर्छ’ भन्नेहरूको भीडले मिच्दा राम्रा र सरल साधुमान्छेहरू पनि खाँटी नम्बरका जँड्याहा भएर गएको प्रशस्त उदाहरण, कुनै दिनको नामुद पियक्कड रहिसकेको म आफैँले देखेभोगेको कुरा हो ।

“आज एकाबिहानै राम्ररी हाँसियो, छाङ्गु नपुगी डल्लै भोक लाग्ने भो, हो !” मिलेका श्वेत दन्तलहर देखाएर किच्च परिरहेको त्यो सुन्दर युवा, प्रत्येक सिटका ढोकाहरू लगाउँदै स्टेयरिङ सम्हाल्न बस्यो ।

हामी ग्यान्टोक सहरको बीचको सडकबाट अघि बढ्न चाह्यौं तर ट्राफिक प्रहरीको ‘वान वे’ को नियमलाई उल्लङ्घन गर्न नदिँदा, हाम्रो गाडी उत्तरपश्चिमतर्फको निकै लामो दूरी तय गरी पुनः पूर्वतर्फ मोडियो । त्यो केहीबेरमै छोग्याल राजाहरूको पुरानो शैलीको दरबारलाई दायाँतर्फ पार्दै एउटा अग्लो थुम्को माथि उक्लियो । फेरि २०/३० मिटरको ओरालोमा सुलुलु चिप्लिँदै गएर अगाडिको तेर्सो बाटोमा घ्याच्च रोकिँदा, हाम्रो सामुन्ने ‘ग्यान्टोक शून्य माइल’ लेखिएको पिलर तथा लामो ढाट तेस्र्याएर एक्लै ठिङ्ग उभिराखेको चेकपोस्ट देखापर्‍यो । पासाङ र एल.बी.दाइ गाडी दर्ता गर्न चेकपोस्टभित्र गए । रोडपासको एकप्रति कागज उनीहरूले त्यहाँ बुझाए । ग्यान्टोकदेखि नाथुला नाकासम्मको ५९ कि.मि. लामो यात्रामा निस्किँदा, बाटामा सबै चेकपोस्टहरूमा, उक्त कागज कतै देखाउँदै र कतै बुझाउँदै जानु पर्दोरहेछ । गैह्र सैनिक यात्रुबाहक गाडीहरू कतिपयलाई त सानो कुरा नमिल्दा पनि उल्टै दिशा फर्काइदोरहेछ तर हामीलाई भने हाइसञ्चो थियो । किनभने हामीसँग सबै वैधानिक कागजहरू दुरूस्त थिए भने अर्कातिर सेना चढेको गाडीलाई कमै मात्र रोकिने यस क्षेत्रमा, हाम्रा फौजी दाइ एल.बी. सुवेदार मेजरको दज्र्यानी बर्दीमा सजिएर, गाडीको अघिल्लो सिटमै विराजमान थिए । नभन्दै हामीलाई कतै पनि अप्ठ्यारो परेन । कतिपय चेकपोस्ट रोक्नु त परै जावोस् उल्टै एल.बी. लाई सलाम ठोकेर ढाट खोलिदिन्थे ।

दायाँबायाँ दुवैतर्फ कुँइक्क मोडिएका अनगिन्ती घुम्तीहरू पार गर्दै हाम्रो गाडी अब पूरै उजाड र प्याङ्खर पाखोमा उकालो काटिरहेथ्यो । झ्यालबाट झल्याकझुलुक् देखिने वारिपारिका वस्तीहरू बिलाउँदै गए भने सीधै पारिको विशाल घना जङ्गल चाहिँ हाम्रो दृष्टिमा धेरैबेर परिरह्यो । ‘डरलाग्दा बाघभालुहरू पाइन्छन् त्यहाँ, पासाङ भन्दै थियो । वन साह्रै सुरम्य थियो । यस्ता सुन्दर प्राकृतिक वन जङ्गलहरू कुनै वेला नेपालका सुन्दर गहना र अकुत सम्पत्तिको ढुकुटी नै मानिन्थे तर अब ती सब कथा बने । तराईका फाँट र पहाडका पाखाहरू सबै खुइलिइसकेका छन् । अब पनि कसैले ‘नेपालको धन हरियो वन’ को बखान गर्छ भने उसले निश्चय नै हेन्डरसनको बादशाहले लगाएको नयाँ पोसाक पहिरिराखेको हुनेछ । नेपालले निकट भविष्यमा भीषण पर्यावरणीय सङ्कटलाई सामना गर्नुपर्ने र त्यसको चर्को मोल चुक्ता गर्नुपर्ने तीतो आशङ्काले मन अमिलो भएर आयो मेरो ।

दुई, तीनवटा साँघुरा घुम्तीहरू पार गर्नासाथ हामी ‘तीन माइल’ लेखिएको ठाउँमा पुग्यौँ । अब यहाँ भन्दा उँभोको बाटो साँगुरो मात्र होइन, निकै उकालो पनि थियो तर बाटो भने सबै पक्की थियो । ‘पाँच माइल’ र ‘सात माइल’ जस्ता स-साना सैन्य क्याम्पहरू उछिन्दै जाँदा अघिको घनावन धेरै तल छोडिइसकेको थियो । एक नम्बर गियरका निकै कर्कश आवाज निकाल्दै र निकै नमीठो थर्को दिँदै तथा कालो धुँवाको मुस्लो फ्याँक्दै, स्याँस्याँ, फ्याँफ्याँको उच्छ्वाससहित, उकालोमा धपेडी मच्चाइरहेको हाम्रो गाडीले एउटा लामो घुम्ती काटेर अगाडि हुत्तिँदा हामीले आफूलाई एउटा अजङ्गको चट्टानी भीरमा पायौँ । ”अम्बो, यत्रो विशाल भीर त कहीँ देखेको थिइनँ मैले !” राज्य नानाले हठात् डर ओकलिन् । ”अम्बो, अम्बो !” नम्रता र सनमले दिदीले उच्चारण गरेको शब्द दोहोर्‍याए । जम्मु-काश्मिरबाट सरूवा भई दुई वर्ष अघिदेखि दार्जिलिङ बस्न थालेकी नानाको जिब्रोले दार्जिलिङ भाखा टिप्नु कुनै अनौठो कुरा थिएन । ”अम्बो ऽऽ हेर्नुस् त नाना झन् कत्रो ठूलो भीर’ नम्रताले यसोभन्दा साँच्चि नै हामी अघिको भन्दा कैयौँ गुणा ठूलो चट्टानी भीरलाई बीचबाट चिरेर गएको साँघुरो बाटो भएर धिमा गतिमा अघि बढ्दै थियौँ । ”ए नानी, एकछिन गाडी रोक त………लु म ता झ्यालपट्ट ि बस्नै सक्दिन, रिङ्गटा लाग्यो उँधो हेर्दा” बडीआमा सासू धनमायाले भनिन् । नभन्दै सातोपुत्लो उडाउने खालकै थियो त्यो अकरको भीर । उँधो सयौँ मिटरमाथि झुण्डिबसेका यामान यामानका ढुङ्ग्ााहरू उँधो झन् जीउ नै सिरिङ्ग बनाइदिने छाङछुरे पहरो । त्यो भीरबाट तारिसकेपछि पासाङले गाडी साइड गर्दै भन्यो, ”लु हेर्नुस् यो सातो उडाउने भीर, फोटोहरू पनि खिच्नुहोस् । कति हो कति कुल्लीहरू मरेका रे यो बाटो निकाल्दा” पासाङ भन्दै थियो । नभन्दै आफ्नो र परिवारको पापीपेटको समस्या हल गर्न केवल सुक्को पैसामा, यस्ता अनेकन अकरका भीर र पहाडहरू फोर्दै जुनी गुजारे कैयौँ मजदुरहरूले । एक छाक खान र एक आङ ढाक्न ज्यानै अर्पे उनीहरूले । जसको कुनै लेखा छैन, कुनै मूल्याङ्कन छैन । इतिहास त्यही ज्यानमारा महरोझैँ मौन छ, निस्तब्ध छ ।

यस्ता सानाठूला पहराहरूलाई चिर्दै र असङ्ख्य घुम्तीहरू छिचोल्दै अघि बढेको हाम्रो गाडी अचानक मनै एकोहोरो बनाइदिने सानो उपत्यका भन्नलायकको स्थानमा पुग्यो । ”तेह्र माइल” एल.बी.बोले । मसिना र घुरिला डाँडाहरूले छेको मारेको तेह्र माइलबाट अर्को पक्की सडक दक्षिणपूर्वी दिशातर्फ फारिएर गएको थियो । सायद कुपुप या जलेप्लातर्फ जाने सडक थियो त्यो । तेह्र माइलबाट सीधै पश्चिमी पाटोमा पूरै उध्र्वगामी खडा ढालसहितको एउटा विशाल हिमाल झलमल्ल देखा पर्‍यो । त्यो कुन हिमाल थियो खुट्याउन नसक्दा छेवैमा उभिइरहेको एउटा कालो अनुहारको सिपाहीलाई सोधेँ मैले ”ऊ त्यो हिमाल कुन होला ?”

”हुँम क्या पुछा आपने ?” मैले हिमाल औँल्याएँ । ”वो ही कञ्चनजङ्घा है !” सेना मुस्कुराउँदै बोल्यो, “अभी तक पुस्तक व पत्रिकाओंमे पढाथा, आज आँखो से ही देखनेको मीला आपको !” तर एक दुईपल्ट कञ्चनजङ्घाको आँगन टेकिसकेको मलाई त्यो विशाल एकपाटे हिमाल कञ्चनजङ्घा नै हो भनेर पत्याउन गाह्रो भयो । दार्जिलिङको लेबुङ्ग, इलामको सन्दकपुर, पाँचथरको पौवाभञ्ज्याङ तथा ताप्लेजुङको पाथिभराबाट देखिने कञ्चनजङ्घा थिएन त्यो तर सौन्दर्य र आकर्षणको हिसाबमा कम चाहिँ थिएन । उच्च हिमाली क्षेत्रको पदयात्रामा प्राप्त हुने एउटा अनौठो अनुभव या विशिष्ट अनुभूति के हो भने, जति-जति नजिक या टाढा-टाढा हुँदै गयो त्यतित्यति नै हिमालहरूले आफ्नो स्वरूप रूपान्तरण वा आकृति परिवर्तन गर्दै लान्छन् ।

पोखराको फेवा तालमा, आफ्नो चरम सौन्दर्यसहित ऐना हेरिरहने, टुप्पा तिखारिएको चुचुरो, घान्द्रुङ पुग्दा ठ्याक्कै माछाको पुच्छर भएर पर्यटकहरूलाई चकित तुल्याइरहेको हुन्छ । बागलुङबाट देखिने साँढे गोरुको विशाल जुरोजस्तो धवलागिरि मुस्ताङ पुग्दा पूरै तिखारिएको हुन्छ । दक्षिणी पाटोबाट देखिएको अन्नपूर्णको आकृतिले मनाङबाट अर्कै दृश्य प्रस्तुत गर्दछ । त्यस्तै वसन्तपुर क्षेत्रबाट देखिने साह्रै सुन्दर मकालु, तोक्मेगोला पुग्दा अर्कै स्वरूपमा हाजिर भइसकेको हुन्छ भने सुदूरपूर्वी सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथा सानो श्वेत ढिस्कोजस्तो मात्र देखिन्छ । यसरी स्वरूपमा विविधता तर आकर्षणमा एकरूपता हिमालको विशिष्टता हो । वास्तवमा हिमालयको सर्वोच्च सौन्दर्य सर्वदा अपरिवत्र्य र अपरिभाष्य रहिरहन्छ ।

तेह्र माइलबाट त्यो पक्की सडकले हामीलाई अब केही उत्तरापन्थको दिशातर्फ डोर्‍याउन लाग्यो । सत्र माइललाई नाघिसकेपछि दायाँबायाँतर्फका गोब्रे र ठिँगुरे सल्लाका सुरम्य वनहरू पातलिँदै गए तथा उच्च हिमाली क्षेत्रका काढेँदार बुट्यानहरू देखापर्न लागे । केही बेरपछि नै दुईवटा अग्लाअग्ला पहाडको साँगुरो खोँच भएर एउटा कुल्कुले खोल्सी हतारहतार बगिरहेको देखियो । साँगुरो किनाराहरूलाई रजत फिँजका फूलहरू बाँड्दै तथा तार सप्तकको तीव्र सङ्गीत सुसेल्दै अघिबढिरहेको त्यो सानो सरितालाई देखेपछि हामी छाङ्गु नजिक पुग्न लागेको लख काटेँ मैले । नभन्दै एल.बी.दाइ बोले-“छाङ्गु पुग्नै लागियो है ।” अघि बढ्दै जाँदा, २/४ वटा घरहरू झुरूम्म उभिइरहेका भेटिए । सायद सेना बस्ने क्याम्प नै थियो त्यो । त्यस बस्तीलाई दुई तीन फन्को मारेर, भञ्ज्याङजस्तो ठाउँमा फुत्त उक्लिँदा हामी सबैलाई अग्लाअग्ला लङ्गुरहरूले हावा हम्केर शीतल स्वागत गरे तथा सामुन्ने झ्वाम्म देखापर्‍यो-सहस्रौँ लहरको कम्पन तथा तरङ्गको थर्थराहटमा नृत्यनिमग्न विशाल नीलो ताल ‘छाङ्गु’ । तालको पश्चिमी किनारापट्ट िएकै लहरमा धेरै वटा पसलहरू पनि रहेछन् । मसिना या साना रूपाकृतिका ती पसलहरू यात्रुहरूलाई खाना नास्ता पस्कँदा रहेछन्, कतिपयले पर्यटकहरूलाई परम्परागत सिक्किमे, लाप्चे र तिब्बती भेषभूषा तथा आभूषण अनि महँग्ाा-महँग्ाा हस्तकलाका सामानहरू बेच्दा रहेछन् भने कतिपयले चाहिँ तिनै परम्परागत वस्त्र र आभूषणहरू भाडामा उपलब्ध गराइ फोटो खिच्ने र खिचाउने प्रबन्ध मिलाउँदा रहेछन् । एक ठाउँ दुईवटी दक्षिण भारतीय श्यामल सुन्दरीहरू बख्खु, पाङ्देन र तिब्बती भुत्ले टोपीमा सजिएर फोटो खिचाउँदै थिए । फरक रक्तसमूह या रङ्गरूपका मानिसहरू विजातीय भेषभूषामा सपक्क सजिँदा कसैकसैले अनौठो या असुहाउँदिला देख्लान् तर म भने दुईवटा फरक संस्कृतिको सुन्दर संयोजन हुनगई स्थापित हुनसक्ने सांस्कृतिक सहवरणको सौह्रार्द सम्भावनालाई देखिरहेथेँ ।

हामीले पहिले चिया पिउने त्यसपछि फोटो खिच्ने निधो गर्‍यौँ तर पासाङ हतारियो, “भरे फर्केर आउदा खाना खाने ठाउँ यहीँ हो, त्यतिबेलै फोटो खिचौँला, जौँ ।” “हैन केको हतार ?” हाम्रो मनसाय बुझेर एल.बी.बोले । “केही बेरपछि नाथुलामा कुहिरो लाग्नसक्छ, रमिता हेर्न नपाइएला ।” ……पासाङको कुरा पनि सही नै थियो तर पनि उसको आग्रहलाई अवज्ञा गर्दै ठाउँठावै फोटो खिच्न थाल्यौँ हामी । फेरि भएन नाथुलातिर कुहिरो लाग्ने सम्भावना कमै थियो आज । आकाशमा बादलको एउटा थेग्लासमेत देखिँदैनथ्यो । बरू प्रभाती वयमा बढिरहेको शारदीय सूर्य त्यो स्वप्निल सरोवरको ऐनामा आफ्नो चहकिलो अनुहार नियालिरहेथ्यो ।

“सुन्नु त कैले काहीँ म तपाईंलाई सुनाउँथे नि !”

“के ?”

“क्या त म जहिल्यै ठूलो न ठूलो पोखरीमा पुगेको सपना

सुनाउँदिनथेँ ?”

“अनि के त ?”

“कस्सम् होला, मैले सपनामा देख्ने गरेको पोखरी यही हो । म यस्तै ठाउँमा आइपुग्थेँ, यस्तै घरहरू र यस्तै अग्लाअग्ला पहाडहरू हुन्थे ।”

आज अचानक यहाँ आइपुग्नासाथ मीना आफ्नो खुसी, प्रसन्नता र प्रफुल्लताको पहाड चढिसकेकी थिई । त्यसमाथि आफूले देख्ने गरेको सपनाको सादृश्यता त्यो भौतिक परिदृश्यसँग ठ्याक्क मिल्दा ऊ, आफ्नो उमङ्ग र उत्सुकताको उत्कर्षमा उक्लिसकेकी थिई । प्रायः यात्रामा त्यति रूचि नराख्ने, बरू आफ्नै घरधन्दा र काम व्यवहारमा व्यस्त रहन मन पराउने मेरी जीवनसङ्गिनीलाई खुसीले यसरी ढकमक्क फक्रिएको देख्न पाउँदा म झन् दोब्बर खुसी हुन पुगेँ । हुन पनि ऊ प्रायः पोखरीहुँदै पुगेको सपना देख्थी र एकाबिहानै सुनाउँथी मलाई । नभन्दै सपना गतिलै रहस्य पनि त हो । के थाहा, अवचेतन मनको टेलोप्याथीले मीनालाई सपनामा यतै ल्याइपुर्‍याउँथ्यो कि ? हामीले दुई चार स्न्याप फोटोहरू खिच्यौँ । अचानक ऊ चुकचुकाई “थुक्क, समीर र सरोजलाई पनि ल्याएको भए हुने रहेछ ।” हामीले सानो केटालाई मात्र ल्याएका थियौँ । यतिकैमा नम्रता मनेर आएर विस्तारै बोली-“भेना ऊ त्यो परको ढुङ्ग्ाोमाथि चढौँ न ल ।” तालको उत्तरपश्चिम किनारामा, लाम्चो आकारमा फैलिएर बसेको एउटा गतिलो ढुङ्ग्ाो थियो, जहाँबाट तालको आधाभन्दा बेसी जलखण्डलाई पृष्ठभूमिमा पारेर फोटो लिन सकिन्थ्यो । सोनम र नम्रतासँग त्यतै लम्केँ म । मैले उनीहरूको फोटो लिएँ । सोनमले मेरो खिचिदिई । गाडीमा हर्न बज्न लाग्यो । सोनम गाडी भएतर्फ दौडी ।

छाङ्गुभन्दा माथि एउटा सानो बस्ती हो या सैन्य क्याम्प थियो-शेराथाङ्, जहाँबाट एउटा सडक चोलातर्फ गएको थियो । त्यसलाई बायाँतर्फ छोडेर हामी सीधै उकालो हान्नियौँ पूर्वतर्फ । अब चारैतर्फ अग्ला-होचा लङ्गुरका चट्टानी श्रेणीहरू देखापर्न लागे । जताततै ट्रेन्च र सानातिना पोस्टहरू थिए भने बाटोमा जहीँतहीँ सेनाहरू ओहोरदोहोर गरिरहेका भेटिन्थे । एक ठाउँ सानो टहरोजस्तो पोस्टमा एउटा जुँगामुठे सेनाले हाम्रो गाडी रोक्यो । अगाडि बसेका एल.बी.लाई सलाम ठोक्दै त्यो सेनाले हिन्दीमा के जनाउ दियो भने ”नाथुलाबाट साहवहरू चढेको गाडी फर्किंदैछ त्यसैले नआइपुगुञ्जेल हामीले यहीँ रोकिनुपर्छ ।” गाडी साइडगरेर पासाङसँगै हामी ओल्र्यौं । “अघि मैले हतार गरेको कुरा बुझ्नुभो ?” मुसुमुसु हाँस्दै पासाङ बोल्यो । नभन्दै त्यहाँभन्दा माथिको बाटो झनै साँगुरो रहेछ, सबै ठाउँमा गाडी क्रस नहुँदा रहेछन् । अझ एघार-बाह्र बजेपछि त छाङ्गुबाट उकालो लाग्ने गाडीहरूलाई चान्स नै नहुँदोरहेछ किनभने त्यतिबेला नाथुलाबाट झर्ने सेनाका गाडीहरूको लर्को नै छुट्दोरहेछ । केही बेरपछि सैन्यवाहनले हामीलाई क्रस गर्‍यो । गाडीमा हुँइकिरहेका साहेबहरूलाई एल.बी.ले सलामी अर्पण गरे । सापहरूले देखुन् या नदेखुन् सामुन्ने या दायाँबायाँ जतै परे पनि स्यालुट चढाउनै पर्ने सेनाको मानमनितो पनि गजबकै छ । केहीबेर अघि छाङ्गु माथिको एउटा चेकपोस्टमा कागजपत्र बुझाउन पस्दा दुई जना अलि पाको उमेरका सेनाहरूले एल.बी.लाई सानका साथ सलाम ठोकेका थिए तर सलामी फर्काई सक्दानसक्दै त्यहीँ आइपुगेका दुईवटी भर्खरका केटीहरूलाई त्यहीँ सलाम फर्काउन उत्तिकै हत्तार भएको थियो उनलाई । सोनमले छक्क पर्दै सोधेकी थिई “अब्बुई भेना, छोरी भन्न सुहाउने केटीहरूलाई सलाम ठोक्नु भो त …..कतै छोकरीहरूलाई जिस्काएको त हैन ?” “मान्छेलाई सलाम ठोक्या हो र मैले ? पदवीलाई पो ठोक्या हो त ।” हाँस्दै ऐलान गरेका थिए उनले । एक ठाउँ ठूलो चौरमा इँटा आकारका चुन पोतेका ढुङ्ग्ााहरूद्वारा अक्षरको आकृति मिलाएर लेखिएको थियो । ‘हौसले बुलन्द’ यसबाहेक ठाउँठावै ‘इक्काइसवी वञ्जाव काली विल्ली’ ‘जहाँ खतरा वहाँ डोगरा’ आदि लेखिएका चौरहरू थिए । साँगुरा मोड र कुइनेटाहरू तथा केही झुप्राझुप्री चेकपोस्टहरू नाँघेर हाम्रो गाडी एउटा फराकिलो पार्किङस्थलमा रोकियो । त्यहाँ २/४ वटा राम्रा घरहरू थिए, सायद सीमा सुरक्षावलको अफिस थियो त्यो । अब हामी नाथुलाको गेटमै आइपुगेका थियौँ । हाम्रो सामुन्ने नजिकै एकापट्ट िमात्रै हिउँ जमेको चुली मुस्कुराइरहेथ्यो । त्यसभन्दा मुनिको अर्को चुलीमाथि पक्की चर्पीघर जत्रै र त्यही आकृतिको टहरो देखिन्थ्यो । “पोस्ट हो भाइ त्यो ?” एल.बी. बताउन लागे । “रात दिन त्यहाँ ड्युटी बस्नुपर्छ, बडो कठिन हुन्छ यस्तो काम, हावा हुरी, हिउँ, असिना केही भन्न पाइन्न ।”

उनले एकै सासमा बखान गरे र लामो खुइया काडे । हिँड्दा सबै लामो सास तानिरहेका थिए । प्रष्ट थियो अब सबैलाई उच्चाइले असर पुर्‍याइरहेथ्यो । “तिमीलाई कस्तो छ हँ ?” मेरै पछिपछि आइरहेकी मीनालाई सोधेँ मैले । “अहँ केही भाको छैन है” उसले उत्तर दिई तर सासू तत्कालै बोलिन् “अरे ! मेरा त गोडा फतक्क गले ।” “लेक लाग्यो त्यसो भए त !” अर्की सासू बोलिन् । सबैलाई लसुन टोक्न र सुइचो सुँघ्न लाए एल.बी. ले । हामी पुनः अघि बढ्यौँ सिँढी नै सिँढी उक्लँदै । राति परेको हिउँ पग्लेर बाटो अलि चिप्लो भएको थियो । माथि भञ्ज्याङमा गोलाकार आकृतिमा निर्मित रेस्टहट या रमिते घर प्रष्ट देखिन लाग्यो । “यस्तो हिमालमा पनि कति चिटिक्क परेका घर ।” सासू मनकुमारीले तारिफ गरिन् । दृश्यहरूले अब हामी नाथुला उक्लिसकेको पुष्टि गर्दै थिए । त्यो सुन्दर भञ्ज्याङबाट उताको चिनियाँ भूमि कस्तो होला ? मनमा उठेको उक्त खुल्दुलीले मेरा गोडा अझ फूर्तिलो पाराले अघि लम्के । नभन्दै दलको अगुवा म नै भएँ । भञ्ज्याङ उक्लिनासाथ उता हेरेँ । झलल्ल मेरा आँखामा एउटा सुन्दर हिमाल ठोकियो-चोमुलारी ।

हेर्न बाँकी “आहा ! कति राम्रो हिमाल” छेवैमा आइपुगेकी सोनम लामो सास तान्दै बोली । “अरे हिमाल त यता पनि रहेछ, कति नजिक” आफ्ना चिसिएका हातहरूलाई तताउन पेन्टको खल्तीमा घुसार्दै नम्रता बोली, “हाम्रो नेपालतिरकै हिमाल जस्तो छ नि, भेना ।” ऊ त्यो एकल हिमालको शुभ सौन्दर्यकै सापेक्षतामा अनारदानाझैँ मिलेका श्वेत दन्तलहर देखाएर मुस्कुराई रही ।” “कहाँ पो देखेकी थिएँ हौ यस्तै रूपको हिमाल त ?” सोनम आफ्नो सम्झनाको खातमा अड्कल उधिन्दै थिई, “कस्तो बिर्सें कहाँ पो देखेकी थिएँ ।” सायद काठमाण्डू जाँदा देखेकी थिई होली । नभन्दै त्यो हिमाल नगरकोटबाट देखिने दोर्जे लाक्पाजस्तै थियो । मेरो शरीरबाट केहीछिन अघिको सारा पसिना र थकान बिलाएर गयो । “जसरी बिहानको शीतलाई घामको किरणले सुकाउँदछ, त्यसरी नै मानवजातिको यावत पापलाई हिमालयको दृश्यले पखाल्दछ ।” मैले हठात् स्कन्दपुराणको यो सारगर्भित उक्तिलाई स्मरण गरेँ । नाथुला नाका त्यति फराकिलो भञ्ज्याङ त रहेनछ । आमने-सामनेका चुलीहरूमा भारत र चीन दुवैतर्फका असङ्ख्य पोस्टहरू थिए । तुलनात्मकरूपमा चीनपट्टकिा पोस्टहरू अलि राम्रा देखिन्थे । भञ्ज्याङमै थुरिएको बाटोबाट ५/७ जनाको चिनियाँ टोली चुली माथिको पोस्टतर्फ उक्लँदै थियो । ती चिम्से चिनियाँहरूलाई देखेर सासू धनमाया बोलिन्-“अरे, चीनका मान्छेहरू त हाम्रै राईलिम्बूजस्तो पो हुँदारहेछन् त ।” नाथुलाबाट उत्तर-पश्चिमपट्ट ितिब्बती भू-भागको विशाल क्षेत्र देखिन्थ्यो-एकलासको जङ्गल, अज्ञात उपत्यकाहरू, सुनसान चौर, चौरलाई चिर्दै गएका निरन्तर गोरेटाहरू, अजङ्गको चट्टानी भीरहरू र तिनै भीरभन्दा माथि आफ्नो सम्पूर्ण सौन्दर्यमा मुस्कुराइरहेको चोमुलारी । चीन र भुटानको सीमास्थिति चोमुलारी २३,९९७ फुट अग्लो छ । भञ्ज्याङ मुनि त्यस्तै एक डेढ किलो मिटरको दूरीमा २०/२५ वटा घरहरू देखिन्थे । मुनितिर केही खनजोत गरिएजस्तो जमिन पनि देखिएकोले त्यो कुनै वस्ती होला भन्ठानेँ मैले । सोको निक्र्यौल गर्न नजिकै उभिएको सेन्टि्रलाई सोधेँ । “नही वो वस्ती तो नही हैँ । न्यु वेसक्याम्प है चिनियोँका । खेतीवाडी तो होता ही नही ऐसी वफिर्ली जगहो पर ।” एकछिन मतिर नजर लाउँदै त्यो सेन्टि्र पुनः बोल्यो ‘समझिए कि यस तो पुरी तरह भर्जीनलैन्ड है । ” नभन्दै यो कुमारी धर्ती नै त हो, कहीँ खनजोत नगरिएको मानवीय चाहना, लालसा र आवश्यकता पूर्तिमा यो कुमारी धर्तीको छाती कोतरिएको छैन- बाटाघाटाहरू खनिएबाहेक र प्रत्येक चुलीमा आर्मी चेकपोस्टहरू पूर्तिमा यो कुमारी धर्तीको छाती कोतरिएको छैन- बाटाघाटाहरू खनिएबाहेक र प्रत्येक चुलीमा आर्मी चेकपोस्टहरू ठडिएबाहेक तर यसले पनि बारूदको विषक्त धुवाँमा निसास्सिनुपरेको थियो । बम र बन्दुकको प्रहारलाई आफ्नै शिरमाथि थाप्नुपरेको थियो । अथवा यसले पनि मानवीय अहँकारको विवेकहीन गर्जनलाई सुनेको छ, लास र रगतको विभत्सतालाई देखेको छ । १९६३ को भारत-चीन युद्धले यस क्षेत्रलाई नराम्ररी गाँजेको थियो । त्यसो त यो क्षेत्र सर्वदा संवेदनशील अवस्थाबाट गुजि्ररह्यो । सन् १८६० को सुरू दशकदेखि नै तिब्बत कब्जा गर्ने ध्याउन्नमा लागेका तत्कालीन इस्टइन्डिया कम्पनीका अङ्ग्रेजहरूले यसै क्षेत्र भएर लुङथुङ, लीना र नियाङ्ला पर्वतसम्मै घातक हातहतियारहरू प्रदर्शन गरिसकेका थिए । सन् १८८८ मा लुङथुङ पर्वतमा भएको अङ्ग्रेज तिब्बत युद्धले वीर बलभद्रको नालापानीको युद्धको स्मरण गराउँछ । तिब्बतीहरूले पनि साम्राज्यवादीहरू विरूद्ध भाला, तरवार, धनुकाँड र घुँएत्रोको प्रयोग गरी वीरतापूर्वक बम र बन्दुकको सामना गरेका थिए । सन् १८९० मा सिक्किम अङ्ग्रेज अधिनस्थ भइसकेपछि त चोला, नाथुला र आसपासका सबै नाकाहरू सामरिक मार्ग नै बन्न पुगे । याटुङको व्यापारिक केन्द्र हात पार्न सन् १९०३ मा अङ्ग्रेज अफिसरद्वय याङहस्वैन्ड र म्याक्डोनाल्डोको नेतृत्वमा तेह्र हजार सेना, त्यतिकै सङ्ख्यामा हातहतियार बोकेर यसै क्षेत्रबाट तिब्बत घुसेको थियो ।

“यह बाड मत छोइए जनाव” मेरो सामुन्ने एउटा अग्लो न अग्लो डोग्रा सिपाही आएर कड्कियो, “साहब पधार रहे है, पिँछे हट जाइए सब लोग ।” पछाडि रेस्ट हटनेर एकजना मझौला कदका व्यक्ति हाजिर भइसकेका थिए । खाकी रङको वर्दीमा ठाँटिएका ती व्यक्तिलाई सलाम ठोक्न एल.बी.दाइसमेत त्यहाँको फौजी टुकडीमा सामेल भए । ‘गड्याम् गड्याप्’, -सलाम लिने व्यक्तिले सामान्य हात मात्र उठाए । “ठूला पदका मान्छे भाइ, लेप्टिनेन्ट जनरल” एल.बी.दाइ मेरो कानमा फुस्फुसाए । ती लेप्टिनेन्ट जनरलसँग उनकी पत्नी र आवश्यकताभन्दा अलिवेसी मोटाएकी एउटी छोरी पनि थिई । तीनै जना अङ्ग्रेजीमा वात मार्दै थिए । सबैले फोटो खिचाए । दूर्बिनले चोमुलारी हिमाललाई नजिक पार्दै नियाले । त्यति नै बेला मेरो फुच्चे सुमन पनि ती साहबकै सामुन्ने पुगेर उनको छातीमा झुण्डिवसेको दूर्बिर्नलाई ठाडो घाँटी लगाएर हेर्न लाग्यो । “अरे ! यह छोटा सा बच्चा भी यहाँ पर ?” साहबले आश्चर्य ओकले । “जी साहब मेरा भतिज है” एल.बी. दाइ तुरून्त फौजी फूर्तिका साथ बोलेँ । आफूतिर ट्वाल्ल परेर हेरिरहेको फुच्चेको शिरमाथि आफ्ना नरम पञ्जासहितको हात राखेर मुस्कुराउँदै ती जर्साप बोले -“अच्छा तो ठीक है, बच्चे बुड्ढे सभीयोँको आना ही पडेगा ऐसी जगहो पर तो ……..” उनी त्यही मुस्कानसँगै खल्ती छाम्न लागे । सायद मेरो फुच्चेलाई चकलेट या त्यस्तै केही दिन चाहिरहेथंे तर अचानक त्यहाँ आइपुगेको अर्को सैन्य टुकडीको पनि गड्याम् गड्याप् आवाजले उनको ध्यान भङ्ग भयो । उसकी छोरीले एउटी टफी दिई मेरो सुमनलाई । ऊ पनि बाबुकै पाराले मुस्कुराउँदै बोली, ‘What a fatty lad ! imn……….doesn’t feel cold ” (कस्तो मोटो केटो-उँहुँम् जाडो पनि मान्दैन) तर मोटो मेरो केटो हैन ऊ नै थिई पूरै थसुल्ली ।

उनीहरू त्यो सुन्दर गोलघरको बरण्डामा सजाइएको कुर्सीमा बसेर थर्मसबाट तात्तातो कफी सार्दै पिउन लागे । अनि केहीबेमै ओरालो लागे तर हामीलाई भने त्यति चाँडै फर्किनु थिएन । मन अघाउञ्जी रमिता हेरिराख्नु थियो । सुनसान र सुन्दर वातावरणमा केही घण्टा सास फेर्न पाउन पनि सौभाग्यको कुरा हो । नभन्दै शान्ति र सौन्दर्यको शालीन संयोजनले मात्र संसारलाई अर्थपूर्ण बनाएको हुन्छ । जहाँ अशान्ति छ त्यहाँ सौन्दर्यको अस्तित्व रहन सक्दैन । जसरी आँधीहुरी र असिनाबीच फूल फुल्नै सक्दैन । जहाँ अविश्वासको धुँवा र अहङ्कारको आँधी उठ्छ, त्यहाँ सद्भाव र सिर्जनाको शिलान्यास हुँनै सक्दैन । चौध हजार ४२० फुटको उचाइमा रहेको यो सुन्दर नाकाबाट वर्षौं अघि चीन र भारतबीच सटही व्यापार चलेको थियो । सन् १९६३ को सीमा युद्धपछि त्यो अबरूद्ध हुन पुग्यो तर हालसालै चीन र भारतबीच सम्बन्धको नवीकरण हुँदै गएको छ । यसै नाकालाई व्यापारिक मार्ग बनाउने वाणिज्य सन्धिमा हस्ताक्षर भइसकेको छ । जब यो सुचारू बन्ने छ तब पूर्वोत्तर भारतमा व्यापार राम्ररी नै फस्टाउनेछ भने पूर्वी नेपालका धुलाबारी र पशुपतिनगरजस्ता सीमान्त बजारहरूमा प्रतिकूल असर पर्नेछ ।

हामी नाथुलाबाट ओर्लेर दक्षिणपूर्वी दिशामा अवस्थित बाबाधामतर्फ बढ्यौँ । दुवैतर्फ अग्लाअग्ला लङ्गुरहरूबीच बसेको सुन्दर उपत्यकामा अवस्थित रहेछ यो प्रसिद्ध बाबाधाम । हामी पुग्दा त्यहाँ गतिलै भीड लागेको थियो । मन्दिरको सबै प्रबन्ध सेनाकै हातमा रहेछ । आइतबार निःशुल्क खानाको व्यवस्था तथा उचाइ लाग्नेहरूलाई दवाईपानी पनि गरिँदोरहेछ । गोर्खाको मनोकामनाजस्तै बाबाधाम दर्शन गर्नेहरूको इच्छा पनि पूर्ति हुन्छ भन्ने विश्वास रहेछ । मन्दिर स्थापनाको कथा पनि विचित्रकै छ । २३ औँ पञ्जाव रेजिमेन्टका हरभजनसिंह नामक एक सैनिक सीमागस्तीमा हिँडिरहेको बेला ४ अक्टोबर १९६८ को दिन टुक्ला देङचुलाबाट चिप्लिए पनि त्यही पहाडको फेदको खोलामा डुबेर मरे । उसको सद्गत गर्नुअघि र पछि लगातार उनी आफ्ना परिवारजन र अफिसरहरूको सपनामा देखापर्न लागे तथा आफू बाबाजी भइसकेको तथा त्यस ठाउँमा मन्दिर बनाइदिए सबैको मनोकाङ्क्षा पूरा गर्ने कुरा बक्न थाले । यसरी यो सुन्दर मन्दिरको निर्माण हुन पुग्यो । सालसालै बाबाजीको फौजीपद पनि बडाइँदोरहेछ । सोही अनुसारको तलब भत्ताको व्यवस्था गरिएको रहेछ । “बाबा राति गस्ती गर्छन् बुटको आवाज आउँछ । बर्दीहरू २/३ दिनभित्र मैला हुन्छन् । प्रत्येक बिहान चप्पलमा मैला दाग लाग्छ ।” त्यहाँ ड्युटीमा खटिएको एक जवान विश्वासपूर्वक आफ्नो आस्था सुनाउँदै थिए । हामी त्यो सुनसान उपत्यकाको सुन्दर मन्दिरलाई बाइबाई गरी र्फकंदा त्यहाँ असङ्ख्य गाडीहरू पुगिसकेका थिए । मनै लोभ्याउने चौरलाई बीचबाट चिर्दै गएको पक्की सडकले आफ्ना घुमाउरा घुम्ती र कुइनेटाहरूमा फन्को मार्न लगाउँदै तथा सीधै पश्चिमोत्तर दिशातर्फ डोर्‍याउँदै लैजाँदा दिनको ठीक १ः३० बजे हामी मूल फाटकमा आइपुगेका थियौँ । जहाँबाट नाथुलाको सीमान्त चुली बादलको घुम्टोभित्र लुक्दै गइरहेथ्यो । “बाइ नाथुला”-सोनम र नम्रताले हात हल्लाए र केही निन्याउरो मुख लगाए, मानौँ उनीहरू आफ्नो मुटु सुम्पिसकेको प्रेमीलाई त्यो सीमान्त मोर्चामा छोडिराखेर विदावारी हुँदै थिए ।

पेटमा कुदिरहेको मुसोलाई शान्त पार्न हामी पुनः छाङ्छुमा रोकियौँ तर दुर्भाग्य, खाना सबै होटलमा सकिएको रहेछ । तालको अन्तिम किनारमा रहेको एउटा रेस्टुराँमा नास्ताको अर्डर दिएर चिया पिउन लाग्यौँ हामी । कुन्नि किन हो, छाङ्गु बिहानको भन्दा अझ सुन्दरझैँ लाग्यो मलाई । म तातो चियाको चुस्की लिँदै किनारानेर बनेको एउटा चौतारीमा बसेँ । अवाक बनेर तालमाथि उठ्दै गरेको लहरहरूको वहावसँगै लुटपुटिएर बग्न थालेँ म । मानौँ त्यो सुन्दर सरोवरको स्वप्निल लहरसँगै मेरो अन्तरको भावना पनि सुखानुभूतिको तरल तरङ्ग भएर नाच्दो थियो । मानौँ म सारा बाधा, व्यवधान र व्यवहारजस्ता वस्तुगत समस्याहरूबाट असंपृक्त भएर, सारा व्यथा, वेदना, भोक, तिर्खा र निन्द्राजस्ता भौतिक अनुभूतिद्वारा निरपेक्ष रहेर शान्ति र सौन्दर्यको शालीन संसारभित्र विचरण गरिरहन्थेँ । मलाई कसैको वास्ता थिएन । आफ्नै उपस्थितिको बोध हराएर गइरहेथ्यो तर अचानक कसैले मौनतामा डुबेको मेरो अन्तरको शान्त सरोवरमा झ्याम्म ढुङ्ग्ाो वर्षायो । “अम्बो दाजु त डल्लै सेन्टी हुनु भो त ।” मलाई के थाहा कतिबेरदेखि पासाङ मेरो गतिविधि नियालिरहेछन् । भन्ने कुरा ।

“हाँसहरू पौडेका हेरेको नि भाइ” मैले कुरो छड्काए । उनी मुसुमुसु हाँस्दै अर्कोतर्फ लागे । अलि पर्तिर ऊ एल.बी.सँग खासखुस गर्दै थियो, “तपाईंको सढुभाइ अति कम बोल्नुहुन्छ हो ?” सुनिहालेँ मैले तर स्वाभाविकरूपमा लिएँ उसको टिप्पणीलाई । पासाङ मात्रै किन, मेरा अधिकांश साथीहरू मलाई अलिकम बोल्ने मान्छे भनेरै टिप्पणी गर्छन् । सानै उमेरदेखि हुर्केर आएको आफ्नो अन्तरमुखी प्रवृत्ति कहिल्यै मुखर हुन सकेन । नभन्दै मलाई के लाग्छ भने मलाई चिन्ने र मैले चिनेकाहरू पनि साह्रै कम छन् यत्रो ठूलो संसारमा । ‘नबोले को हो, को हो, बोले माया मोह’ यो उखानको पहिलो खण्ड मेरो बानीव्यहोरामा अनुवाद भएझैँ लाग्छ मलाई । यो कुराले कहिलेकाहीँ बडो हीनताबोध हुने गर्छ मलाई । हामीले मःम र चाउमिनसहितको डब्बल नास्ता मज्जाले चड्कायौँ, अनि छाङ्गुलाई छोड्दै ओरालो लाग्यौँ । केही तलको घुम्ती काट्ने वित्तिकै पासाङले गाडी साइड गरेर घ्याच्च रोक्यो र भन्यो “स्टेरिङ लुज भो” ऊ पार्टपूर्जाहरूलाई चेकचाक गर्न लाग्यो बनेट उघारेर अनि भुइँमा लेप्सिएर उँधो हेर्न लाग्यो “अहो ! नट र बोल्टु त डल्लै ढिला भएछ ।”

“हैन नट र बोल्टु त घुरिला र लाम्चो हुन्छ हैन र, वेयरिङ मात्रै डल्लो हुनुपर्ने……” सोनमले पासाङको ‘डल्लै” लाई टिप्पणी गरी ।

“हो त डल्लो र घुरिलो अरू पनि छ यहाँ ।”

“केके ?”

“सोनम नाउँको मान्छेको अनुहार….” पछि नपर्ने पासाङले मेरी घुरिलो र वाटुलो अनुहारकी साली सोनमलाई रातो पिरो बनाई दियो । ऊ नम्रतासँग गज्जवले हाँस्न लागी । उनीहरूको खित्का, छाङ्गुबाट निःसृत सरिताको कुल्कुलाहटसँगै सङ्गीतको समवेत सुसेली बनेर नजिकैको सल्लाघारीमा प्रतिध्वनित भयो । सात माइलनेर कतै आइपुगेपछि पासाङले गाडी रोकेर भन्यो “लु खाली गरौँ है ।” उसको आशय थियो “सु” गर्ने या बाहिर जाने । त्यो काम सिध्याएपछि गाडी पुनः ओरालो सुल्कन लाग्यो ।

“अब लागियो ओरालो सरर” सुवेदार साहेब सन्तुष्टिको सास फेर्दै बोले ।”

“चार, पाँच बजे त ग्यान्टोक सरर ।” सोनामले नौलो ठाउँमा पुगेर र्फकदाको पूर्ण तृप्तिको अभिव्यक्ति ओकली ।

“भोलि फेरि अर्को सरर” मैले भित्रभित्रै सल्कदै गरेको खुसीको सलेदोलाई उकास्दै भनेँ ।

“के सरर ?” नम्रता आफ्नो उत्सुकताको आकाशमा माथिमाथि उक्लँदै गई ।

“के हुनु नि युमथाङ सरर ! आहा युमथाङ ! आहा युमथाङ !”

स-र-र को ताललाई मैले यसरी हाम्रो गन्तव्यको अर्को स्वप्नभूमि, युमथाङ पुर्‍याएर थन्काएपछि ती दुवै तरूनीहरू ढकमक्क फुले, सुन्दर अधरहरूमा मादक मुस्कानको लहर छरेर, ठीक त्यसरी नै जसरी नाथुलाको सीमान्त चुलीमा प्रत्येक प्रभात अरूणोदय फक्रिन्छ, कलिला किरणहरूको स्वप्निल स्पर्श छरेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *