अलविदा, माङ्‍कोडे दाइ


माङ्‍कोडे दाइ हामी सबैका लागि अगम्य थिए । बुझ्‍नै कठिन पर्ने एक व्यक्ति । उनलाई हामीले जसरी चिन्थ्यौँ, त्यो त फगत बाह्‍य थियो । भित्र उनी अर्कै थिए । उनको विगत कसैलाई पनि थाहा थिएन । उनी आफैं पनि त्यो बताउँदैनथे । जे होस् उनी हामी बालबालिकाहरूका माझ चर्चित थिए । उनका धेरै विशेषताहरू थिए । ती मध्ये केही यस्ता थिएः

दुई छाक खानाको लागि बिहानदेखि बेलुकासम्म काम गरिदिन्थे ।

नयाँ नयाँ कागजी एक रुपियाँको नोटको साटोमा एक रुपियाँ पचास पैसा दिन्थे ।

वर्षमा एकपटक नुहाउँथे, दशैंको बेलामा ।

एकदमै रोमान्टिक थिए, आफ्ना प्रेमालापका उखान र कथाहरू निर्धक्क सुनाउँथे । भलै ती प्राय सबै बनावटी हुन्थे । उनलाई मन परेका केटी र महिलाहरूलाई आफ्ना कथाका हिरोइन बनाउँथे अनि वास्तविक जीवनमा कथाका पात्रहरूले उनलाई बेस्मारी भकुर्थे झुटो कुरा गरेकोमा ।

महिना‍-महिनामा बफ मासु ल्याएर आँगनमा पकाउँथे र एक्लैले एक किलोजति मासु खान्थे ।

सुत्‍नको लागि कुनै पनि ओच्छ्यानको जरुरत पर्दैनथ्यो । जता पनि सुति दिन्थे ।

खुलेर हाँस्थे, उनको मुहारमा रिस र दुःखका भावहरू कहिले पनि देखिएनन् ।

उनी हाम्रा गाउँका एकमात्र अघोषित कमारा थिए । दास थिए । जसलाई जसले पनि काम लगाउन सक्थ्यो, केवल दुई छाक खानामा । उनको अनुहारमा सुन्दरताको एउटा लेश पनि बाँकी थिएन । उनको वास्तविक अनुहार कस्तो थियो, त्यो पनि राम्ररी देख्‍न पाइन्‍नथ्यो किनकि उनको अनुहारलाई मैलोको मुकुटले ढाकेको हुन्थ्यो । सम्पत्तिको नाउँमा शरीरमा लगाएका १० जोरजति लुगा र पटुकीमा पोको पारेका केही नोटहरू मात्र थिए । भएजति सबै लुगाहरू लगाउँथे ।

उनको नाउँ माङ्‍कोडे किन रहन गयो, कसैलाई पनि थाहा थिएन । तर शुरुमा हाम्रो गाउँमा आउँदा राई भाषामा मात्र कुरा गर्ने र त्यस भाषामा प्रयोग हुने कतिपय शब्दहरू माङ्‍कोडे जस्तै सुनिने हुनाले गाउँलेहरूले उनलाई माङ्‍कोडे नाउँले बोलाउन थालेका रहेछन् ।

तर बिडम्बना सबै गाउँलेका एकलौटे दास माङ्‍कोडे दाइ बुढेसकालमा बिरामी भएछन् । कसैले पनि वास्ता गरेनछ । काम गर्न नसकेपछि कसैले खाना पनि दिने कुरा भएन । भौकभौकै बिरामीले थलिएर अन्ततः एउटा चौतारोमा आफ्नो प्राण त्यागेछन् । यसरी आफ्ना सारा दुःखलाई त्यही चौतारोमा बिसाएछन् । ढोंगी समाजको निम्ति चुनौती दिँदै सदाको निम्ति एकैचोटी आँखा चिम्लिएछन् ।

अलबिदा…माङ्‍कोडे दाइ ।

https://lilwalee.wordpress.com/

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *