
राजधानीमा साहित्य सन्ध्याको तीन सय ९८औँ शृंखला चलाइरहँदा यसको उमेरले ३६ वसन्त पार गरिसकेको छ । साहित्य सन्ध्याको प्रस्थान विन्दु अर्थात् यसको जरो कीलोको स्मरण यस आलेखमा गर्ने प्रयास गरेको छु ।
राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस कानून विषय अध्ययन गर्ने सिलसिलामा पूर्वाञ्चलको मात्र होइन, मध्यमाञ्चल क्षेत्रको जनकपुर र नारायणी अञ्चलका विद्यार्थीको केन्द्र बनेको थियो । एसएलसी उत्तीर्ण भएपछि ०३५ सालमा म पहिलो पल्ट राजबिराज, सप्तरी जिल्ला अनि सगरमाथा अञ्चलको सदरमुकाम पुगेँ । त्यसै क्याम्पसमा नेपाली र कानून दुवै विषयको अध्यापन गर्नु हुने दाजु गङ्गाप्रसाद उप्रेती (हाल कुलपति प्रज्ञा प्रतिष्ठान) हामी झापाबाट त्यहाँ गएका सबैको अभिभावक नै हुनुहुन्थ्यो । उहाँको आवासमा झोलीतुम्बा बिसाएर भविष्यको वकिल बन्ने सपनामा लिप्त भएँ ।
साहित्यप्रति आफ्नो रुचि थियो, पढथेँ । लेख्थेँ पनि । सुनाउने प्रकाशन गर्ने अवसर भने जुरेको थिएन । राष्ट्रिय समाचार समितिको त्यतिबेला खिलध्वज थापा प्रमुख हुनुहुन्थ्यो । वहाँकै आवासमा प्रत्येक महिनाको पहिलो शनिवार साँझ साहित्य सन्ध्याको कार्यक्रममा विभिन्न साहित्यकारहरूले आ–आफ्ना रचना पाठ गर्ने गर्दा रहेछन् । क्याम्पसका प्राध्यापक, विद्यार्थी, पत्रकार र अग्रज साहित्यकारहरू त्यहाँ भेला हुने गर्दथे । त्यहाँ प्रस्तुत भएका रचनामा समीक्षा टिप्पणी पनि हुने गर्थे । समीक्षा र टिप्पणी गर्नेहरूमा धेरैजसो क्याम्पसका प्राध्यापकहरू हुन्थे ।
राजनीतिक शास्त्रका प्राध्यापक विजयेन्द्र झा, नेपालीका गङ्गाप्रसाद उप्रेती र भागवत न्यौपाने, कानूनका पवनकुमार ओझा आदि । यीमध्ये उप्रेती र न्यौपाने सरको उपस्थिति भने नियमित हुने गर्दथ्यो । त्यस कार्यक्रमको संयोजन गर्ने अभिभारा भने हाम्रै क्याम्पसमा स्नातक तहमा अध्ययनरत् योगीश खरेल हुनुहुन्थ्यो । उहाँबाट प्राप्त जानकारी अनुसार साहित्य सन्ध्याको थालनी प्रा. डा. केशवप्रसाद उपाध्याय, गङ्गाप्रसाद उप्रेती र शिशुप्रसाद देवकोटाको सक्रियतामा ०३३ साल मङ्सीरबाट आरम्भ भएको हो । शुरुका दिनमा सिरहादेखि यस कार्यक्रममा भाग लिन शेखर गिरी पनि आउने गर्नुभएको थियो । स्थानाभावका कारण केही समय स्थगन भएको साहित्य सन्ध्या ०३५ साल वैशाखदेखि पुन: आरम्भ भयो ।
आफ्ना रचना सुनाउने र अरुका सुन्ने थलो पाउँदा म हर्षित हुनु स्वभाविकै थियो । देवकोटा जयन्तीको अवसरमा साहित्य सन्ध्याले आयोजना गरेको कविता प्रतियोगितामा मैले आफ्नो कविता प्रतियोगितामामा सामेल गराएता पनि कार्यक्रममा सहभागी हुन पाइनँ । म तिहार मनाउन घरतिर गएको थिएँ । घरबाट फर्किएपछि योगीश खरेलद्वारा मैले दोश्रो पुरस्कार पाएको जानकारी पाएँ । मेक्सिम गोर्कीको आमा, पारिजातको शिरिषको फूल, मुनामदनका साथै महाकविको फोटो एक थान पाएको पुरस्कार मेरो जीवनको अमिट सम्पत्तिको रूपमा मानसपटलमा सँगालेको छु ।
०३८ सालको आरम्भका केही महिनासम्म साहित्य सन्ध्या राजबिराजमा सञ्चालन हुन सक्यो । जहाँबाट आरम्भ भयो, त्यही थलोले यसको जगेर्ना गर्न नसकेको र त्यसका लागि पहल नभएको हुँदा थकथकी लाग्ने गर्दछ ।
आफ्नो पढाइ अघि बढाउन हामी काठमाँडौ लाग्यौँ । साहित्य सन्ध्याका संस्थापकलगायत सहभागीहरू हामी काठमाँडौ आयौँ । साहित्यमा रुचि राख्ने प्रगतिशील युवाहरूबाट काठमाडौंमा साहित्य सन्ध्या आरम्भ गर्ने निधो भएअनुसार ०३९ पौष २ गते आरम्भ भएको यस कार्यक्रमले राष्ट्रिय आकार ग्रहण गरेको छ । तीर्थ कोइराला, अग्नि खरेल, राम आचार्य, गोपाल शिवाकोटी ‘चिन्तन’ को यस कार्यक्रम थालनीमा महत्वपूर्ण भूमिका थियो ।
काठमाडौंका केही कार्यक्रममा साहित्य सन्ध्याका आरम्भकर्ताहरू प्राध्यापक डा. केशवप्रसाद उपाध्याय, प्रा. गङ्गाप्रसाद उप्रेती, योगीश खरेल उपस्थित हुनुभएको थियो । पक्कै पनि उहाँहरूले राजविराजमा रोपेको बिरुवाको कलमी रूपलाई देख्दा सुखानुभूति भएको हुनुपर्दछ । साहित्य सन्ध्या २०३९ले राजविराजमा यस कार्यक्रमको थालनी गर्नेहरू प्रति सम्मान दर्शाउँदै ०६८ सालदेखि ०७२ सालसम्म प्रा. डा. केशवप्रसाद उपाध्याय, प्रा. गङ्गाप्रसाद उप्रेती, अनिरुद्ध तिमल्सिना, शिशुप्रसाद देवकोटा, चूडामणि अधिकारी, योगीश खरेल, अनिलकुमार अनल, खिलध्वज थापालाई सम्मान गरेको छ ।
मेरो सृजनालाई मलजल गर्ने राजबिराज र साहित्य सन्ध्याप्रति म अनुगृहित छु ।
–गोपालकुमार मैनाली
जागृतिनगर, काठमाडौं
परिचय
नाम : गोपाल राज मैनाली
जन्ममिति २०१६ असार १५ गते
सम्प्रति : स्वतन्त्र लेखन
संस्थागत संलग्नता : कोषाधक्ष्य, साहित्य सन्ध्या
सचिव, जन साहित्यिक मञ्च, नेपाल
प्रकाशित साहित्यिक कृति : कविताका आकाशहरू, मुक्तक संग्रह, २०५५
बुलाकी, मुक्तक संग्रह, २०७५
चन्द्र सूर्य, बालकविता संग्रह, २०७५
गँगटा सम्मेलन, कालकथा संग्रह, २०७५
