श्री श्रीश्री श्रीश्री मिति:- २०७३/०२/२०
सम्मानीय प्रधानमन्त्री
के. पि ओली ज्यू,
सपना नगर, ठट्टा टोल ४२०
विषय :- सपना सम्बन्धमा
सम्मानीय प्रधानमन्त्रीज्यू,
यो रू. ५ को टिकट नटाँसेको पत्र सरकारी हुलाकीले तपाईं समक्ष पुर्याई दिन्छन कि दिदैनन् थाहा भएन । र पनि लेख्दैछु ।
केही गर्न नसके पनि सपना देख्नु ठुलो कुरा हो, यो भ्रष्टाचार गर्नु जस्तो गलत कदापि हैन । चुनावमा भोट दिने कुरामा म तपाईको साथमा भए पनि नभए पनि सपना देख्ने कुरामा म तपाईको साथमै छु किनकि म पनि राति राति तपाईले जस्तै अनेकौं सपना देख्ने गर्छु । अस्ति भर्खरै भूकम्पले भत्काएको घर एक दिनमै बनाएको सपना देखे र ढंग पर्दै उठेको त आफूलाई जस्तापाताको छाप्रोमा पो पाए । मेरो गाउँ बुंगमतीमा पुनर्निर्माणको शुभारम्भ गर्न तपाईं आउनु भाको धेरै भाको छैन, यस्तै ४/५ महिना मात्र भो होला । तपाईले सकेसम्म छिटोभन्दा छिटो काम गरेर कम्तीमा ३०/४० वर्ष भित्र पूरा गर्नुहुन्छ नै भन्ने ठुलो विश्वास छ । तर के थाहा मेलम्चीको एकादेशको कथा जस्तै पो हुने हो कि ।
तपाईं प्रति म धेरै खुसी यस कारण पनि छु कि अरू सरकारहरूले वर्षमा एक पल्ट कनिका छरे जस्तै बजेट बाड्छन् तर तपाईले दिन दिनै ताजा ताजा सपना बाडिरहनु भाको छ । र हामी तपाईका ताजा ताजा सपना खाएर अघाइरहेका छौ । के गर्नु खाना खाएर अघाउन ग्याँस मरू के गरू ? आज भोलि त दिउँसै सुत्ने जाँगर पो चल्छ मलाई ! कतै तपाईले जस्तै राम्रो मिठो सपना देखि हालिन्छ र चाख्न पाई हालिन्छ कि भनेर ।
अस्ति के तपाईले पाईपबाट ग्याँस पठाउने कुरा गर्नु भाको थियो राती खालि सिलिन्डर बोकेर धारामा पो गईराखेको रैछु । साँचै धारामा त ग्याँसै पो आको रैछ ! अक्सिजन ग्याँस क्या त केपी जी,
चीनले कृतिम समुद्र बनाउन सक्छ भने हामीले पूर्व पश्चिमसम्म सागर नै बनाएर पानी जहाज चलाउने सपना देख्न किन नहुने ? आखिर जलस्रोतमा दोस्त्रो धनी देश हामै त हो ।
बाहिरी चक्रपथमा गाडीहरू हैन पुरै घेर्ने रेलमार्ग बनाउने सपना देख्नुस् कुनै दिन । कम्तीमा घण्टैको जाममा फस्नु त पर्दैन कसैले । अँ साँचै जाम भनेको पाउरोटीमा राखेर खाने मात्र हुदैन प्रमजी । मैले सडक जामको कुरा गर्या । खैर त्यो तपाईले भोग्नु नपर्ने भएर थाहा नहोला ।
तपाईले हावाबाट बिजुली निकाल्ने भन्नू भाको थियो । साँचो नै होला भनेर पंखा खोलेको त पंखाको हावाले बत्ती बाल्ने बिजुली त हैन, बुबाले मुखमा सल्काउने बिजुली चुरोटको बट्टा पो उडाएर ल्यायो ।
डिजेल पेट्रोलको उत्खनन् नै गर्नु पर्दैन ओली जी, पानीबाट चल्ने गाडी बनाउने सपना देख्नुस् । जोन अफ केनेडीले चन्द्रमामा टेक्ने सपना देख्नुहुन्छ भने तपाईले सूर्यमा पाईला टेक्ने सपना देख्न किन नहुने ?? तपाईं सपना मात्रै देख्नुस् ओलीजी ! कालान्तरमा नेपाल किसुनजीले भने जस्तो सिंगापुर बन्न नसके पनि कि त चीन कि त भारत अवश्य बन्ने छ ।
अन्तमा तपाईले जस्तै सपना अरू नेताहरूले पनि देख्न सकोस् र तपाईको सपना पूरा होस् । तर एउटा बिन्ती छ आफ्नो सरकार भ्रष्टाचारी बनेको सपना कहिल्यै नदेख्नुहोस् ।
जदौ !
उहीँ तपाईको सपनाको भोको
जितेन्द्र तुलाधर
आशा नगरी, प्रशान्त प्रदेश
