सम्झनामा पिता


गुरुबा नमस्कार है !

यसरी नै उहाँलाई भेट्न बिहान बेलुकै निकै मान्छेहरू आइरहन्थे। केटाकेटीको लागि उहाँ देउताजस्तै हो भन्थे। खासमा उहाँलाई केटाकेटी उमेरमै देउता आएका थिए रे, धेरै पहिला ! हामीलाई त्यो थाहै छैन। जोखाना हेर्ने, झारफुक गर्ने र दबाई दिने उहाँको दैनिकीको अभिन्न अङ्ग थियो। तन्त्रमन्त्रमा शक्ति हुन्छ, हुन्न ? बहस गर्न सकिन्छ तर उहाँले तन्त्रमन्त्रको साथ अमूल्य जडिबुटीबाट उपचार गर्नुहुन्थ्यो र त्यो एकदमै प्रभावकारी, लाभदायक थियो भन्नेहरू मैले गाउँघरमा यत्रतत्र भेटेको छु।

जिन्दगीले कताबाट कता पुर्यायो ! नसोचेका घटनाहरू घट्दै गए उहाँको जीवनमा। सयौं, हजारौंका छोराछोरीलाई उपचार गरेर जीवनदान दिनुभएको उहाँले आफ्नै छोरालाई भने बचाउन सक्नुभएन। भू हलचलले उहाँको जीवनमा यस्तो बज्र प्रहार गर्यो कि ब्यूँझेर सामान्य जीवनमा फर्कन लामो समय लाग्यो। त्यसपछि उहाँले आफ्नो जन्मगाउँ छोडिदिनुभयो र पस्नु भो चार भञ्ज्याङ्भित्रको खाल्डोमा। यो २०७२ सालको कुरो हो।

छरछिमेक र गाउँलेका समेत जान्ने भनेर कहलिएका मेरा बा मेरो नजरमा त सर्वश्वजस्तै हुनुहुन्थ्यो। उहाँलाई लिन वल्लो गाउँ पल्लो गाउँबाट मान्छेहरू लिन आउँथे त कोही भेटघाट र बिरामी लिएर आइपुग्थे। सानामा बनेको उहाँको निडर व्यक्तित्व र भव्य छवि सदैव कायम रह्यो। अन्याय अत्याचारको विरुद्धमा कुनै ढिलासुस्ती नगरी बिना हिच्किचावट उहाँ संघर्षमा ओर्लिहाल्नुहुन्यो। पटकपटक भनेको सुन्थ्यौं,”मर्नदेखि डर छैन ”
उहाँको हंसमुखाकृति सधैं झल्झली सम्झना आइरहन्छ। केटाकेटीलाई रमाइला किस्सा, कहानी र चटपटे चुट्किला सुनाइरहनुहुन्थ्यो। किंवदन्ती र दन्त्यकथाको त उहाँ अथाह भण्डार नै हुनुहुन्थ्यो। अहिले थकथकी लाग्छ, तीमध्ये केही ध्यान दिएर टिपोट गर्न पाएको भए सधैंको लागि काम लाग्ने रहेछ !

उहाँलाई जडिबुटी सम्बन्धी प्रचुर ज्ञान थियो। जण्डिस ; सर्पदंश, पेट, टाउको, घाँटी, छाला, छातीसम्बन्धी रोग र समस्याको उपचारमा राम्रो दक्खल थियो। घरवरिपरि, कान्ला करेसा र वनपाखामा पाइने झारपात, जरा, डाँठ, फूलफल, लेउझ्याउसँग उहाँ राम्रोसँग परिचित हुनुहुन्थ्यो र तिनैबाट अनेक रोगका ओखती बनाउने र उपचार गर्ने गर्नुहुन्थ्यो। अहिले पनि जडिबुटीको एउटा झोला छ हाम्रो घरमा। केही थाहा छ धेरै थाहा छैन। भूत, प्रेत र आत्माको बारेमा उहाँसँग डरलाग्दा तर रोचक अनुभूति थिए, कथाकहानी जस्ता लाग्ने ती अनुभवहरू साँच्चिकै सङ्ग्रहणीय थिए। भविष्यमा थप अनुसन्धान, अन्वेषण गर्न मद्दत मिल्थ्यो कि जस्तो लाग्छ।

केही सम्झना, केही तिर्सना ! उहाँको छोरो हुनुका नाताले ‘आनन्दलोकको यात्रा’ लेखेर थन्क्याएको धेरै साल भइसकेछ, अधुरै थियो। अहिले सम्झना आयो।

आफूले चाहेजति पढ्न नपाएर हुनसक्छ, उहाँले छोराछोरीलाई जसरी पनि पढाउने कसम खानु भएको थियो। भन्नुहुन्थ्यो,”तिमीहरूले नै मति बिगार्यौ भने त के गर्नू, पढ्यौ भने नेपालमा पढाइ हुनेजति तिमारलाई जसरी पनि पढाउँछु।” म तीन चार कक्षा पढ्ने भएदेखि नै उहाँले स्कुलमा पढ्नु नपर्ने किताबहरू ल्याइदिन थाल्नुभयो।

“ल यो किताब पढेर सुना !” भन्नुहुन्थ्यो।

म सकेको भाका हालेर पढ्ने कोसिस गर्थें।

सम्झन्छु, ती मधुमालतीको कथा, लालहीराको कथाका किताब थिए। अकबर र बीरबलका कथा, पौराणिक कथा, लोककथा र दन्त्यकथा आदिका किताब थिए।

म छिटै ती किताबहरू फरररर पढ्न सक्ने भएँ, बुबा खुशी हुनुभयो।

“यसले पक्कै केही गरेर देखाउँछ।”

आफन्त र अरु आउनेजानेहरूले मेरो बारेमा सोध्दा पनि मेरै पढाइको बारेमा भन्नुहुन्थ्यो।

काठमाडौं गएर फर्कदाँ मेरा लागि नयाँ नयाँ किताबहरू ल्याइदिरहनुहुन्थ्यो। मलाई पनि अरुभन्दा नयाँ किताबकै आशा हुन्थ्यो। पढ्ने लत लगाइदिनु भएको थियो, एक किसिमको नशा भनौं न।

जे होस् मैले निराश पारिनँ, उहाँको आशा अनुरुप नै मैले विद्यालयको पढाइ राम्रोसँग पूरा गरें। उच्चशिक्षा अध्ययनको लागि काठमाडौं गएपछि भने उहाँसँग कमैसँगै बस्न पाइयो।

पढेर म गाउँकै स्कुलमा शिक्षक भएर गएँ। त्यसको केही वर्षपछि उहाँले गाउँ छोडेर शहर जानु भो।

चाडपर्व र लामो बिदामा सँगसँगै भएपनि लामो समय उहाँसँग बस्न मिलेन, रोजीरोटीको कारणले। तथापि उहाँ सरुवा मिला’र यतै आइज भनिरहनुहुन्थ्यो। विविध कारणले व्यवस्था मिलिरहेको थिएन।

जिन्दगीलाई कहिलेकाहीँ फर्केर हेर्नू, अनि सम्झिन लायक केही काम गरिएको छ कि छैन ! विचार गर्नू। गर्व गर्न लायक काम गर्नुपर्छ, भनिरहनुहुन्थ्यो पिताजी।

पढाइ लेखाइमा कमी नै भएपनि उहाँमा विज्ञान, शिक्षा, स्वास्थ्य, राजनीति, कुटनीति र दर्शनादि विषयमा राम्रो ज्ञान थियो। प्रयोगात्मक र हाते सीप बेजोड थियो। लाग्छ, शिक्षाको महत्व उहाँलाई जति अरुलाई थाहा थिएन। स्वास्थ्य उपचारसम्बन्धी ज्ञानको कमी थिएन। राजनीति नगरे पनि रुचि अधिक थियो। बामपंथीहरूको सत्ता आएपछि देशले मुहार फेर्छ भन्ने उहाँको अटुट विस्वास थियो।

कहिलेकाहीँ भन्नुहुन्थ्यो,”आफन्तहरूले बिस्तारै बिस्तारै छोड्दै जाँदा रहेछन्। जीवनको अन्तिम अन्तिमतिर माया गर्नेहरू पनि पातलिँदै जाने रहेछन्। आमाले छोडिन्, बाले छोडे, छोराले छोडेर गयो। अब आफैंले छोडेर जाने बेला भइसक्यो। संसारको रीतै यस्तै र’छ।”

उहाँका यी बचनहरू सधैं सत्य झैँ लाग्छन्। लागिरहन्छन्। ख्यालख्यालैमा उहाँले पनि बाँकिरहेका हामी सबैलाई चटक्क छोडेर जानू’भो। गर्न, भन्न अँझै निकै बाँकी छ जस्तो लाग्दै थियो। रैनर’छ।

अहिले सूचना तथा सञ्चारको युग छ। मोबाइल फोनको सुविधा नपुगेको ठाम छैन, मोबाइल नबोक्ने मान्छे छैनन्। सर्ट पाइन्ट र ज्याकेट, कोटका खल्तीमा लुकेका छन् ; हातहातमा सजिएका छन् अनि हातका बुढीऔंला र कान थप व्यस्त बनेका छन्। यसको सदुपयोग गर्दै मैले पनि मोबाइल फोन बोक्ने गरेको छु। दिन बिराएरजस्तो फोन आउँथ्यो बुबाको र सधैं शुरुमा सोध्नुहुन्थ्यो, “कुमार, सञ्चै छ ?”

अचेल पनि दिनमा पाँच सात पटकभन्दा बढी फोनको घण्टी बज्छ र प्रत्येक पटक म कतै उहाँकै फोन हो कि भनेर हतारहतार मोबाइल हेर्छु। त्योबेला म उहाँ कहिल्यै फोन गर्न नमिल्ने ठाउँमा पुग्नुभएको कुरा बिर्सदोरहेछु। अनि बाँकी रहेका यिनै सम्झनाका तरेलीहरू झुत्ताझुत्ती खेल्छन् दिमागभरि, मनभरि।

© कुमार काफ्ले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *