कस्तो अचम्म !
केही वर्षअघि कुनै एक दिनको कुरा हो । बेलुकाबेलुका हुँदै थियो । म घरमा बाहिर खाटमा एउटा कुनै किताब पढेर बसिरहेको थिएँ । यसै बेला एक जना अपरिचित व्यक्ति घरमा आउनु भो र मलाई नै सोध्नुभो—
“होम सुवेदीको घर यही हो ?”
“हजुर हो हो यही हो । भन्नुहोस् । किन होला ?”
“किन नि, अब खाएपछि तिर्न जानेको छैन । हामीले पनि व्यवसाय गर्नुपर्छ । कसरी चलाउनु यसरी चारचार महिनासम्म उधारो खाएको पैसा नतिरेपछि ?”
“मैले बुझिनँ नि कुरा के हो ?”
“किन बुझ्नु पर्यो । खै तपाईंका बुबालाई बोलाउनु त अनि बुझ्नु हुन्छ ।”
“बुबालाई ?”
“हजुर, बुबालाई बोलाउनु त !” भन्दै एउटा हिसाबको टिपोट गरिएको कपी मलाई देखाउनु भो । कपीमा हेरें, फलफूल, खाद्य, तेल, मसला, लगायतका कुराहरु विभिन्न मितिमा उधारोमा दिएको कुरा टिपिएको रहेछ । हिसाब जोडिएको पनि रहेछ । जम्मा हिसाब बिस हजार भन्दा माथि नै देखियो । अनि मलाई बोध भो, ‘कुन मान्छेले यस मान्छेको दोकानबाट उधारो खाएछ र मेरो नाममा उधारो टिपाएछ ।’
यसरी म निष्कर्षमा पुग्दा नपुग्दै उनैले फेरि भने—
“देख्नुभो नि हिसाब ? तपाईंको बुबाले यानी कि होम सुवेदीले खाएको हो यो सब । अब तपाईंले नै खाएको हो भने पनि त भो उहाँकै छोरो भएपछि ।”
“हो हिसाब देखें देखें । त मेरो बुबा ता…….!!”
“खै त बुबालाई यता बोलाउनु त ? कहाँ हुनुहुन्छ ?”
“बुबा ता हुनुहुन्न त ।”
“कता जानु भो ?”
“माथि जानु भो ।”
“कता माथि ?”
“उता ।” भन्दै मैले आकाशतिर देखाएँ ।
“लौ कहिले बित्नुभो । मरिएछ अब । किन आउन छाडे बुढा भनेको त कुरा यसो पो रहेछ । पन्ध्र दिन अघि पनि उधारो खाएका छन्” भन्दै उनले टाउकोमा हात लगाए ।
“अनि कहिले बितेको ? सोधे ।”
मैले अलिक कुरा बुझून् भनेर कुरा खोलें मेरो ‘पिताजी ता २०५२ सालमा पो बित्नु भएको । बुबाको नाम पद्मप्रसाद हो, होम सुवेदी भनेको म हुँ । मैले हाे र तपाइँकाे पसलबाट उधाराे खाएको ?”
“हँ…..अनि मेरोमा उधारो खाने बूढा को हुन् त ?”
“म के जान्नु नि । को हुन् को हुन् !!” मैले भनें ।
“खुइइइइ ! कस्तो अचम्मका मान्छेहरु…..!!”
उनी छाँगाबाट खसेजस्तै भए । निकै बेरा टाउकोमा हात लगाएर घोरिए अनि फेरि लामो खुइका साथ बाटो लागे । म हेरिरहें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *