समयले कोल्टे फेरिँदै जान्छ जिन्दगीका रङ्गहरू। चाड-पर्व र संस्कृतिका अनेकौं रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन्। जीवनसँगै गतिशील हुँदै अघि बढ्दा चाड-पर्वहरू जड भएर एकै रूपमा रहँदैनन्। कतिपय हराउँदै जान्छन् भने कतिपयले नयाँ अर्थबोध र स्वादसँगै आफूलाई जीवन्त राख्छन्। यस्तै आयाम, सन्दर्भ, अर्थ र रूप भएको चाड हो; दशैँ। भिन्न धर्म, संस्कृति, भाषा र भेगका नेपालीहरूले साझा रूपमा मनाउने दशैँलाई हिन्दूवादी आँखाबाट मात्र हेर्नु उपयुक्त हुँदैन।
उपत्यकामा नेवारहरूले मोहनी भनेर मनाउने दशैँको मोहिनी रूप अर्कै छ। हिन्दू हुन् या बौद्ध नेवारहरूले आफ्नै सांस्कृतिक विविधताभित्र दशैँलाई छुट्टै सुन्दरता र विशिष्टता दिएका छन्। उपत्यकाका शोभा भगवती, तलेजु भवानी, नरदेवी, रक्तकाली, इन्द्रायणी, गुह्येश्वरी, मैतीदेवी, रुद्रायणीलगायत अनेकौँ देवी मन्दिरहरूमा नवरात्रभर भीड लाग्छ। देवी भगवती या दुर्गा माताका रूपमा देशैभरि मातृसत्ता र स्त्री शक्ति पुजिन्छ। यो महिमा र गरिमा वर्णनले नेपाली समाजको ऐतिहासिक कालखण्डमा नारीहरूले खेलेका भूमिकाको अन्वेषण गर्नुपर्ने आवश्यकता पनि देखाउँछ। नेपाली समाज विकासको क्रममा देवी र भगवतीका रूपमा पुजिएका नारीहरूबारे समाजशास्त्रीय खोजबिनको आवश्यकताबोध हुन्छ। स्त्री शक्ति, कृषि जीवन र त्यससँग सम्बन्धित विभिन्न पक्षहरूको दशैँमा सम्मिश्रण भएको छ। यसलाई हेर्दा दशैँ हिन्दूहरूको मात्र चाड भनेर साँघुर्याउन मिल्ने देखिँदैन। दशैँमा त्यसै पनि अनार्य र जनजातिपनको स्वाद कम छैन।
विद्वान्हरूका अनुसार नेपाल भन्ने भूगोल, शब्द र अर्थ अस्तित्वमा आएको हजार वर्षभन्दा पहिल्यै हो, दशैँ पनि संभवतः त्यसैबेलादेखि मानिँदै आएको हुनुपर्छ। नेपालमा अनेकौँ जाति र धर्मावलम्बीहरू आउने क्रममा दशैंको स्वरूपमा परिवर्तन हुँदै आएको हुनुपर्छ। मगर-गुरुङलगायत विभिन्न जनजातिहरूको विशिष्टतासँग नेवार, बाहुन-क्षत्रीहरूका संस्कृतिसमेत मिलेर दशैँले साझा पर्वको रूप लिँदै-लिँदै आएको छ। नेपालका मगर, गुरुङ, राई-लिम्बू, थारू, नेवार, बाहुन, क्षत्रीलगायतका जातिमा जस्तो चामलको टीका र जमरा लगाउने चलन संसारका अन्य कुनै जाति वा हिन्दूहरूमा देखिँदैन। त्यसैले पनि यो नेपालीहरूको पर्व हो।
सांस्कृतिक मोहकता
मालश्री रागले विछट्टै मोहक बन्दै जाने दशैँमा मादल, टीका, जमरा आदि थपिँदै जान्छ। उपत्यकाका चोक-चोक र भजनखलहरूमा ज्यापू समुदायको समृद्ध साङ्गीतिक झंकारले विशिष्ट नेपाली संस्कृतिको मोहकता छरिरहेका हुन्छन्। भूपि शेरचनले शुभ्र-शान्त र स्निग्ध शिखा मैनबत्तीको भनेर कविता लेखे जस्तै शुभ्र, शान्त र स्निग्ध हुन्छ दशैँताका नेपाल। शिरमा सेतो हिमाल, काँधभरि हरिया पहाड र धानले पहेँलपुर मधेशमा फिजिएको नेपाल विश्व सौन्दर्य प्रतियोगिता जितेकी सुन्दरीजस्तै देखिन्छ, दशैँताका। बर्खाभर मेघले सबै पानी धर्तीमा खन्याइसकेकाले दशैँताका आकाश कञ्चन भइसकेको हुन्छ। नीलो आकाशमा कावा खाइरहेका चङ्गाहरू जस्तै मन पनि उड्न थाल्छ। यसबेला प्रकृति नै सुन्दर, स्निग्ध र स्वच्छ हुन्छिन्।
बर्खाको बिदाइ र शरदको आगमनसँगै देखापर्ने शारदीय शान्त वातावरणमा आउने दशैँसँग नयाँ बाली भित्र्याउन ठिक्क परेका जनताको हर्ष मिसिन्छ। पहाड होस् या तराई अहिले पनि धान नेपालको मुख्य खाद्यान्न बाली हो। दशैँताका सुन फलेझै खेतका गरा र समथर फाँटहरूमा पहेँलै भएर धान झुलिरहेका हुन्छन्। सिङ्गै नेपाल गाइरहेको हुन्छ- धानको बाला झुल्यो हजुर देशै रमाइलो। देशै रमाइलो भइरहेको समयमा दशैँ ठ्याक्क हाम्रो आँगनमा झुल्कन्छ, घरभित्र पस्छ, चोटा-कोठामा डुल्छ र मनहरूमा उमङ्ग जगाइदिन्छ।
कमाउन देश-विदेश गएका लाहुरेहरूले घर फर्कने र सबैभन्दा बढी घर सम्झ्ने बेला दशैँनै हो। हजुरबा र हजुरआमाहरू आफूसँगै भएका सन्तानका बगाललाई वरिपरि राखेर टीका र जमरासँगै आसिक दिएर दङ्ग पर्ने बेला हो दशैँ। ती पाका पुरानाहरू छोरा-बुहारी, छोरी-ज्वाईं, भाञ्जाचेला, भाइभतिज, नाति-नातिना आदिलाई टीकासँगै सुखद् भविष्यको आशीर्वाद दिन दशैँ पर्खेर बसेका हुन्छन्। बाजे-बज्यै, बाबु-आमा नभएकाहरू अपूर्णता, रित्तोपन र उदासी अनुभव गर्छन्। उनीहरूले ठूलो बाबु-ठूली आमा, काका-काकी, मामा-माइजू, दाजु-भाउजूको हातको टीका थापेर आपसी सम्बन्धलाई हार्दिक र जीवन्त पार्छन्।
वर्षाले भित्रैसम्म रुझ्ाएको वन-जङ्गल शारदीय घाम तापेर न्यानो अनुभूति गरिरहेको हुन्छ दशैँको बेलामा। मौसम परिवर्तन र चाड-पर्वहरूसँग मान्छेका दैनन्दिन अभिन्न रूपले गाँसिएका छन्। दशैँमा मानो खाएर मुरी उब्जाउने बर्खाको थकानलाई मिठोमसिनो खाँदै आफन्तबीच रमाएर मेट्ने र हिउँदलाई स्वागतको तयारी गर्छन्, नेपालीहरू। दशैँ नेपालीहरूलाई मोहक रूपले जोड्ने, अभिभूत पार्ने, भित्रैदेखि व्यथित र आनन्दित पार्ने अनौठो चाड हो।
दशैँ खर्च गर्ने बेला पनि हो। वर्षभरि साँचेको नगदले मन फुकाएर उपभोगका सामग्री जुटाउने यो चाडले नेपाली अर्थतन्त्रको गतिलाई अलि वेगले अघि बढाउँछ। पैसा बजारमा आउँछ। अन्न, फलफूल, माछा, मासु, दूध, दही, लत्ताकपडा र अन्य उपभोगका सामग्री घर-घर पुग्छन्। त्यसैले जनताको आय बढेकै हदमा दशैँ आनन्ददायी हुन्छ। त्यसैले समाजलाई असमानता, द्वन्द्व र विभाजनबाट मुक्त बनाउने प्रयत्नको अवसर बनाउनुपर्छ दशैँलाई।
दशैँसँग अनेकौं मिथक र बिम्बहरू जोडिएका छन्। अन्यायमाथि न्यायको विजयको कथा पनि दशैँसँग जोडिएको छ। त्यसैले हामीलाई थोरैका लागि होइन सबै नेपालीका लागि लाउन, खान हाँस्न र रमाउन पुग्ने दशैँ चाहिएको छ। त्यस्तो अवस्था ल्याउने हामीले नै हो। गरिबी, अभाव, असमानता र विभेद भएकैले हामीलाई समानता, स्वतन्त्रता, अधिकार र समृद्धि चाहिएको हो। दशैँले अन्याय विरुद्ध विद्रोह गरेर विजय प्राप्तिको सन्देश दिन्छ। र, दिन्छ सबैको जीवनमा सुख, समृद्धि र उल्लासको सन्देश।
नेपाल जोड्ने सूत्र
मेची-काली मनाइने यो पर्वले ठाउँ-ठाउँमा आत्मसात् गरेको आ-आफ्नै जातीय र सांस्कृतिक सुगन्धलाई अझ् व्यापक पार्नुपर्छ। बाहुन-क्षत्री आदिको बडादशैँ, नेवारहरूको मोहनी, तराईको दशैँ र कोजगरा (कोजाग्रत) तथा मगर, गुरुङ, राई, लिम्बू, थारूलगायतको दशैँका कतिपय कुरा मिल्छन्, कतिपय फरक छन्, बगैँचाका अनेकौं थरी फूलहरू जस्तै। सबैका आ-आफ्नै सन्दर्भ, परम्परा र सांस्कृतिक विशेषताहरू छन्। सबै जातजातिका विविधता र विशिष्टतालाई आत्मसात् गरेर नै दशैँ सबै नेपालीको साझ्ा खुसीको पर्व बनेको हो।
नेपालीहरूलाई जोड्ने सांस्कृतिक सूत्रहरू भनेका हाम्रा चाडपर्वहरू हुन्। बहुभाषिक-बहुधार्मिक र बहुजातीय नेपालमा विभिन्न जातीय समुदायका आ-आफ्ना चाडपर्वहरू छन्। ती सबै हाम्रा साझा सांस्कृतिक सम्पदा र इतिहासले उत्तराधिकारमा दिएका विशिष्टताहरू हुन्। तिनलाई फराकिलो दिलले आत्मसात् गर्नुपर्दछ। दशैँ त्यस्तै एउटा प्रमुख सांस्कृतिक पर्व हो जसलाई नेपालीहरूले एउटा साझा चाडका रूपमा अघि बढाउँदै आएका छन्।
परिवार, आफन्तजन र गाउँलेहरूसँग भलाकुसारी गर्न नपाएर तिर्खाएकाहरू जुनसुकै जाति वा क्षेत्रका हुन्, अहिले धमाधम आ-आफ्ना वस्तीतिर फर्कंदैछन्। यो पुनित अवसरमा अभावलाई जितौं, अपूर्णतालाई परास्त गरौं। थकान, पीडा र शोकलाई हर्षमा परिणत गरौं। परिवार र समुदायको आनन्दका लागि लगाइएका बाली र पालिएका पशु धनहरूलाई ठीक ढङ्गले उपभोग गरौं। जाँगर र सीपले आर्जन गरेका सुन्दर कपडाहरू लगाऔं। मादलका ताल र गीतका भाकाहरूमा नाचौं। जीवनका हर्ष, उल्लास र उमङ्गहरूलाई राम्ररी आत्मसात् गरौं। स्नेह र सद्भावका नरम हातहरूले नेपाली समाजलाई सुम्सुम्याऊँ।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
