बलात्करीलाई पत्र


ओहो! कति स्वतन्त्र छस है तँ ? धर्तीलाई बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन, यो धर्ती तेरो पनि हो, मेरो पनि हो । यी पाइलाहरू टेक्ने अधिकार तेरो पनि छ, मेरो पनि छ । हरेक दिन हिंड्दा अँध्यारो उज्यालो पार्ने त्यो आकाश तेरो पनि हो, मेरो पनि हो । शरीर तेरो पनि छ, मेरो पनि छ । यो समाज यो देश तेरो पनि हो, मेरो पनि हो । अस्तित्व तेरो पनि छ, मेरो पनि छ ।

हेर, बलात्कारी आज तलाई किन यसो लेख्दैछु सुन्दै जा । कान भए पनि बहिरो नबनेस् । आँखा भए पनि अन्धो नबनेस् । आँखा नदेख्नेहरू कान नसुन्नेहरू कति सभ्य हुन्छन् तलाई थाहाँ छैन होला । तर तेरा दुवै आँखा कान भए पनि त कति असभ्य छस है ? छि छि …. मैले तलाई लेखेका शब्दहरू नै दुर्घ्न्धित हुन्छन् होला ।

मन त छ महाकाली र बिरभद्रले श्रीमहादेवलाई अनेक थरी निन्दा गरेर सतिदेवीलाई नै अग्निकुन्डमा होमिन बाध्य पार्ने दक्षप्रजापतिको नै शिर क्षदन गरेर रगत पिए झैँ तेरो पनि जीउँदै रगत पिएर चितामा जलाई दिऊँ तर तेरो तँ रगत पनि खाना लाएक छैन । तेरो जलेको चिताको धुवाँ चारैतिर फैलिएपछि फेरि त्यो धुवाँले हजारौ बलात्कारी जन्माउला त्यसैले तँ चितामा जलाउन लाएक पनि छैनस् ।

मेरो दिदी र बहिनीको शरीर निबस्त्र पारेर, आफ्नो तिर्खा मेटेर बलात्कार गरेर अँझ तँ खुलेयाम सभ्य बनेर सम्मानका साथ यही समाजमा हिंड्दैछस हैन ? कानूनलाई आमा बनाएर सजिलैसँग बाहिर निस्केर, तैले आज मेरा दिदीबहिनीहरुको हैन आफ्नै जन्मदिने आमाको खुलेआम बलात्कार गरेको छस् ।

ए नरभक्षी, बलात्कारी तेरा आँखाहरू क्षमा दिन लायक पनि छैनन् भने म तँलाई कसरी क्षमा दिन सक्छु । तेरो के अस्तित्व छ र ? के त मान्छे होस् र ? तँ त एउटा नरपिशाचु होस् । तेरो अस्तित्व त यो पृथ्वीले सहन नसकेर दुर्गन्धित हावामा उडिरहेको छ । जहाँ सभ्य मान्छेहरू नाक थुनेर हिंड्छ्न भने असभ्यहरू सुँघेर हिंड्छन् । असभ्यमा यही तलाईँ दण्ड दिने कानून पनि पर्छ किनभने तलाईँ दिनुपर्ने दण्ड नदिएरै सुँघेरै पठाइदिन्छ । अनि फेरि गिद्दले सिनो झम्टे झै अर्कि आमालाई निबस्त्र पारेर बलात्कार गर्न तल्लिन हुन्छन् तेरा आँखाहरू ।

ओहो ! बलात्कारी तेरा त धम्किहरू पनि कति छन्, कति छन् । एक्लै बलात्कार गर्न नसकेर मेरा बा, आमा दाजुभाइलाई नै मार्ने धम्की दिएर सजिलै बलात्कार गर्छस है ? हेर त एक पटक पछाडि फर्केर ? कहाँसम्मको छ तेरो हैसियत ।
मेरा दिदीबहिनीहरुको सपना अनि जिन्दगी लिलामी बनाइदिने ए राक्षस आ सक्छन् भने फेरि बलात्कार गर । मेरी दिदीको सुन्दर बैशालु घामहरू लुटेर पनि ऊ जिउँदै छे । बहुलाएकी छन् आमा । चिहान बर्बराइरहेको छ बहिनीको । आइज यो सडकमा निस्किएर हेर । म पनि नाङ्गै निस्किएकी छु भोग गर मलाई पनि । अब त तैले बस्त्र जबजस्ती खोल्नुपनी पर्दैन । उनीहरू आफै खोलिनेछ्न । तेरो अगाडि मात्र हैन घृणा र बेस्याको सङ्ग्या दिएको यही समाजको अगाडि पनि । ए.. यौनको प्यासले भोकाएको दानव आ हामी सबैलाई बलात्कार गर । मेटा आफ्नो यौन प्यास अनि हिंड स्वतन्त्रसँग । मृत्यु दण्ड त यहाँ छदै छैन त जेलमा पनि जाने छैनस् ।

एकछिन मुखमा पट्टि बाधेर यो बलात्कारी हो भनेर हाम्रो आँखा छलेर फेरि उसैगरी अर्कि बहिनीलाई बलात्कार गर्न पुग्ने तँ मान्छेको रूपमा गनिने राक्षस अब तलाई कानून पनि लाग्ने छैन । आइज हाम्रो जीवनको मज्जा लुट्न । रगत पोखिएका मझेरीहरू अँझै निदाएका छैनन् । आलो घाउ अँझै ओभाएको छैन । फेरि..फेरि..फेरि ..उसैगरी बाटो, दोवाटोमा छरिएका छन् लासहरू । हेर त तेरो हत्केलामा रगतका टाटाहरू ? त्यो रगत होइन, त्यो त तैले पिएको आमाको दशधारा दुध हो ।

आज तेरो नाउँमा यो बलात्कारी पत्र लेख्दा मेरा शब्दहरू नै दुर्गन्धित हुन पुगेका छन् ।

अन्त्यमा, पैसाको बिटो बोकेर, स्वयम तँद्वारा लुटिएकी, तेरो राक्षसि जीवनको भिख माग्न आउने तेरि आमा तेरै पक्षमा हिडेको कानून र तेरा आफन्तहरुलाई लिएर आईज । पैसामा इज्जत खोज्ने उनीहरुकै अगाडि फेरि पनि बलात्कार गर मेरी बहुलाएकी दिदीलाई । आलो घाउमा छट्पटाएकी मेरी बहिनीलाई । म तिमीहरुकै अगाडि तेरै न्यायको त्रिशुल लिएर उभिएकी छु ।

ए..ए..ए.. सिङ्गो दिदीबहिनीहरु, आमा, भाउजूहरू निस्क बाहिर । अस्तित्व उनीहरुको पनि छ, हाम्रो पनि छ । सोर शृङ्गारले सजिएर हैन । उठ यौनको प्यासले भोकाएका दानवहरुको अगाडि न्यायको हजारौ त्रिशुल बोकेर ।

दीपा धिताल
तुलसिपुर दाङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *