ऐतिहासिक ‘मधुपर्क’ मासिकमा मेरो प्रथम रचना

  • by


वैयक्तिक प्रयासले सञ्चालित दुई/चारवटा पत्रपत्रिकाले आधुनिक नेपाली साहित्यिक पत्रकारितालाई धानिरहेको समयमा बौद्धिकवृत्तलाई जिल्याउँदै अनायास संवत २०२५ को जेठमा मधुपर्क मासिकको प्रकाशन प्रारम्भ भएको हो । राष्ट्रभाषा र राष्ट्रिय भाषालाई समुज्ज्वल र चहकिलो तुल्याउने कालान्तरका कतिपय विशिष्ट लेखकले त्यसबेला विस्तारै विधागत दृष्टिले आफ्नो मौलिक छवि बनाउन थालेको त्यो समय थियो । गम्भीरताले सोच्या छैनौँ र साताँै दशकमा सुपरिचित कतिपय प्रतिभा त क्रमशः अलिपछि जन्मिएका हुन् । यसरी तात्कालीन समयमा मधुपर्कको प्रकाशनले नेपालभित्र र बाहिरका भाषाप्रेमी समुदाय एवं विभिन्न तप्कामा अत्यधिक चासो उत्साह र जागरण ल्याएको देखिन्थ्यो ।

निजात्मक जाँगर र भरथेगले चलिरहेको र गुज्रिरहेको नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा एउटा नौलो उदाहरणको संस्थागत सूत्रपात मानियो मधुपर्कको प्रारम्भलाई । कालक्रमिक इतिहास नियाल्दा संस्थापरक साहित्यिक पत्रपत्रिकाको प्रकाशनका लागि मधुपर्क सम्प्रेरक र कोसेढुङ्गा हुन पुगेको देखियो । त्यसपछि यस्तो उत्साहप्रद शुभारम्भ अरू सङ्घसंस्थाहरूबाट पनि क्रमिकरूपमा हुन थालेको परिघटना पाइन्छ । राजधानी काडमाडौँको महानगरीय परिवेशमा लामो समयदेखि बसोबास गरे पनि आख्यान पुरुष ध्रुवचन्द्र गौतम वीरगञ्जका हुन् । संवत् २०४० को फागुन-चैततिर एकताका बौद्धिक मान्यवर पर्सा जिल्लाको वीरगञ्जकोस्थानीय राष्ट्रिय प्रेसमा ‘अलिखित’ उपन्यासको मुद्रणमा सक्रिय हुनुहुन्थ्यो । यसका प्रकाशक वरिष्ठ पत्रकार र सर्जक ईश्वरचन्द्र गौतम रहेका हुन् । पारस्परिक कुराकानीमा बौद्धिक अग्रज साथीभाइको परामर्शले ‘अलिखित’ मदन पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुने तरखरमा रहेको तथ्य सङ्केत गर्नु हुन्थ्यो । काठमाडौँ फिर्नु पूर्व एकदिन ध्रुवदाइले एक्कासि मलाई भन्नुभयो-“प्रथम क्रेताको पुस्तकको इतिहासमा आफ्नै महत्त्व हुन्छ । यसर्थ उपन्यासको प्रथमप्रति किनेर सहयोग गरौँ । तदनुपरान्त मोल रु. ३०।- को उक्त उपन्यासलाई मैले किनेँ । साथै दाइको विशेष आग्रह थियो- भ्याएमा अलिखित कृतिबारे केही लेखी मधुपर्क मासिकमा पठाउनुस् । भानु, रूपरेखा आकार र गोरखापत्र प्रभृति कतिपय साहित्यिक पत्रपत्रिकामा छापिए पनि मधुपर्कमा यस अगाडि मैले रचना पठाएको थिइनँ । बौद्धिक अग्रजको सल्लाह मानी प्रथमपटक गोरखापत्र संस्थानको मधुपर्कमा मैले अलिखितसम्बन्धी छोटो विवेचना पठाएँ ।

प्रतीक्षातुर रहे पनि सम्बद्ध मासिकमा थुप्रै महिनासम्म उक्त रचनाबारे केही जानकारी पाइएन । सौभाग्यवश संवत २०४१ को बडादसैं पूर्व संवत् २०४० को ‘मदन पुरस्कार’ अलिखितले प्राप्त गरेको खबर रेडियोबाट थाहा पाएको थिए ।”

आख्यानवेत्ता कृतिकारले संयोगले आफूले टिपी राखेको दुई पङ्क्ति साझा प्रकाशनबाट प्रकाशित अलिखितको प्रथम संस्करणमास्नेहवश गाताको अन्तिम पृष्ठमा पारिदिनु भएकोले मेरो हर्षको सीमा थिएन र अनेकौँ संस्करणमा त्यो यथावत छापिँदै छ । वस्तुतः मेरो विवेचना भने अझैँ मधुपर्कमा छापिएको थिएन ।

एकपल्ट काडमाडौँ जाँदा मधुपर्कको कार्यालयमा म छिरेँ । त्यहाँ मूर्धन्य निबन्धकार नारायणबहादुर सिंहलाई सम्पादकको रूपमा मैले साक्षात्कार गर्न पाएँ । त्यसबेला सानोतिनो चिनारी लिएर नारायणदाइले भन्नु भएको सम्झना हुन्छ । रमेशजीको र मेरो आफ्नो समयको शिक्षण संस्था वीरगञ्जस्थित त्रि-जुद्ध म.र.माध्यमिक विद्यालय (संवत १९९४) एउटै पर्‍यो । हामी दुबै सर्वश्री जीवनेश्वर मिश्र, श्रीभगवान द्विवेदी र सोमनाथ झाजस्ता गुरुका विद्यार्थी रहेछौँ । दोहोरो अन्तक्रिर्यामा मलाई उहाँ जङ्ग बन्धु, बद्रीनरसिंह राणाको सन्तति रहेको ज्ञात भयो ।

प्रातःस्मरणीय नारायणदाइले पुनः कुराको उठान गर्नु भयो-गोरखापत्र र मधुपर्कको पृथक कोठा परिवर्तन गर्ने क्रममा केही रचना यताउता परेका छन् भेट्टाएमा छाप्छु र ठाउँ दिन्छु । मोफसलकालाई झन् उचित ठाउँ दिने परिपाटी छ मधुपर्क मासिकको । कालक्रमातः संवत २०४३ को मधुपर्कको वैशाख अङ्कमा अलिखितसम्बन्धी मेरो विवेचना छापियो र चार वर्ष टेकेर प्रकाशित भए पनि म प्रफुल्ल बनेँ । समय सन्दर्भ सिंहावलोकन गर्दा नारायणबहादुर सिंह, कृष्णभक्त श्रेष्ठ, कपिल घिमिरे, लक्ष्मी गुरागाइँ, विजय चालिसे र श्रीओम श्रेष्ठ जस्ता सुविज्ञ सम्पादकको कार्यकालसित कतिपय अन्य स्रष्टाझैँ म जोडिएको रहेछु र मधुपर्क पत्रिकामा मेरा सिर्जना छापिएका छन् । अद्यापि नेपाली साहित्यिक पत्रकारितामा १०० औं पूर्णाङ्क भन्नु र निकाल्नुस्वयंमा चुनौतीपूर्ण रहेको परिस्थिति छ । रूपरेखा, भानु, नेपाली, शारदा, जनमत, रचना, अभिव्यक्ति, गरिमा र उदयजस्ता केहीले शतकाङ्क र दोहोरो शतकाङ्क वरिपरिको इतिहास कोरे पनि पूर्णाङ्क ५०० को प्रकाशनको श्रेय प्रथमपल्ट मधुपर्कलाई ४३ औँ वर्षमा जुरेको भेटिन्छ ।

नेपाल र नेपाली लोकतान्त्रिक गणतन्त्रको सङ्घारमा उभिएर संविधानसभाबाट निसृत सर्वमान्य संविधानको प्रतीक्षामा छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी बहुदलीय पद्धतिको राजनीतिक व्यवस्थालाई अङ्गीकार गर्दा बहुपक्षीय भाषावाद, संस्कृतिबोध, सांस्कृतिक रूपान्तरण र भाषिक संचेतनाको आफ्नो महत्ता हुने देखिन्छ तथा यसलाई राजकीय दृष्टिले सन्तुलित तुल्याउने दायित्व मधुपर्क विविध पत्रपत्रिकालगायत सञ्चार माध्यमको रहेको छ । प्रथमतः वीर पुर्खाको देश हो यो, नेपाली हौँ भन्ने राष्ट्रियता र सहिष्णुताचेत भाषिक र प्राज्ञिक समन्वयनबाट हामी सबै गुज्रिनु पर्छ । सर्जग लेखक, साहित्यकार, भाषासेवी र बुद्धिजीवीले मधुपर्क जस्तो सीमितस्तरीय साहित्यिक पत्रिकाको माध्यमले परोक्षतः प्रत्यक्षतः गुणात्मक लेखनको खुड्किला मापन गर्न चाहेको हुन्छ ।

बौद्धिक संस्कृतिको शिखर आरोहण र अधिमूल्यनको यस पुनीत कार्य एवं गम्भीर जिम्मेवारीमा मधुपर्क मासिक परिवारले लचिलो भएर विवेकोचित दृष्टिले ध्यान पुर्‍याउनु पर्ने देखिन्छ । कालप्रवाहमा मधुपर्क प्रकाशन । संवत २०२५-२०७४ जेठको स्वर्ण वर्षको समयावधिको गौरवपूर्ण क्षणको समेत बौद्धिक जमातले प्रतीक्षाधीन न्यानो पूर्वानुमान गर्नुपर्ने स्थिति छ । अस्तु ।

वीरगञ्ज
हाल ः पाटन संयुक्त क्याम्पस
राजनीति शास्त्र विभाग, ललितपुर (नेपाल)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *