मधुपर्कमा मेरो लेखनको कीर्तिमान

  • by


संस्थागतरूपमा हेर्दा ‘गोरखापत्र’ सित मेरो सम्बन्ध धेरै पुरानो हो । ‘गोरखापत्र’ सित मेरोभन्दा पुरानो सम्बन्ध हुने धेरै होलान् । सबभन्दा पुरानो अखबार हो, त्यसकारण त्यो स्वाभाविक हो । मेरो सम्बन्ध अलिक अर्कै खालको हुनाले उल्लेख गरेको हुँ ।

म नोकरी गर्दै पढ्न भनेर सुरुमा काठमाडौँ आएको हुँ । अझै कति आउँदा हुन् त्यसरी नै । अब त नोकरी गर्दै पढ्न भनेर विदेशै जानको सङ्ख्या पनि बढ्दो छ ।

पाइजामा कमिज लगाएर, हातमा ‘बैद्यनाथ’ लेखेको जुटको झोला झुण्ड्याएर मेरा जेठा दाइ धनुषचन्द्र बसेको दुगमबहीलस्थित डेरामा म छिरेको थिएँ । धनुषचन्द्रपछि ठट्टामा भन्नु हुन्थ्यो मेरो त्यो हुलिया बयान गर्दै, यो धुरे कार्टुन भएर आएको थियो । कार्टुन देखिएकै हुँला । जीवन त अहिलेसम्म पनि कार्टुन नै छ । अझ हुर्केको कार्टुन । कता नमिलेको, कता नमिलेको भन्दा पनि कतै नमिलेको भन्दा हुन्छ तर अहिले ‘गोरखापत्र’ को कुरा गर्दैछु । वि.सं. २०१९ साल हो, अन्य विवरण थाहा छैन । कहिल्यै संस्थानतर्फ गइयो भने फाइल पल्टाएर हेर्ने सोच बनाएको छु, मिति, बार, अवधि, आदि । अहिले यति, २०१९ सालमा मैले ‘गोरखापत्र’ मा प्रुफरिडरको नियुक्ति पाएको थिएँ । अस्ति श्री ओमलाई बताउँदा उहाँले भन्नुभयो, म जन्मेको साल । श्रीओम अहिले ‘मधुपर्क’ को सम्पादक हुनुहुन्छ । त्यस वर्ष मैले त्यही संस्थानमा नोकरी खाएको थिएँ । यसले कुनै पुरुषार्थ नदेखाए पनि वार्धक्य त देखाउला । पुरानो सम्बन्ध रहेछ भन्ने त देखाउला । आज जुन ५०० अङ्क पूरा गरेर ‘मधुपर्क’ले वरिष्ठता प्राप्त गरेको छ, त्यसको जन्म पनि टाढै थियो । गर्भमा समेत थिएन । स्वयं मेरै पनि लेखकका रूपमा विधिवत् जन्म भएको थिएन । यी सब मिलेर केही त प्रमाणित गर्छन् नै ।

‘मधुपर्क’ को जन्म हुँदा म त्यहाँबाट बिदा भएर ‘रत्नराज्यलक्ष्मी गर्ल्स कलेज’ त्यसपछि त्रि-चन्द्र कलेजमा सेवा आयोग लडेर शिक्षक हुन पुगिसकेको थिए ।

जेठ, २०२५ त मलाई सम्झना छ, ‘मधुपर्क’ को थालनीको त्रि-चन्द्रको माथ्लो तलामा टिनको छानोमुनि बस्थ्यौँ । गर्मी महिनामा त्यो सधैँ रनक्क रन्केको हुन्थ्यो । त्यसै छानोमुन्तिर बसेर मैले ‘मधुपर्क’ को पहिलो अङ्क पढेको थिएँ । त्यस अङ्कको एउटा कथा त मैले अत्यन्त उत्साहसाथ कैयौँ पटक पढेँ हुँला । कथा राम्रो भएर होइन, आफूलाई राम्रो लागेर । मलाई आफूलाई राम्रो लाग्नु स्वाभाविकै थियो । म पनि त नेपाली लेखकै थिएँ । ‘मधुपर्क’जस्तो जन्मिँदै स्थापित भएर जन्मेको पत्रिकाको पहिलो अङ्कमा आफ्नो कथा छापिँदा पक्कै त्यो बारम्बार पढिनेलायक भयो मेरा लागि । शीर्षक थियो ‘सङ्कट’ ।

यो आनन्द कहाँदेखि थालिएको थियो त्यो पनि बताउन चाहन्छु म । छापिन थालेको पाँच वर्ष जति मात्र हुँदै थियो । त्यस्तोमा मेरो नाउँ नयाँ लेखकहरूको हूलमा कसैले दिइहाल्यो भने ठीक, नभए त्यो पनि जुर्दैन थियो हामीलाई । अहिले त ‘मेलमिलापको नीति’ (साहित्यमा बेग्लै र साभाररूपमा मैले प्रयोग गरेको) अन्तर्गत भए एउटै रचना वा कृतिमा तपाईं एकदम चर्चितअन्तर्गत पनि परेकै छु, कति मानेमा । मेलमिलाप राम्रो कुरो हो तर साहित्यमा त्यसको आकारप्रकार र प्रक्रिया भिन्न प्रकारको छ । धेरै लामो फारम भर्नुपर्छ । त्यो भर्न नसेककाले अझै ‘सङ्घर्षरत’ मै परेका हुन्छौँ हामी केही लेखक । ती सबलाई धन्यवाद जो हामीलाई यस लायक भए पनि लेखक ठान्दछन् ।

यता पो आइएछ, त्यसै समयमा फर्कौं । तिनताक हाम्रा ‘प्रमुख’ ले खोइ किन हो, मेरो अनुहारको बनोट अझै विद्यार्थीजस्तो देखेर वा ‘रोमान्टिक विद्यार्थी’ जस्तो देखेर हो, मलाई अनिवार्यरूपमा कोट लाएर आउने उर्दी दिनुभएको थियो, जुन मैले अक्षरशः पालन पनि गरेको थिएँ । समस्या कहाँ थियो भने मसित एउटै मात्र कोट थियो, त्यो पनि टि्वडको । मौलिक थियो कि जराउरी अहिले ठम्याउन सकिनँ । टि्वडको कोट जाडोमा त ठीकै थियो । गर्मीमा पनि ठीकै हुँदो हो तर हाम्रो विभागको टिन तात्दा उता त्यो टिनको छानोले अग्निवषर्ा गरिरहेको हुन्थ्यो । त्यसको देखासिकीमा मेरो कोट शरीरै डढाउने गरी बलिरहेको हुन्थ्यो । अहिले ‘ग्लोबल वार्मिङ’ को कुरा निकै गरिन्छ । मेरा लागि त ‘ग्लोबल वार्मिङ’को अनुभव त्यस समयदेखि हुन थालिसकेको थियो ।

तिनैताक एकदिन एउटा चिठी आयो । चिठी भैरव अर्यालले लेख्नु भएको थियो । त्यसमा यही थियो, आगामी जेठदेखि ‘मधुपर्क’ प्रकाशित हुने भएकोले कथा पठाउनु हुन अनुरोध गरेको छु । बेहोरा यस्तो । त्यो चिठी कति अघि आएको थियो, मैले पढ्दा ‘ग्लोबल वार्मिङ’ मै पढेको थिएँ । त्यो चिठीले निकै समयका लागि मलाई ‘ग्लोबल वार्मिङ’ बाट छुटकारा दिलाएको थियो । धेरै मात्रामा अन्य नयाँ लेखकमा यी यी हुन्, भन्ने समूह थप्न, जसलाई म ‘गु्रप फोटोग्राफी’ भन्छु बाट पनि मुक्ति दिलाउन मद्दत गरेको थियो ।

भैरव अर्यालको त्यो चिठी नै मैले कति पटक पढेँको थिएँ भने आफ्नो कथै छापिएको ‘मधुपर्क’ त धेरै पटक पढ्नु स्वभाविकै थियो । त्यसै चिठीका कारण भैरव अर्याल नभए पनि मधुपर्क सम्मान स्थापना भएको दोस्रो वर्ष नै मैले ‘मधुपर्क सम्मान’ पाउन सकेँ ।

यस प्रकार त्यो चिठीले गर्दा नै अहिले म हौसिएर भन्न सक्ने भएको छु, म ती अत्यन्त थोरै लेखकमध्ये पर्दछु, जो १ देखि ५०० औँ अङ्कसम्म छापिएको छ । त्यस्ता लेखकको सूची बनाउन कठिन छैन, एक र पाँचसय अङ्क हेरेमा छापिएको थियो, कि उसको दोस्रो रचना ५०० अङ्कमै छापियो, अहिले हामीजस्तालाई नै ‘मधुपर्क’ ले ‘रियली रेयर’ ठान्दा हुन्छ ।

‘मधुपर्क’ सित केही मीठा सम्झना पनि जोडिएका छन् । भैरव अर्यालपछि नारायणबहादुर सिंहसँग पनि मेरो राम्रो तालमेल थियो । अहिले श्रीओम श्रेष्ठसित पनि राम्रो मिलेको छ ।

टि्वडको कोटको एउटा प्रसङ्ग अझै बाँकी छ । ज्यादै स्पेसल हुनाले मैले त्यसबारे एउटा कथा लेखेँ । त्यो मधुपर्कको विगत कुनै अङ्कमा छापिएको छ । ‘ग्लोबल वार्मिङ’ हामीकहाँ चलिसकेको थिएन, त्योबाहेक अरूथोक छ ।

सम्भवतः ‘स्वाद’ भन्ने कथामा यस्तो भयो । भैरव अर्यालले एकपटक फोन गर्नु भयो, त्यसमा एक पाना अन्तिम चाहिँ छैन । मलाई पर्‍यो फसाद । म पनि उही ‘अर्को कपि’ नराख्ने लेखकमा पर्छु । अब कहाँ खोजुँ त्यो । भैरव अर्यालले एक पाना अर्को लेख्ने सुझाव त दिनु भएको थियो । त्यो अन्तिम पानो कथाको अन्त्य पनि थियो । ‘फुत्केको माछो ठूलो’ भनेझैँ यस्तो हुँदा मलाई जहिले पनि लाग्छ, फेरि लेखेँ भने पहिले लेखिएको भन्दा कमजोर हुन्छ ।

धेरै खोजेँ तर त्यो माछो त फुत्किसकेको थियो, के पाइन्थ्यो त अब यस माछोको ‘क्लाइमेक्स’ बताउँ । ‘स्वाद’ मा माछोकै कुरा छ, त्यस कारण मैले माछाकै उखान प्रयोग गरेको हुँ । अब त्यसैबाट अन्त्य गर्छु । अन्त्यमा एकदिन भैरव अर्यालले नै फोन गर्नु भयो र भन्नु भयो- त्यो मैसँग रहेछ । अर्थात् फुत्केको माछो उहाँकै ढडियामा रहेछ । त्यसपछि बल्ल होलो सास फेरियो ।

मैले समीक्षात्मक लेख प्रायः छापेको छैन । एकपटक ‘मधुपर्क’ मा ‘गोपालप्रसाद रिमाल’ बारे एउटा समालोचना आयो । लेखक ध्रुवचन्द्र गौतम । म त चकित भए । मैले कुनै त्यस्तो लेख ‘मधुपर्क’ लाई दिएकै थिएन । लेखेको पनि सम्झना थिएन । त्यतिखेर केशवराज पिँडाली हुनुहुन्थ्यो ‘मधुपर्क’ मा । उहाँलाई भन्दा भन्नुभयो, हृयान्ड राइटिङ तपाईंकै छ त ? म झन् चकित भएँ । कसरी भयो ?

अन्त्यमा थाहा पाइयो । कलेजमा पढाउँदा म प्रायः नोट नगरी पढाउँथे । विद्यार्थीलाई पनि नोट लेखाउँदिन थिएँ । एक पटक विद्यार्थीहरूकै अनुरोधमा गोपालप्रसाद रिमालको ‘मसान’ नाटकको एउटा लेख लेखेर विद्यार्थीहरूलाई लेखाएँ । दोस्रो दिन एउटा विद्यार्थी आएर भन्यो, सर मैले त नोट गर्न पाइनँ, हिजो नआएकाले मलाई अल्छी लागेर मैले लेखेको लेख उनीलाई दिएँ । उनीकहाँबाट त्यो लेख एक मित्रकहाँ पुग्यो । उनीले सदाशयतापूर्वक त्यस लेखको प्रकाशन ‘मधुपर्क’ मा गराइदिएछन् । नाउँ मेरै हुनाले सदाशयता भनेँ सदाशयता भन्न अलि मिलेन पछिबाट ।

मैले सोचें, ठीकै छ छापिइ नै हाल्यो भने, आफ्नो पारिश्रमिक त किन छाडूँ भन्ने लाग्यो । मधुपर्कमा रु २५।- नै थियो, मैले पहिलो कथामा पाएको पारिश्रमिक । त्यो पनि धेरै लागेको थियो, आफ्नो परिश्रमको कमाइ र पछि ३०।- भएजस्तो लाग्छ ।

लेखको पारिश्रमिक लिन गएँ । ती मित्रले झन् बढी सदाशयता देखाएका रहेछन् । मलाई कष्ट किन दिने भन्ने हेतुले मेरो कीर्ते सही गरेर पारिश्रमिक बुझेर ‘साँझ’ सुखपूर्वक बिताइसकेका रहेछन् ।

एक समय यस्तो आयो मैले कुनै कारणवश ‘मधुपर्क’ मा रचना नदिने अठोट गरेँ । निकै समय दिइनँ पनि । एक दिन नारायणबहादुर सिंहले फोन गर्नु भयो, अब त दिनुस्, म आएको छु । दिएँ पनि त्यसपछि ।

केही समयअघि जब ‘मधुपर्क’ सम्मान दिइने भएको थियो, कपिल घिमिरेले फोनमा निम्तो गर्नुभयो । यो पनि भन्नुभयो- अब रचना पाउ न डाक्टर साहेव धेरै भयो । मैले भनेँ, तपाईंहरूले नलाग्नु भएको पनि त धेरै भयो नि मैले दिएँ पनि तर कारण भने, नमाग्नु मात्र थिएन, अरू पनि थिए ।

अहिले पनि यो लेख्न श्रीओमले अनुरोध गर्नुभयो । यहाँ त श्रीओमले कहिले अनुरोध गर्नु होला भन्ने पनि थियो । कुराकानी पनि गर्नुभयो र ५०० औँ अङ्का लागि संस्मरण पनि भन्नुभयो । यो आफ्नै पनि प्रसन्नताको कुरो थियो । ‘मधुपर्क’ सम्म पहिलो अङ्कदेखि प्रायः सबै कथा विशेषाङ्क र अन्त्यमा पनि संलग्नता हुँदाहुँदा यो परिवारको म पनि सदस्य हुँजस्तो लाग्न थाल्यो । कमसे कम दुई आवरण कथामा पनि मैले लेखेको छु, कृष्णभक्त श्रेष्ठको सम्पादन कालमा ।

यो खुसी मैले खोजेकै खुसी हो ‘मधुपर्क’ को अङ्कदेखि छापिएर आज ५०० औँ अङ्कसम्म उभ्याउन सकिरहेको छु, पत्रिकाको साथसाथै मेरो लेखनको पनि त एउटा नयाँ कीर्तिमान नै भएको छ यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *