प्रिय प्रिन्सिपल महाशय,

आज म देखिएका कुरा लेख्दै छु । संस्थागत हितका दुईचार कुरा बताउँदै छु । हितबेगरका कुरामा समय बर्वाद गर्दिनँ । नोक्सान मात्र हुने नीति म पटक्कै चाहन्न । भन्नु त मनग्यै छ । त्यो तपाईंले पनि बुझ्नुछ । कुरा करेलाझैं तीतो छैन । त्यसले दिने मामचाहिँ पक्कै मीठो छ । पत्र नै किन भन्नुहोला । यसलाई आज के भयो ठान्नुहोला । फोनमा सबैखाले वार्ता हुन्न । यस बारेमा म चाहिँ दोहोरो वार्ता चाहन्नँ । दिएको जिम्मा बेकम्मा नहोस् । म यत्ति चाहन्छु–मेरो मनोकांक्षा तु. को तु. पूरा होओस् ।

विषयमा प्रवेश गर्नु पूर्व पृष्ठभूमि नबाँधी भएन । हिजोको सोझो युग आज रहेन । धेरै लामो लहरो तान्न चाहन्नँ । यस पाला विद्यार्थी भर्ना फिटिक्कै भएन । त्यसको कारण तपाईंले खोज्दै खोज्नु भएन । यहाँ त झल्लु छन्, उल्लु छन् । त्यत्ति मात्र कहाँ हो र– हल्लु पनि पर्याप्त छन् । उल्लुलाई झुलाउन सकिन्छ । मै हुँ भन्ने मान्छेलाई भूलाउन सकिन्छ । बिडम्बना ! न झुलाउन सक्नुभयो, न भूलाउन नै सक्नुभयो । हैन, तपाईं कस्तो मान्छे ! न हाँस्न सक्नुहुन्छ, न हँसाउन नै सक्नुहुन्छ । खै, तपाईंले के हितको काम गर्नुभयो ? खै, त बाङ्गाहरूको मन प्रीतले पगाल्नुभयो ? हरे ! बच्चा लिएर आउनेलाई ठहर्ने खै बनाउनुभयो ? यस्तो पनि कहीँ ठिक हुन्छ र ! यसै गर्ने हो भने कहीँ संस्था चल्छ र !

हेर्नुस्, प्रिन्सिपलजी ! यो सरकारी काम कहिले जाला घाम भन्ने कार्यालय होइन । यो त बोर्डिङ्ग स्कुल हो । यसका आफ्नै नीति छन् । भित्रभित्रै अनेकन् व्यवस्था छन् । ती एक–एक कुराको जानिफकार तपाईं स्वय म हुनुहुन्छ । म लाभमा हुँदा पक्कै तपाईं पनि लाभान्वित हुनुहुन्छ । यता पनि घाटा, उता पनि घाटा ! यस्तो हुँदाहुँदै तपाईं पनि खाईपाई आएको सुविधाबाट बञ्चित हुनुपर्छ । पछि केही भन्न पाउनुहुन्न । हाड नहेरी, घाँटीको आधारमा भाग खोज्नुहुन्न । जत्रो हाड छ, त्यसकै आधारमा घाँटी बनाउनुपर्छ । घाँटी हेरी हाड निल्ने होइन । हाड हेरेर घाँटी बनाउन सिक्नुपर्छ ।

बोर्डिङ्ग स्कुलको संस्थापक भएर हुकुम चलायो नभन्नुहोला । मेरा कुरालाई झिनोमसिनो नठान्नुहोला । आज म पुनः स्मरण गराउने सुरमा छु । किनभने म संस्थागत हितमा निमग्न छु । जसमा मेरो मात्र जय छैन, तपाईंको पनि विजय छ । सर्वहिताय मेरो आशय लुकेको छ । हेर्नुस्, मेरो पनि कमाउने भाँडो यही हो । आजसम्म भए भरको लगानी ठाउँ यही हो । श्रम पनि खर्चको छु । भविष्य पनि देखेको छु । (भलै, दुई/चार महिनामै किन पाइलो नटेकुँम ।) आज म मेरो विश्वासमा ध्वासो देखिरहेछु । तपाईंको कार्यदक्षता दिनानुदिन ह्रासोन्मुख भेटिरहेछु । अँझै जोसिलो हुनुस् । फुर्तिलो बन्नुस् । अभिभावकका आँखामा यस स्कुलमा त के–के न रै’छ भन्ने पार्नुस् । र, अभिभावकलाई यस स्कुलप्रति अन्धोभक्त पार्नुस् । पहिले तपाईं हुनुस् अनि अन्धोले सबै अन्धै छन् भन्ठानेझैँ गर्नुस् ।

गर्नुपर्ने काम के रै’छ ? विद्यार्थी सङ्ख्या किन घटेछ ? शुल्क तिर्न अभिभावकको पाइलो किन पर्दैन ? हाम्रै विद्यालय भनेपछि किन सबै क्रोधित हुन्छन् ? आफ्ना नानीलाई अर्कै विद्यालयमा सार्ने विचार किन ल्याउँछन् ? त्यसैले त भन्दै छु– पर्याप्त समय दिनुस् । यस्ता कुरामा बरोबर सोच्नुस् । नसोचीकन उपाय आउन्न । बिनाउपाय अभिभावक कावुमा रहन्नन् । विद्यालयको भौतिक व्यवस्थालाई दोष दिनुहोला नि ! (भलै, आन्तरिक रूपमा भित्र जे होस् ।) बाहिर रिटिकफिटिक पार्देकै छु । परबाट नियाल्दा अलकापुरी बनाइदिएकै छु । (लेखपढमा जे होस् ।) बोल्नमा माहिर शिक्षक हाल्देकै छु । ज्ञानविज्ञान कसले जान्दछ र ! शिक्षकको ड्रेस टाई–सुटबुटसहितको चकाचक भए, बोलीले आकाश–पाताल एक पार्दिए भई जान्छ नि । छिटोछिटो प्रतिफल हातमा आइहाल्छ नि ! मीठो बोली बोलेर, कतैकतै चाहिए जतिको धाकधम्कीको धूलोछर्केर, पुगे पनि नपुगे पनि आश्वस्त हुने र भित्री तहलाई छुने कुरा गर्दिए अभिभावक पनि मख्ख ! हामी पनि मालामाल ! अनि मात्र हुन्छ विद्यार्थी सङ्ख्या फालाफाल !

प्रिन्सिपलजी ! हामीसँग यस्तो छ, हामीसँग उस्तो छ । प्रोजेक्टरबाट पढाउने व्यवस्था छ । (भलै, प्रोजेक्टर कुन चरीको नाम हो, त्यो तपाईं/हामीलाई नै थाहा नहोस् ।) दक्ष र अनुभवी शिक्षकको व्यवस्था पूरापूरी छ । (कहिल्यै हाजिरी खाता नपक्रेका शिक्षक नै किन नहून्, आखिर ती हाम्रा लागि दक्ष बन्दै गएका हुन्छन् । तिनीहरूको गुनगान गर्न सके तिनैले सुनको छानो लगाउने धन बटुल्दिन सक्छन् ।) मात्र तपाईं आफ्ना नानी हामीलाई दिनुस् । दक्ष नागरिक सुम्पने ठेक्का लिन्छौं । हामी तपाईंलाई शतप्रतिशत ग्यारेण्टी दिन्छौँ । (बोल्ने धेरै, गर्ने कम बानी हाम्रै मात्र किन नहोस् ।) आफ्नै सन्तान मानी विद्यार्थी पढाउँछौं । एकएक वैयक्तिक रेकर्ड बनाउँछौ । तपाईंका नानीको राम्रो ख्याल गर्छौं । (चाहे मैले नै कहिल्यै विद्यार्थीको नाकमुख हेरेको नै किन नहोस् ।) तपाईंलाई बोल्ने मौका दिन्नौं । (पाइलापाइलामा कमजोरीको हिमाल नै किन नठडियोस् ।) तपाईंको योगदान निरन्तर पायौं भने अवश्य हामी सगरमाथा उक्लन्छौँ । (पैसा दिने लक्ष्मी साथमा भए पछि, हाम्रो माथमा किन आशीर्वाद रहन्न !) हो, प्रिन्सिपल महोदय ! तपाईंले यस्तै कुरा भन्नुपर्छ । उनीहरूले भनेका दुईचार तीता गाली पनि सहने बेलामा सहनुपर्छ । जे भए पनि सुन्नुपर्छ । तत्काल मख्ख पार्ने रणनीति खेल्नुपर्छ । भोलि जे होला, होला, आज भने दुई डोका कुरा बोकाएरै भए पनि अभिभावकको चित्त वाह, वाह पार्दिनुपर्छ ।)

छुटको झुट कसरी बोल्ने भन्ने ज्ञान छैन भने मसँग सिक्नुस् । सकुनीको मामा मेरै नाम हो । सकुनी मन्त्रको ज्ञाता र दाता भनेकै मै हुँ । मैले नजानेको कुरै छैन । मैले नबुझेको कहिरनै छैन । मैले देश पनि खाएको छु । र, स्वयम्लाई इमान्दार मान्छे भनी नाम फुकेको पनि छु । अब कामको कुरो गर्छु । भर्ना लिने वखत जसरी हुन्छ, त्यसरी छुट दिनुस् । छुटको धमका खोल्दिनु परे जिउ–ज्यान लगाइदिनुस् । संस्थाको हित हुन्छ भने झुटको शिखर नै ठड्याउनु परे पनि खुट्टो नकमाउनुस् । हामी त्यागका प्रतिमूर्ति हौं भन्दिनुस् । जानेलाई के गर्दा नजाने हुन्छ, त्यो बाटो पक्रनुस्, नआउनेलाई के भनेर आउँछ, त्यही बाटो समात्नुस् । तर, खबरदार ! आए पछि, हाम्रो जालमा फँसेपछि, यताको शुल्क पनि लिनुस्, उताको शुल्क पनि बढाउनुस् । मात्र असुलको पहाड बनाई असुल्नुस् । विभिन्न क्षेत्र छन्, शुल्क उठाउने ! तपाईंको नानीलाई यो पनि लाग्छ, त्यो पनि लाग्छ भन्दै पहिले छुट दिएको डब्बल असुल्ने उपाय निकाल्नुस् ।

मैले कमाउने ठाउँ यही हो । तपाईं बाँच्ने आधार यही हो । तर, बेलाबेलामा तपाईंको नानीलाई भर्ना गर्दा यत्ति छुट दिएँ, उत्ती भलो चिताएँ भनेर फाइफुट्टी लगाइरहनुस् । लिएको कुरा बिर्से हुन्छ । छुट दिएको कुरा कहिल्यै नविर्सनुस् । दिँदै जानुहुन्छ, विर्सँदै रहनुहुन्छ भने सब कुरा चौपट हुन्छ । अनि त हाम्रो ज्यान कहाँ रहन्छ र ! अर्को कुरा, दिएको आश्वासन चाहिँ भूल्नुस्, नयाँ दिन नभुल्नुस् । तर, याद रहोस्, हित चाहिँ संस्थाकै हुनैपर्छ । आफ्नो भित्री भेद लुक्नैपर्छ । पैसा हातमा परेपछि भने भेद खुले खुल्छ । जस्तो आउँछ, त्यस्तै टर्दै जान्छ । याद रहोस्– नकारात्मक कुरा स्वीकार्नुहुन्न । राम्रोभन्दा राम्रो हुने नारा फलाक्न छाड्नुहुन्न ।

म पनि महिना दुई महिनामा हिसाब बुझ्न आउँदै गर्छु । शिक्षककर्मचारीका कमिकमजोरी खोज्दै गर्नू । बेलाबेलामा साँचो बोल्नेलाई तर्साउँदै गर्नू ! विद्यार्थी ल्याउने, अभिभावक रिझाउने शिक्षकलाई नजिकै राख्नू । भण्डाफोर गर्नेलाई जेजस्तो भए पनि जुरुक्कै उचालेर फाल्दिनू । कसलाई काखा कसलाई पाखा पार्ने हो, त्यसको लिष्ट पहिले नै उपलब्ध गर्देकै छु । आर्थिक क्षेत्रको बाहेक अरू अधिकार तपाईंलाई सुम्पेकै छु ।

धत ! एउटा कुरा भन्नै बिर्सें । धन्न अहिले नै सम्झें । आफ्नो हातको शिकारलाई अर्काको हातमा जान दिनुहुन्न । शिक्षक खटाएरै भए पनि विद्यार्थीको सङ्ख्या बढाउनुस् । विनासङ्ख्याको लङ्का बन्दैन । विनालङ्का रावण रहँदैन । विद्यार्थी ल्याउने शिक्षकलाई कमिशनको लोभ दिनुस् । ल्याइहाले चुप रहनुस् । नल्याए खुनखुन गरिरहनुस् । कमिशन दिन परे हात्तीको मुखमा जिरा जतिदिनुस् । त्यसमा पनि सर्त लगाउनुस् । विद्यार्थीबाट शुल्क तिर्न ढिलो हुन गए वा कुनै खालको क्षति भए अनि असुल उपर हुँदै नभए त्यही शिक्षकको तलवबाट असुल उपर गर्नुस् । हर्दम संस्थाको हितमा चित्त लगाइरहनुस् । भोलि उज्यालो दिन आउँछ भनी आशावादी भइरहनुस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *