एउटा त्यो मिठो पल


क्षितिजपारि बिलिन भएर पृथ्वीको गर्भभित्र पस्न लागेको सन्ध्याको सूर्यदेवलाई आफ्नो नजर अर्पण गर्दै ऊ आफ्नो बिगतको जीवन यात्रालाई दृष्टिपात गर्दै छ एक दर्शकले चलचित्र हेरे झैं । उसका हृदयका पानाहरुमा बिस्तारै बिस्तारै अतितका घटनाहरू कोरिँदै जान थाले ।

एक दिन आफ्नो सधैं घुमिरहने बगैंचामा एक युवती अर्थात् विद्यार्थीमाथि उसको नजरको वर्षा भयो । अनि छिनभरमै मानसपटलमा हलचल ल्याइदियो, अनि त कहाँ भेटुँ कहाँ देखूँ त्यो मनमा उर्लेर आएका भावनाहरुलाई कसरी पोखुँ जस्तो हुन थाल्यो । साँचै रुप हेर्दा स्वर्गबाट मर्त्यलोकमा बिहारगर्न झरेकी परिको जस्तो थियो । उता ऊ भने मनमनै दंग थियो उसले आज के देख्दै छ, सपना हो कि बिपना?

निश्चल हेराइ, कोइलीको जस्तो मधुर बोलि, अनि पोथी हाँसको जस्तो हिंडाई र नागबेली परेको कालो घना केशराशी । साँचै भनौं भने उनको रुपको बयान गर्न विख्यात साहित्यकारले पनि सक्दैनथ्यो होला । हुनपनि किन नहोस त एक प्रख्यात कालिगढ़ले वर्षौं लगाएर कुँदेको मूर्तिजस्तो रुप थियो, अनि टपक्क टिपेर हृदयमा टाँसुजस्तो । एकदिन परिचयको क्रममा ऊ पनि सामेल रहेछ क्यारे अति मिठो नाउँ अनि मधुर मुस्कान सहितको बोलिले उसलाई त पुगिहाल्यो । अनि त एक चित्रकारले अत्यन्त मन दिएर आफ्नो कागजमा चित्र कोरेझें उसको हृदयमा उनको छाप बसिहाल्यो अनन्त अनन्तसम्म नमेटिने गरि, अनि पहिलो प्यार नै अन्तिम प्यारको संज्ञा दिँदै ।

जतिजति त्यस मानसपटलबाट त्यो स्मृतिलाई पछाउन खोज्यो उतिउति चुम्बकमा फलामका टुक्राहरू तानिएझैं एकाएक गर्दै आउन थाल्यो उनैका याद । अब त उसलाई परेवाले आफ्नो जोडी नभेटाएर आकाशमा भौन्तारिएर उड्दै खोज्दै गरेझैं एकान्त जंगल, सुसाइरहने कुनै नदीको किनार या जुन र ताराहरू आपसमा कानेखुशी गरेर खाल ठट्टा गरिरहेको पूर्णिमाको जुनीले रात जहाँ उनीसँग आफ्नो भावना र विचारहरू नदी झैं स्वतन्त्र र खुल्ला रुपमा पोखेर जीवनरुपी रथलाई सुनौलो घामका किरणमा चम्काउने अवसरको खोजीमा उसको मन भौन्तारिन थाल्यो ।

तर यी सबै काल्पनिक संसारको परिवेशमा हराउनु शिवाय अरु हात लाग्यो शून्य प्रायः हुन्थ्यो । किनकि दुनिया स्वार्थी थियो अनि त्यो स्वार्थी दुनियाको नजरबाट छिप्न पाउने अवसर नै उसलाई कहाँ मिल्थ्यो र ? कहिलेकाहीं बाटोमा भेट भए अनौपचारिक कुराकानीमा मात्रै सीमित हुनुपर्थ्यो, किनकि त्यहाँ अरुपनि साथीहरुको उपस्थिति हुन्थ्यो । मृगतृष्णा झैं ऊ त्यस नविन अनि घामका सुनौला किरणहरुले सारा पृथ्वीलाई नै रंगाएर स्वर्गतुल्य बनाएर खहरे उर्लेर आएजस्तो त्यो मनमा उर्लेर आएका नविन भावनाहरूलाई पोख्न पाउने दिनको प्रतिक्षामा थियो । अनि नजरमा नजर मिलाउँदै ती नयनहरुका जुधाईमा हृदयका भावहरू पोख्ने सपना देख्नु पनि उसको लागि नौलो थिएन अचेल । ऊ प्रायः सधैं यही भावनामा डुबुल्की मार्थ्यो ।

सुनौलो घामले पृथ्वीमा पदार्पण गरेजस्तो ऊ एकदिन एक जना आफन्तको घरको आँगनमा पदार्पण गर्दै थियो आफ्नै दिदीको साथमा जुन उनैको निवासस्थान थियो । नजरको संकेत अनि ओठका भावहरुले कुन्नि के व्यक्त गरिएको थियो दिदीबाट, अनि एकैछिनमा सन्देश बाहक पंक्षी उडेर गए झैं एक सन्देश उनीकहाँ पुगेछ क्यारे उनी फिल्मी नायिकाको पहिलो नजर नायकसँग परेर शिर नत गरेझैं शर्मिली रुपमा जड झैं लजाउँदै क्षणभरमा नै अगाडि उभिन आइन । अनि मौनतालाई भंग गर्दै औपचारिक वार्ताको कोसेलीहरू आदान प्रदान गरी परिचयात्मक प्रस्तुति भएर चारनेत्र एक भै क्षणभरमा नै ती नयनहरुका के मनोभाव थिए कुन्नि ती दुवैका हृदयमा एक नयाँ तरंगको संचार भएछ ।

खासमा उसले जे चाहेको थियो त्यो कुरा उसमा पायो । अनि बिस्तारै बिस्तारै सिटामोलले ज्वरो निवारण गरेझैं उसको केही समय अघिदेखिको उकुसमुकुस भैरहेको मनलाई बेग्लै शीतलता मिल्यो ।

अनि उसले मनमनै उमारेको सानो आशा अनि खुशीको बिरुवामा नयाँ त्यही दिन देखि नयाँ पालुवा पलाउन थाल्यो र एउटा वृक्षको रुप लिन्दै गयो ।

(२०५२ साल चैत्र २ गते)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *