दिनहरू तातै छन् । कुराको थालनी गर्दा पनि त्यो पल आँखामा घुम्छ, सपना जस्तै लाग्छ । कल्पना हो भन्छ मनले । होईन तर यो यर्थाथता हुनुपर्छ भनी फेरि मुटु बोल्न थाल्छ । अनि बरबराई रहन्छ एक्लै एक्लै सायद कसैलाई सुनाउदै छ अचम्मित पार्न । सायद अरु कसैलाई पनि सुनाउने कोशिशमा छ । मन भन्छ लेख्नैपर्छ मैलै भोगेका अविस्मरणीय क्षण ।
नेपालमा माघे संक्रान्तिको दिन परेछ । मलाई त तब थाहा भयो जब आशा भाउजूले तिलबाट बनाएका परिकारको स्वाद ८ सालको अन्तरालमा कुवैतमै चखाउनु भयो । १४ जनवरी २०११ मा कुवैतमा कृयाशील कालीगण्डकी बचत समूहमा हामी प्रेस नेपालको नामले खेल्यौं । खेल उत्कृष्ट लाग्ने खेलाडी बिच प्रतिस्पर्धा भएकाले केही बेर खेलमै भुल्यौं ।
हामीले अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैतको लागि एक घरको धुरी पाएका थियौं । वहाँ हुनुहुन्थ्यो – साहित्यकार कवि श्री होमबहादुर क्षेत्री । हामीलाई कवि वहाँको निमन्त्रणामा जानु थियो । करिब ६ बजे हामी वहाँको घरमा पुग्यौं । मलाई कवि श्री होमबहादुर क्षेत्रीले भाइ भन्नुहुन्छ । वहाँको घरमा वहाँबाट लिखित एक दर्जन कृतिहरूको साथमा हामी करिब ८-१० जना साहित्यप्रेमीहरूले कविता गजल र गीतहरू गाउँदा र आशा भाउजूका हातले बनाएका स्वादिला अनेक परिकार खाँदा खाँदै हामीलाई आ-आफनो गन्तव्यतिर लाग्न अबेर भएको पतै लागेनछ । रातिको १० बज्यो । हाम्रो बास-स्थान अलग अलग भएकोले सबै साथीहरू आफनो बासस्थानतिर लाग्नुभयो ।