Skip to content


‘मधुपर्क’ को जन्म २०२५ साल जेठ, राजा महेन्द्रको जन्मदिन पारेर । मेरो १९८७ साल मङ्सिर ७ गते । अर्थात्, हामी दुई झण्डै ३८ वर्षले जेठा-कान्छा । एक पिँढीकै फरक भनौँ तर पनि, काक्ताली नै हो क्यारे, हाम्रोबीचमा कसो कसो एउटा मित्यारी सम्बन्ध गाँसियो । यो सम्बन्धको थालनी पनि मधुपर्कको जन्मकालदेखिकै हो, किनभने उसको पहिलो वर्षको दसौँ अङ्कमै मेरो ‘कठै काठमाडौँ’ निबन्धलाई स्थान दिएर मेरो कलमी करसतलाई अघि बढाउनमा उसले थैथै गरेकै हो ।

त्यसपछि तेस्रो वर्षको तेस्रो अङ्कमा म र मेरो बिहे, त्यसै वर्षको एघारौँ अङ्कमा ‘बीसौँ शताब्दीको फ्रान्सेली उपन्यास साहित्य’ सोह्रौँ वर्षको पाँचौँ अङ्कमा ‘भेलोरतिर भौंतारिँदा, सत्रौँ वर्षको छैटौँ अङ्कमा ‘नेपाली साहित्यमा नारी हस्ताक्षर’ यसै वर्षको बाह्रौँ अङ्कमा ‘मजस्तै चम्पा र दलवीर’ तथा अठारौँ वर्षको तेस्रो अङ्कमा ‘स्कुलदेखि कलेजसम्म’ जस्ता मेरा निबन्ध र निप्रबन्धहरूलाई स्थान दिएर उसले मलाई औधि आभार गराउँदै आएकै थियो तर त्यसै आत्मीयताको वैशाखी टेक्दाटेक्दै र उसले अठाह्रौँ वर्षतिर पाइला टेक्टानटेक्तै म स्वयम्माथि उसको भविष्य निर्माणको अभिभारा आइलाग्दा त हाम्रो मित्यारी सम्बन्धमा एक अर्को आयाम थपिएको जस्तो भएन र ?

म गोरखापत्र संस्थानमा प्रवेश गर्दा मधुपर्क सत्र वर्षको लक्का जवान मात्र भैसकेको होइन, २०० औँ अङ्कको हाराहारीमा उक्ली पनि सकेको थियो तर पनि मलाई लाग्यो, उसको आकारप्रकार र स्वरूप त्यस्तै थियो, जस्तो उसको जन्मग्रहणको बेलामा थियो-अर्थात् टाक्सिएकोजस्तो । जिलिगान्टे नै भनौँ । त्यसैले हो कि, कसो-कसो मलाई एउटा सनक चढ्यो, अब त उसको आकारप्रकार र स्वरूपमा धेरथोर परिवर्तन ल्याउने बेला भइसकेको छ । त्यो मेरो सोचाइको आधार थियो नितान्त प्राविधिक । किनभने उसको जिलिगान्टे आकारले गर्दा खास गरी उसको आवरण पृष्ठमा ठूला फोटा वा कलाकृतिहरूलाई समावेश गर्न सकिन्नथ्यो । फलस्वरूप, आज उसको जस्तो आकारप्रकार छ, त्यो उसैताकको परिवर्तनको निरन्तरता हो भन्दा फरक नपर्ला, यद्यपि प्रविधिको विकासले थप नयाँ आयामहरू थपेका छैनन् चैं भन्न मिल्दैन ।

तर उक्त आकार परिवर्तन गर्ने मेरो लिँढेढिपीले धेरैको कन्सिरी तताएछ । खास गरी त्यस्ता पाठकहरू, जसले त्यो पत्रिका पढ्ने मात्र नभई त्यसका प्रत्येक अङ्क जतनसाथ सङ्कलन गरेर वर्ष वर्षका ठेलीको रूपमा बाइन्डिङसमेत गरेर साँच्ने गरेका रहेछन्, तिनलाई विशेष मर्का परेछ । भन्थे, ‘वर्षको बीचोबीच आएर पत्रिकाको आकार बढाउने के त्यस्तो हतारो थियो ? केही सानो आकारमा र अरू ठूला आकारका भएपछि बाइन्डिङ गरेर राख्ने कसरी ? वर्षभरि साविककै आकारमा छापेर नयाँ वर्ष लागेपछि मात्र आकार परिवर्तन गरेको भए के बिग्रन्थ्यो ?’

गो.प. संस्थानमा मेरो प्रवेशपछि अपनाइएका अरू केही नीतिहरूले पनि मलाई बेलाबखत निकै ‘गाली’ ख्वाएका थिए । यीमध्ये एउटा ‘गाली’ थियो मधुपर्कले नेपालबाहिरका रचनाकारहरूलाई बढ्ता काखी च्याप्यो भन्ने आरोप तर मैले नढाँटी स्वीकार्ने हो भने त्यस्ता आरोप सर्वथा निराधार चैं थिएनन् । उदाहरणस्वरूप, वर्ष १९ अङ्क २ (असार २०४३) मा त्यस्तै काकताली परेको थियो । स्रष्टा दृष्टि स्तम्भअन्तर्गत पारसमणि प्रधानले आकाशवाणीलाई दिएका एक प्रवचनको उद्धृतांश नेपाली साहित्यमा उखानको स्थानले पहिलो पाना ड्याम्मै ढाकेको त थियो नै, भित्रका पानाहरूमा पनि झन्नै झन्नै त्यस्तै अवस्था थियो । जस्तै, कालिङ्पोङका भाइचन्द्र प्रधानको ९ पृष्ठ ढाक्ने निबन्ध, दार्जिलिङकी लक्खीदेवी सुन्दासको रामकृष्ण शर्मामाथिको ८ पृष्ठ ढाक्ने अर्को विवेचना, दार्जिलिङकै गुमानसिंह चाम्लिङको २ पृष्ठ ढाक्ने कविता,, साम्ची भोटाङबाट गावि्रयल रानाले पठाएका ५ पृष्ठ ढाक्ने कथा, दार्जिलिङकै जगत छेत्रीले लेखेका ‘भानुभक्तको सालिग’माथिको ६ पृष्ठ ढाक्ने विवेचना, डिगबोई, असमका भोजकुमार क्षेत्रीको २ पृष्ठ ढाक्ने कविता, इन्द्रबहादुर राईको ४ पृष्ठ ढाक्ने समालोचना, मोप्रेम सिलाङका हेम जोशीको एक पृष्ठभरिको कविता, गान्तोक सिक्किमका कालुसिंह रनपहेलीको ७ पृष्ठ ढाक्ने कथा, दार्जिलिङकै लक्ष्मण श्रीमलका ‘नाटक प्रकाशन’माथिको झण्डै साढे ५ पृष्ठ ढाक्ने विवेचना, मेघालयका पद्म छेत्रीको १ पृष्ठभरिको कविता, कालिम्पोङकै नरबहादुर दाहालको ११ पृष्ठ ढाक्ने कथा, इम्फालका अनिरुद्र गौतमको ३ पृष्ठ ढाक्ने कविता, दार्जिलिङकै मोहन पी. दाहालले रूपनारायणमाथि लेखेका १२ पृष्ठ ढाक्ने विवेचना, फेरि दार्जिलिङकै शरद छेत्रीको ५ पृष्ठ ढाक्ने कथा, रामकृष्ण शर्माकै आधा पृष्ठभरिको १ उद्धरण, मङ्गपुका मोहन ठकुरी रचित ५ पृष्ठ ढाक्ने कविता, जलपाइगडीका जनार्दन थापाको ४ पृष्ठ ढाक्ने कथा र अन्तमा भारती गौतमको ‘मुलुकबाहिर नेपाली लेखन’ सम्बन्धी विवेचनाजस्ता सामग्रीले भरिएको थियो त्यो अङ्क । त्यसरी जम्मा १२४ पृष्ठमध्ये बाहिरकै व्यक्तिहरूका रचनाले करीब ११५ पृष्ठ जति छ्यापछ्याप्ती भरिएपछि नेपालका कवि, लेखक र कथाकारहरू किन नचिडिऊन् र तिनले किन औँला नठड्याऊन् त ?

तर यसबारे पनि आफ्नो बचाउमा यति त भन्नैपर्छ-‘मधुपर्कका सबै अङ्कमै हामीले त्यसो गर्ने गरेका चैं थिएनौं । साथै त्यो विशेष अङ्क नेपाल बाहिरको नेपाली साहित्य अङ्कको रूपमा प्रकाशित गरिने जानकारी हामीले अघिबाटै त्यसै पत्रिका मार्फत् दिइसकेकै पनि थियौँ तर सबै पाठकहरूका दृष्टिमा ती सूचना नपरेकोले पनि त्यस्तो गलतफहमी भएको थियो कि ? जे होस्, त्यो अङ्क प्रकाशित भएपछि चाङका चाङ विरोधपत्रहरूले हामीलाई केही समय भए पनि नरन्थन्याएको भने थिएन- यो सत्य हामीले स्वीकार्नै पर्दछ ।

अब त्यसबेला मधुपर्कमा प्रायः नियमित स्तम्भका रूपमा समाविष्ट सामग्री के कस्ता थिए भन्नेतिर जाउँ । ती स्तम्भमध्ये एउटा थियो मधुपर्कको मुखपृष्ठ नै भरिने गरी ‘आगामी अङ्कका केही सामग्री (वा आकर्षण)’ । भित्री पृष्ठका स्तम्भहरूमा नवप्रवेशीहरूका लेखरचना समेटिने गरेको प्रवेश देश विदेशका सङ्क्षिप्त समाचार समेटेको समाचार-सार, पाठकहरूको प्रतिक्रिया पत्रपत्रांश आदि । अन्य स्तम्भहरूमा समय सन्दर्भ, सूक्ति उक्ति, प्रसङ्गवश, भेटघाट, सिलसिला, कुराकानी, पुस्तक पत्रिका, स्वास्थ्य उपचार, एकछिनलाई रमाइलो, खेल जगत्, आदि स्तम्भहरू रहने गर्थे । यस सन्दर्भमा अर्को एउटा कुरा पनि उप्काइहालौँ । प्रवेश शीर्षक स्तम्भका निम्ति यति धेरै सामग्री आउनथाले कि पछिपछि हामीले सोच्यौँ, किन यस्ता उत्साही नव प्रवेशीहरूको निम्ति मात्र एउटा बेग्लै पत्रिकाको थालनी नगर्ने ? यसै विषयमा विवेचना गर्दै जादा अन्तमा निष्कर्ष निस्क्यो, युवामञ्च नामक अर्कै एउटा मासिक प्रकाशन गर्नथाल्ने र त्यो गरियो पनि ।

सामान्यतया सबैले जानेकै विषय हो, कुनै पनि पत्रपत्रिकाको पाठकहरू तान्न चाहने हो भने हाम्रो पहिलो ध्यान त्यसको आवरण आकर्षक गराउनेतर्फ नै जानुपर्छ । यही सोचेर सत्रौँ वर्ष प्रवेशको अङ्कदेखि मधुपर्कको आवरण आर्ट पेपरमा र रङ्गीन फोटो वा कलाकृति राखेर थालनी गरियो । साथै भित्री पृष्ठहरूमा पनि खस्रो कागजको सट्टा अलि चिल्लो ‘हृवाइट प्रिन्ट’ कागज प्रयोग गर्न थालियो तर जति नै आकर्षक बनाउन खोजे पनि आधुनिक अफसेट प्रविधि अपनाउने तिनताक हाम्रो हविगत नभएकाले पुरानो लेटरप्रेस प्रविधिमै चित्त बुझाइरहेका थियौँ । तैपनि अन्ततः कम्प्युटर प्रविधि भित्र्याउन पनि सफल भइयो र अफसेट छपाइको निम्ति एउटा बेग्लै चाइनिज मेसिन खरिद पनि गरेका थियौँ ।

पत्रपत्रिकाको जीवनाधार विज्ञापन हो भन्ने तथ्य पनि नौलो होइन । हामी पनि त्यसबारेमा अनभिज्ञ थिएनौँ र विज्ञापन सङ्कलनको निम्ति एउटा ‘टास्क फोर्स’ जस्तो नै गठन गरेका थियौँ तर धेरै खपत हुने दैनिक पत्रपत्रिका तथा लोकप्रिय कार्यक्रम पस्किने रेडियोलाई छाडेर जाबो मासिक साहित्यिक पत्रिकालाई कसले व्यावसायिक विज्ञापन दिन्थ्यो ? तैपनि सहयोगी साथीहरूको अथक चेष्टा र पाठकहरूको सदाशयताको फलस्वरूप नै भनौँ, केही व्यापारिक विज्ञापन प्राप्त गर्न हामी सफल भएका थियौँ । त्यस्ता विज्ञापनहरूमध्ये वाइल्ड स्टेलियन हृविस्की, विजयसुपर स्कुटर, वेस्ट एन्ड वाच कम्पनीका घडीहरू , फ्यारेक्स बेबी फुड, ग्लुकोन डी, तीनपाते स्पेसल चिया, मेनक्याम बाम, स्पोर्टी जुत्ताहरू, सयपत्री सिग्रेट, कालिका डुप्लिकेटर, पशुपति पेन्ट्सका रङहरू, नेबिको विस्कुट, हुलास स्टीलका भाँडावर्तन, आदिले हामीलाई झन्नै नियमित रूपमै विज्ञापन दिएर आभार गराएका थिए ।

यस सम्बन्धमा एउटा विशेष घटनाको पनि सम्झना गर्न मन लाग्यो । गो.प.संस्थानलाई तिनताक गाडीहरूको साह्रै ढिपढिप थियो । संस्थानका अध्यक्षको निम्ति एउटा बेग्लै गाडीबाहेक अरू सबै निकायले एउटै मात्र कार र एउटा थोत्रो रसियन जीप पालैपालो गरी प्रयोग गर्नुपर्ने बाध्यता थियो । त्यसैबेला मेरो रामशाह पथनेरको खण्डहरजस्तो ‘पुतलीमैयाँको डेरा’ को रूपमा ख्यातिप्राप्त घरलाई भत्काएर नयाँ किसिमले निर्माण गर्न मेरो परिवार लागिपरेको थियो । निर्माणको निम्ति चाहिने जस्तापाता, सिमेन्ट, छड आदि जोगाड गर्ने क्रममा एक दिन म मेरी पत्नी एक परिचित मित्र, स्व.हुलास गोल्छाको गणबहालस्थित घरमा पुगेका थियौँ । कुरैकुरामा गो.प.संस्थानलाई केही गाडीहरूको आवश्यकता परेको बारे पनि कुरा उठ्यो । मैले हुलासजीसँग ठट्टैठट्टामा जस्तो एउटा डिल गरेँ । त्यो के भने, उनका विभिन्न कम्पनीहरूले गो.प. संस्थानका प्रकाशनहरू मा वर्षभरि दिने गरेका विज्ञापनवापत नगद रकम नतिरी त्यसको सट्टा संस्थानलाई कमसेकम दुई वटा नयाँ दाइहात्सु कार उपलब्ध गराइदिने । ती गाडीहरूको मोल संस्थानले पनि नगदरूपमा नतिरी विज्ञापनमै हिसाब मिलान गर्ने । हुलासजीले त्यस्तो उरन्ठ्याउलो प्रस्ताव मान्लान्जस्तो लागेको त थिएन तर अचम्म, उनले हाँ गरिदिए । उनको अनपेक्षित सहमतिले मेरो काँधबाट एक टन बराबरको भारी बिसाएको जस्तो भएको थियो ।

यसरी संस्थानको स्वामित्वमा अब प्रशस्तै गाडी भए र तीमध्ये एउटा गोरखापत्रलाई, एउटा दि राइजिङ नेपाललाई, एउटा प्रशासनलाई र एउटा मधुपर्कलाई भाग लगाउन हामी सक्षम भएका थियौँ । पछि गएर त्यही फर्मुला अन्य कतिपय व्यापारी र्फमहरूसँग पनि प्रयोग गर्न खोजियो । कसैले माने, कसैले मानेनन् । आज २६-२७ वर्षपछि सम्झँदा लाग्छ, विजय स्कुटर र कालिका डुप्लिकेटरले पनि सो फर्मुलामा आंशिकरूपमा स्वीकृति दिएका थिए क्यार । फलस्वरूप मधुपर्कका पानाहरूमा पनि तिनका विज्ञापन बेलाबखत प्रकाशित हुने गर्थे ।

जहाँसम्म मलाई लाग्छ मेरो प्रवेशभन्दा अघिका दिनहरूमा मधुपर्कको एक स्वतन्त्र अस्तित्व नभई उसको सञ्चालन पनि गोरखापत्र शनिवारीय अङ्ककै एक अवयवको रूपमा भइआएको थियो । गोरखापत्रका जो सम्पादक हुन्थे, ती व्यक्ति मधुपर्कका पनि पदेन सम्पादक हुने प्रचलन भएजस्तो लाग्छ तर गोरखापत्रका सम्पादकहरूलाई आफ्नो दैनिक प्रकाशन धान्न नै धौधौ परिरहेको हुन्थ्यो र तिनले मधुपर्कतिर हत्तपत्त ध्यान पुर्‍याउनु सम्भव पनि थिएन ।

त्यसैले मलाई लाग्यो मधुपर्कजस्तो एउटा विशुद्ध साहित्यिक पत्रिका एउटा समाचारको परिशिष्ठजस्तो मात्र भएर फस्टाउन सक्तैन र त्यसको एक स्वतन्त्र अस्तित्व हुनुपर्दछ । यसै विचारको फलस्वरूप तिनताकका प्रखर कलापारखी र योग्य समीक्षक नारायणबहादुर सिंहको सवल काँधमाथि मधुपर्क प्रकाशनको भार दिने निधो गरियो । गोरखापत्र र दि राइजिङ नेपालमा झैँ मधुपर्कको निम्ति पनि प्रधानसम्पादकको पद सिर्जना गरिएको थियो तर सरकारी स्वामित्वका संस्थानहरूका आफ्नै गल्ज्याङमल्ज्याङ नियम उपनियमले गर्दा सिंहजीलाई सम्पादक पदबाट प्रधानसम्पादकमा स्थानापन्न गर्न सकिएन । उहाँले नायब प्रधानसम्पादकमै चित्त बुझाउन परेको थियो ।

उहाँ पनि दिलोज्यान दिएर मधुपर्कको प्रगति र विकासतिर लाग्नुभएको थियो तर अफशोसको कुरा एक दिन उहाँ अचानक हामीलाई छोडेर जानुभयो र आज उहाँसँग बिताएका क्षणहरूको सम्झना मात्र बाँकी छन् । त्यस्तै मधुपर्कलाई माया गर्ने अर्का प्रखर सहयोगी मुकुन्द पराजुली र त्यस पत्रिकाको काया कलेवर सिँगार्न सदा तत्पर रहने व्यङ्ग्य चित्रकार बलराम थापा (बराथा) को पनि असामयिक निधन वरण गर्नुभएछ । आज उहाँहरूको सम्झनामा श्रद्धाञ्जलि स्वरूप दुईथोपा आँसु चढाउने बाहेक मैले गर्नसक्ने नै के छ र ?

मेरो कार्यकाल वा त्यो भन्दाअघि मधुपर्कलाई आफ्ना अमूल्य सिर्जना दिएर तथा मलजल गरेर सफल र समृद्ध गराउँदै आजको स्थितिसम्म ल्याइपुर्‍याउने विभिन्न अग्रज वा मेरा समकालीन मित्रहरूको पनि यहाँ आदरसाथ सम्झना गर्न मन लागेको छ । तीमध्ये मेरा केही प्रातस्मरणीय अग्रज, पारसमणि प्रधान, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, भवानी भिक्षु, भूतको भिनाजु, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, डा. ईश्वर बराल, कृष्णचन्द्रसिंह प्रधान, तारिणीप्रसाद कोइराला, नयराज पन्त, रत्नदास प्रकाश, म.वी.वि. शाह, तीर्थराज तुलाधर, युद्धप्रसाद मिश्र, केशवराज पिंडाली, गोविन्दबहादुर मल्ल ‘गोठाले’, दौलतविक्रम विष्ट, सूर्यविक्रम ज्ञवाली, सुरेन्द्रराज शर्मा, प्रेमराज शर्मा, धुस्वाँ सायमी, भीमनिधि तिवारी, रत्नध्वज जोशी, रमेश विकल, विजय मल्ल, कृष्णवम मल्ल, चूडानाथ भट्टराय, जनकलाल शर्मा, टीकाराम शर्मा, डिल्लीराम तिमसिना, डी.एन.प्रधान, डी.पी. नेपाली, नीरविक्रम प्यासी, ताराप्रसाद जोशी, धनमान सिंह परियार, बदरीनाथ भट्टराई, बालचन्द्र शर्मा, महानन्द सापकोटा, यदुनाथ खनाल, राममणि आ.दी., रामराज पौड्याल, रेणुलाल सिंह, लैनसिंह वाङ्ग्देल, विपिनदेव ढुङ्गेल, भाइचन्द्र प्रधान, भुवनलाल प्रधान आदिले समयसमयमा मधुपर्कका पानाहरू सुशोभित गरेर जानुभएको रहेछ । त्यस्तै मेरा समकालीन र मभन्दा पछिका स्रष्टाहरूमा शङ्कर लामिछाने, कुमार ज्ञवाली, मोहन कोइराला, विश्वनाथ अधिकारी, ईश्वरबल्लभ, ध.च. गोतामे, पारिजात, पोषण पाण्डे, रामलाल अधिकारी, हरिभक्त कटुवाल, अगमसिंह गिरी, अग्निराज श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, घटराज भट्टराई, चाँदनी शाह, छिन्नलता, टेकबहादुर कार्की, ध्रुवकृष्ण दीप, पुण्यप्रसाद सुवेदी, भूपी शेरचन, बासु शशि, गोपाल योञ्जन, टेकबहादुर खत्री, बल्लभमणि दाहाल, भैरव अर्याल, विष्णु नवीन, आदिका नाम पनि मधुपर्कका पानाहरूमा अङ्कित छन् ।

उपरोक्त साहित्यकारहरू बाहेक अन्य पनि धेरै व्यक्तिहरूका नाउँ मैले यहाँ समाविष्ट गर्नसक्नु पर्ने हो तर किन सम्भव भएन भन्ने स्वतः स्पष्ट नै होला भन्ने लागेको छ ।

उपरोक्त सबै स्रष्टाहरूको सम्झना गर्न पनि आज मलाई सम्भव हुने थिएन होला तर मेरो गो.प.संस्थान प्रवेशताक कुनै एकजना पाठकले पत्रपत्रांश स्तम्भको निम्ति पठाएका पत्रमा मधुपर्कको इतिहास जनाउने केही उपाय गर्न सकिन्छ कि भनेर सल्लाह दिएकाले धेरै घोरिएपछि हामीले एउटा निष्कर्ष निकालेका थियौँ । त्यसैको फलस्वरूप थालनी कालदेखिका १८ वर्षमा मधुपर्कमा प्रकाशित लेखरचना, कथाकविता आदिलाई समेटेर एउटा सन्दर्भसूचि प्रकाशित गर्ने जमर्को गरेका थियौँ । आज आएर त्यही सन्दर्भसूचिको आधारमा नै मैले उक्त स्रष्टाहरूको सम्झना गर्न पाएकोले त्यो एउटा महत्त्वपूर्ण काम नै भएको रहेछ भन्ने लाग्दैछ । मेरा अनन्य मित्र र साहित्यअन्वेषक शिव रेग्मीजीले कम्मर कसेर र औधि जोश जाँगरसँग त्यो कठिन कार्य सम्पन्न गरेर हामीलाई कति ठूलो गुण लाउनुभएको रहेछ भन्ने कुरो त मलाई आज आएर मात्र छर्लङ्ग भयो !

अन्त्यमा, नेपाली साहित्यिक पत्रिकाहरूमा ५०० अङ्कको कठिन खुड्किलो पनि पार गर्नसक्ने एकमात्र पत्रिका, मधुपर्क, आज एक ऐतिहासिक मोडमा आइपुगेको छ । यस्तो महत्त्वपूर्ण घडीमा उसलाई यस स्थितिसम्म ल्याइपुर्‍याउने सबै सवल हातहरूलाई हार्दिक बधाई दिँदै मधुपर्कले भविष्यमा पनि यसका सम्पादक-प्रकाशक, सर्जक र पाठक, सबैको अझ बढी माया-ममता र स्नेह पाओस् अनि यस्ता ५०० अङ्क मात्र होइन, हजारौँ अङ्कको कालखण्ड पार गर्ने अवसर पाओस् भन्ने शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *