Skip to content

राजविराज : मेरो सम्झनामा

YamnathPaudel


जीवन एक यात्रा हो, कर्मशील मानवले कर्तव्य पुरा गर्न यात्रालाई निरन्तरता दिनै पर्छ । यात्रा विनाको जीवन खल्लो तथा निरस हुन्छ । जीवनमा मैले धेरै यात्रा गरेको छु । २०५० देखि २०६५सम्मको मेरो जीवनको यात्राक्रम हालको २ नम्बर प्रदेशमा पर्ने सगरमाथा अञ्चलको सदरमुकाम सप्तरी जिल्लामा भएको थियो । १५ वर्षदेखि गरेको यात्राका केही स्मरणहरू मेरो जीवनका अभिन्न अंग बने ।

कुरा परिवर्तनको थियो । परिवर्तनका नाममा धेरै पटक आन्दोलन गरियो तथा भए पनि । ती आन्दोलनहरुमध्ये २०५२ देखि २०६४सम्म नेपाल, त्यसमा पनि २ नं. प्रदेशको आन्दोलन म कहिल्यै पनि बिर्सन सक्दिनँ । २०५२ सालको माओवादी पार्टीको सशस्त्र आन्दोलनमा हजारौँको संख्यामा नेपाली जनताले वीरगति प्राप्त गरे । २ दिनकी सुत्केरी तथा किरिया पुत्रीलाई समेत आन्दोलनले प्रभावित तुल्यायो । असंख्य सरकारी कार्यालय, विद्यालयहरुमा तोडफोड तथा आगजनी गरेर सम्क्पूर्ण प्रमाण जलाउने कामहरू भए । नेपाली जनताले एउटा गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध जस्तै थियो; मानौ कुनै न कुनै निकाय (सरकार वा आन्दोलनकारी)बाट इजाजत लिनु पर्ने अवस्था पनि आएको थियो ।

म शिक्षण पेशा अँगालेको मान्छे भएकोले धेरै विद्यार्थी तथा युवा पुस्तासँगको सम्पर्कमा थिएँ । त्यसैले पनि मलाई भने त्यति असजिलो महसुस भएन । धेरै तिरका क्याम्पस, विद्यालयका विद्यार्थी, शिक्षक तथा पत्रकार साथीहरुसँगको सम्पर्कमा भएको कारणले पनि म मोरङ्गको मान्छेलाई सप्तरीमा अप्ठ्यारो नपरेको हो । त्यो समयमा महेन्द्र विन्देश्वरी बहुमुखी. क्याम्पसको बि.ए. तेस्रो वर्षका विद्यार्थीहरुलाई २०५५/०५६ सालदेखि पत्रकारिता विषय पढाउने अबिभारा मेरो थियो । सैद्धान्तिक पढाइभन्दा धेरै प्रयोगात्मक गर्नु पर्ने भएकोले धेरैभन्दा धेरै पत्रपत्रिका तथा पत्रकार साथीहरुसँग मेरा परिचय थियो ।

तत्काल राजविराजबाट सुरेश आचार्यको सम्पादकत्वमा बहाँकै प्रेसबाट साप्ताहिक रुपमा सगरमाथा आवाज पत्रिका प्रकाशित हुन्थ्यो । म त्यो पत्रिकाको समय सन्दर्भ स्तम्भको स्तम्भकारका रुपमा चिनिन्थेँ । वर्षमा २, ३ पटकसम्म प्रशिक्षार्थी पत्रकारहरुलाई तालिम दिन लैजाने गर्दथेँ । वैद्यनाथ झा, सुरेन्द्र गुप्ता, मनोहर पोखरेल, शिवहरी भट्टराई आदि धेरैले सहयोग गर्नुभएको थियो ।

सप्तरीको राजविराजमा बस्दा मेरो विशेष गरी यशवन्त झा, संजय झा र महानन्द झासँगको पारिवारिक सम्बन्ध गाँसियो । यद्यपि अरु थुप्रै साथीहरुसँग मेरो सम्बन्ध जोडिएको थियो तापनि यी तीनजना साथीसँगको पारिवारिक सम्बन्धले मलाई दोस्रो आन्दोलनको बेला ठुलो सहयोग मिलेको थियो । कैयौँ दिन म र मेरा परिवारलाई वहाँहरुले सुरक्षा दिनु भएको छ । यो कुरा अहिले पनि मेरो परिवारमा चर्चा भई नै रहन्छ । हामी ४ जनाको पेशा र कार्यथलो मिल्दथ्यो । यद्यपि अर्को जिल्लाको मान्छेले यहाँ आएर जागिर खायो भनी इर्ष्या गर्नेहरू पनि नभएका चाहिँ होइनन् तर तीन परिवारको सहयोगले म र मेरो परिवार सुरक्षित थियो ।

तत्कालीन केही नेता तथा स्वार्थीहरुको सक्रियतामा नेपालगञ्जबाट जातीय आन्दोलनको विजारोपण भयो । चैत्र महिनाको खडेरीमा सल्लेको हुर्रहुरे बतासको आगो झैँ नेपालभरी यसको नराम्रो प्रभाव पर्यो । विशेष गरी तराईका शहर नेपालगञ्ज, विरगंज, जनकपुर, सिराहा, राजविराज आदि ठाउँमा यसको नराम्रो असर पर्यो ।

वषौँदेखि हिमाल, तराई, उपत्यका, पहाडमा छरिएर बसेका नेपाली दाजुभाइका बीचमा तिक्तता फैलियो, जातीय राजनीतिको नराम्रो खेलमा नेपाल र नेपाली जनता धेरै वर्ष अलमलिए । असंख्य युवायुवतीहरू विदेशिन बाध्य भए । पुस्तौँ पुस्तादेखि बसोवास गर्दै आएको पैत्रिक स्थललाई मन नलागि नलगि कौडीको मूल्यमा बेचेर हिँड्नु पर्यो । पहिलो आन्दोलनमा सुरुवात भएको हत्या–हिंसा, अपहरण, चन्दा फिरौतीले व्यापकता पायो । धेरैजसो तराईका शहरहरुबाट पहाडे मूलका नागरिकहरुले बसाईँ सर्न बाध्य हुनुपर्यो । मुटु छेड्ने खालका भाषण, नारा, जुलस, पर्चा र दृश्यहरुलाई हेर्नु, सुन्नु, पढ्नु र खप्नु पर्यो । नेपाल आमाको काखमा अँटाइरहेका नेपाली जनता अब नअँटाउने जस्तो परिस्थिति देखा पर्यो । रोजगारीको क्रममा तराईबाट पहाड र पहाडबाट तराई झरेका एव म जिल्लान्तरमा गएका दुवै समूहलाई निक्कै असजिलो भएको थियो । यो तितो अनुभव मैले पनि भोगेको छु । स्वस्थानी पूजा खान तथा पूजा लगाउन आउनु भएकी मेरी आमा भाउजू, दिदी लगायत ६ जना पाहुनालाई मैले मोरङ्ग पठाउन सकिनँ । यही बीचमा रमाइलो कानेपोखरी, मोरङ्गमा बस्दै आउनुभएका मेरा काका मनोरथ पौडेलको मृत्यु भयो र म लगायत अरु कोही पनि वहाँको काजकिरियामा उपस्थित हुन पाएनौँ । २९ दिनसम्म कोठामा थुनिएर बन्दी जीवन जस्तै बिताउनु परेको तितो अनुभव मेरा आफन्तहरुले पनि भोग्नु परेको थियो । विरामी भएर एम्बुलेन्समा चढेर अस्पतालसम्म जान सक्ने अवस्था भएन । त्यो बेला घरैमा आएर उपचार ग्रिदिनु हुने शोभा मेडिकलका आदरणीय दाजु अजय झालाई धन्यवाद नदिइरहन सक्दिनँ ।

सप्तरी मेरो जीवनको लागि भाग्योदयको भूमि तथा कर्मभूमि बन्न पुगेको छ । मेरो जीवनमा २०५० पछि जे–जति मात्रामा परिवर्तन भयो, त्यो सबै यही पवित्र भूमिको आशीर्वाद मान्दछु । पूर्वमा कंकालीनी, राजदेवी, पश्चिममा छिन्नमस्ता भगवती र उत्तरमा शम्भुनाथ बाबाद्वारा संरक्षित यो पावन भूमिमा म मोरङ्गको वेरोजगार युवाले रोजगार पाएको थिएँ । यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज मोडेल क्याम्पसमा अध्यापन गराउँदै त्रि.वि. सेवा आयोगको परीक्षामा सफल भएर उपप्राध्यापक पदमा बढुवा सहित स्थायीत्व प्रदान गरेको कुरालाई बिर्सन सक्दिनँ ।

यसै गरी सप्तरी मेरा सन्तान (छोरा छोरी) को गुरुकुल जीवन बितेको पवित्र ज्ञान भूमि हो । यहीँबाट छोरा दिनेश र छोरी सीताले उच्च अंक सहित एसएलसी जस्तो फलामे ढोका पार गरेर उच्च शिक्षा अध्ययनको ढोका खोलेका थिए । यसरी सप्तरी म मेरो परिवारको भाग्योदय भूमिका रुपमा रहेको छ । यो भूमिलाई म र मेरो परिवार जति टाढा भए पनि सम्झने छौँ; हामी यो भूमिको अन्न जलका ऋणी छौँ ।

विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *