Skip to content

फुक्काफाल जिन्दगी, मनमौजी दशैं


स्मृति र विस्मृतिका मधुर सुनामीमा फँसेको छु-म यतिखेर।

म बीसको दशकमा मोरङमा जन्मिएको हुँ। औंलाको तरानले भर्खरभर्खर मुक्ति पाएका बेला पहाडबाट मधेश झरेका बूढापाकाहरू ऊ बेलामा भन्थे, ‘मोरङमा एक रूपैयाँको अन्नले बाँचुन्जेल खान र मरेपछि किरिया गर्न पुग्छ।’ यसो किन भनियो होला? पछिसम्म पनि गहिरिएर सोच्थेँ, म।

कुराको चुरो अर्कै रहेछ। कुनैबेला मोरङमा एक रूपैयाँमा पाइने अन्नले एकजना मानिसलाई हप्ता-पन्ध्र दिन खान पुग्थ्यो। हप्तापन्ध्र दिन नबाँच्दै त्यो ‘मरिज’ औलोले मरिसक्थ्यो। रहेको बक्यौता अन्नले उसको काजकृया गर्न समेत भ्याउँथ्यो।

बूढापाकाहरू किन झुट बोल्थे? उनीहरूले बकेका कथा र गाथाहरू हाम्रा लागि किम्वदन्तीमय मार्गदर्शक बनेका छन्। ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’ उखान हामीकहाँ प्रचलित छ। म पुरानो पुस्ताका पुराना कहावत्हरूलाई शततः नमन गर्छु। तिनमा लुकेका अनाम सत्यलाई मिहीन पारामा परख गर्दै व्यवहारिक अवलम्बनको जमर्को गर्छु।

यतिखेर म तराईमा मनाएका दशैँलाई सम्झिरहेको छु।

तराईमा मेरा बाल्यवयका धेरै दशैँ बितेका छन्। ती दशैंले मलाई अनेकानेक लेखनका गुत्थीहरू जो दिएका छन्। बहुल हास्यास्पद र एकल रागात्मक विषयमा मैले भोगेका ती दशैंबाट विषयका पाँजा झिकेर यतिखेर म आत्मरतिका भाव पोखिरहेछु।

दिन, महिना र वर्ष हुँदै अहिले ती सम्झनाहरू मानसपटलमा दसकौंका फालक भएर रहेका छन्।

***

‘दशैं आयो। खाउँला पिउँला। कहाँ पाउँला? चोरी ल्याउँला। धत्त पापी म त छुट्टै बसूँला।’

सोह्रश्राद्ध सकिएर नौरथा लाग्ने बेलामा चारैतिरका परिवेशमा ढोलक बजेको सुनिन्थ्यो। बाक्लो ग्रामीण वस्तीमा त्यो एक निःशुल्क जनाउ हुन्थ्यो -दशैं आगमनको। ढोल बजाउँदै घरघर आउने बूढा पोयाका दलित जातिका मान्छेहरूलाई हामी बालशुलभ बोलीमा ‘ढोलिया’ भन्थ्यौं। कुनकुन जातिका मानिस हुन्थे तिनीहरू? खोजीखबरी केही गर्दैनथ्यौं।

बाआमाले पनि नाटीखुटी केही भन्थेनन्। केटाकेटी बुद्धि खुट्याउन सक्ने कुरो पनि भएन। अनि घरका मूल खाँबामा झुण्डिएको रेडियोमा बज्न थाल्थ्यो-मालश्रीका सुरम्य कर्णप्रिय धूनहरू।

मालश्री धून, देवीभजन र यदाकदा सूरअसूरका रेडियो नाटकसँगै केटाकेटीमय पारामा ‘दशैं आयो’ जस्ता बालगीतहरू उफ्री पाफ्री गरेर गाइन्थ्यो।

कोठेबारीमा दशैंलाई भनेर घाँस साँचिन्थ्यो। बोडीका लहराले जेलेका बन्सो घाँस काटेर गाईभैँसीलाई खुवाउन थालेपछि बल्ल नौरथा मध्यविन्दुमा भएको भान हुन्थ्यो। तिनताक सनपाटको खेती मोरङ र सुनसरीतिर उधुमै हुन्थ्यो। भीट बारीमा सनपाट (पटुवा) लगाइन्थ्यो।

पटुवाको साग असाध्यै मिठो हुने। पटुवा गोडेका बेलाँ बिँडाएर साग टिप्ने चलन थियो। पटुवाका सागमा सुकेका राता खोर्सानी पड्काएर बनाइने तीतोतीतो स्वाद्को तरकारी खूब मिठो हुन्थ्यो। दोस्रो तरकारीका रूपमा भातका भागमा हुने पटुवाको सागको स्वाद् सम्झँदा अहिले जीव्रामा ‘पानी’ भरिएर आउँछ।

कठै ! ती दिन गैगए।

शारदीय पवनका लहरहरूसँगै कल्पनाका पुतलीहरू समाउन कटी पतङ्ग भएर बेधड्क उडिन्थ्यो।

भुइँ छाड्न मन भए घरमा हालेका खाँबे पिङ र साथी भाइसँग रमाउन मन भए गाउँलेहरू मिलेर बनाएका लिङ्गे पिङ हुन्थे। बाउ आमाले बेबहार निखन्ने र आफ्ना तर्फबाट कुनै जिम्मेदारी नहुनाले मस्ताराम हुने भलिभाँती छुट दिएको थियो -जिन्दगीले।

पाकेको महिनाको तलब होस् या रिनपानको पैसो। वा हात चटाएर स्याहार गरेका खसीबोका बिक्री गरेर आएका पैसा नै किन नहोस, हाम्लाई केही पत्तोफाँट नहुने। ‘शोक न सुर्ता भोक न भकारी’ भनेझैँ शोधखोजको पर्वाह समेत रहन्थेन। बाल रहररुपी बैँकमा भएका जति पनि चेकहरू साट्ने सुविधा थियो -उसबेलाका दशैं-तिहारजस्ता पार्विक माहोलमा हामी सिँगाने केटाकेटीहरूलाई।

***

कर्मचारी वृत्तमा उबेला कहावत् गरिन्थो, ‘कुखुरो काट्यो दशैं, झोला बोक्यो बसैँ’। तर परिवारमा प्रायः कुखुरो काटेर दशैं मनाएका रानारूनी सम्झौटाहरू पनि छैनन्। बरू यतिखेरको राजधानी बसाइले आफूलाई किनौरे (किनेरै बाँच्ने) जो बनाएको छ।

त्यस बेलामा हाटको चलन उधूमै हुने। सोमबार र बिहीबार घरदेखि नजिकै साप्ताहिक हाट लाग्थे। हिँङदेखि हर्दी (बेसार)सम्म फलामदेखि सिलामसम्म सबैथोक हाटमै सस्तो मोलमा पाइने र मोलमोलाई गर्ने छुट समेत हुने भएकाले के कुलीन के कङ्गाल सबैले सोमबार र बिहीबार आफूलाई अनिवार्य रूपमै हटारू बनाउँथे।

नगदको चलन यदाकदा सरकारी कर्मचारीले मात्रै गर्दथे। एनजीओ/आइएन्जीओ ऊ बेला जन्मेकै थिएनन्। गृहस्थीका लागि अन्नपात बेचेरै सौदा गर्नु एकमात्र उपाय हुन्थ्यो। नबेचे निरूपाय। हामी नगदी र जिन्सी दुवै प्रयोग गर्दथ्यौं। हाम्रो परिचय न्यून वेतनभोगी कर्मचारीका परिवारमा पर्दथ्यो।

घरपायक जागिरको मज्जा बेग्लै। बा भूमि प्रशासनमा खरिदार हुनुहन्थ्यो।

***

दशैंमा नयाँ लुगा हाल्दिने चलन गाँवैभरि हुन्थ्यो। हाम्रा घरमा त झन् अनिवार्य जस्तै। लुगाका लागि बजारमा मारबाडीका कपडा पसल बग्रेल्ती थिए। ‘सुनसरी स्टोर’ ती मध्ये ‘माउ दोकान’मा गनिन्थ्यो। जहाँ ‘राजादेखि रङ्क’ सबैलाई हुने कपडाहरू पाइन्थे। सके नगदमा किन्ने नसके उघारो खाता खोलिएका हुन्थे।

हामी अलि साना हुँदा आमाबा मात्र जानुहुन्थ्यो। पछि हामी पनि पछ्याउन थाल्यौं। रोज्जा कपडा किनेर दमाईकहाँ गई लुगा छेकिन्थ्यो। आला कपडा यति बास्नादार हुन्थे कि त्यसैले पनि बाल मस्तिष्कमा दशैं आएको भान हुन्थ्यो।

रहरको कुनै सीमारेखा हुँदैनथ्यो। ग्यालेजवाला पाइन्ट र फूलसर्ट लगाउने चलन औधी चलेको थियो। बाबरी छाँट्नै पर्दथ्यो। स्कुलका मास्टरजीहरू अति कडा मिजाजका भएकाले लामो कपाल पालेर स्कुल जान दिँदैनथे। अदव राख्नु पर्दथ्यो घरमा या स्कुलमा। अनुशासन किताबमा मात्र नभएर व्यवहारमा समेत खोजिने जमाना थियो।

सम्झनाका पत्रमा चाङ् लागेका ती दशैंलाई सबैभन्दा मुन्तिरबाट झिकेर हेर्ने हो भने सप्तरङ्गी इन्द्रेणीझैँ रम्यताको तालमा यतिखेर छम्छमी नाच्न थाल्छन्।
जीवनमा लेखक भइन्छ भन्ने पूर्वाभाष मात्रै भएको भए अँझ उधुमसँग उपध्रो गरेर बालापन् बिताइन्थ्यो होला। कास ! मनुवा भविष्यगामी भैदिए, आउनेवाला जिन्दगीको पूर्वतयारी गरेर जीवनलाई अँझ चकाचौँध बनाउथ्यो होला?

भोगाइलाई भाग गर्दागर्दा भाग फलमा शेष लागेको नै ज्ञान हो- जीवन। अहिले अलिअलि हात लागेको छ। लेख्न र लेख्नका लागि कल्पिने आधारशीला बनेका ती तीक्त/मीष्ठ अनुभूति र ऊ बेलाका फड्के साक्षी बनेका बालसखाहरू आज सबैजसो जीवनका वैपरीत्य दिशामा छुटेका रेलझैँ भएका छन्।

एउटा घामकीरी समात्न जाँदा हराएका अन्य थुप्रै घामकीरीहरूससाना झाडीहरूमा हराएझैँ। जीवन भनेकै सम्झँदै बाँच्दै गर्ने मेलो त रहेछ नि।

***

आफ्ना थाप्लामा बोझ बन्न थालेपछि झोलामा दशैं बोकेर आफैँले टार्न थालेको दसकौं नाघिसकियो। भाइहरू विदेश बत्तीनुभन्दा अघिसम्म रामेछापबाट भए पनि जखमले खसी घिस्याउँदै दशैंदशैंमा लेराउँथे।

तीन भाइ हामी। दुई भाइको घर टीकाथली। अहिलेको महालक्ष्मी नगरपलिका वडा नं. ५मा। वल्लो गल्ली पल्लो गल्ली मात्र फरक। माइलो अलि पर कपनमा। ऊसँग ‘लक्ष्मी’ अलि धेरै खुसी भएकीले होला आफैँ जोरजाम गर्थ्यो।

‘सान्कान्छो र ठूले एकै ठाउँ छौ, मिलेर चाडवाड मान’ मायालु भावमा भन्नु हुन्थ्यो -बा।

घराँ बाको आदेश काट्ने हिम्मत कहिल्यै कसैले गरेनन्। अँझै गरेका छैनन्। छोरी नभा’को हाम्रो घर औपचारिकरूपमा बेगल भएको छैन, तर हामी सगोलमा पनि छैनौं। दुई भाइ विदेशमा पसिना चुहाउँदै श्रमजीवी भा’का छन्। मचाहिँ देशमै पसिना पेलेर अलिअलि ‘मसीजीवी’ भएको छु।

घरमा बा कम्युनिष्ट पार्टीको प्राधिकार सम्पन्न ‘सुप्रिमो’ जस्तो हुनुहुन्थ्यो भने हामी पोलिटव्युरो सदस्य जस्ता। राम्ररी परिवार चलाउनु पनि पार्टी सञ्चालन गर्नुजस्तै रहेछ। बाको कमाइमा बसुन्जेल हामीले उहाँका आदेशी फर्मानलाई त्यसरी नै मानेऊँ जसरी गिरिजा बाउ बाँचुन्जेल काँग्रेसजनले मान्थे।

बा ‘दमडी’ र सांस्कारिक हिसाबमा अति ‘कडा’ हुनुहुन्थ्यो। केटाकेटीमा उपद्रो गर्दा बाले पिटेका सम्झनाहरू मनका कुनामा पत्रे चट्टान बनेर खाँदिएका छन्। सम्झनामा ‘आउट डेटेट’ हुन लागेका मेमोरी कार्डबाट अहिले फुत्त निकालेर शततः निफन्न पाइएको छ। हलौं हुन्छ यतिखेर छाती पुराना कुरा कोरल्न पाउँदा पनि। त्यतिबेला ननिको लागे पनि अहिलेचाहिँ ती अनेकौं उपद्रोमय सम्झनाले कतै न कतै आल्हादित बनाएरै छाडेका छन्।

‘बाउले सदाएको छोरो र आमाले अह्राएकी छोरी’ उखानलाई अहिले पनि म प्रचण्डको शैलीमा कुम हल्लाएरै स्यालुट गर्छु।

***

बहत्तर सालको दशैं। बा अमेरिका भ्रमणमा जानु भएकाले र दुवै भाइहरू अमेरिकी आप्रवासी भएकाले बाका आज्ञा शिरोपर गर्दै मैले आफैँले जानी-नजानी घरमै जमरा राखेँ। देवी पुजनोत्सवमा भाग लिएँ। सप्ठेरा ठाउँ संस्कृतमा र अप्ठेरा ठाउँ नेपाली भाषाटीका बाँच्दै चण्डीपाठ गरेँ। जमरा अलि पूर्वपटि्ट ढल्किएनन्। घरबूढीका सल्लाहनुसार पत्रिकाले छोपियो। जसै जमरा पूर्व ढल्किए, ढल्काइलाई ‘स्काइप’ प्रयोग गरेर बालाई नेदेखाई चैन मिलेन। सात समुद्र पारिबाट बाले मैले न्याशध्यानमय पाठपूजा गरेर नौरथाको मैजारो गरेकामा सफलताको ‘तोकादेश’ लगाइदिनु भयो। अनि मन शान्त भयो।

बल्ल घरमा घरस्तरीय ‘क्याबिनेट’ बस्यो। पत्नीले गृह मन्त्रालय सम्हालेकीले उनको हङ्कीडङ्की चल्छ। ‘कमाई धमाई नल्याए ज्वाइँकन दोष, पकाई तुल्याई नदिए छोरीकन दोष’ भन्ने प्राचीन आहानमा चलेका छौं – हामी अर्वाचीन दुई जोईपोइहरू।

देश चलाउनभन्दा गाह्रो रहेछ घर चलाउन। कहिलेकाहीँ उनीतर्फबाट बहस थालिन्छ। म प्रत्येक पेसीमा तर्क नभएको प्रतिवादीको कानून व्यवसायीझैँ भएर भाका मात्र सारेर तारिख थापिरहेको हुन्छु। हो, पनि घर भनेकै देशको सानो रुप हो। विविध मुद्दाका फाइलहरू घरव्यवहारमा मुल्तविरहेका हुन्छन्। सीमित बजेटमा असीमित विकासका सूचकहरू पार लगाउँदै सन्तानका पखेँटामा प्वाँख हाल्नु छ। देशमा काम छैन। काम पाए दाम छैन। विदेश बत्तीने आशाले उफ्रिन थालेपछि अभिभावक हुनुको बोझले घाँटीमाथिको जाँतो बनाएको छ।

***

घरपायक जागिरे हुनुहुन्थ्यो बा। खटालु हुनुहुन्थ्यो आमा। परिवारमा लाउन खानको कुनै पर्वाह थिएन। स्वजात र धर्म थामेर ‘उड्नेमा हेलिकप्टर र गुड्नेमा गाडी’ मात्र खाइएन् होला -केटाकेटीमा। जे पनि पच्ने। रूच्ने। खायो -दौडियो। दौडियो -खायो।

‘आमाको होटल र बाउको लज’ फ्रि हुँदा त हो नि मान्छेका छाउराछाउरीले मस्ती गर्ने। आफ्नो कमाइ भएपछि त फाँक मुठीमै लोभ हुँदो रहेछ। बल्ल बुझिँदै छ।

हुन पनि ‘बाले दिएको भैँसीभन्दा आफूले बाट्या दाम्लाको माया हुन्छ’ भन्छन् बूढापाकाहरू। गमी ल्याउँदा लाग्छ -हो रहेछ। साह्रैआना सत्य। जतिसुकै स्थुल पुस्तकका पोथी रटान गर्नुभन्दा अभावका जाँतामा पिसिएर, दुःखका पिङमा मच्चिएर सिक्नु जीवनभरका लागि अकाट्य ज्ञानगंगा पिउनुजस्तै हो रहेछ।

मैले जानेको यही हो। जीवनमा अरू केही जानिएन।

काँधमा जुवा लगाइएका गोरुजस्ता हलोमा पिसिएका दुई अभिभावक छँदा केटाकेटीमा कुनै टन्टा हुन्थेनन्। आज पत्नी र म सो ‘वृषभद्वय’ भूमिकामा छौं। बाआमा रिटायर्ड लाइफमा हुनुहुन्छ। निःशुल्क अर्ती उपदेश बेलाबेला दिइरहनुहुन्छ।

***

टुकुटुकु हिँड्न थालेपछिका दशैंका सम्झनाहरू लहर बनेर आएका छन्। केरा पकाउन माटाको खाल्डो खन्दा हामी भुरा केटाकेटीहरू लहरै बसेर हेर्दथ्यौं। परालले पोलेको पिरो धूँवा आँखामा आएको चिप्रा मिश्रति आँसु हातले पुछेको सम्झना आलो भएको छ।

एकातिरबाट बालीघरे दमाईका मिसिनका खिटीटीटी आवाजले दशैंलाई बोलाउँथ्यो भने अर्कोतिरबाट ढिकीमा कुटेका आला चिउराका बास्नाले तनमात्र लोभ्याउँथेन, मुखमा र्‍याल समेत निकालिदिन्थे। हप्तादिन लगाएर पकाएका केराका घरीबाट उत्सर्जित महकले मनको पहाडमा एकाएक पहिरो खसाउँथ्यो।

हुन त यो लेख्दा यी मेरा नितान्त निजी अनुभव जस्ता लाग्छन् तर तराइमा दशैं बनाउने धेरैका सम्झना यसमा मिसिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *