Skip to content

दैनन्दिन आँखा


अचेल म सबेरै सुत्ने र विहान सबेरै उठ्ने गरेको छु । डाक्टरहरूले दिएका सल्लाहलाई देववाणी ठान्ने गरेको छु । दाहिने हात कुप्रियाएर र दहिने खुट्टा बङ्ग्याएर भए पनि विहान–बेलुका खाली पेट १/१ घण्टा हिँड्ने गरेको छु । जोडजोडले श्वास फ्याल्न र नाक समाएर श्वास लिन र फ्याक्न लगाएका छन् । डाक्टर र साधकहरू त्यस क्रियालाई कपालभाति र अनुलोमविलोम प्राणायामभन्दा रहेछन् । गलत हो कि सही हो, म भने हरियो दुबोमा खाली खुट्टाले हिँड्दै र प्राणायाम गर्दै गर्ने गरेको छु । यसो गर्दा तोकिएभन्दा बढी समय पनि दिन सक्छु । बसेर प्राणायाम गर्न २ मिनेट पनि सक्तिनँ ।

यस बीचमा मैले दर्जनौँ यात्रा गर्नुपर्यो । कहिलेकाहींको यात्रा बडो रोचक हुँदो रहेछ । र, आकस्मिक पनि हुँदो रहेछ । बिमारबाट मुक्ति खोज्न लम्कन खोज्दा ती यात्रा गरिए । कुनै सुझबुझका यात्रा भए भने कुनै अज्ञानमै यात्रा थालिए र टुङ्गिए । यी सबै यात्रा बाध्यताका थिए । बाध्यतामा रहर घोल्न खोज्दा घुल्नै मानेन । र, आखिर बाध्यता अलग्यै बस्यो । रहर केवल रहरमै सीमित भयो ।

यात्राकै कुरा गर्दा २०४८ सालतिर आई. ए. पढ्दाताकाको पुराना मित्र शिवकुमार यादव (मो.नं. ९८२४७१७१४९) एक दशकदेखि ‘ॐ शान्ति’ को पथमा लागेका थिए । केही वर्षदेखि उनी शाकाहारी बनेका थिए । मठमन्दिरमा देवीदेवताको पूजाआजा गर्ने प्रचलनबाट टाढै थिए । शिवबाबाको याद गर्न र सादगी आहारविहार गर्न सके जीवन फूल बन्ने घोषणा गर्थे । उनी सत्य, द्वापर, त्रेता र कलियुगका कहिरनमा दुई/चार घण्टा बितेको पत्तै पाउँदैनथे । मलाई माछा–मासु र खैनी त्याग्न बरोबर दबाब दिइरहन्थे । म ती वस्तुको पारखी थिएँ । त्यसबेला उनका कुरा नमीठा लाग्थे यद्यपि प्रतिकार गर्न भने सक्तिनथेँ । किनभने उनका कुरा सही थिए । माछा–मासु र खैनी खाने गलत आदतको सिकार म नै थिएँ ।

शरीरको दाहिने पाटो पक्षाघातले मुर्दा भए पछि म उनको अनुयायी भएको थिएँ । म बिरामी भएकोमा उनी दुःखी थिए । तर, माछा–मासु र खैनी त्यागेको र साधु जीवन धारण गरेकोमा खुशी थिए । उनी भन्थे, “जन्मले त ब्राह्मण हुनुहुन्थ्यो नै ! अब बल्ल तपाईं कर्मले पनि ब्राह्मण बन्नुभयो । अब तपाईं सत्यलोकमा प्रवेश पाउन योग्य हुनुभयो ।”

मलाई उनका मृत्युपछिका कुरामा कुनै चासो थिएन । यद्यपि उदयपुरका साहित्यिक मित्र पुन्य कार्कीको प्रेरणाले माउण्ट टापु जान रु. ८,०००।–का दरले दुई जनाको रु. १६,०००।– राजविराजस्थित ॐ शान्ति सेन्टरमा बुझाइसकेको थिएँ । पुन्यजीले भनेका थिए, “आचार्यजी ! जीवनमा सिर्फ एक पटक मात्रै भए पनि माउण्ट टापु पुग्नैपर्छ । साहित्य सिर्जनामा ऊर्जा मिल्छ । प्राकृतिक र भौतिक सम्पदाको भव्य मिश्रणको स्वाद लिन पाइन्छ । मौका मिलाएर जाने प्रवन्ध गरौँ ।”

रकम नबुझाउँदासम्म स्नातक तहका मेरा विद्यार्थी र ॐ शान्तिका अनुयायी सत्यनारायण मण्डल (मो.नं. ९८१५७३०९५४) अनुरोध गरिरहन्थे । सेन्टरकी सञ्चालिका भगवती दिदी (मो.नं.९८६२८५१२३८)सँग कुरा बुझ्दा उनले ‘रकम संस्थागत भ्रमण अवधिभरको ट्रेनभाडा र खानबस्नका लागि हो, इच्छुकले तीन महिना अगावै बुक गराउनुपर्छ’ भनिन् । हो न हो, तलव आएको मौका थियो, मैले पनि खातामा हालिदिएँ । र, राजविराजबाट रकम प्राप्त भएको जानकारी पाएँ ।

राजविराजको ॐ शान्ति सेन्टरमा मेरो चिनजानका दीपक भाइजी पनि थिए । उनी बौद्धिक व्यक्ति पनि थिए । एक समयमा उनले मलाई ॐ शान्ति संस्थाका थुप्रै कुरा बताएर आकर्षण समेत गरेका थिए । खासमा दीपक भाइजी ‘ॐ शान्ति’ पत्रिकाका लेखक थिए, म त्यसको पाठक थिएँ । एकाध कुरालाई छाडेर पत्रिकामा जीवनोपयोगी कुराहरू छापिन्थे । म ॐ शान्तितिरभन्दा पनि पत्रिकाका गहन सामग्रीतिर लोभिएको थिएँ । निकै वर्ष त्यस पत्रिकाको वार्षिक ग्राहक बनेँ । जीवनलाई गहिरो तवरले बुझ्ने ज्ञान पनि पाएँ ।

पटकपटक माउण्ट टापु पुगिसकेका शिवकुमार यादव हामी पनि जाने भएको कुरा सुनेर अघोरै खुशी भए । रकम बुझाएको हप्ता दिन नवित्दै ९८४२८२९२०६बाट ९८४२८२६७९१मा पुन्यजीलाई फोन गरेको त म तीन छक्क परेँ । उनले भनेका थिएँ, “के गर्नु ! जान त खोजेकै हो । त्यस बेला पितृको श्राद्धकर्मको तिथि पर्दो रहेछ । घर छाडेर हिँड्न मिलेन । सरी आचार्यजी !”

सनातनदेखि मानी ल्याएको श्रद्धा त्याग्न पनि भन्न नैतिकताले दिएन । भाग्यवस्, अँझैसम्म बाबुआमाको काखमा रम्न पाएको मेरा लागि पितृको श्राद्धकर्मको कुनै ज्ञान थिएन । अर्कातिर धेरैजसो समय घरबाहिर बिताउने भएको हुनाले घर परिवारमा के गरिन्छ, त्यसको भेउ पाउन सकिन्थ्यो । यद्यपि पढेर भए पनि महत्त्वका कुराबाट भने अविज्ञ थिइनँ । जय होस् त ! भन्दै फोन राखेँ र भगवती दिदीलाई आफ्नो असमर्थता बारे जानकारी गराएँ । उनले पनि अरू कसैको साथमा जान कोसिस गर्न आग्रह गर्दै भनिन्, “भाइ ! धेरै मान्छे जान्छन् । सबैले सहयोग गर्छन् । नयाँ ज्ञान र अनुभूति हुन्छ । कोही साथी खोज्नू ! शिवबाबाले डाकेपछि पुग्नै पर्छ । ॐ शान्ति !!!”

खासमा पुन्यजीको साथमा यात्रा गर्दा साहित्यका, जीवनका, दर्शनका र समाजका अनगिन्ती कुरा सुन्न र सिक्न पाइन्थ्यो । उनको समीपमा बस्ता मात्रै पनि बडो आनन्दानुभूति हुन्थ्यो । जीवनमा पहिलो पटक उनीसँग सन् २००८मा ओशो ध्यान शिविरमा सामेल हुन बाराणसी, बनारसको यात्रा गर्ने अवसर पाएको थिएँ । त्यस समयमा उनको संगतले आफूमा भएको सम्पूर्ण अहङ्कार, तनाव र त्रास धुलोपिठो भएर हावामै विलीन भएको अनुभूत गरेको थिएँ । वास्तवमा आफूभन्दा जान्ने–बुझ्नेसँगको निकटता जसका लागि पनि सौभाग्य नै हो ।

त्यही २००८ को अनुभव २०१७/१८मा पनि पाउने चाहना अधुरो रहने देखेर मन विचलित भइरह्यो । स्कुल बिदा परेको समयको यात्रा भएकोले माउण्ट टापु यात्रा उत्तम हुने अवस्था त थियो । मन मिलेको साथीको साथ नपाउने भए पछि भने जानु र नजानुमा तात्विक विभेद नरहेको विश्लेषण गर्दा गर्दै उनै शिवकुमार यादवको नाम झट्टै सम्झे ।

शिवकुमार मसँग जान तयार भए । नयाँ कुरो भगवती दिदीलाई सुनाइयो । हप्ता दिन भित्रै मेरो मनमा नाना थरीका कुरा मडारिन थाले– आँखाको दृष्यपानका लागि संसारकै सुन्दर वस्तु प्रतीक्षारत् रहेका हुन सक्छन् । जीव्रोका स्वादका लागि चौरासी व्यञ्जनले सुभाष फैलाइरहेका हुन सक्छन् । मनको आनन्द र ज्ञानका लागि ती दृष्यपान र स्वाद अपर्याप्त हुन्छन् । ध्यानी र ज्ञानी मान्छेसँगको बातचितले आनन्दसँगै ज्ञानको भकारी भरिँदै जान्छ । त्यस्ता ध्यानी र ज्ञानी पुन्य कार्कीलाई सम्झेर बनाएको योजना उनीविना पूरा हुँदैन र पूरा गर्न पनि मिल्दैन ।

अन्ततः म नजाने भएँ । शिवकुमार पनि रोकिए । सेन्टरले पनि मान्यो । अर्को कुनै कार्यक्रममा जाने सर्तका हाम्रो यात्रा स्थगित गरियो । २०७४ कार्तिक १० गते मेरो जीवनमा आँधीबेहरी आएपछि सत्यनारायण मण्डलले ९८१५७३०९५४बाट फोन गरी अर्को यात्रा गर्न भनेका थिए । म त्यसबेला राम्ररी बोल्न सक्ने अवस्थामा पनि थिइनँ । बिरामी भएकाले जान असमर्थ रहेको बोध गराएँ । उनी मौका आउँछ, पर्खदैन र चौका हान्न जान्नेले जित्छ भन्दै थिए ।

एक त म हाईप्रेशरको रोगी, कोमल मन भएको समय थियो । कसैको गनगन सुन्ने मन हुन्नथ्यो । रिस त नाकको टुप्पैमा हुन्थ्यो । सत्यनारायणको गनगनलाई मुखमै बुझो लगाउने हिसावले जवाफ फर्काएँ, “जान सक्दिनँ भनेपछि सक्दिनँ । शारीरिक र मानसिक दुवै रूपले मर्न लागेको मान्छेलाई केको माउण्ट टापु ! अब माथि गएर जाऊँला । सत्यनारायणजी ! म प्यारालाइसिसले हलचल गर्न नसक्ने अवस्थामा छु । फोन राखेर मलाई आनन्दले सास फेर्न दिनुस् ।”

नभन्दै उनले मेरो स्वास्थ्य लाभको चाहना र कामना व्यक्त गरे । र, शिव बाबासँग प्रार्थना गर्ने बचन दिएर फोन राखे । लामो सास फेरेँ । मनमा आनन्द बास बस्न आइपुग्यो । केही बेरमै मेरो मनमा कुरा नाच्न थाल्यो– कसैले चाहना, कामना र प्रार्थना गर्दैमा विमार निको हुने भए लाखौँ लाख खर्च किन गर्नु ? जानिजानी आडम्बरी समाजले आफ्नो चतुर चर्तिकला दोहोर्याएको र तेहर्याएको देख्दा छक्क परिरहेँ । मनमा यस्ता कुरा आए पनि समाजले आफ्नो सामाजिक भूमिका निर्वाह गर्नैपर्छ । यदि गरेन भने फेरि मन दुखाइ तीव्र हुन्छ ।

त्यस बेला अरूले राम्रो सोच्दा र गर्दा पनि नराम्रै देख्ने र सोच्ने सोचको विकास भएको थियो । संसार नै नकार प्रवृतिले बनेको अनुभूत हुन्थ्यो । आफू मात्र सकार प्रवृतिको पुञ्ज भएको भान हुन्थ्यो । जान्ने, बुझ्ने र क्षमता राख्ने व्यक्ति केवल आफू मात्र रहेको अहङ्कार मनमा खेलिरहन्थ्यो ।

अचेल मध्यरातमा उठेर पनि अपाङ्ग हात–खुट्टामै ध्यान केन्द्रित गर्छु । देब्रे हातले भए पनि जानि नजानी तेल मालिस गर्छु । झाङलझुगल पार्छु । आफूलाई सहज पार्ने कोसिस गर्छु । इन्दरनेटको एक दृष्य सम्झेर सारा पीडा भुल्छु र आफूलाई सौभाग्यशाली अनुभूत गर्छु ।

दृष्य यस्तो छ– मझैँ एक अधवैसें मान्छे देखापर्छ । उसको हुबै हात त के पाखुरा समेत चुँडिएर फालिएको अवस्था छ । ऊ खुट्टाले नै कल चलाएर मुख धुन्छ । सुसेधन्धामा भुल्छ । यहाँसम्म कि खुटले नै लुगा सिउने मेसिनमा धागो छिराउँछ । र, कपडा सिलाउँछ । यहाँसम्म कि ऊ खुट्टाको मद्दतले नै ऊ ग्राहकहरूको कपडाको नाप लिन्छ । फित्ताका अइार हेर्छ र देखिएको परिणाम दिमाखमा नै नोट गर्छ ।

मेरै वरपर पनि यस्ता दृष्य धेरै देखेभोगेको छु । तिनैबाट बाँच्ने र धरतीमा रम्ने प्रेरणा पाएको छु । मैले सधैँ विहानबेलुका डुल्ने चौरमा एक अधवैंसे साढे अघिल्लो खुट्टाको देब्रे पातो खुस्केको अवस्थामा छ । ऊ बसेरै वरपरको घाँस खान्छ । मुस्किलले उठेर नजिकै फोहरको थोरै पानी खान्छ । र, फर्कने बेला फोहरमै थेचारिन्छ । केही बेर दम लिएपछि जोडतोडले बाहिर निस्कन कोसिस गर्छ । आखिर निस्केरै छाड्छ ।

त्यो खुल्ला आकाशमुनि दिन–रात कटाउँछ । एकाविहानै हेर्दा त्यसका आँखा कचेराले पुरिएका हुन्छन् । नाक मुखबाट र्याल–सिँगान बगिरहेको हुन्छ । कातर्िाक मासका घाम उदाएर धर्तीलाई न्यानो पारेपछि भने त्यो तङ्रिन्छ । र, केटाकेटीहरू नजिक आए फ्वाँ गरेर आफू साँढे भएको परिचय दिन्छ ।

जीवन आफ्नो रहेछ तर जिउने शैली अर्काकै अपनाउनुपर्ने रहेछ । दुःख वा सुख जस्ता संवेदनाले नछोईकन लेख्न र बोल्न नसकिने रहेछ । केही न केहीले घोचेपछि मात्रै सिर्जनाको मूल फुट्ने रहेछ ।

समाजले मज्जाले घोचेकाले राममणि पोखरेलले सयौँ कथाहरू लेखे । जीवनको गहिराइमा पौडी खेल्नुपरेकाले पुन्य कार्कीले मनस्थिति हल्लाउने सयौँ निबन्ध, कथा र कविताहरू लेखे । जीवनको रङसँग मितेरी लगाउनु परेकाले टङ्क आले मगरले हजारौँ मूर्त–अमूर्त चित्रसँगै कविता र कथाहरू कोरे । बुढ्यौलीमा जवानीको आभास आएकाले लेखबहादुर कार्कीले मनग्यै शृङ्गारिक गीत, कविता र गजल कोरे । समाज र राजनीतिका बेथितिहरूको साक्षी हुनुपरेकाले माधव पोखरेल ‘गोज्याङ्ग्रे’ले कयौँ दर्जन हाँस्यव्यङ्ग्य र कविताहरू रचना गरे । ध्यान, ज्ञान र आयुर्वेद विज्ञानका पाका र खरा ज्ञानगुनका कुराहरू तेजनारायण शेर्पा लेख्दै र बाड्दै छन् । उदयपुरको माटोमा सिर्जना उम्रदो छ । सबै अटाउने चौतारो बन्दो छ । र, म पनि छहारीमा बस्न पाउँदा रमाउँदो छु ।

–नन्दलाल आचार्य
श्री जनता मावि, गोलबजार–४, सिरहा ।
सम्पर्क नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *