Skip to content

शिल्पकार समुदायको जात भ्वय : एक सांस्कृतिक संस्मरण र ऐतिहासिक अभिलेख”

शिल्पकार समुदायको जात भ्वय : एक सांस्कृतिक संस्मरण र ऐतिहासिक अभिलेख”

पृष्ठभूमि

वंशपरम्परा, धर्म, पेशा तथा वासस्थान आदिका आधारमा विकसित मानव समूहलाई जाति भनिन्छ। त्यसैगरी विशेष चाडपर्व, धार्मिक अनुष्ठान तथा सामाजिक संस्कारका अवसरमा सामूहिक रूपमा गरिने भोजनलाई भोज भनिन्छ। आफ्नो जातीय संगठन, सामाजिक नियम तथा सांस्कृतिक अस्तित्वलाई जीवन्त राख्न सहगोत्रीय समुदायभित्र परम्परागत रूपमा सञ्चालन गरिने सामूहिक भोजलाई जात भोज भनिन्छ।

नेपालका विभिन्न जातजातिहरूले आफ्नो परम्परा र समुदायअनुसार यस्ता भोजलाई फरक–फरक नाम दिएका छन्। यहाँ भने नेवाः समाजको एक विशिष्ट सांस्कृतिक परम्परा — “जात भ्वय” — को चर्चा गर्न खोजिएको हो।

नेपालको रैथाने नेवार समुदायमा गुठी परम्परासँग गाँसिएको जात भ्वय एक अत्यन्त विशिष्ट, ऐतिहासिक तथा सामाजिक–सांस्कृतिक अभ्यासका रूपमा रहिआएको छ। नेवाः समाजभित्र पनि आफ्नो सीप, श्रम र पौरखद्वारा पाँचतल्ले मन्दिर, ५५ झ्याले दरबार लगायतका अमूल्य सम्पदा निर्माण गरी राष्ट्रलाई अतुलनीय योगदान दिएका शिल्पकार वंशको जात भ्वय विशेष महत्वको सांस्कृतिक परम्परा हो। सामाजिक एकता, आपसी सद्भाव र सामुदायिक शुद्धीकरण नै जात भ्वयको प्रमुख उद्देश्य मानिन्छ।

जयस्थिति मल्लको पालादेखि चलिआएको यस परम्पराअनुसार शिल्पकार समुदायभित्र रहेका सिःगुठी (मृत्यु संस्कार गुठी) का प्रत्येक सदस्यलाई एक परिवारको प्रतिनिधि मानी जात भ्वयमा सहभागी गराउने चलन रहेको पाइन्छ।

वि.सं. २०६२ सालसम्म भक्तपुरमा अस्तित्वमा रहेका १२ वटा सिःगुठी तथा काठमाडौंस्थित एक शिल्पकार मृत्यु संस्कार गुठी गरी जम्मा १३ गुठीका २९६ जना सदस्यहरू सहभागी भएको एउटा ऐतिहासिक जात भ्वय आयोजना गरिएको थियो। उक्त जात भ्वय २०६२ साल फागुन १७ गते कजी (जात भ्वय आयोजक) कृष्ण शिल्पकार तथा अक्लमाया शिल्पकारले आफ्ना नातिनातिनाको विवाह तथा व्रतबन्ध संस्कारको अवसरमा आयोजना गर्नुभएको थियो।

त्यस ऐतिहासिक जात भ्वयमा यस पंक्तिकारलाई पनि सहभागी हुने सौभाग्य प्राप्त भएको थियो। आज त्यही दिनलाई स्मरण गर्दै उक्त सांस्कृतिक भोजमा देखिएका संस्कार, परम्परा र सामाजिक अभ्यासहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरिरहेको छु। यस लेखमा वर्णित घटनाहरू कुनै सुनेको वा पढेको विवरण मात्र होइनन्। वि.सं. २०६२ साल फागुन १७ गते सम्पन्न उक्त ऐतिहासिक जात भ्वयमा प्रत्यक्ष सहभागी व्यक्तिका रूपमा मैले देखेका, भोगेका र अनुभव गरेका पक्षहरूलाई यहाँ संस्मरणात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छु। “…उक्त सांस्कृतिक भोजमा देखिएका संस्कार, परम्परा र सामाजिक अभ्यासहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरिरहेको छु।”

मेरो कुल वंश घर भक्तपुर तेखाचो तल , भार्वाचो सिंहध्वका भित्र तल गंगाहारानीले बनाएको मान्यता रहेको हनुमान फल्चा र ढुङ्गे धारा मध्य ढुङ्गे धारा संगै जोडिएको इचाडोल तर्फ पश्चिम मोहडाको घर भए पनि मेरो जन्मस्थल भक्तपुरको भार्वाचो सिंहध्वाका बाहिर, ध्वाकासँगै रहेको सार्की पसल नजिकको लुईतल्लो पुरानो घर हो। वि.सं. २०१६ सालमा त्यहीँ जन्मिए पनि २०२२ सालदेखि काठमाडौंमा बसोबास गर्दै आएको छु।

काठमाडौंमा बसोबास गर्ने शिल्पकार समुदायले वि.सं. २०४३ सालमा स्थापना गरेको शिल्पकार मृत्यु संस्कार गुठीको म नियमित सदस्य नभई सहयोगी सदस्य मात्र थिएँ। मेरो दाजु रमेश मान शिल्पकार उक्त गुठीका संस्थापक सदस्यमध्ये एक हुनुहुन्थ्यो। तर २०५६ सालमा उहाँ मानसिक असन्तुलनका कारण घरबाट हराउनुभएपछि उहाँको प्रतिनिधिका रूपमा म गुठीका गतिविधिहरूमा सहभागी हुन थालेको थिएँ। यही कारणले गर्दा उक्त सांस्कृतिक जात भ्वयमा सहभागी हुन म पनि भक्तपुरतर्फ लागें।

मैले प्राप्त गरेको जानकारीअनुसार आमन्त्रित सम्पूर्ण शिल्पकार सदस्यहरू बिहान ९:१५ बजेसम्म भक्तपुर नगरको नासमना मङ्गलाछें दबलीमा भेला हुनुपर्ने थियो। त्यसैले म बिहान करिब ८ बजे काठमाडौंबाट भक्तपुरतर्फ प्रस्थान गरें।

सायद कसैलाई लाग्न सक्छ—२०६२ सालमा खाएको भोजको कुरा आज, झण्डै दुई दशकपछि, किन लेख्दै छु?

यसको एउटा कारण छ। त्यो के भने : केही दिनअघि म शिल्पकार समाज नेपाल, भक्तपुरद्वारा प्रकाशित एउटा स्मारिका पल्टाउँदै थिएँ। त्यसमा विश्वराज शिल्पकारज्यूले लेख्नुभएको “शिल्पकार समुदाय र जातभ्वय्” शीर्षकको लेखमा मेरो ध्यान गयो। त्यस लेखले मलाई पहिलोपटक सहभागी भएको त्यो अविस्मरणीय सांस्कृतिक भोजको झझल्को दिलायो। मानसपटलको कुनै कुनामा स्मृतिका रूपमा सुरक्षित रहेको त्यो दिनको अनुभवलाई अभिलेखका रूपमा लिपिबद्ध गरौं भन्ने भावना जाग्यो।

त्यस्तो सांस्कृतिक भोज मैले न त्योभन्दा अघि कहिल्यै देखेको थिएँ, न त्यसपछि नै। सम्भवतः त्यो नै हाम्रो समुदायको अन्तिम बृहत् जात भ्वय थियो कि भन्ने लाग्छ। किनभने वर्तमान आर्थिक परिस्थिति र बदलिँदो सामाजिक जीवनशैलीका कारण भविष्यमा त्यस्तो विशाल र व्यवस्थित सामुदायिक भोज आयोजना हुन सक्ने सम्भावना क्रमशः क्षीण बन्दै गएको देखिन्छ।

जात भ्वयतर्फको यात्रा

अब मुख्य विषयतर्फ प्रवेश गरौँ।
काठमाडौंबाट लोकल बस चढेर भक्तपुर जाँदै गर्दा मेरो मनमा उत्सुकता र कौतुहलता दुवै थियो। भोजघर सूर्यविनायक चोकमा रहेको कुरा मलाई राम्ररी थाहा थियो। तर सबैलाई किन नासमना मङ्गलाछेंमा भेला हुन भनिएको होला? सिधै भोजघरमै बोलाएको भए हुने त थियो नि! यस्ता अनेक प्रश्न मनमा खेलिरहेका थिए।
बसबाट ओर्लिएर बिहान ठीक ९:१५ बजे म मङ्गलाछें पुगेँ। त्यहाँ शिल्पकार गुठीका सदस्यहरू धमाधम भेला भइरहेका थिए। मैले यताउता नजर दौडाउँदै आफ्नो गुठीका नायः शिवहरि शिल्पकार दाइलाई खोजेँ।

तर त्यसबेला उहाँ आइपुग्नुभएको रहेनछ।
उपस्थित अन्य दाइहरूसँग मैले सोधेँ, “हामीलाई यहाँ किन भेला गराइएको हो? सिधै भोजघर जानुपर्ने होइन र?”

उहाँहरूले जवाफ दिनुभयो, “कजी तथा आयोजकहरू बाजागाजासहित यहाँ आउँछन्। त्यसपछि हामी सबैलाई विधिवत् रूपमा भोजघरसम्म लैजान्छन्।”

त्यो उत्तर सुनेपछि मेरो उत्सुकता झन् बढ्यो। अब अगाडि के–के देख्न पाइने हो भन्ने प्रतीक्षामा म पनि अरू सदस्यहरूसँगै बसिरहेँ।

जात भ्वयको भव्य स्वागत र प्रवेश संस्कार

उता कजी तथा आयोजक परिवारले सुकुन्दामा बत्ती प्रज्वलन गरी धिमेबाजा र सहनाई बाजाको मंगलधुनसहित शिल्पकार समाजका ज्येष्ठ गुठी नायः श्री शिवलाल शिल्पकारज्यूलाई लिन उहाँको निवास इचाडोल पुगेका रहेछन्। विधिवत् सम्मानपूर्वक उहाँलाई साथमा लिएर त्यो टोली मङ्गलाछें नासमनातर्फ आइरहेको दृश्य मैले टाढैबाट देख्न पाएँ।

उहाँहरू मङ्गलाछें आइपुगेपछि सबै तयारी पूरा भयो। अग्रभागमा प्रज्वलित सुकुन्दा, त्यसपछि बाजागाजा, अनि ज्येष्ठ गुठी नायःलाई बीचमा राखेर सम्पूर्ण जात भ्वयको लस्कर अघि बढ्यो। मङ्गलाछेंबाट बंशगोपाल–बाराही देवगृह, बाराही पीठ हुँदै अरनिको राजमार्ग पार गरेर हामी जात भ्वयको स्थल धलाँतेतर्फ लाग्यौँ।

धिमेबाजा र सहनाईको मधुर धुनसँगै लस्करबद्ध भएर हामी भोजनस्थलमा पुग्दा मानौँ कुनै विशेष सांस्कृतिक उत्सवमा सहभागी भइरहेका छौँ भन्ने अनुभूति भइरहेको थियो। हामी सबैको मन उत्साह, गौरव र रोमाञ्चले भरिएको थियो। लगभग तीन दशकपछि आयोजना भएको यस बृहत् जात भ्वयमा सहभागी हुन पाउनु नै हाम्रा लागि एउटा विशेष सौभाग्य थियो।

बाटोभरि हाम्रो बाजागाजासहितको लावालस्कर हेर्न सर्वसाधारणको भीड लागिरहेको थियो। दर्शकहरूको अनुहारमा कौतुहलता स्पष्ट झल्किन्थ्यो। “यो के कार्यक्रम हो?”, “किन यति ठूलो लस्कर बाजागाजासहित जाँदैछ?” भन्ने जिज्ञासाका स्वरहरू वरिपरि सुनिन्थे। त्यस दिन जात भ्वयले केवल सहभागीहरूलाई मात्र होइन, बाटोका दर्शकहरूलाई समेत आकर्षित गरेको थियो।

भोजनस्थलको प्रवेशद्वार विशेष रूपमा सजाइएको थियो। केराका खम्बाहरू गाडी सुन्दर स्वागतद्वार निर्माण गरिएको थियो भने सम्पूर्ण परिसरलाई झकिझकाउ हुने गरी सजाइएको थियो।

स्वागतद्वारमा जलले भरिएको करुवा–कलश लिएर कजीकी धर्मपत्नी श्रीमती अक्लमाया शिल्पकार तथा जेठी बुहारी कृष्णलक्ष्मी शिल्पकार नेवाः परम्परागत तासाको पहिरन र गरगहनाले सुसज्जित भई द्वारको दायाँ–बायाँ उभिनुभएको थियो।

सर्वप्रथम शिल्पकार समाजका ज्येष्ठ गुठी नायः शिवलाल शिल्पकारज्यूलाई नसला प्रदान गरी लसकुस (स्वागत संस्कार) सहित भोजनस्थलभित्र प्रवेश गराइयो। नेवाः परम्परामा कुनै धार्मिक वा सांस्कृतिक कार्य प्रारम्भ गर्नु अघि चोखो पानीद्वारा आचमन गर्ने कार्यलाई “नसला कायेगु” अथवा “नसला बिइगु” भनिन्छ।

ज्येष्ठ नायःपछि अन्य सबै पाहुनाहरूलाई पनि क्रमशः नसला प्रदान गर्दै सम्मानपूर्वक स्वागत गरियो। मैले पनि नसला ग्रहण गरी शिरमाथि छर्केर आचमन गर्दै भोजनस्थलभित्र प्रवेश गरें।

प्रवेशद्वारमा आयोजक परिवारका अन्य सदस्य तथा आफन्तजनहरू समेत परम्परागत नेवाः पोशाकमा सुसज्जित भई लामबद्ध रूपमा स्वागतका लागि उभिएका थिए। त्यो दृश्यले सम्पूर्ण कार्यक्रमलाई अझ भव्य र गरिमामय बनाएको थियो।

भित्र प्रवेश गरेपछि विशेष रूपमा सजाइएका आसनहरूमा सर्वप्रथम ज्येष्ठ गुठी नायःलाई आसन ग्रहण गराइयो। त्यसपछि क्रमशः अन्य गुठी नायःहरू तथा गुठियार सदस्यहरूलाई ज्येष्ठताको आधारमा अनुशासित ढङ्गले आसन ग्रहण गराइँदै लगियो। मलाई पनि निर्धारित स्थानमा एउटा कुर्सीमा बस्न लगाइयो।

सबै जना आफ्नो-आफ्नो स्थानमा बसिसकेपछि जात भ्वयको अर्को महत्वपूर्ण संस्कार प्रारम्भ भयो। गुठीका नायःहरूले पालैपालो कजी (जात भ्वय आयोजक) लाई सगं (सगुन) प्रदान गरे। त्यसपछि विवाहिता सरिता शिल्पकारलाई आ–आफ्नो हैसियतअनुसार दाइजो तथा उपहार अर्पण गर्ने परम्परा सम्पन्न गरियो।

यसपछि कजीबाट सर्वप्रथम ज्येष्ठ गुठी नायःलाई र त्यसपछि क्रमशः अन्य सम्पूर्ण उपस्थित सदस्यहरूलाई फूलको गुच्छागुच्छा र पिठ पुजाको प्रशाद सहित अक्षेताकुच्छेको राताो सगं टीका लगाई दिए र रातो तुलबाला प्रदान गरियो। सम्मानको यो विधिले कार्यक्रमको गरिमा अझ बढाएको थियो।

तत्पश्चात् सबैलाई सम्हबजी (सगुन) ग्रहण गराइयो। उता भोजनस्थलभित्र भने जात भ्वयको मुख्य भोजका लागि लप्ते (लपेश) लायगु अर्थात् पङ्क्ति व्यवस्थापन तथा भोजन तयारीको अन्तिम काम तीव्र गतिमा भइरहेको थियो।

जात भ्वयको मुख्य भोज र समापन संस्कार

उता भोजका लागि लामो सुकुल (भ्वये सुकू) ओछ्याएर राखिएको थियो। सुकुलको अगाडि जात भ्वयका लागि “लप्ते लायगु” अर्थात् भोजको पङ्क्ति सजाउने कार्य पनि सँगसँगै चलिरहेको थियो।
लप्ते लायगु कार्य अन्तर्गत क्रमशः चिउरा, अदुवाका टुक्रा, मायवुकसु (सानो केराउ भिजाएर बनाइएको पेष्टाबाट घ्यू वा तेलमा पकाइने वः जस्तै एक प्रकारको रोटी, जसको बीचमा प्वाल हुन्छ), कङासा (भिजाएको सानो केराउ पिनेर बनाइएको अचार), मुस्यावाला (भुटेको भटमास), सिन्के (लामो समयसम्म साँधेर राखिएको मुला), वंचा (हरियो तोरीको साग), फसिगुली, फसिको, चतामरी, वः, डा (माछा) तथा बाहाँयागु ला (पिठपूजामा बलि चढाइएको बोकाको मासु) राखेर लप्ते सजाउने कार्य सम्पन्न भयो।
यसरी भोजको लपेशमा सजाइएका बाह्र प्रकारका परिकारलाई नेवाः समाजमा अष्टमातृका तथा देवगणको प्रतीकका रूपमा लिने गरिन्छ। यस आधारमा हेर्दा नेवाः भोज केवल भोजन मात्र नभई तान्त्रिक तथा धार्मिक विधिसँग समेत जोडिएको सांस्कृतिक अनुष्ठान रहेको स्पष्ट हुन्छ।
लप्तेमा सम्पूर्ण परिकार सजाइसकेपछि ज्येष्ठ शिल्पकार नायःलाई आसन ग्रहण गराई जात भ्वय आरम्भ गर्ने तयारी पूरा गरियो। त्यसपछि क्रमशः विभिन्न गुठीका नायःहरूलाई आसन ग्रहण गर्न अनुरोध गरियो। नायःहरूको आसन ग्रहणसँगै गुठीयारहरू पनि आफ्नो-आफ्नो गुठीका लागि छुट्याइएको स्थानमा गई अनुशासित रूपमा आसन ग्रहण गर्न थाले।

त्यसपछि सर्वप्रथम ज्येष्ठ नायः शिवलाल शिल्पकारलाई कजीबाट “बेताली” लगाइयो। नेवाः समाजमा धार्मिक तथा सांस्कृतिक कार्यका अवसरमा मान्यजनको शिरमा लामो सेतो कपडा फेटाका रूपमा बाँधिदिने परम्परालाई बेताली लगाउने भनिन्छ।

त्यसपछि क्रमशः बेखालका कृष्णभक्त शिल्पकार, तेखापुखुका हरि शिल्पकार, गोल्मढीका दिनानाथ शिल्पकार, कोलाछेंका नारायण शिल्पकार, इन्द्रबहादुर शिल्पकार, भार्वाचोका चन्द्रभक्त शिल्पकार, इताछेका कान्छा शिल्पकार, तेखापुखुका पञ्चबहादुर शिल्पकार तथा मङ्गलाछेंका कृष्ण शिल्पकारलाई टीका लगाई सम्मान गर्ने कार्य सम्पन्न गरियो।
ज्येष्ठ नायःबाट आंगछाय्गु (देवताहरूलाई अर्पण गर्ने संस्कार) सम्पन्न भएपछि जात भ्वयको मुख्य भोजन आरम्भ भयो। क्रमशः चिउरा, मासु, गेडागुडी, हरियो साग तथा तःक्वला, छक्वला लगायतका विभिन्न परिकारहरू पस्कँदै लगियो।
भोजनका बीचबीचमा छोरी–चेली तथा बुहारीहरूबाट अयला, थ्वँ, यँथ्व, चिउरा तथा पंचा (अमिलो झोल) थप्दै जाने परम्परा पनि निरन्तर चलिरह्यो। त्यसपछि भुटन राख्ने कार्य गरियो।
नेवाः भोजमा भुटन राखिनु भोज समाप्तिको संकेतका रूपमा लिइन्छ। भुटन राखिसकेपछि अन्य कुनै परिकार थप्ने चलन हुँदैन। त्यसपछि धौ सगं (दहीको टीका) लगाइदिई दही पस्किने र दही–चिउरा सेवन गराइने गरिन्छ। अन्त्यमा सिसापुसा राखिएपछि भोजन विधिवत् रूपमा समाप्त भएको मानिन्छ।

भोजन समाप्तिपछि नकिं (कजीकी धर्मपत्नी) ले एउटा बाटा र पानी भरिएको करुवा लिएर ज्येष्ठ नायःदेखि क्रमशः सबै गुठीयारहरूको नसला बिइगु (हातमुख शुद्ध गर्ने संस्कार) गराइदिनुभयो। यससँगै जात भ्वयको मुख्य भोज सम्पन्न भयो।

जात भ्वय समाप्तिपछि नायःहरू तथा सम्पूर्ण गुठीयारहरूलाई पुनः मेचमा बसालियो। त्यसपछि कजीबाट चुरोट, तमाखु, ल्वाङ, सुकुमेल र सुपारी प्रदान गर्दै भोजन व्यवस्थापनमा कुनै कमी–कमजोरी भएको भए क्षमा गरिदिनुहोस् भनी विनम्र निवेदन गरियो।
उपस्थित सम्पूर्ण महानुभावहरूले पनि यथेष्ट भोजन गराएकोमा धन्यवाद व्यक्त गरे। त्यसपछि कजीका छोरी–चेली तथा आफन्तजनहरू लामबद्ध भई सगुनस्वरूप चकलेट, फलफूल तथा अन्य उपहार वितरण गर्न थाले।
अन्ततः जात भ्वयमा सहभागी सम्पूर्ण महानुभावहरूलाई श्रद्धापूर्वक “मसिंप्व” (मसला पोको) वितरण गरी बिदाइ गरियो। यसरी शिल्पकार समुदायको त्यो ऐतिहासिक, भव्य तथा सांस्कृतिक महत्वले भरिएको जात भ्वय विधिवत् रूपमा सम्पन्न भयो।

निष्कर्ष :

प्राचीन नेवाः समाजमा गुठी केवल धार्मिक तथा सांस्कृतिक संस्था मात्र थिएन, यो स्थानीय सामाजिक प्रशासन र न्याय निरूपणको केन्द्र पनि थियो। समाजभित्र उत्पन्न हुने विभिन्न विवाद, मतभेद तथा सामाजिक समस्याहरूको समाधान गुठीमार्फत गरिन्थ्यो। गुठीको निर्णयलाई सामाजिक मर्यादा र अनुशासनको आधार मानिन्थ्यो। आज राज्यका औपचारिक निकायहरू विकसित भइसकेकाले गुठीको त्यो भूमिका धेरै हदसम्म सीमित भएको छ। तथापि, आज पनि समाजभित्रका केही विवाद तथा सामुदायिक समस्याहरू समाधान गर्न गुठीको मध्यस्थता खोजिने गरेको पाइन्छ, जुन यसको सामाजिक महत्व अझै जीवित रहेको प्रमाण हो।
जात भ्वय पनि केवल भोज खाने र खुवाउने परम्परा मात्र होइन। यसको मूल उद्देश्य समाजका सदस्यहरूलाई एकै ठाउँमा भेला गराई आपसी सम्बन्ध सुदृढ गर्नु, सामाजिक एकता कायम राख्नु, परम्परा हस्तान्तरण गर्नु तथा सामुदायिक उत्तरदायित्वको भावना जागृत गर्नु हो।

यदि कुनै सम्पन्न व्यक्तिले आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्न वा प्रतिष्ठा देखाउन मात्र जात भ्वय आयोजना गर्छ भने त्यसले जात भ्वयको मौलिक उद्देश्य पूरा गर्न सक्दैन। बरु त्यस्तो प्रवृत्तिले समाजमा प्रतिस्पर्धा, असमानता र विभाजनको भावना जन्माउन सक्छ। त्यसैले जात भ्वयको सफलता भोजको भव्यतामा होइन, त्यसले समाजलाई कति एकताबद्ध, जागरूक र संगठित बनाउन सक्छ भन्ने कुरामा निर्भर रहन्छ।

विगतमा जात भ्वयले समाजका सदस्यहरूलाई भेटघाट, परिचय, सल्लाह र सहकार्यको अवसर प्रदान गर्थ्यो। आजको बदलिँदो समय, बढ्दो सहरीकरण, वैदेशिक रोजगार, आर्थिक चुनौती तथा पुस्तान्तरणको अवस्थाले समुदायलाई नयाँ प्रकारका समस्याहरूको सामना गर्न बाध्य बनाएको छ। यस्ता परिस्थितिमा जात भ्वयजस्ता अवसरहरूलाई केवल सांस्कृतिक अनुष्ठानमा सीमित नराखी समाजको शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी, सांस्कृतिक संरक्षण, गुठी व्यवस्थापन तथा युवा पुस्तालाई परम्परासँग जोड्ने विषयमा गम्भीर छलफल गर्ने थलोका रूपमा विकास गर्न सकिन्छ।

जात भ्वयमा उपस्थित गुठीयार, नायः तथा समाजका अग्रज अनुजहरूबीच खुला संवाद गरी समुदायका आवश्यकता, चुनौती र सम्भावनाहरूको पहिचान गर्न सकियो भने त्यस्ता भेलाहरू समाज विकासका महत्वपूर्ण माध्यम बन्न सक्छन्। भोजको स्वाद केही घण्टामात्र रहन्छ, तर त्यस अवसरमा गरिएका सकारात्मक निर्णय र सामूहिक प्रतिबद्धताले पुस्तौँसम्म समाजलाई मार्गदर्शन गर्न सक्छ।

अन्ततः जात भ्वय नेवाः शिल्पकार समुदायको एउटा गौरवशाली सांस्कृतिक सम्पदा हो। यसले विगतको इतिहास, वर्तमानको सामाजिक सम्बन्ध र भविष्यप्रतिको सामूहिक जिम्मेवारीलाई एउटै सूत्रमा बाँध्ने कार्य गर्दछ। त्यसैले यसको संरक्षण केवल परम्परा जोगाउने काम मात्र होइन, आफ्नो पहिचान, इतिहास, सामाजिक एकता र सामुदायिक चेतनालाई जीवन्त राख्ने अभियान पनि हो। समयको परिवर्तनसँगै यसको स्वरूपमा परिवर्तन आउन सक्छ, तर यसको मूल भावना—एकता, सहकार्य, सम्मान र सामूहिक उत्तरदायित्व—सधैँ जीवित रहिरहनु आवश्यक छ। यही भावनामा जात भ्वयको वास्तविक सार्थकता र दीर्घजीविता निहित रहेको छ। :

आज त्यो जात भ्वय सम्पन्न भएको दुई दशकभन्दा बढी समय बितिसकेको छ। त्यस दिन सहभागी भएका धेरै अग्रजहरू यस संसारमा रहनुभएको छैन। कतिपय गुठीयारहरू वृद्धावस्थामा पुग्नुभएको छ भने नयाँ पुस्ताले त्यस्ता परम्पराहरू प्रत्यक्ष रूपमा देख्न पाउने अवसर पनि क्रमशः दुर्लभ बन्दै गएको छ। त्यसैले यो लेख केवल एउटा भोजको स्मरण मात्र होइन, हाम्रो समुदायले जोगाउँदै आएको सांस्कृतिक सम्पदा, सामाजिक एकता र सामूहिक जीवनपद्धतिको एउटा सानो अभिलेख पनि हो। भविष्यका पुस्ताले आफ्नो इतिहास, परम्परा र पहिचान बुझ्न सकून् भन्ने उद्देश्यले यो स्मरणलाई अक्षरमा उतार्ने प्रयास गरेको हुँ।

~०~

Leave a Reply

Your email address will not be published. Required fields are marked *