सिमलचरी अथवा गोलसिमल नेपाली लोकविश्वासमा बाँचेको अनौठो चरो हो । यसप्रतिको नेपाली लोकविश्वास आफ्नै परम्परागत आधार तथा पत्यारमा जुगौँदेखि अडेको पाइन्छ । सिमलचरीलाई उसका स्वरको आधारमा ‘गोलसिमल’ भनिएको बुझिन्छ । जेहोस्, यसलाई नेपाली परम्परामा धान (अन्न) बालीको कुनियुँमा बास गर्ने धान्यलक्ष्मी अर्थात् धानको देवी भनी मानिन्छ । यसबारे नेपाली गाउँघरमा उहिल्यैदेखि चलेको र लोकविश्वासमा अडेको पुरानो लोककथा निकै प्रसिद्ध ।
मानिस गाउँबेसी गर्थे । बेंसीमा औलो लाग्छ भनी पहाडको शिखर ठाउँमा बस्ने चलन धेरै नै थियो । बेंसीमा प्रायः धानखेती हुन्थ्यो । गाउँमा अदुवा, खुर्सानी, बेसार (हलेदो) आदिको साथै मकै, कोदो, मास, भटमास आदिको खेती गरिन्थ्यो । मङ्सिरको समय बेंसीमा पाकेको धान लहलहाएको थियो । अनुकूल समय मिलाई धान काटी कुनियुँ लगाई साँझतिर मानिस गाउँ फर्किए । मङ्सिरको समय भएकोले काम धेरै थियो । अलमल-अलमलमा नै धेरै दिन बिते । कुनियुँमा ‘सिमल चरी’ ले गुँड लगाउन पुग्यो । सिमल चरीले गुँड लगाउनु अन्नदेवी अर्थात् धान्यलक्ष्मीले बास गर्नु र अन्नको अक्षय भण्डार बन्नु थियो । यस्तैमा महिनापछि दयँराहरूसहित मालिक दाइँ गर्न आए । कुनियुँसँगै खलो तयार गरी दाइँ सुरु भयो । कुनियुँबाट जति धान झराले पनि कुनियुँ घटेको जस्तो लाग्दैनथ्यो । दाइँ राम्रै भयो- सकियो ।
धानको ठूलो रास तयार भयो, अनि बनाएर तयार गरिएको धान बोकी गाउँ-घर लग्न थालियो । धान बोक्ने-लग्ने गर्दागर्दै घरभित्रका गोदाम, भकारी, कोठरी, डाला सारा भरिए । अब धान (अन्न) राख्ने ठाउँ (भाँडो) भएन । धान ओसार्दै नै छन् । आखिर तलाको खाली सानोतिनो खुला भागमा नै पनि धानको रास थुप्राई राखियो तर पनि धानको रासमा धान छँदैछ र कुनियुँ पनि अझै बाँकी नै छ । यस स्थितिमा काम गर्ने दयँरा-खेतालासहित सबै चकित हुनपुगे, के गर्ने ? अनौठो माने ।
अगिल्लो रातदेखि नै एकोहोरो काम गर्दा-गर्दा घरमालिक र खेतालाहरूसमेत हैरान भएका थिए । घर भित्रिएको धानको खचाखच रास देख्ता एक-दुई वर्ष धानको गेडा घर नभित्रिए पनि अनिकाल नलाग्ने जस्तो अनुभव धानको मालिकलाई हुन पुगेको थियो । यस स्थितिमा खेताला-(दयँरा)हरू रात परिसक्यो-कामले हैरान भइयो । अब जेला (ज्याला) लिई बिदा हुन पाए हुन्थ्यो भनी आत्तिँदै थिए । यस स्थितिमा जेनतेन खलाको धान घर भित्र्याए जस्तै गरी मालिकले खेताला-दयँरासमेतको सल्लाहमा बिना विवेक कुनियुँमा आगो झोस्न लगाए । कुनियुँ जल्दै गयो । यो जलन धान्यलक्ष्मीको जलन थियो, अनि सह (थोरैले धेरै हुने-पुग्ने अवस्था)को विनास थियो । कुनियुँको यस डढेलोमा सिमल चरीका प्वाँखहरू जल्न पुगे तर पनि येनकेन ऊ त्यहाँबाट उम्कन सफल बन्यो । आफ्ना सारा प्वाँख जली बिचल्ली र अर्धचेतमा परेको सो चरालाई अरू चराहरूले धेरै माया गरे र प्वाँख दिए । धेरै चराहरूबाट पाइएका विविध रङ र आकार-प्रकारका प्वाँखहरूले गर्दा ऊ अनौठो छिर्के-मिर्के हुनपुग्यो । विचित्रको जस्तो देखियो । जसले गर्दा नयाँ कतिपय चराहरूले उसलाई विजाति प्रकारको पक्षीविशेषको रूपमा देख्न पुगे । अनि कतिले त शत्रुसम्झी हमला गर्न पुगे, ठुँङ्नसमेत थाले । जेनतेन ऊ त्यहाँबाट पन्छियो । अनि आत्मग्लानिले गर्दा एक्लै विजन वनमा लुकी हराउन थाल्यो । समूहहीन बनी कसैले नदेख्ने स्थितिमा बस्न पुग्यो । यसैले भनिन्छ ऊ दिनमा होइन रात-विरात विरहको घडीमा हिउँदको महिना पारी विजन वनबाट कारुणिक लयमा – ‘गोलसिमल-गोलसिमल’ अलाप्त छ । यही स्वरको आधारमा यहाँ कतिले यसलाई ‘गोलसिमल’ चरो भनेको पनि पाइन्छ । जे होस्, यसको गाउँघर प्रसिद्ध नाम हो- ‘सिमल चरी’ ।
यस चराको घटनालाई आधार बनाई हाम्रा कतिपय कविहरूले आफ्नो सिर्जनामा यस चरालाई समेटेको पाइन्छ । राष्ट्रकवि माधव घिमिरेले आफ्नो काव्य ‘राजेश्वरी’ (२०१७ ः हाल-२०) मा यसको सङ्केत गरेका छन् र अर्को कविताको शीर्षक नै ‘गोलसिमल’ (२०४९) दिई चर्चा गरेका छन् । त्यस्तै जनकवि केशरी धर्मराज थापाको एउटा खण्डकाव्यको नाम नै ‘गोलसिमल’ रहेको पाइन्छ । यसरी गोलसिमल चराले कविहृदय तानेको यथार्थ स्पष्ट छ । यो सबै यसका लोकप्रसिद्धिको महिमा र लोकपि्रयताको आधार मान्नुपर्छ ।
हिजोआज नै पनि धानको सहदिने देवीको रूपमा सिमलचरी सम्झिन्छन् । यसैले धानको दाइँ समय खलोमा गई धान बत्ताउन दयँराहरूलाई सल्लाह-सहयोग दिन्छौँ । अनि धान बत्ताई, रास लगाई खलो पूजा गरी धूप-धुँवारपछि धानपाथीलाई ढोगी उत्तर फर्केर धान भर्न सुरु गर्छौँ । यो ‘खलोपूजा’ भूमिदेवता र अन्नदेवताको महिमाबोध-सङ्केत हो र तिनको सम्मान हो । हाम्रो संस्कृतिले पृथिवीलाई ‘धर्तीमाता’ मानेको छ र अन्नलाई ‘अन्नं ब्रहृमा-रसो विष्णु ः ‘……..’ भनी जीवनदाता-देवता मानेको छ । यसरी हुने खलोपूजाको परम्परा धानमा सहल्याउनु हो । खाद्यान्नमा सह ल्याउन-अन्न बढोस्-फलिफाप होस् भन्न अझै हामी पूजाआजा र पुरानो संस्कारमा समर्पित छौँ । यो हाम्रो विश्वासको पराकाष्ठा हो ।
मुना २०६७ माघ
