एउटा मीठो सपनाजसो गरी म गोरखापत्र संस्थानसँग प्रत्यक्ष नाता गाँस्न पुगेकी थिएँ । मैले होस सम्हालेको बेलादेखि म सचेत हुञ्जेलसम्म पनि नेपालमा अखवार भनेको गोरखापत्र र गोरखापत्र भनेकै अखवार हो भन्ने मलाई लागेको थियो । त्यसैले आफूले अत्यन्त सम्मान गरेको त्यस अखवार छाप्ने संस्थाको प्रमुख भएर कुनै दिन म गोरखापत्र संस्थानमा पुगुँला भन्ने मैले सोचेको कुरा पनि थिएन ।
वि.सं. २०६२ सालको जेठ महिनामा म कार्यकारी अध्यक्ष भएर गोरखापत्र संस्थानमा भित्रिएकी थिएँ । साथै गोरखापत्र संस्थानको इतिहासमा प्रथम महिला कार्यकारी अध्यक्ष हुने सौभाग्य पनि मैले नै पाएकी थिएँ । म लेखक पनि भएका नाताले गोरखापत्र संस्थानमा मेरो कार्यावधिका नलेखी नहुने केही सत्यतथ्य घटना भविष्यमा लेख्न मैले थाँती राखेकी छु । त्यसैले यसबेला भने मेरो लक्ष्य मधुपर्कको मात्र सेरोफेरोमा फन्को लगाउनु भएको छ ।
जसरी गोरखापत्रले मेरालागि मात्र नभएर नेपाली जनमानसमा नै सिङ्गो अखवारको पर्यायको भूमिका निर्वाह गरेको थियो, त्यसैगरी साहित्यिक यात्राका प्रारम्भिक चरणमा मेरो साहित्यिक तृष्णा मेटाउने गर्विलो साधन मधुपर्क नै थियो । २०३२-०३३ सालतिर मेरो रचना मधुपर्कमा प्रथमपटक छापिँदा मेरा आँखाबाट हर्षका आँसु झरेको पनि मेरो स्मृतिमा अझै ताजै छ । जीवनको महत्त्वपूर्ण र ऊर्जाशील समय मोफसलमा विताएकी मेरालागि मधुपर्कमा रचना छपाउनु पनि त्यसबेला निकै ठूलो पराक्रम थियो । मधुपर्कमा साहित्यिक रचना छापिएपछि नै राष्ट्रियस्तरमा साहित्यिक व्यक्तिको कोटिमा गनिन पाइने लोभ पनि त्यस अनुभूतिमा गाँसिएको हुन्थ्यो । त्यसैले मधुपर्क साहित्यकारका लागि साँच्चिकैको मधुपर्कझैँ मीठो हुन्थ्यो । त्यस्तो मेरो आराध्यसरहको मधुपर्कको प्रकाशक हुने गौरवमय अवसर मलाई विधिले जुराएको थियो । अर्थात् साहित्यिक क्षेत्रको यात्री भएका कारण पनि मलाई मधुपर्कसँग गाँसिन पाउँदा अपार आनन्द आएको थियो ।
त्यसो त कार्यकारी अध्यक्ष भएका कारण गोरखापत्र संस्थानका सम्पूर्ण प्रकाशनप्रतिको मेरो जिम्मेवारी बराबर थियो तर मेरालागि मधुपर्कप्रतिको आकर्षण मोहपूर्णको नै थियो । बाबुआमाका लागि सबै छोराछोरीप्रति उत्तिकै दायित्व हुँदाहुँदै पनि आफूलाई सबैभन्दा मनपरेको एउटा सन्तानप्रति विशेष मोह भएजस्तै मधुपर्क मेरा लागि विशेष प्रिय थियो ।
त्यसबखत गोरखापत्र संस्थानको प्रशासनद्वारा मधुपर्क सम्पादनको जिम्मेवारी श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइरालालाई दिइएको थियो । यी दुवै साहित्यिक भाइहरूसँग मेरो सम्बन्ध पुरानो नै थियो । त्यसैले मैले गोरखापत्र संस्थानमा प्रवेश गरेलगत्तै नै उनीहरूसँग मैले मधुपर्कको पनि समृद्धिका लागि गर्नुपर्ने कार्य योजनाबारे छलफल गरेकी थिएँ । त्यतिबेला श्रीओम भाइ र मैले मधुपर्कका लागि निकै महत्त्वपूर्ण काम गर्ने योजना बुनेका पनि थियौं । एक जना साहित्यिक व्यक्ति नै गोरखापत्रको कार्यकारी प्रमुख भएर आएका कारण अब मधुपर्कका सबै बाधा- अवरोधहरू हट्ने छन् र मधुपर्कले प्रगतिको पथ प्रशस्त गर्ने छ भन्ने कुरामा श्रेष्ठ र कोइरालावन्धु आशावादी हुनु अनौठो पनि थिएन । तर त्यसैबेला सञ्चार मन्त्रालयले ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझैँ मधुपर्कमा पनि एउटा सर्कस देखाएको थियो । अथवा भनौँ, सञ्चार मन्त्रीले आफ्नो ज्योतिषीलाई ‘मधुपर्क’ मासिकजस्तो राष्ट्रिय गरिमाशाली साहित्यिक पत्रिकाको सम्पादकमा नियुक्त गरेका थिए । ती ज्योतिषी भने मधुपर्कको स्तरवृद्धिको साटो आफ्ना वोरिपरिका मानिसहरूलाई रिझाउने किसिमका रचनाहरू छाप्नमा बढी लालयीत रहन्थे । अर्को कुरा, ती ज्योतिषीलाई आफू मन्त्रीद्वारा राजनीतिक नियुक्ति गरी पठाइएको ‘निकै ठूलो ओहदाधारी हाकिम हुँ र मधुपर्कका कर्मचारी भनेका मेरा कारिन्दा हुन्’ भन्ने तुजुक थियो । जसले गर्दा उनी मधुपर्कका कर्मचारीहरूसँग दिनदिनैजसो झगडामा समय विताउँथे । मधुपर्कका कर्मचारीहरू त्यसै पनि एउटा विजातीय अनाडी व्यक्तिलाई हाकिम मान्न तयार थिएनन् । अर्कातिर ती ज्योतिषी भने आफ्नो लिँडे हाकिमीपनको ढाँचाबाट तल ओर्लन चाहँदैन थिए । जसले गर्दा त्यसताका मधुपर्कको कलह चरमचुलीमा पुगेको थियो ।
मधुपर्कको रडाकोको चर्को असर मधुपर्क पत्रिकामा पर्नु अस्वभाविक पनि भएन । जसले गर्दा मेरो कार्यकालमा ‘सुनको मधुपर्क छापौँला’ भन्ने मेरो सपना भताभुङ्ग भएको थियो । मलाई लाग्छ, मेरो कार्यकालमा जति अशुद्ध र स्तरहीन मधुपर्क शायद त्यसभन्दा पहिले कहिलै पनि छापिएको थिएन होला । मेरो कार्यकालमा मधुपर्कका कर्मचारी र राजनीतिक नियुक्तिका सम्पादकको अहम्को लडाइँमा मधुपर्कको स्तरोन्नति नभई स्तरअवनति भएको स्वीकार गर्दा यसबेला मलाई त्यसवापतको हिनताबोध नै भएको छ ।
मैले ती ज्योतिषी अथवा भनौँ मधुपर्कका सम्पादकलाई पटकपटक सम्झाउने पनि काम गरेकी थिएँ तर उनी एकोहोरो मधुपर्कका सबै कर्मचारीको गल्ती मात्र देखाउँथे । उनलेे जतिसुकै नै मधुपर्कका कर्मचारीहरूका विरुद्धमा मेरा कान भर्ने प्रयास गरे तापनि मैले उनका कुरा पत्याउने कुरै थिएन । त्यसैले मैले उनलाई ‘सकारात्मक भएर काम गर्नु होस्’ मात्र भनिरहेँ । त्यतिमात्र होइन, उनलाई मधुपर्कका कर्मचारीसँग मिलेर काम गर्ने मैले सकेसम्म वातावरण पनि बनाइदिएकी थिएँ तर त्यसताका उनको दिनचर्यालाई उनीभित्रको आडम्बर र घमण्डले चकनाचुर पारेको थियो । त्यसैले उनी सही बाटोमा आउने जाँगर नै देखाउँदैनथिए । ‘व्यक्तिगत स्वार्थभन्दा माथिउठेर संस्थाको उन्नति हुनेगरी काम गरौँ’ भनेर मैले उनीसँग बारम्बार भनिरहेँ तर मैले जति नै सम्झाए पनि उनी आफ्नो प्रवृत्तिबाट टसका मस भएनन् । निदानसेखमा उनले मलाई उनको विरोधीखेमाको नै ठहर गरे किनभने धेरै सम्झाउँदा नलागेपछि मैले उनको जागिर खोसिदिने उनलाई धम्कीसमेत दिएकी थिएँ तर उनको नियुक्ति गर्ने निकायबाट उनले मलाई नै उल्टो धम्क्याउने काम गरे । वास्तवमा त्यसबेला उनको ‘च’कारे प्रवृत्तिले मलाई पराजित नै गराइछोडेको थियो । फलस्वरूप सञ्चार मन्त्रीको हप्कीदप्की र खप्कीसमेत मैले नै खानु परेको थियो । ‘राजावादी मानिसलाई नसहने राजावादी’ भन्ने ठाडो र झूटो आरोपसमेत मन्त्रीद्वारा मलाई लगाइएको थियो ।
मानिसले चाहेपछि जे पनि गर्नसक्छ भन्ने मेरो मान्यता त्यसबखत मेरै आँखा अगाडि तिरोहित भएको थियो । मैले चाहेर पनि मधुपर्कका लागि गर्न चाहेको काम परिस्थितिले मलाई गर्न दिएन । समय फुसुक्क बितेर कुम्लोकुटुरो बोकेर हिँडिहालेको थियो । मेरो कार्यकालका सपनाहरू चलमलाउन मात्र सुरु गरेका थिए । बिउँझँिदा म गोरखापत्रबाट बाहिर पुगिसकेकी थिएँ । अर्थात् गोरखापत्र संस्थानप्रतिको सरकारको अनावश्यक हस्तक्षेपका कारण गोरखापत्रको हालत कहिल्यै सप्रन नसकेको पीरो अनुभूति बटुल्नुबाहेक मैले मेरो कार्यकालमा अर्थोक केही बोक्न सकिनँ । मैले माथि नै भनिसकेकी छु, यसबारे म कुनै बेला लेखौँला पनि ।
अहिले पनि मधुपर्क गोरखापत्र संस्थानको अध्यक्ष भएर म पुगेको समयभन्दा अघिजस्तै मुस्कुराइरहेको छ । वास्तवमा मधुपर्क नारायणबहादुर सिंहकै पालादेखि मुुस्कुराइरहेको थियो तर मेरो कार्यकालभरि मधुपर्कले हार्दिकता बोकेर मुस्काउन सकेेको थिएन । हो, शायद अब पनि कहिले छातीमा घाउ बोकेर मुस्कुराउँला मधुपर्क, कहिले छातीमा गर्व बोकेर मुस्कुराउँला मधुपर्क तर पीडामा होस् या आनन्दमा होस्, मधुपर्कको मुस्कुराउने कला एकनास छ । नेपाली साहित्यको इतिहास बोकेर अघि बढेको मधुपर्क गोरखापत्रभित्रै बाँचेको भए पनि अब मधुपर्कले नेपाली भाषाको साहित्यिक संसारका लागि एउटा स्वायत्त संस्थाको नै मनोवैज्ञानिक अस्तित्व जगेर्ना गरिसकेको छ । अहिले पनि एउटा तीतोसत्यले मलाई अँठ्याइरहन्छ । कुरा के भने, मैले मधुपर्कको छानोमा पुगेर पनि त्यसलाई ओताउन सकिनँ । मैले देखीदेखी पनि मधुपर्कको चुहेको छानोलाई टाल्न सकिनँ । मलाई अहिले सम्झँदा पनि दुख्ख लाग्छ, मेरै कार्यकालमा मेरो प्यारो मधुपर्कको अवस्था दीनहीन थियो, लज्जाजनक थियो अनि नराम्ररी खस्केको थियो ।
मेरो घरको पुस्तकालयको दराजबाट जतिजति बेला म मधुपर्क तान्छु त्यतित्यति बेला मधुपर्कका अङ्कहरूले सिंहदरवारतिर फर्केर चिच्याइचिच्याई भनेझैँ लाग्छ मलाई, ”घुम्ने मेचमा बसेका राजनीतिका ए अन्धा मान्छेहरू हो ! गोरखापत्र संस्थानलाई तिम्रो कमिसन खाने, मान्छे भर्ती गर्ने र खेलवाड गर्ने थलो नबनाऊ ! अनि मधुपर्कको अस्मितामाथि खेल्ने विगतको झैँ धृष्टता कहिल्यै नगर ! नत्र अब हामी पनि जुलुस बन्न सक्नेछौँ, नत्र अब हामी पनि धर्ना दिन सक्नेछौँ र नत्र अब हामी पनि बन्द- हडतालजस्तो निर्लज्ज खेलमा समेत ओर्लेर तिमीहरूलाई घोक्र्याउन सक्ने छौँ !”
