अनाम पाठशालामा एकदिन


अप्रिय सानु,

तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकिरहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।

सप्तरीका दुर्गम गाउँहरुमध्एको एउटा गाउँ सोनरा । तीनतिरबाट दुईओटा खोलाले घेरिएको । एकातिर जिता खोला र अर्कोतिर अनाम खोला । यी दुवैको दोभानले घेरिएको तेस्रो किनारमा अवस्थित थियो (छ ?) पकरी गाउँ विकास समितिभित्रको एउटा गाउँ सोनरा । त्यहीँ २०१८ सालको मध्ये वर्षाका दिनमा एउटा बालककको जन्म भएको थियो । न्वारानका दिन नाम के राखियो, त्यो उसलाई थाहा भएन तर उसका श्रवणेन्द्रियले ग्रहण गर्न थालेदेखि सुन्न थाल्यो, ‘सानु ।’ कसैले यही नाम काढ्दा उसले फरक्क फर्केर हेर्न थाल्यो । त्यहीदेखि उसले थाहा पायो, ‘यो मैले पाएको नाम रहेछ ।’ त्यो तिमी नै थियौ ।

यही नाम बोकेर तिमी हिँड्न थाल्यौ । हिँड्न थालेको समयदेखि तिमीले पहिलोपटक जुन पाठशालामा पाइला टेकेका थियौ, त्यसको नाम विस्मृतिमा हराइसक्यो । यतिचाहिँ अवश्य थाहा छ कि त्यस पाठशालासम्म पुग्न तिमीले एउटा विशाल चउरी (खेतको फराकिलो फाँट) नाघ्नुपर्थ्यो । चउरी नाघ्दै गर्दा दिउँसै नढिया (स्याल) कराउँथे । तिमीजस्ता केटाकेटीलाई एक्लैदुक्लै पाए ती फुटबल बनाएर भकुन्ड्याउन सक्थे, बास्केटबल बनाएर उफार्न सक्थे । तिम्री आमालाई सबैभन्दा बढी डर क्यै कुरोको थियो भने यसै कुरोको कि कहीँ तिनले तिमीलाई लछारपछार पारेर आगतका पूर्वाभ्यासका पूर्वदृश्य प्रस्तुत नगरुन् । यसैले उनी आफै तिमीलाई डोर्याउँदै पाठशालासम्म पुगेकी थिई । त्यस दिनको यकिन तिथिमित भने थाहा भएन । यसको अनुमान तिम्रो जन्ममितिका आधारमा लगाउनुपर्छ । तिमीलाई थाहा छैन होला कि त्यतिबेला तिमीसँग सिलोट र खरी पनि थियो कि थिएन । किनभने सिलोट किन्न बजार (स्थानीय रुपमा राजविराजलाई बजार भनिन्थ्यो । भनिन्छ पनि ?)सम्म पुग्नुपर्थ्यो । बजार पुग्न एउटा लामो चउरीमात्र होइन, वर्षाको मौसम पर्यो भने खाँडोको असमेल भेल तर्नुपर्थ्यो र हिउँदका बेला पर्यो भने त्यही खाँडोको बालुवामा भासिँदै लामो बाटो तय गर्नुपर्थ्यो । चैतवैशाखको खडेरीको बेला पर्यो भने त खाँडोको बालुवा विशाल हाँडीमा उमालेर परपरी भुटेजस्तै हुन्थ्यो । जुत्ताचप्पलका नाममा रित्ता पाइताला हिँड्नुपर्ने त्यसबेलामा सिरसिर चल्ने बतास पनि रिसाएर ठप्प भयो भने त झन् के कुरो गर्नु ! खाँडोको पानी होइन, बालुवा तर्नु गाह्रो हुन्थ्यो । यसैले म विश्वास मान्न सकिरहेको छैनँ कि ती सब कष्ट उठाएर बजार पुगे पनि तिम्री आमाको सारीको खुँटमा सिलोट र खरी किन्ने पर्याप्त पैसा हुनुपर्छ । यसो भइसकेपछि वर्णमालाजस्ता किताब तिम्रा हातमा थिए होला भनी कल्पना गर्नुपर्ने आवश्यकतै परेन ।

यसर्थ पहिलोपटक पाठशाला टेक्दा तिम्रो हातमा थियो भने पनि गाउँकै सुतिहार (सिकर्मी ?)ले बनाइदिएको काठको पाटी र माटाको सारो डल्लो हुनुपर्छ । यसभन्दा बढी केही थियो होला भने पानीमा भिजाएको पोतना, जसले पाटीमा लेखिएका अक्षर नामका किरमिर–किरमिर धर्काहरू मेटाउँथ्यो, अचेलको भाषामा भन्ने हो भने डस्टर । निश्चितै रुपमा त भन्न सक्दिनँ तर तिमीले पहिलोपटक पाठशाला टेक्दा तिमीसँग यिनै सब चीज हुनुपर्छ । तिमीले पहिलोपटक पाइला टेकेको पाठशालाको धमिलो चित्र भने मेरा आँखामा अहिलेसम्म नाचिरहेको छ । त्यस पाठशालाको छाना खरले छाएको थियो र त्यहाँको बाटोबाट आकाशका अधिकांश भागलाई ओल्टोकोल्टो नगरी जताबाट पनि देख्न सकिन्थ्यो । भित्तो भने ठकुवा टाटको (बाँसको कप्टेरो नागबेली फङ्कामा मोडी बनाइने पर्खाल) थियो तर त्यहाँबाट पनि विनाबाधाविरोध सग्लै बाहिरी दृश्य देख्न सकिन्थ्यो । यति हुँदाहुँदै पनि तिमीले आफूलाई धन्य मान्नुपर्छ कि सप्तरीको दुर्गम गाउँमा उतिबेला पाठशाला नामको शाला पायौ र त्यहाँ पहिलो पाइला टेक्न पायौ । होइन भने तिम्रा पाइलाहरू त्यहाँदेखि यहाँसम्म आइपुग्ने थिएनन् ।

एउटा लामो यात्राको यो हिँडाइमा तिमी विश्वासै गर्न सक्दिनौ होला, तिमी पढ्न कम र आँसु बगाउन बढी व्यस्त थियौ । अरु पढिरहेका थिए कि पढिरहेजस्तो गरिरहेका थिए, त्यो तिमीलाई थाहा हुने कुरै भएन । किनकि तिमी त पढ्नुको नाममा केवल कहालीई–कहालीई रोइरहेका थियौ । मलाई लाग्छ, तिम्रो शब्दकोशमा पढ्नुको परिभाषामा केवल रूनु भनेर लेखिएको थियो र तिमी दिनभरि रोइरहेका थियौ । किनभने तिम्री आमा तिमीलाई रूँदारूँदै छाडेर सोनरा फर्किसकेकी थिई र तिम्रो गाउँबाट तिमी एक्लै थियौ । पाठशालामा दिनभरि एक्लै रोएर बेलुका त्यत्रो चउरीको बाटो कसरी सोनरा फर्कियौ, त्यो भने मलाई पनि थाहा भएन । चउरीमा जताततै दिउँसै गस्ती लगाइहिँड्ने नढिया र खिखिरहरुले तिमीलाई कसरी जीवनदान दिए, त्यो पनि मैले थाहा पाउने कुरो भएन । मैले थाहा पाएको भनेको त्यसदिनपछि भोलिपल्टेखि तिमीले पाठशालामा पाइलै टेकेनौ । त्यसो भएकोले तिमीले तिम्रा कक्षाका साथीहरू र शिक्षकका बारेमा थाहा पाउने कुरै भएन । जेहोस् उतिबेला तिम्री आमाले तिमीलाई चउरी काटेर पाठशाला पुर्याउन गरेकी साहस र तिमीले शिक्षाका नाममा पहिलोपटक दिएको आँसुको अघ्र्यलाई भने सलाम गर्नै पर्छ ।

अब ‘सानु’ कसरी ‘धीरकुमार’ भयो ? यो जान्न भने केही समय कुर्नै पर्छ । यसका लागि अर्को चिठीसम्म पर्खिराख ।

व्यक्तिगत विवरण

वास्तविक नाम : धीरकुमार श्रेष्ठ
साहित्यिक उपनाम : निमिष, अभिमन्यु
माता/पिता : सुवर्णलक्ष्मी श्रेष्ठ/भरतबहादुर श्रेष्ठ
जन्म मिति : २०१८ साल असार २५ गते (सोनरा, पकरी ६, सप्तरी)
स्थायी ठेगाना : साबिक : सोनरा, पकरी ६, सप्तरी/हाल : मध्यपुर थिमि १, मनोहरा प्लानिङ, भक्तपुर
शिक्षा : स्नातकोत्तर (नेपाली), बी.एल.
प्रथम लिखित रचना : २०२८ सालतिर ‘वसन्त’ शीर्षकको कविता
प्रथम प्रकाशित रचना : २०३८ सालमा धौलाश्री (साप्ताहिक, बाग्लुङ)बाट ‘दिदी’ शीर्षक कथा ।
संलग्न विधा : कथा, उपन्यास, कविता, निबन्ध, समालोचना, बालसाहित्य, भाषा–व्याकरण आदि ।
प्रकाशित कृति : आरम्भ अर्थात् सुरुआत (१५ ओटा कथाहरुको सङ्ग्रह, २०६३)
: घुर (उपन्यास, २०६४)
: तन्द्रामा अमेरिका (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, २०६५)
: नजन्मिनुपर्ने मान्छे (१६ ओटा कथाहरुको सङ्ग्रह, २०७०)
अनुवाद : बाइसौं शताब्दी (हिन्दीबाट नेपालीमा, २०६७)
बालसाहित्य : जेब्रा क्रसिङ (सचित्र बालकथा, २०६५)
: अग्लो घाँस (तथ्य पुस्तक, सन् २०१०)
: हलो जोते खाए माम (बालकथासङ्ग्रह, २०६८)
बालव्याकरण : सरल नेपाली बालव्याकरण र रचना कक्षा १ देखि ५सम्म (२०६४, सहलेखन)
: निम्नमाध्यमिक नेपाली व्याकरण र रचना कक्षा ६ देखि ८सम्म (२०६५, सहलेखन)
: प्रयोगात्मक नेपाली व्याकरण र रचनाशिल्प कक्षा ९ र १० (२०६८, सहलेखन)
पाठ्यपुस्तक : मेरो प्यारो नेपाली (क) देखि (ग) (२०६६, सहलेखन)
: मेरो प्यारो नेपाली कक्षा १ देखि ५सम्म (२०६६, सहलेखन)
: मेरो प्यारो नेपाली कक्षा ६ र ७ (२०६७, सहलेखन)
: व्यावहारिक लेखन र सम्पादन (२०७५ बि.एड. त्रि.वि. र पू.वि.)
सम्पादन : हेमचन्द्र पोखरेलका केही कविताहरू (कवितासङ्ग्रह), संसार हल्लाउनेहरू (श्यामकृष्ण खुलिमुलीको निबन्धहरुको सङ्ग्रह, २०६३), रेडियो जक्की (माधव निर्दोषको रेडियो पत्रकारितासम्बन्धी पुस्तक), धाँजो (विश्वम्भर चञ्चलको कथासङ्ग्रह, २०७३), मैले पढेका कथा (सीता भट्टराईको कथासङ्ग्रह, २०७५), अग्निदह (हिरण्यकुमारी पाठकको कथासङ्ग्रह, २०७५) ।
: दीपशिखा (वार्षिक प्रकाशन)
: ज्योतिपुञ्ज (वार्षिक प्रकाशन)
: शब्दाङ्कुर (साहित्यप्रधान, मासिक)
: प्रशासन (सार्वजनिक प्रशासनसम्बन्धी पत्रिका)
अतिथि सम्पादक : सम्प्रति (मासिक पत्रिका)
सल्लाहकार : अभयपुर (मासिक)
आजीवन सदस्य : अभियान साहित्य प्रतिष्ठान, नेपाल बाल साहित्य समाज, साहित्य संवद्र्धन केन्द्र ।
निजामती सेवा : २०३६ देखि २०७५ असारसम्म ।
प्राध्यापन : २०५१ देखि हालसम्म, कोटेश्वर बहुमुखी क्याम्पस, कोटेश्वर, काठमाडौँ ।
: २०७५ देखि हालसम्म, नेपाल कलेज अफ सोसियल स्टडिज, कोटेश्वर, काठमाडौँ ।
सम्पर्क : ९८४१–३६२०३२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *