कान्छी अब त, तँ झन कत्ति कविता लेख्छस होला है ?


धेरै समयपछिको कोलोराडो बसाइमा धेरै तिता मीठा अनुभवहरूसँग पौंठेजोरी खेलियो । कुनै पल आफन्त, साथीभाइ र प्रियजन अनि आफ्नो देश गुमाउनु परेकोमा मनलाई अमिलो पनि पारियो । यो सबै प्रवासी मनले भोग्नुपर्ने पीडा हो । यस्तै अमिलो पनलाई स्वादिलो बनाउन हामी कहिलेकाहीं आफू नजिक भएका साथीभाइ, आफन्तलाई भेटघाट गरेर मनलाई हल्का बनाउने प्रयत्न पनि गर्छौं । यस्तै क्रममा हामीले पनि आफूलाई केही परिवर्तन गर्न वा एकोहोरो जीवन भोगाइबाट अलिक पृथक बन्न क्यालिफोर्निया जाने साइत जुरायौं । जहाँ हाम्रा दौंतरीहरू छन र उनीहरू बालखकालदेखिका साथीहरू हुन । हामी सबै बच्चादेखि सँगै खेलेका, खाएका, हिँडेकाहरू हौं । उनीहरूलाई भेट्ने अभिलाषा लिएर हामीले डिसेम्बर ३,२०१० को हवाइ टिकेट काट्यौं । पहिलो सल्लाहानुसार त हामी दुई बुढा बुढी मात्र जाने तयारीमा थियौं । तर भाग्यवस दुई छोरीहरू पनि हामीसँगै जाने भए। डिसेम्बर ३ तारिखको दिन आयो । हामी साँझको जहाजमा चड्यौं । क्यालिफोर्निया पुग्दा रातिको १० बजी सकेको थियो । हामीलाई लिन कृष्ण मिश्र दाजु र शान्तिराम दाजु आउनु भएको रहेछ । धेरै बर्षपछिको भेट्घाट्मा हामी खुबै रमायौँ । दुवै जनाले मेरो घरमा जाने भन्ने ढिप्पी गर्दा गर्दै आखिरमा कृष्ण दाजुकोमा अडियौं । कृष्ण दाजु र शान्तिराम दाजु मभन्दा सिनियर नै भए पनि हामी ६/७ कक्षादेखिको सहपाठी हौं । जस्ले मलाई माया गरेर “कान्छी” भन्नुहुन्छ । वहाँहरू मेरो श्रीमानका एकै थालमा खाने साथीहरू पनि हुनुहुन्छ । धेरै समयपछिको भेट्घाटले हामीमा छुट्टै रौनकता ल्याइदियो । हामी रातभर पुराना कुराहरूलाई सम्झेर हाँस्दै बस्यौँ । तर अफ्सोच!गफको सुरमा मैले त खाना र औषधी खान नै बिर्सेंछु । बस मलाई यत्ति थाहा छ । हामी रातिसम्म गफ गरेको ।

अब म के भनौं ? बिहान भएछ । मेरो श्रीमानलाई चाहिं शान्तिराम दाजुले घुमाउन लैजानु भएछ । म र छोरीहरू चाहिं अर्कै ठाउँ जान तयार हुँदैथियौं रे । त्यो पनि मलाई हेक्का छैन । म र सानी छोरी बाथरूममा थियौं रे । छोरी कपाल नुहाउँदै थिइन रे । म भने ऐनामा हेर्दै मेकअप गर्दै छोरीसँग गफ गर्दै थिएँ रे । गफ गर्दा गर्दै मेरो आवाज बदलियो रे । तर पनि छोरी आफ्नो कपाल पखाल्ने धुनमा नै थिइन रे । केही पलपछि म मौन बनें रे। अचानक म मौन बन्दा छोरीलाई शक भएछ र यसो म पट्टी फर्केर हेर्दा त म सिन्कमा टाउको अडाएर लत्रिरहेकी रैछु रे ।

मेरो त्यो स्थिति देख्नसाथ सबै आत्तिएछन् र छोरीहरूले हठात ९११ कल गरेछन् । त्यो घडीसम्म त मैले सास फेर्न नै छाडिसकेकी रैछु । शरीर पनि यत्ति भारी थियो रे कि मलाई उचाल्न नै कठिन् भयो रे । तुरुन्त हस्पिटल पुर्याइएछ । हस्पिटल पुगिन्जेल सम्मको स्थितिमा म त अन्तिम अवस्थामा नै थिएँ रे । तुरुन्त एमर्जेन्सीमा राखिएछ । डाक्टरहरूले मेरो श्वास प्रश्वास बन्द भएकोले मेरो मुख खोल्न धेरै प्रयास गरेछन् । तर दुई तीन वटा दाँत नै भाँचिएछन् । कसै गर्दा मेरो मुख खोलिएनछ । डाक्टरहरू पनि आतिए रे । अब मेरो अति नै नीरिहावस्था भएपछि डाक्टरहरू निरश भएछन् । आशा छैन भनेर मेरा परिवारलाई भनी सकेछन् । अब अन्तिममा के गर्ने भन्ने निर्णयमा सि. पि. आर. गर्ने निष्कर्षमा पुगेछन । यसको पूरा अर्थ चाहिं थाहा भएन । तर यो गर्नुको अन्तिम बिकल्प चाहिं कुनै पनि मान्छेको अन्तिम अवस्था हुँदा मर्छ या बाँच्छ भनेर जाँच्ने प्रणाली रे । अब यत्ति भई नै सकेपछि मेरा परिवारहरूले माया मारेर बाहिर निस्केछन । तर भाग्य दर्हिलो । फेरि डाक्टरहरूले माइन्ड चेन्ज गरेछन् र अर्को सर्जन डाक्टरसँग सल्लाह गरेछन् । एक पटक घाँटी सर्जरी गरेर हेर्ने हो कि भनेर । सोही गरेछन् । घाँटीमा प्वाल बनाएर सास फेर्न लगाइछ । १५ घण्टासम्म कोमामा रहेछु । दुई दिनसम्म त सास नै फेरिन रे । यसरी माया मरिसकेको मान्छे पनि कोमाबाट फर्किएर १६ ।१७ दिनसम्म बेहोशीमा लडिरहेछु । अचानक मलाई त्यो शब्दले सचेत गरायो, मेरो श्रीमानको शब्द “आज ११ दिन भयो हस्पिटल बसेको । ” यी शब्दहरू अनायस कानमा पसे अनि म झस्किएँ र सोंचे ” अरे हिजो मात्रै कलिफोर्निया एयरपोर्टमा उत्रिएको । “बस यत्ति सुने । यत्ति सोंचे फेरि म कुन दुनियाँमा गएँ फेरि सारा शून्य भयो । यसरी म अचेतावस्थामा बिस्तारामा लडिरहेकी रहेछु । अनायस होश आयो । म उत्तेजित भएर केही बोल्न लागेकी थिएँ । तर अफसोच! मेरो बोली बन्द रहेछ । अचेत अवस्थामा मलाई हेर्न भेट्न धेरै आएछन् टुलु टुलु हेर्थे रे तर चिन्न सकिनरैछु । यसरी मैले त्यो कठिन् अवस्था पार गरेँ ।

जब होश आयो मैले आफूलाई झनै कठिन् अवस्थामा पाएँ । बरु बेहोशीमा त्यो कठिनाई त भोग्नु परेन । होश आउँदा मैले आफूलाई कमजोर अवस्थामा पाएँ । नाकमा पनि पाइप लगाइको थियो । घाँटी सर्जरी गरेर अनेक थोक लगाइको थियो । मलाई सास फेर्न ज्यादै कठिन् भएको थियो । थुक निल्न पनि गार्हो थियो । डाक्टर-नर्सहरू आउँदा आफ्नो कठिनाई भन्नु पर्ने । आवाज बन्द भएको कारण खालि लेखेर भन्नु पर्थ्यो । मलाई धेरै कठिन् भएकोले बरु बेहोशी नै ठीक थियो जस्तो लाग्थ्यो । छाती र फोक्सो सफा गर्नलाई बेस्सरी खोक्ने औषधी दिएका रहेछन । खोक्दा खोक्दा प्राण नै जाला जस्तो हुन्थ्यो । खोकीको पीडा र सास फेर्न गार्हो भएको कारणले मलाई त बेहोस नै हुन मन लाग्थ्यो । म नर्सहरूलाई लेखेर नै बिन्ती गर्थे । “प्लिज मलाई निदाउने औषधी “एक्टिभान” देउ ” भनेर कसैले भने माया गरेर लगाइदिन्थ्यो र म निदाउँथे । कसैले भने धेरै यो दिन हुन्न भनेर निरास बनाउँथे ।

यसरी धेरै कष्टकर समय काटेँ मैले । तर मेरो भाग्य राम्रो, मलाई मेरा नानीहरूले र श्रीमानले अति नै देख्भाल गरे । अनि क्यालिफोर्नियामा रहनु हुने सारा साथीभाइहरूको सद्भाव, सहयोगले मैले आफूलाई तन्दुरुस्ती पाएँ । सारा हस्पिटलका स्टाफहरू नै चकित थिए मलाई भेट्न आउनुहुने सारा क्यालिफोर्नियाबासीहरूको लाम देखेर । नानीहरूले स्यहार, चाकर गरेको देखेर । “तँ भाग्यमानी छस् । के तेरा छोरीहरू पनि नर्स हुन ?” भनेर सोध्दथे । तर उनीहरू नर्स नभए पनि नर्सलेभन्दा ज्यादा मेरो रेखदेख गरे। मेरी असली नर्स ठूली छोरी त म आइ.सि.यु मा हुँदा नै स्याहार गरी-वरी फर्की सकिछ । के गर्ने ? हस्पिटलको नर्स, जिम्मेवारी धेरै । बिदा नमिलेर आमालाई अचेतावस्थामा छाडेर गैछ । सबैले मलाई भने कि दीप्ती त कोलोराडो फर्की । बल्ल मलाई होश आयो । डिसेम्बर १६ तारिख त उस्को रजिस्टर नर्से गरेको कलेजमा ग्रयाजुएसन थियो । ग्र्याजुएसन अगाडी एउटा परीक्षा थियो त्यो पास गरे मात्र उस्ले ग्र्याजुएसनमा भाग लिन पाउने । मलाई यत्ति नमीठो लाग्यो । छोरीको ग्र्याजुसनमा जाउँला, खुशीयाली मनाउँला भनें तर अफ्सोच ! त्यो पनि गुमाउनु पर्‍यो । अर्कोतिर मलाई पश्चताप पनि भयो कि मैले गर्दा छोरीलाई डिस्टर्ब भयो, अब त्यो परीक्षामा के हुने हो भनेर । कत्ति दु:ख र कष्ट खपेर नर्सिङ पढेकी । पक्का पनि सफल हुन्न अब एक बर्ष ढिलो भयो भनेर म चिन्तित बनें । आँफैलाई धिक्कारें मैले । तर जत्तिसुकै मनमा पिरलो बोकेर भए पनि परीक्षामा सफल भएर ग्र्याजुएसनमा भाग लिन पाइछ । अलि होश आएपछि मेरा दुई छोरीहरूले मलाई साइक्लोजी ट्रिटमेण्ट पनि गर्न थाले । कहिले फेसबूक खोलेर देखाउने । कहिले मन परेको गीत सुनाउने । कहिले भजन सुनाउने आदि आदि । जब फेसबूक खोलेर देखाए । मैले मेरा शुभचिन्तकका खबरहरू पनि पढ्न पाएँ । दीप्तिको ग्र्याजुएसनको फोटोहरू हेरें । फोटो हेरेर भक्कानो फुटेर आयो । मेरो सपना अधुरो भए झैँ लाग्यो । फोटोमा दीप्तिलाई निरश पाएँ । आफू कष्टकर अवस्थामा गुज्रिएकीले फोटो हेरेर मैले छोरीलाई आशिर्वाद दिएँ कि जब म गार्हो हुँदा नर्सकोप्रतिक्षामा तड्पिन्थेँ -“नानी तैंले हरेक बिरामीको कष्ट बुझ्नु । आज म जसरी नर्स मेरो नजिक होश भनेर तड्पिरहेकी छु । त्यस्तै रोगीको तैंले आशय बुझ्नु। नझर्किनु, राम्रो केयर गर्नु । ”

मन मनै मैले यस्तो आशिर्वाद दिँदा दिंदै छोरीको फोन आयो म पास भएर पनि ग्र्याजुएसन सकियो भनेर । फेरि मैले त्यही माथिका शब्दहरू फोनबाट भनें । उस्ले जवाफमा भनी । “किन गर्दिन र गर्छु नि । मलाई पनि त कत्ति माया लाग्छ बिरामीहरूको । ” अनि म ढुक्क भएँ । यसरी म हस्पिटलमा रहुन्जेल कृष्ण दाजु र शान्तिराम दाजुका परिवारले सहयोग गर्नु भयो भने मलाई हेर्न आउनु हुनेहरूमा सुदिप पन्त भाइ त दिनैपिछे आउनु हुन्थ्यो भने अरु अरु दाजु भाउजूहरू दिलबहादुर दाइ, भाउजू, सूर्य प्रसाईं दाजु-भाउजू, विवेक (कृष्ण मिश्र दाजुको छोरा) छोरा जस्ले मलाई यति माया दियो कि म बिर्सन सक्दिन आजन्म र अन्य दमकका सबै नै आउनुभयो । मलाई त्यति हेक्का छैन । जे होश परदेशमा गएर थलिनु परे पनि आफ्नै ठाउँमा भएको आभास भयो सबै दमकेली साथीहरूको सद्भाव र सहयोगले । धेरै बर्षपछिको भेटघाटमा रमाइलो गरौंला भन्ने जुन चाहना थियो त्यो पूरा हुन नसके पनि मेरो कमजोर अवस्थामा जुन किसिमको सद्भाव र माया मैले पाएँ त्यो मेरो जिन्दगीको अविस्मरणीय क्षण नै भएको छ ।

जब म अलिक तँग्रिएँ । डिस्चार्ज गर्ने समय भयो । डिस्चार्जको दिन कृष्ण दाजु आउनु भयो । डिस्चार्जकै दिन निस्कन लाग्दा मैले नर्सलाई एउटा कलम र पन्ना मागेर कविता पनि कोरिहालेँ ।

कृष्ण दाजुहरूको घर अलिक साँघुरो भएको कारण मलाई मेरी साथी पुष्प र सुकदेव दाइको घरमा लैजाने निधो भयो । पुष्पहरूको घरमा बसिन्जेल पनि एक दिन एक्लै बस्नु परेन । अमेरिकाको ब्यस्त समयलाई माया मारेर भए पनि दमकका सबै मलाई भेट्न आइरहनु भयो । सबैले मलाई यती माया र सद्भाव दिनु भयो कि म अन्तिम अवस्थामा पुगेको मान्छे पनि चाँडै तँग्रिएं । अझ भन्नु पर्दा कृष्ण दाजु र सुदिप भाइको हाँसो त मेरो निम्ती ओखती नै भएको थियो । सुदीप भाइको चांहि कामको समय पनि राम्रो भएकोले काम सकिनअसाथ आइहाल्नु हुन्थ्यो र मीठो गफ गर्दा गर्दै गलल आँफै हाँस्नु हुन्थ्यो । त्यो समयको कम्जोरी र अप्ठ्यारोपनमा मलाई सुदिप भाइको हाँसो र गफले छुट्टै आनन्द र “ट्रिट्मेण्ट” गरेको आभास हुन्थ्यो र मेरो नजर खालि घडीमा दौडन्थ्यो कत्तिबेला ६/७ बज्ला र सुदिप भाइको काम सकिएला ?त्यो आशा अनौठो थियो मेरोलागी। म अझै पनि सम्झन्छु ती दृश्यहरू।

जब म अलिक जाति हुँदै गएँ मैले आफूलाई भाग्यमानी ठानेँ । ठुलाहरूका मात्र माया र सद्भाव कहाँ हो र ?छोरा छोरीहरू सबै जना ज जस्लाई मैले दमकमा सानै छाडेकाहरू पनि ठुल् ठुला भएछन । उनीहरूले पनि यत्ति माया दिएकी म बयान गरेर सक्दिन। पुष्पका छोराहरू सुदिप शाही, सुन्दर, जुना (कृष्ण दाजुकी छोरी) विवेक (कृष्ण दाजुकै छोरा) शान्तिराम दाजुका छोरा छोरीहरू । उनीहरूको “केयर” र मप्रतिको माया ओहो ! म के भनौ ? जब म अलिक जाति भएँ अनि दमकका सबै जनाका घरमा निम्तो हुन थाल्यो। मैले पहिलो निम्तो सूर्य प्रसाईं दाजुकोमा खाएँ । ओहो! भाउजूले कति मेहेनत गरेर बिरामीको लागि भनेर छुट्टै पक्वान बनाउनु भएको ? । म कहिले बिर्सन्छु र त्यो सद्भाव? दोश्रो निम्तो दिलबहादुर दाइ भाउजूकोमा । बिस्तारै मैले नचिनेकाहरूबाट पनि उस्तै माया पाएँ । दिलबहादुरदाइको घरमा । बिस्तारै सबैको घरमा गयौँ । मीठा मीठा भोजनहरू खायौँ । भोजनभन्दा पनि मप्रतिको भावना अझ मीठो थियो । म बिरामी भएर उठे पनि मलाई तगडा भएर भेटेको जस्तै आभास भयो ।

पुष्प र सुक्देव दाजु जस्को घरमा ढुक्क १०/१२ दिन बसें । उनीहरू आ-आफ्नो काममा ब्यस्त भए पनि । मेरो हेरचाहमा कुनै कसर बाँकी राखेनन् । कामबाटै पनि पुष्पले फोन गरेर भन्ने गर्थी “के खाइस, के खान मन लाग्छ पकाउनु लगाएर खा” सुक्देव दाजु ब्रेकमा आउनु हुन्थ्यो अनि पहिलो प्रश्न त्यही हुन्थ्यो। छोराहरू एकजना साथै हुन्थे । कत्ति सहज, कति नरमपना थियो तिनिहरूको मप्रति ।

अलिक तगडा भएपछि पहिलो पटक शान्तिराम दाजुले घुमाउन लैजानु भयो समुद्रीतटतिर। शान्तिराम दाजु आँफै पनि अलिक रोगी हुनुहुन्छ । हस्पिटलमा मलाई देखेर झन्डै बेहोस हुनुभएछ। वहाँहरू सबैले नै मलाई भन्न थाल्नु भयो नयाँ जूनी पायौ भनेर । मलाई सपना जस्तै लाग्छ अहिले ती सब दृश्यहरू । त्यस पश्चात फेरि कृष्ण दाजु, सुदिप भाइ, पुष्प र हामी सबै परिवार घुम्न गयौ । “शिलबिच” समुन्द्री तटमा त्यति खेर भने मलाई अलिक क्यालिफोर्निया आएको सार भयो जस्तो महसुश भयो । हामी खुबै रमायौँ सबैजना । फोटोहरू खिच्यौं । बिच, बिचमा कृष्ण दाजुले जिस्काइ रहनु भयो “कान्छी अब झन कत्ति कविता लेख्छस होला है “भन्दै । म अझै दाजुको त्यो जिस्काइ र हाँसो सम्झिरहेछु । देवी बहिनी (कृष्ण दाजुकी श्रीमती) उस्ले पनि जिस्काइ रहन्थिन् । नानीहरू ढुक्कै वहाँहरूकोमै बसे । रमाइलोसँग घुम्फिर गर्दै । मलाई पनि यस्तो भान भयो अनायस परेको त्यस्तो घट्नाले नानीहरू पनि निरश थिए र मन बहलाउन घुमोस भन्ने मेरो पनि चाहना भयो ।

यसरी क्यालिफोर्निया भ्रमणमा नौलो अनुभूति साटियो । मलाई खेद पनि लागेको छ कि मैले क्यालिफोर्नियाबासीहरूलाई केही दु:ख पनि दिएँ । तर एउटा उखान टुक्काको ज्वलन्त उदाहरण के भोगियो भने “टाढाको देवताभन्दा नजिकको भूत काम लाग्छ” अर्थात भौगोलिक दुरीले हामी टाढा भए पनि त्यो समय उनीहरू मेरा लागि कत्ति महत्वपूर्ण भए । बसाइमा टाढा भए पनि क्षणिक समयको भेटमा कत्ति उपयोगी भए । एउटा गीत नै छ नि “आफ्नो मान्छे आफ्नै हुन्छ ।” हो यस्तै उदाहरण प्रस्तुत भयो त्यो घडी त्यो समय । बालक कालदेखि खेलेका हुर्केका र आफ्नै गाउँ, ठाउँमा बसेका मान्छेहरूको महत्व कत्ति हुँदो रैछ भनेर ।

फर्कने दिन नजिक आयो सबैसँग छुट्टिने बेला पनि हुँदै गयो । मनमा एक प्रकारको उदासिता छाइरह्यो । सबैलाई छाड्नु पर्ने समय आएको सम्झेर । फर्कने दुइदिन अघि शान्तिराम दाजुले फेरि आफ्ना पार्लरतिर घुमाउन लैजानु भयो । भाउजूले त्यही नै एउटा उपहार पनि किनेर दिनु भयो । जुन मेरा लागि अमुल्य छ। त्यस्को भोलिपल्ट हामी “हलिउड” घुम्न गयौँ । सबैले सबै दृश्यहरू हेरेर मनोरन्जन लिए। म भने कमजोरीको कारणले $७५.००को टिकेट मात्र लिएँ केही हेर्ने हिम्मत गर्न सकिन । हामीलाई फर्कन विवेक लिन आयो । अहो! विवेकले त्यो समय मलाई केयर गरेको माया गरेको सम्झिँदा अझै पनि म दंग पर्छु । अनि आँफैलाई भाग्यमानी ठान्छु । आफूले नजन्मे पनि कत्ति माया गरेको ? हलिउडबाट फर्के पश्चात राति सुत्न हामी शान्तिराम दाजुकै घर तर्फ लाग्यौं । किनकि भोलिपल्ट बिहानै ७ बजेको कोलोराडो फर्कने टिकेट थियो । हामीलाई पुर्याउन शान्तिराम दाजु र विवेक तयार हुनुहुन्थ्यो । अन्तिममा शान्तिराम दाजुको घरको बसाइ स्मरण गर्न योग्य लाग्छ । भाउजूले ओछ्यान बनाइदिनुभएको । दाजु र म एकछिन तास खेलेको । अन्तिममा कृष्ण दाजु र सुक्देव दाजुसँग भने भेट हुन नपाएकोमा अलिक खल्लो लागेको छ । त्यही त हो अमेरिकाको जीवन भोगाइ । मजदुरी गर्नै पर्‍यो ।

भोलि पल्ट बिहानै ५ बजे उठ्यौं र हिँड्ने तयारीमा लाग्यौं । मभित्र अझै डर बाँकी नै थियो जहाजमा मलाई केही हुने हो कि भनेर । तर भाग्यवस केही भएन । मैले आफूले आँफैलाई मज्बुद पनि बनाउने प्रयास गरें। यसरी क्यालिफोर्नियाका सम्झनाहरू सँगाल्दै म अतित कोरिरहेकी छु । यो संस्मरण लेख्नुको उद्देश्य के भने जहाँ जाउँ, जता रहौँ आफ्नो मान्छे आफ्नै हुन्छ । चाहे जत्तिसुकै मनमा रिशिवी बोके पनि परेको बेलामा आफ्नो मान्छे नै काम लाग्छ । आफ्नै साथीभाइ नै नजिक हुन्छन । चाहे परदेशमा होश चाहे घरदेशमा होस्। म अझै पनि हृदयबाटै वहाँहरूलाई आभार ब्यक्त गर्छु ज-जस्ले मलाई त्यो अवस्थामा माया, प्रेम, सद्भाव र सहयोग गर्नु भयो । म ती अनुहारहरू अझै आँखामा टाँसिरहेछु । ती दृश्यहरू अझै मनमा कल्पिरहेछु । अबको भेट्मा भने म ती मुहार र मनहरूलाई हृदय खोलेर आभार ब्यक्त गर्ने प्रतिक्षामा छु । यसरी क्यालिफोर्नियाले मलाई बिर्सन नसक्ने सास्ती पनि दियो भने त्यही सास्तीमा राहत दिने मन र हातहरूको पनि आभास गरायो ।

जनवरी पहिलो तारिख क्यालिफोर्निया र संगीहरूलाई बिदाको हात हल्लाउँदै कोलोराडो प्रस्थान गरियो । मन अझै उदास छ । ती दिनहरू सम्झेर । मैले यो संस्मरणमा कत्तिको नाम छुट्टाएँ पनि होला । यहाँ उल्लेख नभए पनि म होसमा आएदेखि भेटेका सबैलाई मनभित्र सजाएकीछु अमीट छाप बनाएर । अहिले पनि सम्झिँदा कहाली लाग्छ यदि यो घट्ना कुनै अर्कै स्टेटमा घट्न गएको भए ? उफ ! तर ईश्वरले त्यहीं पुर्‍याउनु भयो जहाँ हाम्रा बालसखीदेखि लिएर परममित्रहरू थिए ।

जनवरी १ तारिख बिहानको कारीब १०.०० बजे डेन्वर उत्रियौं । हाम्रा परममित्र ज्ञानेन्द्र गदालजी लिन आउनु भएको रहेछ । अहिले डेन्वरमा भए पनि यो अशक्त अवस्थामा क्यालिफोर्नियाकै दृश्यहरू ती कोमल मुहारहरू सम्झँदै संस्मरणमा समेट्ने कोशिस गर्दैछु । सबैप्रति मेरो दीर्घजीवनको कामना गरिदिनु भएकोमा हृदयबाटै आभारी बन्दै ।

अस्तु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “कान्छी अब त, तँ झन कत्ति कविता लेख्छस होला है ?”

  1. धन्यवाद
    तपाईंको संस्मरण पढ्दा केही कहाली लागेर आयो । बिच-बिचमा, एउटा सपनाको वर्णन गर्नुभा’ हो कि जस्तो लाग्यो । तर हैन, सत्य रहेछ । अन्त्यमा सकुसल फिर्ता हुन सक्नुभएको थाहा पाएर खुसी र सन्तुष्टि मिल्यो । कष्टको बेलामा आफ्नाहरूबिचमा पर्नुभएछ । वहाँहरूको सद्भाव देखेर साह्रै हर्षित भएँ ।

    तपाईं हाम्रो नियमित लेखक हुनुहुन्छ। त्यसैले मझेरीबृत्तको लागि प्यारो पनि हुनुहुन्छ । सुस्वास्थ्यको शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *